Saturday, April 20, 2024

-->

परिवार पाल्न ९ महिना बगरमा बास

महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ३०० बढी विपन्न परिवार बालुवा र गिट्टी छानिरहेका छन्।

परिवार पाल्न ९ महिना बगरमा बास
तस्वीर : रासस

कञ्चनपुर– बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदीको बगरमा बिताउँछन्।

नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर कमाएको पैसाले परिवार चलेको छ। “भारत गएर काम गर्न सकेनौँ, यही काम गरेर परिवारको खर्च चलाइरहेका छौ”, उनले भने। चौधरी दम्पतीले सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भएको छ।

“हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उनी भन्छन्, “नौ महिना बगरमै बसेर काम गर्छौँ।” महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समुदायका अधिकांश परिवार अहिले बगरमै बसेर परिवारको परिवारको जोहो गरिरहेका छन्। कञ्चनपुरको बेलौरी, बेल्डाँडी, कैलाली र डडेल्धुराबाट समेत आएका छन्।

भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहा पनि बगरमा बालुवा चालिरहेका छन्। परिवारको खर्च जुटाउनका लागि आफूहरूसँग यसको विकल्प नभएको उनले सुनाए। “हाम्रो जातिको सुन छान्ने परम्परागत पेसा भए पनि गिट्टी, बालुवा छानेर जोहो गरिरहेका छौँ”, उनले भने, “यहाँ सुन भेटिँदैन, बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन।”

श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्न बगरमा बसेको उनले सुनाए। परिवारका सबै मिलेर मासिक २५ हजारसम्म कमाउने गरेको बताए। “दिनभर बगरमा काम नगरे घरमा चुल्हो बाल्न मुस्किल पर्छ”, उनले भने। पाँच वर्ष भारतको महाराष्ट्रमा मजदुरी गरेर स्वदेश फर्किएका अशोक सोनाह पनि बगरमै गिट्टी, बालुवा छान्न व्यस्त छन्।

“हाम्रो तीन पुस्ताले बगरमै गिट्टी, बालुवा छानेर परिवारको जोहो गरेको छ”, उनी भन्छन्, “सरकारले सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो।” महाकालीमा नदीमा बालुवा प्रतिट्रली एक हजार र गिट्टी एक हजार ८०० मा बिक्री हुने गरेको छ। महाकालीको भुजेलाबाट दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ३०० बढी विपन्न परिवार बालुवा र गिट्टी छानिरहेका छन्।

अधिकांश परिवारसहित नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन्।   


सम्बन्धित सामग्री