अमेरिकामा नेपथ्यसँगै नेपालीपन खोजिरहेका दर्शक

अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुई वटा कन्सर्ट सम्पन्न गरेर मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ।

ओहायो– राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्य’सँग नन्दु खतिवडाको खासै साइनो छैन।

डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगे। अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो– नेपालित्वको। गत शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भिडमा नन्दु पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे।

"नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्त्व राख्छ भनेर साध्य छैन," उनी बताइरहेका थिए, "उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज आँसु थाम्न सकिनँ।"

झापाको खुदुनाबारीमा हुर्केका नन्दु नेपथ्यका गीत आफ्ना निम्ति धार्मिक मानिसलाई भजन भनेजस्तै प्रिय रहेको बताउँछन्।

"दुई घन्टासम्म मलाई ध्यानमा बसेजस्तै भइरह्यो," पत्नीसहित आएका उनले थपे, "आजको साँझ मैले जीवनकै एउटा महत्त्वपूर्ण क्षण अनुभव गरेँ।"

कन्सर्ट अवधिभर नन्दुजस्तै रमाएका दर्शकहरूले भरिएको सिंगै ‘केम्बा लाइभ’ हल ध्वनि, प्रकाश र खचाखच भिडको उत्साहले उचालिएको थियो। अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुई वटा कन्सर्ट सम्पन्न गरेर मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ।

१५औँ शताब्दीका प्रसिद्ध अन्वेषक क्रिस्टोफर कोलम्बसको सम्झनामा यो शहरको नामकरण गरिएको हो। दुई सय वर्ष पुरानो यस शहरमा साढे दुई दशकयताका तथ्यांकहरूले देखाएअनुसार अन्य जातिको तुलनामा एशियाली तथा दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरूको जनसंख्या उल्लेख्य वृद्धि भइरहेको छ।

पुनर्वास कार्यक्रम अन्तर्गत नेपालीभाषी भुटानी शरणार्थीहरूको सबैभन्दा ठूलो संख्यालाई अमेरिका ल्याइएको थियो, जसमध्ये झण्डै एक तिहाइको बसोबास यसै राज्यमा देखिन्छ त्यसबाहेक पनि नेपालीहरूको यहाँ उल्लेख्य उपस्थिति छ यसरी आप्रवासीहरूको संख्या बढेसँगै त्यसै अनुपातमा आफ्नो पहिचान र संस्कृतिको पनि खोजी बिस्तारै बढ्न थालेको स्थानीयहरू बताउँछन्।

"हाम्रै कतिपय नेपालीले अमेरिकामा आफ्ना केटाकेटीलाई नेपाली नसिकाएको पनि भेटेँ," कन्सर्टको मध्यतिर अमृतले भावुक हुँदै भनेका थिए, "बालबालिकालाई उनीहरूको जरासँग जोड्न र अरु केही नभए पनि उनीहरूका हजुरबा–हजुरआमासँग संवाद गर्नकै लागि पनि नेपाली बोल्न लगाउनुस् है।"

निर्धारित समय अनुसारै कन्सर्ट बेलुकी ठीक आठ बजे शुरू भएको थियो ‘कोशीको पानी यो जिन्दगानी’बाट शुरू भएको प्रस्तुति नेपथ्यका सार्वकालिक हिट गीतहरू हुँदै ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरू हुँदै अघि बढेको थियो अन्तिम लहरमा प्रस्तुत गीतहरू ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्य’सँगै कार्यक्रम उत्कर्षमा पुगेको थियो।

यो कन्सर्ट हेर्नकै निम्ति मिसौरीको सेन्ट लुइसबाट सात घन्टा गाडी हाँकेर अमेरिकी श्रीमतीका साथ प्रकाश जोशी कोलम्बस आइपुगेका थिए

"केही वर्षअघि पाटन दरबार स्क्वायरमा नेपथ्य कन्सर्ट हेर्न खोज्दा अत्यधिक भिडले बीचैमा फर्किनुपरेको थियो," नेपालमा महेन्द्रनगर घर भएका सफ्टवेयर इन्जिनियर जोशी भन्दै थिए, ‘त्यतिबेलै नेपथ्यको कन्सर्ट जसरी पनि हेर्ने अठोट बोकेको मैले आज चिताएभन्दा राम्रोसँग जीवनकै गजब क्षण अनुभव गर्न पाएँ।"

उनले यति भन्दै गर्दा कार्यक्रम व्यवस्थापन क्षेत्रमा कार्यरत उनकी श्रीमती साइ मेकेन्जीले थपिन्,"अमेरिकामा बस्ने धेरैको मुहारमा मुस्कानभन्दा तनाव छाएको देख्छु, यो प्रस्तुतिले धेरैको मुहारमा मुस्कान र मनमा उल्लास ल्याएको देखेँ।"

कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

कन्सर्ट यात्रामा अमेरिकामा रहेको नेपथ्यले तीन वटा प्रस्तुति सम्पन्न गरिसकेको छ। चौथो प्रस्तुतिका लागि नेपथ्य टेक्सास प्रस्थान गर्नेछ त्यहाँबाट न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा कन्सर्ट गरेपछि यस वर्षको शृंखलाबद्ध अमेरिकी यात्राले विश्राम लिने आयोजकले जनाएको छ।