भानुजयन्ती मनाइँदै: भानुगृह पुनर्निर्माणको पर्खाइमा चुँदीरम्घा

चुँदीरम्घामा भानुगृह पुनर्निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भएको छ। 

दमौली– नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनर्निर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो। भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनर्निर्माणका लागि २०७३ चैत २२ गते शिलान्याससमेत भयो। तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भएको छ। 

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले अब भानुगृह पुनर्निर्माणको काम अगाडि बढ्ने बताए। भानुगृहको खाका तयार भएको र बोलपत्र आह्वानको तयारी गरिएको उनको भनाइ छ। “विविध कारणले लामो समयदेखि भानुगृह पुनर्निर्माण हुन सकेन। अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ,” उनले भने।

भानुगृहको लागत करिब एक करोड १० लाख रुपैयाँ रहेको छ। विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो। त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ। मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो। तर मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने उनले बताए। 

विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ। यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ। जंगलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ। भानुगृहको काम शुरू भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको कार्यकारी निर्देशक रानाभाटको भनाइ छ। 

कच्ची बाटो, पानी र बत्तीको समस्यालगायत कारण भानुगृहको काम अगाडि बढ्न सकेको थिएन। भानुभक्तको घर पुनर्निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित हुनुभयो की भन्ने भान हामीलाई पनि हुन्छ,” रानाभाटले भने, “घर पुनर्निर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास छ।”

२०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि भानुभक्तको घर पुनर्निर्माण गरेका थिए। जंगलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी भएको थियो।    

भानुजयन्तीको अवसरमा चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछन्। प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायत कार्यक्रम आयोजना गरिएको छ।