गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन्, जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने थालेको छ। गाउँका खेतबारी सबै बाँझो बनेका छन्।
बागलुङ- सुनसान गाउँ। जीर्ण घरहरू। बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन। एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ।
बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ। कोही बिरामी पर्यो भने अस्पतालसम्म पुर्याउने मान्छेसमेत यस गाउँमा छैनन्। भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो।
यस गाउँका अधिकांश युवा विदेशिएका छन्। विदेश नगएका परिवार लिएर बजार झरे। यहाँका धेरै युवा जापानमा छन्। केही युरोपतिर। युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन्।
स्थानीय रीता थापा भन्छिन्, “गाउँमा कोही बिरामी पर्यो भने तत्काल अस्पताल पुर्याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारी सबै बाँझो बनेका छन्, बूढाबूढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजारतिरै झर्न थालेका छन्।”
विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताइन्। दिनदिनै गाउँमा मान्छे घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उनको भनाइ छ।
“बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्,” थापाले भनिन्, “सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरू गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन्।”
थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउँछिन्। उनी एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउँछिन्।
“पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजिलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीमा कालोपाती उम्रिएको छ,” थापाले भनिन्।
विदेशमा राम्रो कमाइ हुनेले बजारतिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको स्थानीय विष्णु थापा बताउँछन्। “१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो,” थापाले भनिन्, “अहिले त जापानबाहेक अरू ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरू सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवार नै उतै लगे, गाउँ सुनसना भयो।”
उनले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने बताए। गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उनको भनाइ छ।
उनी भन्छिन्, “युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएका पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरू मात्रै छन्।”
बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताए। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा जम्मा १६ जना विद्यार्थी रहेको उनको भनाइ छ। प्रधानाध्यापक थापाका अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा ३ र ४ मा विद्यार्थी छैनन्। विद्यालय दुई जना शिक्षकको भरमा चलेको उनको भनाइ छ।
“बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापानतिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङतिर झारेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन कुरै भएन,” प्रधानाध्यापक थापाले भने, “कक्षा पाँचसम्म पढाइ हुने भए पनि दुई वटा कक्षामा विद्यार्थी नै छैनन्, १६ विद्यार्थीलाई दुई शिक्षकले पढाउँछौँ, तीनवटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो।”
उनले धेरै नागरिकले सेवा सुविधाको पछि लाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको बताए। बसाइँसराइले सिङ्गो गाउँनै रित्तो बन्न थालेको उनको भनाइ छ। पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार रहेका थिए। अहिले १५ परिवार मात्रै बस्ने गरेका छन्।
“मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि विस्तारै बजार झर्ने तयारीमा छन्,” थापाले भने।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्न नगरपालिकाले ग्रामीण क्षेत्रमा सहजरुपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको बताउँछन्। उनले पहिलेदेखिनै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताए।
“गलकोटमा बसाइँसराइ गर्नेको संख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौँ,” प्रमुख गैरेले भने, “ढिला चाँडो बसाइँसराइ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ।”
उनले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताए। ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइ रोक्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
