बढ्दैछन् काँक्रेविहार घुम्ने पर्यटक

उपत्यकाको उँचो भागमा शिखरशैलीमा रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

सुर्खेत– वीरेन्द्रनगरबाट १० मिनेटको दूरीमा रहेको काँक्रेविहार यस उपत्यकाको सबैभन्दा उचाइमा रहेको स्थान हो।

सुर्खेतको कोलाहल छल्न र शाक्त वातावरणको आनन्द लिन मासिन यहाँ पुग्ने गरेका छन्। भग्नावशेषकै रूपमा रहेको बेला २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमणपश्चात् विहारको महत्त्व बढेको बुढापाकाको भनाइ छ।

यसको पुनर्निर्माण भने २०७५ सालमा मात्रै गरिएको थियो। ढुंगामा कुदिएका बुद्धका कलाकृति र विभिन्न बुट्टा हेर्दा काँक्रेविहार उत्कृष्ट शिल्पकारी कारीगरीको नमुनाझैँ लाग्ने यहाँ पुग्ने पर्यटक बताउँछन्। 

यसको ऐतिहासिक र पुरातात्त्विक पक्षको भने गहन अध्ययन, अनुसन्धान र अन्वेषण भने भएको छैन। विहारको निर्माण १३औँ शताब्दीतिर भएको बताइन्छ।  

केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले विसं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन् भन्ने पनि गरिन्छ। उपत्यकाको उँचो भागमा शिखरशैलीमा रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।

ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलका रूपमा रहेको छ। यसको अझ व्यापक प्रचार–प्रसारको आवश्यकता छ।