Thursday, April 25, 2024

-->

राष्ट्रसंघको महासभामा युवा नेताहरूले खोजे राजनीतिमा नयाँ आयाम

राष्ट्रसंघीय महासभामा नयाँ पुस्ताका नेताले विश्व राजनीतिका चुनौती र समाधानबारे धारणा राख्दै विकासशील देशमा धनी मुलुकको हस्तक्षेप स्वीकार्य नहुने तर्क गरेका छन्।

राष्ट्रसंघको महासभामा  युवा नेताहरूले खोजे राजनीतिमा नयाँ आयाम
तस्वीर : एपी

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका युवा नेताहरूले समसामयिक विषय र वर्तमानका चुनौतीमाथि आफ्ना धारणा राखेका छन्। महासभामा युवापुस्ताका नेताहरूको नवीन विचारसहितको दरिलो उपस्थितिले विश्व राजनीतिमा नयाँ आयामको खाँचो समेत औँल्याएको छ।



विश्वका नेताहरूको भेलामा एकखाले समानता बोकेका युवा राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू, विदेशमन्त्रीहरू र अन्य विशेष उच्चपदस्थहरूले असीमित इन्टरनेट, बढ्दो आर्थिक असमानता र बढ्दो जलवायु संकटजस्ता विषयमा जोड दिएका थिए।



अमेरिका, युरोप, एसिया र अफ्रिकी मुलुकको प्रतिनिधित्व गर्दै सत्ता सम्हालेका नयाँ पुस्ताका नेताहरूलाई राष्ट्रसंघले विचार राख्ने वातावरण बनाइदिएको हो। त्यहाँ बोल्ने अधिकांश नेताहरू सन् १९८१ देखि १९९६ को अवधिका जन्मेका हुन्।



दोस्रो विश्वयुद्धपछि स्थापना भएको ७७ वर्ष पुरानो कूटनीतिक संगठन राष्ट्रसंघमा युवा र विश्व मञ्चमा महत्वपूर्ण स्थान बनाएका नेताको समेत उपस्थिति थियो। जसमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन पनि हुन्, जसले किशोरावस्था कट्नेबित्तिकै मुलुकको बागडोर सम्हाल्ने अवसर पाएका थिए। यस्तै, फिनल्याण्डकी ३६ वर्षीया प्रधानमन्त्री सना मरिनसमेत थिइन्।



मंगलबार भएको महासभाको पहिलो बैठकमा चिलीका ३६ वर्षीय राष्ट्रपति ग्याब्रियल बोरिकले आफ्नो अनुभव सुनाउँदै भन्छन्, “सडक प्रदर्शनबाट उदाएको नेताको नाताले भन्छु, राजनीतिबाट समाधान पहिल्याउनुभन्दा सडक प्रदर्शनको प्रतिनिधित्व गर्न सहज रहेछ। नागरिकहरू बोल्न थालेको मुलुकमा सरकारले कहिल्यै हार्नु पर्दैन। नागरिकले बोल्ने र सुन्नसक्ने प्रजातन्त्र निर्माण नै विश्व राजनीतिको मुख्य चुनौती हो। उनी चिलीको पहिलो युवा राष्ट्रपतिसमेत हुन्।



एल साल्भाडोरका ४१ वर्षीय राष्ट्रपति नायिब बुकेले भन्छन्, “विकासशील मुलुकले आफ्ना लागि कोरेको बाटोमा धनी मुलुकहरू बाधक बन्नु हुँदैन। अलंकारयूक्त वाक्यको प्रयोग गर्दै बुकेलेले अमेरिका र यूरोपले एल साल्भाडोरको संवैधानिक अधिकार र अन्य क्षेत्रमा हस्तक्षेप गर्न खोजेको भन्दै आलोचनासमेत गरे।



बुकेले भन्छन्, “हामी कागजमा मात्रै स्वतन्त्र र सार्वभौम भएर हुँदैन। हामी मित्र बन्न सक्छौँ, उनीहरूको प्रशंसा गर्छौँ, संभावित सबै सम्बन्ध र सहकार्य गर्छौँ, तर उनीहरूको निर्देशनमा चल्न सक्दैनौँ भन्ने कुरा शक्तिशाली मुलुकहरूले जबसम्म बुझ्दैनन् तबसम्म सार्वभौम हुनुले मात्र अर्थ राख्दैन।



डिजिटल प्रविधिसँग साक्षात्कार अधिकांश युवा पुस्ताका नेता सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँबाटै स्थापित भएका हुन्। तर यही माध्यमको दुरुपयोग हुँदा गलत सूचनाले प्रश्रय पाइरहेको भन्दै युवा नेताहरूले पश्चतापसमेत गरे। अनलाइनबाट हुने गलत सूचना प्रवाहलाई रोक्न र मानवअधिकारको सुरक्षा गर्न इन्टरनेटमा डिजिटल मानवताको खाँचो रहेको एक नेताको भनाइ थियो।



असत्य कुरा विचार होइन। कोभिडबारेका तथ्यलगायत थुप्रै हाम्रा साझा मूल्यमान्यतामा प्रहार हुने गरी इन्टरनेटमा आएका भ्रामक सूचनालाई पन्छाउन जरुरी छ,” चेक रिपब्लिकका विदेशमन्त्री जन लिपाभ्स्कीको भनाइ थियो। अनलाइनका भ्रामक सूचनाले समाजलाई रोगी बनाएकाले सचेत रहन सबैलाई आग्रह गरे। 



अमेरिकी थिंक ट्यांक, विल्सन सेन्टरकी लेखक तथा राजनीतिक अध्येता जेनिफर सुबाले भन्छिन्, "अधिकांश युवा नेता मुलुकको अस्थायित्व र पहिचानको खोजीमा राजनीतिमा आएका हुन्।"



दोस्रो युद्धपछिको समय परिस्कृत हुँदै गए पनि अधिकांश युवामा आशावादी सोचको विकास नभएको उनी बताउँछिन्। नयाँ पुस्ताका मानिस बढी उदारवादी छन् भन्नु गलत हुने उनको भनाइ छ। अधिका‌ंश युवा वामपन्थतर्फ झुकाव राख्ने पनि उनी बताउँछिन्।



सम्बन्धित सामग्री