Friday, April 19, 2024

-->

अन्तर्वार्ता
दुधदानी र प्यासिफायर बालबालिकाका लागि हानिकारक बन्नसक्छ : डा. विमललाल कर्ण

लामो समयसम्म नवजात शिशु तथा बालबालिकाको मुखमा केही बस्नु भनेको उनीहरूको मुखमा कीटाणु जम्मा हुन दिनु हो। त्यसैले दुधदानी र प्यासिफायर जस्ता चीज धेरैबेर बच्चाको मुखमा राख्दा ठूलो समस्या निम्तिन सक्छ।

दुधदानी र प्यासिफायर बालबालिकाका लागि हानिकारक बन्नसक्छ  डा विमललाल कर्ण

वर्तमान समयमा नवजात शिशु तथा बालबालिकालाई आमाको दुधसँगै बोटल वा दुधदानीबाट पनि दुध खुवाउन थालिएको छ। दुधदानीबाट दुध खुवाउन निप्पलको प्रयोग गरिन्छ। योसँगै धेरै रुने नवजात शिशु तथा बालबालिकाका लागि चुस्ने ‘प्यासिफायर’ पनि बजारमा उपलब्ध हुन थालेका छन्। 

दुधदानी पर्याप्त मात्रामा दुध नआउने आमा तथा नवजात शिशु र बालबालिकाका लागि सहायक बनेको छ भने प्यासिफायरले नवजात शिशु तथा बालबालिकाहरूलाई भुलाउन सजिलो बनाइदिएको छ। तर, यिनको प्रयोग बालबालिकाका लागि सुरक्षित छ त? यही विषयमा केन्द्रित रहेर बालरोग विशेषज्ञ डा. विमललाल कर्णसँग उकालोका लागि सुस्मिता खड्काले गरेको कुराकानी:

नवजात शिशु तथा बालबालिकालाई दुध खुवाउन वा तिनलाई भुलाउन प्रयोग गरिने निप्पल र प्यासिफायर स्वास्थ्यका दृष्टिले कतिको उपयुक्त छन्?
दुधदानी र प्यासिफायर नवजात शिशु तथा बालबालिकाको फाइदाको लागि बनाएका  होइनन्। यी केवल आमाको सहजताका लागि प्रयोग गरिने वस्तु हुन्। आमाको दुध नै नवजात शिशु र बालबालिकाका लागि उपयुक्त हुन्छ। बच्चालाई दुध चुसाउनु स्वयं आमाको स्वास्थ्यका लागि समेत राम्रो हुन्छ। आमाको दुधले बच्चालाई संक्रमणबाट बचाउँछ। आमाको दुध प्रतिस्थापनकै लागि बोतलको प्रयोग गर्नु गलत हो। किनकि, आमाको दुधलाई कहिले पनि बोटलको दुधले प्रतिस्थापन गर्न सक्दैन। आमाको दुध उपलब्ध नहुने कतिपय अवस्थामा भने चम्चाले दुध खुवाउने कि बोटलले भन्ने कुरा आउँछ। दुध राख्ने बोटल सफा गर्न गाह्रो हुन्छ। त्यसैले आमाको दुध खान नपाउने शिशुहरूलाई चम्चाले दुध खुवाउनु उपयुक्त हुन्छ। चम्चाले दुध खुवाउन सहज नभएको अवस्थामा दुधदानीको प्रयोग गर्न सकिन्छ। 

दुधदानी र प्यासिफायर लामो समयसम्म नवजात शिशु तथा बालबालिकाले मुखमा रहँदा कुनै असर गर्छ कि गर्दैन?
लामो समयसम्म नवजात शिशु तथा बालबालिकाको मुखमा केही बस्नु भनेको उनीहरूको मुखमा कीटाणु जम्मा हुन दिनु हो। त्यसैले दुधदानी र प्यासिफायर जस्ता चीजहरू मुखमा राख्दा ठूलो समस्या निम्तिन सक्छ। पाँच/दश मिनेट राख्दा कुनै प्रकारको असर गर्दैन, तर लामो समय यी वस्तुहरू नवजात शिशु तथा बालबालिकाको मुखमा राख्दा संक्रमण हुनुका साथै पेटमा विभिन्न किसिमका समस्याहरू देखा पर्नसक्छ। कुनै संक्रमण सामान्य उपचारपछि निको हुन्छ तर कुनै संक्रमणले दीर्घकालीन असरसमेत पुर्‍याउनसक्छ। दुधदानी र प्यासिफायरले दाँत उम्रिने समय भएका र दाँत उम्रिसकेका बालबालिकाको दाँतमा समेत असर गर्न सक्छ।

तपाईंकहाँ अभिभावकले यस्ता समस्या भएका शिशु तथा बालबालिकालाई ल्याउने गरेका छन् कि छैनन्? कुन उमेर समूहका बालबालिकामा यसको असर बढी देखिन्छ?
दुधदानी र प्यासिफायरकै कारण संक्रमण भएका बालबालिका त आएका छैनन्। तर, कहिलेकाहीँ ओपीडीमा पेटमा संक्रमण भएका बिरामी आउने गरेका छन्। दुधदानी प्यासिफायरको असर यो उमेर समूहका बालबालिकामा बढी वा कम भनेर भन्न सकिने अवस्था छैन। प्यासिफायरको बानी लागेपछि नौ/दश वर्षका बालबालिकालाई समेत समस्या हुने गरेको छ। आमाले समय दिँदासम्म बोटल र प्यासिफायरको प्रयोग गर्नु हुँदैन। नवजात शिशु तथा बालबालिका रुँदा होस् वा सुताउन गाह्रो भएको बेला होस्, घरका अन्य सदस्यको सजिलोको लागि प्यासिफायर नै प्रयोग गर्ने गरेको पाइन्छ। त्यसैले बालबालिकाहरूमा यसको बानी लागेको हुन्छ। अभिभावकले नवजात शिशु तथा बालबालिकालाई समय दिनसक्यो भने यसबाट सहजै छुटाउन सकिन्छ। नवजात शिशु तथा बालबालिकालाई यसको बानी पार्नमा अभिभावकहरूकै हात हुन्छ।

दुधदानी वा प्यासिफायरलाई सादा पानीले धोइपखाली वा कपडाले पुछेर प्रयोग गर्न सकिन्छ कि सकिँदैन? यसलाई स्यानिटाइज गर्नुपर्छ कि पर्दैन?
दुधदानी र प्यासिफायर प्रयोग गर्नु कतिपय अभिभावकको बाध्यता हो। यस्तोमा दुधदानीबाट दुध खुवाउनु नराम्रो भन्न सकिन्न। शिशु वा बालबालिकाले खानै नपाउनुभन्दा त दुधदानीबाटै भएपनि दुध पाउनु राम्रो हो। तर, यसरी प्रयोग गरिने दुधदानीको बारम्बार सफाइ गर्नुपर्छ। यी वस्तुको सरसफाइमा ध्यान दिन नसक्दा शिशु वा बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पुग्नसक्छ। कतिपयलाई दुधदानी र प्यासिफायर सफा गर्ने (स्यानिटाइज) गर्ने तरिका थाहा छैन। जसले गर्दा बालबालिकामा विभिन्न समस्या देखा परिरहेको हुनसक्छ। दुधदानी र प्यासिफायरलाई कपडाले पुछेर फेरि नवजात शिशु तथा बालबालिकालाई चुसाउन दिनु एकदमै गलत हो। एकपटक प्रयोग गरेपछि त्यसलाई पाँचदेखि सात मिनेटसम्म तातोपानीमा अनिवार्य उमाल्नुपर्छ। अनि मात्रै अर्काेपटक त्यसको प्रयोग गर्नुपर्छ। बालबालिकाको मुखमा सफा नगरी दुधदानी वा प्यासिफायर राखिदिँदा त्यसमा जम्मा भएका कीटाणु बालबालिकाको मुख र पेटसम्म पुग्नसक्छन्। त्यसैले यस्ता वस्तु  एकपटक प्रयोग गरिसकेको अर्काेपटक प्रयोग गर्नुपूर्व पानीमा उमाल्नुपर्छ। यसलाई सफा गर्ने तरिका सजिलो छ। त्यसैले अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यबारे सचेत रहन सल्लाह दिन्छु। 

दुधदानी र प्यासिफायरको प्रयोग कम गर्न के गर्न सकिन्छ?
सकेसम्म प्यासिफायरको प्रयोग नगर्नु नै राम्रो हो। त्यसको प्रयोग गर्नु भनेको रोएको नवजात शिशु तथा बालबालिकालाई तिमीले मानसिक रूपमा खाना पाइरहेको छौ, चुप लाग भन्नु हो। रोइरहेको नवजात शिशु तथा बालबालिका के कारणले रोएको हो भन्ने पत्ता लगाएर उसलाई फकाउने र खेलाउने गर्नपर्छ। सिलिकन, ल्याटेक्स, रबर र प्लास्टिक जुनैबाट बनेको भएपनि प्यासिफायरको प्रयोग नगर्दा नै राम्रो हुन्छ। गर्नैपरे अधिकतम पाँच/दशमिनेट सम्म गर्न सकिन्छ तर, लामो समय नवजात शिशु तथा बालबालिकालाई यसमा भुलाउनु राम्रो होइन। लामो समय बच्चाको मुखमा केही बस्नु भनेको कीटाणु बढ्नसक्ने मौका दिनु हो। दुधदानीको प्रयोग गर्दा सरसफाइमा ध्यान दिएर प्रयोग गर्नसके ठिकै हुन्छ, तर प्यासिफायर नवजात शिशु तथा बालबालिकाबाट टाढा नै राख्दा राम्रो हुन्छ।

नेपालमा प्यासिफायर र दुधदानीको प्रयोग के-कसरी भइरहेको छ?
नेपालमा स्तनपान उल्लेख्य मात्रामा हुने गरेको छ। आमाहरूले नवजात शिशु तथा बालबालिका रोएको बेला सहज रूपमा दुध खुवाउनसक्ने वातावरण नेपालमा छ। आमाले सार्वजनिक स्थलमै बच्चालाई दुध खुवाउनुलाई कसैले पनि नराम्रो दृष्टिकोणले हेर्दैन। तर, शहरबजारतिर शिशुलाई सार्वजनिक स्थलमा दुध खुवाउन नपरोस् भनेर पनि आमाहरूले नै प्यासिफायर प्रयोग गर्छन्। दुधदानीको प्रयोग भने कम दुध आउँदा वा दुध चुसाउन झन्झट मान्दा हुने गरेको छ। यसरी के भन्न सकिन्छ भने नेपालमा यिनको प्रयोग बढ्दो छ। तर, दुधदानी र प्यासिफायरको प्रयोग कसरी भएको छ भन्ने कुराको अध्ययन भएको छैन। बजारमा खरिद-बिक्री भइरहेको छ। प्रयोग भइरहेको छ। 

बजारमा पाइने दुधदानी र प्यासिफायरको बिक्रीवितरण तथा गुणस्तरको नियामक निकाय कुन हो?
दुधदानी र प्यासिफायरको नियमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय नै हो। बजारमा बिक्री भइरहेका जतिपनि दुधदानी र प्यासिफायरहरू छन्, ती सबै विदेशबाट आयात हुन्छन्। आयात गर्दा सामान ल्याउने भन्सारबाटै हो। त्यसैले ल्याउन मिल्ने भएर नै आयात भएका हुन्छन्। हाल नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले स्तनपानलाई नै बढवा दिएको छ। तर, आमाको दुध नभएको अवस्थामा अन्य विकल्प खोजिन्छ नै। उपलब्ध भएसम्म आमाको दुध नै नवजात शिशु तथा बालबालिकाको नै राम्रो हुन्छ। दुधदानीहरूको प्रयोग अभिभावकको सजिलोको लागि मात्र भइरहेको छ। प्रायः अभिभावक आफैँ सजक छन्। तर, कतिपयलाई यसका असरबारे जानकारी छैन। त्यसैले सरकारले गाउँदेखि शहरसम्म जनचेतना फैलाउनुपर्छ।

दुधदानीको प्रयोग गर्नु कतिपय मानिसहरूको बाध्यता पनि हुनसक्छ। दुधदानी प्रयोग गर्नैपर्ने भए उनीहरूलाई सरसफाइ गर्ने तरिका सिकाउनुपर्छ। सरकारले सकेसम्म नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा हानी पुर्‍याउने वस्तुको आयात कम गर्नुपर्छ। सबैमा चेतना भयो भने बालबालिकाहरूमा हुने विभिन्न प्रकारको समस्याहरूमा कमी आउने थियो।

डा. कर्ण चक्रपथस्थित मेट्रो काठमाडौँ अस्पतालमा कार्यरत छन्।


सम्बन्धित सामग्री