Friday, March 29, 2024

-->

विदेशको कमाइले पालिनै मुस्किल, फर्किएर आरनमै

वैदेशिक रोजगारीका लागि खाडी पुगे पनि त्यहाँको आम्दानीले घर चलाउनै मुश्किल हुन थालेपछि पोखरा–२६ लेखनाथका प्रकाश विश्वकर्मा  आफ्नै गाउँ फर्किएर परम्परागत आरन पेशा गरिरहेका छन्।

विदेशको कमाइले पालिनै मुस्किल फर्किएर आरनमै

कास्की। पोखरा–२६ लेखनाथका ४२ वर्षीय प्रकाश विश्वकर्मा  रोजगारीकै लागि खाडी मुलुक पुगे। १० वर्ष उतै बिताए। तर, उनीसँग बासबाहेक गरी खाने एक टुक्रा पनि जमिन छैन। 



चार वर्षकै उमेर छँदा उनका बुबाको मृत्यु भएको थियो। परिवार पाल्ने मूल व्यक्तिकै मृत्युले उनको परिवारमा विचलन मात्र आएन दैनिकी समेत कष्टपूर्ण बन्यो। 



चार वर्षमा टुहुरो बनेका प्रकाशलाई उनकी आमाले गाउँघरमा खेतालो गएर ल्याएको ज्यालाले हुर्काइन्। आमाको दुःख, कष्ट उनले सानै उमेरमा देख्दै र भोग्दै आए। आमाको दुःख बाँड्नु पर्छ भन्ने सोच उनमा आयो। बिहान बेलुका हातमुख जोर्न १२ वर्षकै उमेरमा गाउँलेको हलो मात्रै जोतेनन्पो, खरा नदिपुरको एक भाँडा पसलेकहाँ तामाका भाँडा बनाउने कामसमेत गरे। 



तामाका भाँडा बनाउँदाको पैसाले नपुगेर विदेशमा बढी कमाइन्छ कि भनेर उनी खाडीतिर लागे। विदेशमा पाउने मासिक ३० हजार रुपैयाँले परिवार पालिने मात्र भएपछि उनलाई त्यति पैसा स्वदेशमै कमाइन्छ भन्ने आत्मविश्वास पलायो। अनि नेपाल फर्किए।



पत्नी, एक छोरा र एक छोरी भएका प्रकाशले एक वर्षयता घर नजिकै लेखनाथको कालिका चोकमा आरन व्यवसाय सुरु गरेका छन्। मासिक रु.६ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर उनले आरन व्यवसाय सुरु गरेका हुन्। 



“जिजु बाजेको पालादेखि सञ्चालन हुँदै आएको आरन व्यवसाय युवाले अँगाल्न छाडिसकेकाले मैले यही पेशामा भविष्य देखेर रोजेँ,” उनले भने, “हाम्रा बाउ बाजेले यही पेशा गरे, तर अहिलेका युवा सबैले छाडे।” उनी यही पेशाबाट विदेशमा कमाइने पैसा घरै बसेर आर्जन गर्न सकिने र भविष्य पनि भएको बताउँछन्।



उनको आरन व्यवसाय एक वर्षदेखि राम्रो चलेको छ। काममा पत्नीले पनि सघाउँछिन्। छोरा कक्षा ११ र छोरी कक्षा ७ मा पढ्दैछन्। 



पोखराको लेखनाथ स्थित वडा नं २६, २७, २९, १४, १५ का मानिसहरु हँसिया, दाउ, बन्चरो, छिनो, फाली, गैँची, कुटो, कोदालो, तामा तथा सिलोट भाँडा तथा फलामका हतियारमा धार लगाउन आउने गर्छन्। “मासिक ३०–४० हजार कमाइ हुन्छ, त्यसले जेनतेन परिवार  पाल्ने काम भएको छ, यो पेशा कठिन छ, कामकै सिलसिलामा कहिले आगोले शरीरका अङ्गहरु पोलिन्छन्, कहिले हात खुट्टा काटिन्छ, तर पनि सुरक्षित भएर काम गरेको छु”, उनले भने।



आरन व्यवसाय सुरु गर्दा डेढ लाख रुपैयाँ खर्च भएको उनले बताए। आरन व्यवसायलाई आधुनिक बनाउनका लागि आवश्यक खर्च भने आफूसँग नभएको उनी बताउँछन्। उनले भने, “गाउँमा विभिन्न पार्टीका नेता छन्त, र सरकारी अनुदान प्राप्त गर्ने बाटो सिकाउँदैनन्।”



सम्बन्धित सामग्री