भोजपुर नगरपालिकाले बनायो स्थानीय पाठ्यपुस्तक

स्थानीय पाठ्यक्रमभित्र कुन विषय पठनपाठन गराउने भन्ने अन्योलमा रहेका शिक्षकलाई अब सहज हुने नगरपालिकाले जनाएको छ।

भोजपुर– भोजपुर नगरपालिकाले आफ्नो नगरभित्रका विद्यालयका लागि पुस्तक तयार गरेको छ। स्थानीय पाठ्यक्रमभित्र कुन विषय पठनपाठन गराउने भन्ने अन्योलमा रहेका शिक्षकलाई अब सहज हुने भएको छ।  

पुस्तक निर्माणका लागि जिम्मेवारी पाएको शिक्षकको टिमले छ महिना लगाएर कक्षा १–५ सम्मको लागि ‘हाम्रो भोजपुर नगरपालिका स्थानीय पाठ्यपुस्तक’ तयार गरेको हो। तयार पारिएको पुस्तक अध्ययनका लागि नगर प्रमुखलाई बुझाइएको शिक्षकको टिमले जनाएको छ। 

भोजपुर नगरपालिकाले पुस्तक तयारीका लागि शिक्षक लालकुमार तामाङ, विष्णुकुमार राई, दुर्गाप्रसाद बराल, लक्ष्मण जोशी, रक्तम राईरहेको टिम बनाएको थियो। टिमका सदस्य शिक्षक रक्तम राईले पुस्तक तयार भएपछि अब नगर क्षेत्रका पिद्यालयका लागि सहज हुने बताए। उनले भने, “कक्षा १ देखि ५ सम्म लेखन तथा सम्पादन गरिएको एकप्रति पुस्तक पालिकामा बुझाउन सफल भएका छौँ।” 

यो पाठ्यपुस्तक लेखन जस्तो प्राज्ञिक, प्राविधिक र गहन तथा चुनौतीपूर्ण कार्य पूरा भएको शिक्षक राईले बताए। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी पालिकाले विद्यालयका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो। 

नगरपालिकाले समयमा पाठ्यपुस्तक तयार नगर्दा विद्यार्थीलाई पढाउन समस्या हुने गरेको गुनासो शिक्षकले गर्दै आएका थिए। 

भोजपुर नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका संयोजक कैलाशकुमार आलेले शिक्षकहरूको टिमले स्थानीय पाठ्यक्रम निर्माण गरेको र सो अध्ययन गरेर अन्तिम रूप दिइने बताए। उनले भने, “पाठ्यपुस्तक तयार भएको अब स्थानीय विषय पढाउन सहज हुन्छ, पुस्तकमा सबै क्षेत्रलाई समेट्ने खालका विषय वस्तु समावेश छन्।”

स्थानीय पाठ्यक्रममा भोजपुरको पहिचान, कला, संस्कृति र सम्पदा, इतिहासलगायत विषयलाई समावेश गरिएको बताइएको छ।