Friday, April 19, 2024

-->

कर्जा लिएर तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता: गभर्नर अधिकारी

गभर्नर अधिकारीले व्यवसायी वा उद्यमीले लिएको कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताए।

कर्जा लिएर तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता गभर्नर अधिकारी

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट लिएको कर्जा तथा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन्। शनिबार कृषि विकास बैंकको ५६औँ वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर बैंकबाट लिएको कर्जा नतिर्ने भनी संगठित रूपमा दबाब दिन नमिल्ने बताएका हुन्।

गभर्नर अधिकारीले वाणिज्य बैंकको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने उल्लेख गरे। उनले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गरे।

गभर्नर अधिकारीले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँकतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ? भन्दै प्रश्न गरे। उनले राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क रहेको भन्दै यस्ता अभियान र संघर्ष लामो समय नटिक्ने बताए।

"ऋण लिएर तिर्नु पर्दैन भनेर कहीँकतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ। नेपाल राष्ट्र बैंक यो विषयमा सचेत र सतर्क छ। विभिन्न अभियान र संघर्षको कारणले वित्तीय प्रणालीलाई असर पर्ला भन्ने लागेको छ भने त्यो छोटो अवधिको हुनेछ। यस्ता कुराले थप प्रश्रय पाउनुहुँदैन", उनले भने।

त्यस्तै, गभर्नर अधिकारीले बैंकलाई अहिलेको आधुनिक युक्त उपभोक्ताको आवश्यकता पूर्ति गर्नुपर्ने चुनौती रहेको बताए। उनले २०४५ सालमा सीमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिले डिजिटल आधुनिक प्रविधिमा आइपुगेको बताए। उनले बैंकले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् आफैँले मूल्यांकन गर्नु आवश्यक रहेको बताए। उनले पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको बताए।

गभर्नर अधिकारीले २५ अर्बको कारोबार क्नेटआइपीएसबाट मात्रै भइरहेको बताए। उनले नेपाली समाज अहिले त्यो प्रविधिमैत्री बनिसकेको भन्दै बैंकको चुनौती प्रविधिमैत्री नभई उपाय नभएको बताए। उनले बैंकले डिम्याट, मेरो सेयरमा मात्रै सीमित रहेर नहुने बताए।

गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङ्गले जानुपर्ने बताए। उनले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यहीअनुसारको वित्तीय कारोबारको आवश्यकता भएको बताए। उनले कृषि क्षेत्रको विकासको लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याए।


सम्बन्धित सामग्री