Thursday, January 16, 2025

-->

सेतो हिउँमा अँध्यारो भविष्य– ‘कुनै दिन म पनि हिमालमै अस्ताएँ भने...’

सगरमाथाको क्याम्प–४ भन्दा माथि १५–२० वर्षदेखिका शवहरू असरल्लै देखेपछि पटकपटक रिदरको मथिङ्गल हल्लिएको थियो। सन् २००१ मा त आफैँले एउटा शव तल झार्नुपर्दा आफ्नो भविष्य सम्झेर चिन्तित भएका थिए।

सेतो हिउँमा अँध्यारो भविष्य– ‘कुनै दिन म पनि हिमालमै अस्ताएँ भने’
तस्वीर साैजन्य: रिदर लामा भोटे

काठमाडौँ– गएको मे महिनामा क्यानडेली नागरिक एफ्सिनलाई लिएर रिदर लामा भोटे सगरमाथाको शिखरमा पुग्नै लागेका थिए। शिखरमा पुग्न प्रयास गरिरहेका र पुगेर फर्किरहेकाहरूको दोहोरो लाइन थियो। चौँथो शिविरभन्दा माथि हिलारी स्टेपमा पुगेका उनीहरू त्यहाँ एकछिन रोकिनु पर्‍यो। भिडका कारण डोरी समात्ने ठाँउसमेत थिएन।

त्यतिकैमा रिदरको आँखा नजिकैको हिउँको ढिस्कोमा पुग्यो। उनले सोचे– ओहो! यो ढिस्को भत्कियो भने ५०–६० जना नेपालतिर, ५०–६० जना तिब्बततिर खस्छन्। “मैले आफ्ना आरोहीलाइ केही पर लगेर सुरक्षित गरेँ। त्यतिकैमा हिउँको ढिस्को खस्यो, मेन रोपमा आफ्नो डोरी झुण्डाएकाहरू सबै बाँचे,” उनी भन्छन्, “दुई जनाले मेन रोपमा आफ्नो डोरी झुन्ड्याउन बिर्सेका रहेछन्। एक जना नेपाली शेर्पा गाइड र एकजना आरोही हिउँमा बजारिँदै तल खसे।”

त्यतिकैमा हिउँको चिसोमा उभिएका रिदरको मनमा पनि चिसो पस्यो। उनलाई लाग्यो ‘धन्न मरिएन!’ आफू जस्तै शेर्पा गाइड र विदेशी आरोहीको मृत्यु भएको निश्चित हुँदा पनि उनले आफ्ना क्यानडेली ‘क्लाइन्ट’सँग यो कुरा लुकाउनुपर्‍यो। नत्र आठ हजार मिटरमाथिको अल्टिच्युडका कारण ती आरोहीलाई झन् अफ्ठ्यारो पर्न सक्थ्यो। “२१ वर्षको ती युवा गाइड पास्थेन्जी शेर्पा त्यसरी खसेको देख्दा एकछिन भावुक बनेँ” उनले भने।

क्यानडेली नागरिक एफ्सिनसँग रिदर।

रिदरसँग भएका क्यानडेली नागरिक बेस्सरी डराएछन्। रिदरले ‘उनीहरूलाई केही भएको छैन, केही तल पुगेपछि रोकिन्छन् र बाँचिहाल्छन्’ भन्दै ढाडस दिए। तर उनले आफ्नो मनमा भएको डरलाई भने हटाउन सकेनन्। 

त्यति मात्रै होइन क्याम्प–४ भन्दा माथि लाग्दै गर्दा १५–२० वर्षदेखिका शवहरू असरल्लै देख्दा पटकपटक उनको मथिङ्गल हल्लिएको थियो। परिवार, साथीभाइ र नातागोताहरूले पनि उनलाई धेरैपटक त्यस्तो जोखिमको काम नगर्न सुझाएका थिए। तर पैसा कमाउन आफूसँग अरू सीप र उपाय नभएको उनी बताउँछन्।

‘पोर्टर’बाट शुरू गरेर ‘गाइड’सम्म
संखुवासभाको भोटखोला गाँउपालिकास्थित हटियामा २०४८ सालमा जन्मिएका रिदरले विद्या प्राथमिक विद्यालयबाट कक्षा ५ सम्म मात्रै अध्ययन गरेका छन्। गाँउका सबै युवा कोही विदेशतिर गएका छन् भने कोही हिमाल आरोही भएका छन्। उनी पनि हिमालतिर आकर्षित भए।

रिदरको हिमालतर्फको यात्रा पोर्टर (भरिया)बाट शुरू भयो। उनले सन् २०१६ मा एक वर्ष सामान बोक्ने काम गरे। सोलुखुम्बुको लुक्लाबाट सगरमाथा आधार शिविरसम्म पुग्न भारी बोकेर लगभग तेर्सो र उकालो लामो पैदलयात्रा गर्नुपर्थ्यो। त्यसको दुःख अवर्णित लाग्छ उनलाई।

सामान बोक्ने कामभन्दा आधार शिविरमा ‘कुक’को सहयोगी बन्दा सहज होला भन्ने उनलाई लाग्यो, अनि त्यही काम शुरू गरे। दुई वर्ष ‘हेल्पर’ भएपछि उनलाई ‘क्लाइम्बिङ’ गर्ने इच्छा जाग्यो। कमाइ पनि राम्रै हुने भएपछि ‘क्लाइम्बिङ कम्पनी’मा आबद्ध भए। त्यसपछि संसारकै अग्लो शिखर सगरमाथाको यात्रा शुरू भयो।

सन् २०१९ मा रिदर पहिलोपटक सगरमाथा आरोहणका लागि गए। त्यति बेला १७ जना भारतीय सेनाको समूह आरोहणका लागि आएको थियो। उनीहरूको गाइडका रूपमा शिखरमा पुग्नु थियो। 

आधार शिविरमा हिमालको पूजा गरेर उनी आरोहण सहयोगी समूहसहित टेन्ट राख्न क्याम्प–१ गए। टेन्ट राखिसकेपछि विदेशी आरोहीहरूलाई लिन उनी पुनः आधारशिविर झरे। उनले अल्टिच्युडमा सहज बनाउँदै आरोहीहरूलाई क्याम्प–३ सम्म लैजाने र पुनः आधारशिविर झार्ने गरिरहे। 

आरोहण समूहका लागि एक आरोही बराबर एक जना गाइड राखिएको हुन्छ। उचाइमा सहज भएपछि उनीहरू उकालो लागे। क्याम्प–४ भन्दा माथि पुगिसकेका थिए, उनले लगेका आरोहीको अक्सिजन सिलिण्डर फेर्नुपर्ने भयो। पहिलोपटक गाइड भएका उनी केहीबेर त अत्ताल्लिए। तर आफूलाई सम्हाले र आफ्ना आरोहीको सिलिण्डर फेरिदिए। 

क्याम्प–४ सात हजार ९०० मिटर उचाइमा छ। त्यहाँबाट साँझ ७–८ बजे शिखरतिर बढ्न शुरू हुन्छ। अलि छिटो गतिमा हिँडे बिहान ७–८ बजे र गति ढिलो भए ९–१० बजेसम्ममा शिखरमा पुग्न सकिने उनी बताउँछन्।

उनको पहिलो प्रयास सफल भयो। उनीहरूले भारतीय सैनिकहरूलाई सगरमाथाको चुचुरोमा पुर्‍याउन सफल भए। त्यसपछि उनको आत्मबल पनि बढ्यो। 

सन् २०२० मा मनास्लु आरोहणका लागि बहराइनका राजकुमारको टोली आएको थियो। उक्त समूहका १८ आरोहीका लागि ३५ जना शेर्पा थिए। त्यही टोलीमा गाइड भएर रिदर पनि गएका थिए। 

उनी २०२१ मेमा दुईपटक सगरमाथाको शिखरमा पुगे। पहिलोपटक एक भारतीय महिलालाई लिएर गएका थिए। दोस्रोपटक १० जना युक्रेनी आरोहीसँग गए। त्यही वर्ष सेप्टेम्बरमा उनले भारतीय महिलालाई मनास्लु पनि आरोहण गराए। 

उनले सन् २०२२ मा स्विट्जरल्यान्डका दुई आरोहीलाई सगरमाथा शिखरमा पुर्‍याए। २०२३ मा भने मेक्सिकन आरोहीलाई शिखरसम्म पुर्‍याउन सकेनन्। उनी बिरामी भएपछि आधारशिविरबाटै फिर्ता हुनु परेको थियो। त्यही वर्ष चिनियाँहरूको समूहका एक सदस्य पनि शारीरिक अवस्था ठीक नभएपछि क्याम्प–४ भन्दा केही माथि अक्सिजन सिलिन्डर फेर्ने ठाउँबाट फर्किएका थिए।

रिदरले २०२३ सेप्टेम्बरमा क्यानडेली नागरिक एफ्सिनलाई मनास्लु हिमाल आरोहण गराए। उनको व्यवहारबाट एफ्सिन खुशी भएर उनीसँगै सगरमाथा आरोहण गर्ने इच्छा देखाए। २०२४ मेमा उनीहरूले सगरमाथाको सफल आरोहण गरे। 

“मलाई मनपराउनु पर्ने कारण मौसमबारे मेरो बुझाइ र मैले गर्ने व्यवहार हो। पहिलोपटक मनास्लु आरोहण शुरू गरिरहँदा फर्किने आरोहीहरूको हात हिउँले खाइदिएछ। हिमपातका कारण शारीरिक अवस्था एकदमै कमजोर भएछ,” उनी भन्छन्, “तीव्र हिमपात भइरहेको थियो। एफ्सिनले डराएर यसपालि आरोहण नगरौँ, बरु दोस्रोपटक गरौँला भन्ने प्रस्ताव राखेका थिए। तर उनलाई मौसमबारे सबै जानकारी गराएर सहज रूपमा आरोहण गराएको थिएँ।”

सिजनैपिच्छे हिमाल आरोहण गर्न गाह्रो हुने उनी बताउँछन्। “तिर्खा साह्रै लाग्ने हुन्छ। जति राम्रो थर्मस भए पनि पानी जमिहाल्ने कारण पनि थप असहज भएको छ,” उनी भन्छन्।

विकल्प विदेश!
रिदर सन् २०२१ मा सगरमाथाबाट शव ल्याउन गएका थिए। क्याम्प–४ बाट तल झार्नु थियो। क्याम्प–२ सम्म आइपुग्दा उनलाई भविष्यको चिन्ताले सताउन थालेको थियो। “कुनै दिन म पनि मरेँ भने यसरी नै लास बोकेर लैजान्छन् होला भन्ने लागेर पिर लागेको थियो,” उनले भने।

उनले ल्याएको शव चिनियाँ मूलका अमेरिकी नागरिकको थियो। क्याम्प–२ बाट शव हेलिकप्टरले काठमाडौँ लग्यो। 

यसरी हिमालमा अस्ताए शेर्पाको शव घर पुर्‍याउन खर्च गर्नै नसक्ने अवस्था रहेको सम्झँदा रिदर दुखी हुन्छन्। उनी भन्छन्, “२५–३० लाख रुपैयाँ खर्च गरेर लास घर कस्ले लगिदिन्छ! क्याम्प–४ भन्दा माथि देखिएका कतिपय लासहरू धेरै पैसा खर्च गर्नुपर्ने भएपछि नसक्ने भएर परिवारले नलगेका हुन्।”

उनी श्रीमती र छोरासहित काठमाडौँको टोखामा बस्छन्। उनको परिवारले वर्षको ४० हजार तिर्ने गरी जग्गा भाडामा लिएर टहरा बनाएर बसेको छ। उनी वर्षको १० देखि १५ लाखसम्म कमाउँछन्। तर नौ महिना ‘अफ सिजन’ हुन्छ।

रिदर अब विदेश जाने तयारीमा छन्। तर कुन देश जाने अहिले नै टुंगो लागिसकेको छैन। यसअघि कृषि क्षेत्रमा काम गर्न इजरायल जान खोजेका थिए। तर सरकारले श्रम स्वीकृति नदिँदा रोकिए। उनी भन्छन्, “विदेश त जसरी पनि जानै पर्ने भयो, नेपालमा बसेर केही होला जस्तो छैन।”

रोजगारीका लागि उनी पुनः विदेशको प्रकृया अघि बढाउने तरखरमा छन्। “अहिले मुख्य कुरा भनेको काममा रिक्स भयो, राज्यले सुरक्षाका लागि पहल नै गरेन। इन्सुरेन्सले दिएको १५ लाखले मरेको मान्छेको घेवा (काजक्रिया) गर्न नै पुग्दैन” उनी भन्छन्।


सम्बन्धित सामग्री