Thursday, April 25, 2024

-->

डेंगी संक्रमण : 'साँझ-बिहानको हिँडाइले जोखिम हुँदैन'

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बाहिरी वातावरणबाट डेंगी संक्रमण हुने डरले बिहान-बेलुकीका स्वास्थ्य अभ्यास रोक्न नपर्ने बताउँछन्।

डेंगी संक्रमण  साँझ-बिहानको हिँडाइले जोखिम हुँदैन
तस्वीर: उकालो

काठमाडौँ– नक्सालको मालीगाउँकी ४२ वर्षीया सीमा लोहनी बिहान चार बजे उठ्छिन्। ‘मर्निङ वाक’ गर्दै आफ्नो घरबाट ३ किलोमिटर पूर्वमा रहेको पशुपतिनाथसम्म पुग्छिन्। विगत १५ वर्षदेखि उनको दैनिकी यसैगरी चल्दै आएको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना संक्रमणताका पनि उनीजस्तै स्वास्थ्यप्रति सचेत जमात स्वास्थ्य मापदण्ड अपनाएर मर्निङ तथा इभिनिङ वाकलाई निरन्तरता दिइरहेका थिए।

उनीहरू सरकारले जारी गरेको निर्देशनका बावजुद सामाजिक दूरी कायम गरी वाकमा निस्किन्थे। वाकमा निस्किएका व्यक्तिलाई प्रहरीले रोक्नेसमेत गरेको थियो।

ठ्याक्कै कोरोनाकालजस्तै अवस्था नभए पनि अहिले डेंगी संक्रमण उच्च बिन्दु पुगेका बेला कतिपयले साँझ-बिहानको दैनिकीलाई परिवर्तन गरेका छन्। जसमध्ये एक हुन्, बालाजुकी ३२ वर्षीया सेविका श्रेष्ठ। उनी मर्निङ वाक जाने, व्यायाम गर्ने थिइन्। तर, डेंगी संक्रमण फैलिएसँगै उनी मर्निङ वाक जान छाडेकी छन्।

“बिहान सुर्योदयको समय डेंगी सार्ने लामखुट्टे बढी सक्रिय हुने सुन्छु। त्यसैले मर्निङ वाकमा जान डर लाग्छ। बरू घरमै योग गर्ने गरेकी छु,” उनले भनिन्। मुटुरोगी भएका कारण जोखिम लिन नचाहेको उनको भनाइ छ।

तर, सीमा भने सुरक्षाका मापदण्डसहित आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेकी छन्। साँझ-बिहान व्यायाम तथा वाकमा निस्कनेको संख्यामा खासै कमी नआएको उनको अनुभव छ।

“यसको अर्थ मानिसको संख्यामा कमी नआएको भने होइन। १५ प्रतिशतको आसपासमा मानिसहरूको सहभागिता कमी भएको हुनसक्छ,” उनी भन्छिन्, “विशेषतः वृद्धवृद्धा तथा युवा जमातको कमी देखेकी छु। हामीजस्ता अधबैँसेको जमात भने उस्तै छ।”

सीमाले पूरा बाहुला भएको कपडा, लामखुट्टेबाट बच्न मलम, स्प्रेको प्रयोग गर्ने गरेकी छन्। उनी १५ वर्षदेखि बिहानमा व्यायाम, योग तथा ध्यान गर्दै आएकी छिन्।

डेंगी संक्रमणका कारण मनपर्ने लुगा लगाउन नपाएको किशोर-किशोरीका गुनासो पनि सुनिन्छन्। उनीहरूले डेंगी संक्रमण हुने डरले हाफ प्याइन्ट, टि-सर्ट, स्कर्ट, फ्रक, वानपिसजस्ता कपडा लगाउन नपाएको गुनासो गर्ने गर्छन्।

भक्तपुरकी १६ वर्षीया जेनिशा श्रेष्ठ गर्मीको समयमा क्रप टि-सर्ट, वानपिस, फ्रक लगाउन रुचाउँछिन्। तर, डेंगी संक्रमण हुने डरले उनका अभिभावकले उनलाई पूरा बाहुला तथा शरीर ढाक्ने कपडा लगाउन कर गर्ने उनी बताउँछिन्। सुरुमा खासै वास्ता नगरेकी उनले आफन्त तथा साथीभाइ नै डेंगी संक्रमित भएपछि भने सचेत हुन थालेकी छन्।

“पहिरनकै कारण साथीभाइलाई डेंगी भएको त मान्दिनँ, तर संक्रमणबाट बच्ने एउटा माध्यम भने हो। आजकल बाहिर हिँड्दा आउटर तथा जिउ ढाक्ने पहिरन लगाउन थालेकी छु,” जेनिशाले भनिन्।

‘साँझ-बिहानको हिँडाइले जोखिम हुँदैन’

भाइरोलोजिस्ट डा. शेरबहादुर पुन बाहिरी वातावरणबाट डेंगी संक्रमण हुने डरले बिहान-बेलुकीका स्वास्थ्य अभ्यास रोक्न नपर्ने बताउँछन्। दैनिकरूपमा गरिँदै आएका मर्निङ वाक, व्यायाम, अभ्यास, योगमा रोक लगाउनु नपर्ने उनको भनाइ छ। यद्यपि, बाहिर निस्कँदा सर्तकता अपनाउन उनको अनुरोध छ।

“सुरुवाती चरणमा भएको भए पोखरी तथा पानी जम्ने क्षेत्रमा नियन्त्रण गर्न सकिन्थ्यो। अब भने डेंगी सार्ने लामखुट्टे घरपालुवाजस्तै भइसके। यो घरघरमा पुगिसकेको छ,” उनी भन्छन्, “घरभित्र नष्ट नगरी हुन्न।”

स्वास्थ तथा जनसंख्या मन्त्रालयअन्तर्गत सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाको किटजन्य रोग शाखाका प्रमुख गौतम दाहाल पनि डा. पुनको भनाइमा सहमत छन्। उनका अनुसार कुनै व्यक्ति हिँड्दा तथा जगिङ गर्दाभन्दा पनि स्थिर रहँदा लामखुट्टेलाई टोक्न सहज हुन्छ। डेंगीकै संक्रमणको डरमा बिहान तथा साँझको समयमा हिँड्न तथा जगिङ बन्द गर्न नपर्ने उनको भनाइ छ।

अझै एक महिना संक्रमणको डर  

प्रमुख दाहालका अनुसार शनिबार साँझसम्म डेंगी संक्रमित संख्या ३२ हजार पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो। यसअघि सन् २०१९ मा डेंगी संक्रमित १८ हजार पुगेका थिए।

डेंगी संक्रमण विगतका तुलनामा केही कम भएको प्रमुख दाहालको भनाइ छ। यद्यपि, अझै एक महिना सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

यता, डा. पुन पनि डेंगी संक्रमण कम भइसकेको भन्न मिल्ने बताउँछन्। “दैनिक डेंगी संक्रमण हुनेको संख्या ५० हाराहारीमा छ। यो संख्या दशैँ मनाउन उपत्यका बाहिर गएपछिको हो। यसकारण पनि डेंगी संक्रमण कम भइसकेको भन्न मिल्ने अवस्था छैन,” डा. पुन भन्छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार गत चैतबाट सुरु भएको प्रि–मनसुन साविकका वर्षको तुलनामा यस वर्ष केही चाँडो नेपाल भित्रियो। मनसुनसँगै डेंगी संक्रमण पनि तीव्र रूपमा फैलियो।

मौसम विभागले मनसुन विस्तारै बाहिरिने क्रममा रहेको बताएको छ। तर, मनसुन बाहिरिए पनि तत्कालै डेंगीको संक्रमण कम नहुने डा. पुनको तर्क छ। सन् २०१९ मा पनि मंसिरको पहिलो सातासम्म फाटफुट डेंगी संक्रमित भेटिएको उनी स्मरण गर्छन्।

“जबसम्म लामखुट्टे देखिन्छन्, तबसम्म डेंगी संक्रमणको सम्भावना रहिरहन्छ,” उनले भने, “पोस्ट मनसनु प्रायः दशैँपछि पर्ने गर्छ। मेरो अनुभवका आधारमा हरेक वर्ष दशैँको ड्युटीमा डेंगीको बिरामी देखिन थाल्थ्यो। यसकारण अझै ३–४ हप्ता बिरामीको संख्या बढ्न सक्छ।”


सम्बन्धित सामग्री