वि.स. २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समलगायत साहित्यकारहरू मिलेर इलामको करफोकमा साहित्यिक कार्यक्रम आयोजना गरेका थिए।
काठमाडाैँ– सात दशकअघि चर्चित साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ।
चर्चित ब्यान्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला शहर बजारमा नभइ इलामको सूर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदैछ। लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ।
जतिबेला नेपालमा काठमाडौँ उपत्यका बाहिर बिरलै ठूला साहित्यिक कार्यक्रम हुन्थे, त्योबेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारहरू भेला भएर करफोकमा साहित्य सम्मेलन तथा कवि गोष्ठी आयोजना गरेको इतिहास छ।
नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्त्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो। कुनै समय आयामेली लेखक इन्द्रबहादुर राई अनि वरिष्ठ कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंह प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्याश २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए। यो मैदानमा बर्सेनि राष्ट्रिय स्तरकै फुटबल प्रतियोगीतासमेत आयोजना हुँदै आएको छ।
"केहि वर्षअघि मात्र करफोक छेवैको सानो शहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना मेरो निम्ति अझै ताजा छ," नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, "त्यहाँ पुरानो सिनेमाहलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मिठो लाग्छ।"
शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो। इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीनतल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ।
"यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केहि कोषको व्यवस्था गर्नेछ," गुम्बाका निर्माण समिति अध्यक्ष हरि गुरुङ भन्छन्, "अर्कोतर्फ संगीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ।"
कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो। करफोक कन्सर्टमा टिकटको मूल्य एक हजार एक सय रुपैयाँ राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
