Sunday, July 13, 2025

-->

यात्रा
फेवा किनारमा बाबुछोराको गफ

हिमाल आरोहणदेखि हिप्पी पर्यटक आगमनको जगमा फस्टाउँदै आएको पोखराको पर्यटनमा व्यवसायीले लगानी थप्दै गएका छन्। पर्वतारोहण, पदयात्रादेखि बिदा मनाउन र दृश्यावलोकन गर्न आउने पर्यटक यहाँका पाहुना हुन्।

फेवा किनारमा बाबुछोराको गफ

पोखरा लेकसाइडको होटलको छतको टहरोमा बास रहेका कारण एउटा लाभ भने हामीलाई भयो—छतबाटै पोखराको मनोरम प्रकृतिको सौन्दर्यपान। बिहान करिब साढे चार बजेतिर कोठामा आएर पल्टेका हामी ब्युँझदा करिब आठ बजेको थियो। राति निदाउन पाइएन। बिहानीको सुताइ के हुनु? छोरा आदित्येन्द्र (आदित्य) चाहिँ केही बेर निदाए। ब्युँझनेबित्तिकै आँखा झ्यालबाहिर जाँदा पोखराको प्रकृतिले स्वागत गरेझैँ लाग्यो। तर अनिन्द्राका कारण आँखा भने मस्तिष्कसँग तालमेल मिलाउन अझै असमर्थ थियो।

फर्केर ओछ्यानमै गएर पल्टिने प्रयास गरेँ। निन्द्रा लागेन। त्यति नै बेला कोही आएझैँ लाग्यो। यसो बाहिर हेरेको, म कार्यरत संस्था राष्ट्रिय समाचार समिति (रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव (वासु) पौडेल रहेछन्। कोठामा पस्ने बित्तिकै उनको पहिलो प्रश्न थियो, "दाजी, अन्त राम्रो कोठा पाइएन र यहाँ टहरोमा बस्नुभएको?" भनेँ, "अरे भाइ, धन्न यही भने पनि पाइयो। नत्र आज सडककै बास हुने ठूलो सम्भावना थियो।" उनी हाँसे मात्रै, केही बोलेनन्। यति मात्र टिप्पणी गरे, "त्यो त हो दाजी। तर यो मिलेन। सम्बद्ध व्यक्ति र संस्थालाई यो कुरा भन्छु। यो त हाम्रा लागि सिकाइ पनि हो नि!" 

पात्रो र तिथिमिति परिवर्तन भएको पनि अब करिब आठ घण्टा बितिसकेको थियो–२०८२ वैशाख २८। आजको दिन अलिक व्यस्त रह्यो। नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको दोस्रो दिन। यो सम्मेलनको दोस्रो दिनको सम्पूर्ण कार्यक्रम पोखरामै हुने निश्चित थियो। करिब साढे आठ बजेतिर वासुसँगै म र छोरो आदित्य कार्यक्रमस्थलतिर लाग्यौँ। खाजा त्यहीँ खाने निर्धारित थियो। पछिल्लो दिनमा पोखराको परिचय पर्यटकीय राजधानीका रूपमा विकसित र विस्तार गर्न खोजिएको छ। यस अनुकूलको वातावरण यहाँ निर्माण गर्न सकिएको छ वा छैन? सेवा सुविधा विस्तार गर्नै सकिएको छ-छैन? पर्यटकीय राजधानीको घोषणापछि पर्यटकले यहाँ नयाँ लाभ के पाए? पहिलाभन्दा अहिले के फरक पर्‍यो?  यी सबै बहस र छलफलका विषय हुन्। यसबारे पछि अरू कुनै बेला चर्चा गरौँला। अहिलेलाई लोमान्थाङ सम्मेलनकै कुरा गरौँ।

नौ बजेदेखि शुरू हुने भनिए पनि प्रारम्भिक सत्र करिब १० बजेतिर शुरू भयो। पहिलो सत्रलाई गण्डकीको पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका विषयमा केन्द्रित गर्न खोजिए पनि मूलतः यो सत्र पोखरामा सम्मेलनको उद्घाटनसँग सम्बन्धित थियो भन्दा अस्वाभाविक हुँदैन। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न यो सत्रमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको पनि सहभागिता थियो। यस अतिरिक्त सान्दर्भिक–असान्दर्भिक अन्य थुप्रै वक्ताको वक्तव्यले कार्यक्रमलाई बोझिलो बनाएको थियो। मैले यस्ता कार्यक्रममा वक्ताको बोल्ने रहरको मनोविज्ञानको विश्लेषण गर्न सकेको छैन।

आयोजकको त कतिपय सन्दर्भमा बाध्यता हुन्छ र कतिपय सन्दर्भमा लोकाचार पनि। उसले नचाहँदा नचाहँदै पनि वक्ताको सूची लम्ब्याउनुपर्ने हुन सक्छ। वक्ताले सोच्नुपर्ने कुरा हो—बोल्ने कि नबोल्ने, कार्यक्रम आफूसम्बद्ध छ कि छैन ? स्रोता छन् कि छैनन् ? भएका स्रोताले पनि आफूलाई सुनेका छन् कि छैनन्? तर प्राय: वक्ताले यी कुराको हेक्का राख्दैनन् र मात्र बोल्नका लागि बोल्छन्। पोखराको यो सत्रको अधिकांश वक्ताको अवस्था पनि यस्तै थियो भन्ने मेरो निष्कर्ष हो– सन्दर्भ नयाँ रहे पनि वक्ताबाट कुनै नयाँ कुरा खासै आएन, कार्यक्रम अनाहकमा लम्बियो। 

प्रारम्भिक सत्रको तुलनामा पछिल्ला प्राविधिक सत्र बरु फलदायी भएको टिप्पणी सहभागीको थियो। जलवायु परिवर्तन र मिडियाको भूमिका विषयक पहिलो प्राविधिक सत्रमा पत्रकारहरू कसमस विश्वकर्मा, विपुल पोखरेल, बाला अधिकारी वक्ता र सहजकर्ताका रूपमा सहभागी थिए। पत्रकार तारानाथ दाहालले दोस्रो प्राविधिक सत्रको सहजीकरण गरेका थिए। दक्षिण एशियाको पत्रकारिता: न्यु मिडिया र एआईसम्बन्धी यो सत्रमा अन्तर्राष्ट्रिय पत्रकार महासंघकी सविना इन्द्रजित, पत्रकारहरू भारतका गीतार्थ पाठक, बांग्लादेशका खैरुज्जमान कमाल, भुटानका सांगे रबतेन र बुल्गेरियाका वासिल सोतिरोभले वक्ताका रूपमा आफ्नो धारणा राखे।

सत्रको निष्कर्ष थियो–दक्षिण एशियाको पत्रकारिताको अवस्था करिब उस्तै छ। समस्या र चुनौती समान छन्। यस क्षेत्रका पत्रकारले सहकार्य गर्न सक्ने क्षेत्र थुप्रै छन्, खोजी गरिनुपर्छ। यस्तै ‘प्रेस स्वतन्त्रता र व्यावसायिकता: नेपालको सन्दर्भ’ विषयक आजको तेस्रो तथा अन्तिम सत्रको सहजीकरणको अवसर मैले प्राप्त गरेको थिएँ। यस सत्रमा पत्रकारहरू लक्ष्मण हुमागाईं, हरिबहादुर थापा, किरण नेपाल र जगत् नेपालको सहभागिता थियो। सत्रको निष्कर्ष थियो–अनेक सीमितताको उपस्थितिमा पनि नेपाली पत्रकार प्रेस स्वतन्त्रताको अभ्यासको प्रयास गर्दै छन्, तर यो पर्याप्त छैन।

औपचारिक र प्राविधिक सन्दर्भपछि सहभागीहरू पोखरा घुम्न स्वतन्त्र थिए। त्यसो त प्राविधिक सत्रमै पनि सहभागीले घुम्ने लाभ लिन त कहाँ छोडेका हुन् र? पत्रकार न हुन्, अर्काको खटनपटनमा बस्नै गाह्रो। पोखराबाहिरबाट मात्र झन्डै १०० जना पत्रकारको सहभागिता रहेको उक्त सम्मेलन आयोजनाका दृष्टिले भने स्वयंमा निकै महत्त्वपूर्ण रहेकोमा विमति हुन सक्दैन। कार्यक्रम कक्ष (हल) छोड्दा करिब साढे पाँच बजिसकेको थियो। सात बजेतिर पुनः हलमा आइसक्नुपर्ने उर्दी युनियनका अध्यक्ष शिव लम्सालले जारी गरेका थिए।

अरूसँगै म पनि हलबाहिर निस्किएर आफ्नो होटलको कोठातिर लागेँ। होटल व्यवस्थापनलाई के लागेछ कुन्नि ? अहिले जाँदा मेरो कोठा परिवर्तन गरिएको रहेछ, पहिलाभन्दा राम्रो थियो। यो काम जसले गरे/गराएको भए पनि धन्यवाद भन्न मन लाग्यो। छोरो आदित्य खाना खाएर कार्यक्रम स्थलबाट बाहिरिएका थिए। उनी साइकल भाडामा लिएर एक्लै एकछिन पोखरा घुम्छु भनेर निस्किएका थिए। म होटल पुग्दा उनी फर्किसकेका थिएनन्। मैले फोन गरेर बोलाएँ, एकछिनपछि आइपुगे। अब भने बाबुछोरा पदयात्रामा निस्क्यौँ। गन्तव्य थियो, फेवाताल र आसपास। 

आदित्य यसअघि दुई पटक पोखरा आइसकेका छन्। पहिलो पटक २०६६ सालतिर। म नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदा केन्द्रीय समिति सदस्यद्वय पुण्य पौडेल र रवीन्द्र बास्तोलाको सहजीकरण र नेपाल पत्रकार महासंघ कास्की र तत्कालीन अध्यक्ष नारायण कार्कीको संयोजनमा यहाँ केन्द्रीय समितिको बैठकको आयोजना गरिँदा मसँगै आएका थिए। त्यसबखत उनी सानै भएकाले झिनोमात्र स्मरण मात्र छ पोखराको उनलाई। त्यसपछि कोरोनाकालमा शिव लम्साल, म र आदित्य यहाँ आएका थियौँ। कोरोनाका कारण घुमघामका लागि अनुकूल वातावरण नहुँदा उनी एक किसिमले त्यसैत्यसै फर्केका थिए।

यस पटक उनलाई पोखरा र मुस्ताङ घुमाउने जिम्मेवारी बोकेर आएको थिएँ। घुम्न मन पराउने आदित्यलाई मसँग यो क्षेत्र घुम्न नपाएको ठूलो गुनासो थियो। युवाले यसरी घुमेर देश हेर्न र बुझ्न चाहन्छन् भने त राम्रो कुरा हो नि! यसले त विचार निर्माणको प्रक्रिया नै सकारात्मक दिशामा मोडिन्छ। मलाई लाग्छ, नेपालको धेरैजसो राजनीतिकर्मी र जनसंख्यामा वर्गीय, सामुदायिक र साम्प्रदायिक सोचको विकासका दिशामा समस्या छ भने त्यसको मूल कारण भनेको उनको विचारको आकार फराकिलो हुन नसक्नु हो। विचार फराकिलो हुन नसक्दा तिनले समाज र देशलाई विस्तृत रूपमा बुझ्न सकेका छैनन्। देश दर्शनले सोचलाई फराकिलो बनाउन मद्दत पुर्‍याउँछ भन्ने मेरो ठम्याइ हो। यसै आधारमा छोराको घुम्ने हुटहुटीलाई मैले समर्थन नै गर्ने गरेको छु। 

मैले त २०४३ सालदेखि लगातार पोखरा र आसपास भ्रमण–अवलोकनको अवसर पाइरहेको छु। पोखराको प्रत्येक पटकको भ्रमण मलाई नयाँ र आकर्षक लाग्छ। पोखरा मलाई कहिल्यै पुरानो लाग्दैन। पोखरा सँधै नयाँ लाग्ने कारण पनि छ, त्यो के भने यहाँ प्रत्येक पटक नयाँ गन्तव्यको पहिचान भएको पाउँछु म। एकताका पोखरा घुम्ने भनेको फेवा, बेगनास र रूपा ताल, चमेरे गुफा, सेतीमाथिको महेन्द्र पुल, डेभिड फल, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, विन्ध्यवासिनी, ताल वाराही मन्दिर आदि गन्तव्यका रूपमा परिचित थिए।

पछिल्ला दिनमा यो सूचीमा सराङकोट, हेम्जा र त्यहाँको भाइरल सडक, पुम्दीकोट र विश्व शान्ति स्तुप, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बन्जी जम्प, केबुलकार, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, प्रदेश संग्रहालय आदि थपिएका छन्। गन्तव्य अझै थपिने क्रम जारी छ। पोखराको विस्तार र विकास लोभलाग्दो छ। अहिले यहाँ विश्वविद्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र सुविधा सम्पन्न शिक्षण अस्पताल आदि पनि स्थापित छन्। 

हामी पैदल यात्रामा थियौँ। साँझको करिब ६ बजिसकेको हुनुपर्छ। उज्यालो क्रमशः अस्ताचलतर्फ गइरहे पनि अँध्यारो भने भइसकेको थिएन। आकाश खुलेकै थियो। अस्ताचल यात्रामा तल्लीन सूर्यको किरण पर्दा माछापुच्छ्रे हिमाल झनै चम्किलो देखिइरहेको थियो। गहिरिएर हेर्दा माछापुच्छ्रेको छवि फेवाको पानीबीच देखिएको थियो। हामी यात्रा गर्दागर्दै फेवा किनार आइपुगेका थियौँ। फेवातालमा पछिल्लो दिन नयाँ परम्परा शुरू गरिएको रहेछ। तालको बीचमा अवस्थित वाराही मन्दिरलक्षित सन्ध्या आरती आयोजना हुँदो रहेछ। त्यहाँ पुग्दा आरतीको तयारी भइरहेको थियो। 

वित्तीय सामर्थ्य तथा सामाजिक पहिचानका आधारमा जब भक्तसँगको सम्बन्ध विस्तारको अपेक्षा राख्न थालिन्छ, तब यस्ता अनुष्ठानको महत्त्व न्यून हुन थाल्छ भन्ने मेरो विश्वास हो। यस दृष्टिले पोखराको यो अनुष्ठान पनि अपवाद होइन भन्ने मेरो निष्कर्ष छ। आरतीको यस्ता आयोजना नेपालमा पछिल्लो समयमा काठमाडौँ, जनकपुर, नारायणघाटलगायत स्थानमा पनि हुने गरेका छन्। हामी जनकपुरियाका लागि यस्तो आरती खासै नौलो थिएन। हामी एक छिन त्यहाँ उभियौँ र तालको किनारको दाहिनेतर्फको पदमार्गमा अगाडि बढ्यौँ। 

पोखराबारे थाहा पाएजति जानकारी दिने प्रयत्न गरिरहेको थिएँ म आदित्यलाई। कथात्मक तरिकाले मौखिक रूपमा जानकारी आदान–प्रदानको प्रक्रिया ज्ञान हस्तान्तरणको सशक्त माध्यम हो भन्ने लाग्छ मलाई। पोलेको मकै खाँदै आदित्य र म पदमार्गको छेवैमा रहेको फलामे बेन्चमा बसेर गफिइरहेका थियौ।       

वास्तवमै हो, हिमालको काखमा रहेको पोखरा आफै सुन्दर छ। समुद्री सतहबाट करिब ८५० मिटरको उचाइमा रहेको पोखराको उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने हिमाली दृश्य लहरै देख्न सकिन्छ। माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्णजस्ता हिमाल र हिमाली शृंखलाका कारण यहाँको सौन्दर्य बढेको कुरामा विमति छैन। पत्रकार वासुदेव पौडेलका अनुसार फेवा, बेगनास र रूपालगायत यहाँका नौ वटा ताल रामसार सूचिमा सूचिकृत छन्। हाल पर्यटकीय राजधानीका रूपमा घोषित पोखराको वर्तमान परिचय स्थापित गर्न केही विदेशी नागरिकको महत्त्वपूर्ण योगदान रहेको कुरा पोखरावासी स्मरण गर्छन्।

सन १९६० को दशकमा लामो समय नेपालका विभिन्न ठाउँको स्थलगत भ्रमण गर्दै यस ठाउँलाई विश्वसामु परिचित बनाएका स्वीस भूगर्भविद् टोनी हेगनले आफ्ना लेख रचना तथा कृतिमा पोखरालाई स्वर्गको रूपमा चित्रण गरेको पाइन्छ। पत्रकार पौडेलबाट प्राप्त जानकारी आदित्यलाई हस्तान्तरण गर्दै म भन्दै थिएँ–हिमाल आरोहणको इतिहासमा सन् १९५० को जुन महिना पोखराका लागि निकै महत्त्वपूर्ण छ। यसै वर्षको जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो।

आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यले पोखरा बास बसेसँगै पोखरा क्रमशः पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको चर्चा यहाँ चल्ने गरेको छ। यस्तै, सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनको टोलीले आउँदा जाँदा बस्ने ठाउँ पोखरा नै रोजेको थियो। सन् १९६० को दशकमै हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि शुरू हुँदै यहाँको पर्यटन बिस्तारै फस्टाउन थालेको तथ्य पत्रकार टंक अधिकारीले मलाई अवगत गराएका थिए।

अर्का पत्रकार ऋषिकान्त पौडेलका अनुसार हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जगमा फस्टाउँदै आएको यहाँको पर्यटनमा त्यसयता व्यवसायीहरूले लगानी थप्दै गए र पोखरा आजको अवस्थामा आइपुगेको हो। पछिल्लो समय पर्वतारोही, पदयात्रीदेखि बिदा मनाउन र दृश्यावलोकन गर्न आउने पर्यटक यहाँका पाहुना हुन्। प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प वा जिपलाइनजस्ता रोमाञ्चक र साहसी खेलका लागि पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ।

हिमालका अतिरिक्त तालतलैयाको बगैँचा सहरका रूपमा परिचित छ पोखरा–लेखनाथ। फेवाका अतिरिक्त बेगनाससहितका लेखनाथ क्षेत्रमा रहेका रूपा, मैदी, गुँदे, दिपाङ, खास्टे, न्युरेनी तालका कारण यस क्षेत्रलाई तालको बगैँचा शहरको उपमा दिने गरिएको छ। हिमशृंखलालाको अवलोकन, डुंगा सयर (नौका विहार), अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पोखराका पर्यटकीय गतिविधिले यहाँ आउने जो कोहीलाई लोभ्याउने गरेको छ।

फेवातर्फ संकेत गर्दै म आदित्यलाई जानकारी दिने प्रयत्न गरिरहेको थिएँ–पोखराको महत्त्वपूर्ण आकर्षणमध्ये एक हो यो ताल। माछापुच्छ्रे हिमालको छायाँ देखिने यो ताल नौका विहारका लागि पर्यटकको रोजाइमा पर्ने गरेको छ। माछापुच्छ्रे हिमालको छायाँ तालमा देखिने मनोरम दृश्यलाई चित्रण गर्दै गीतकार प्रेमप्रकाश मल्लले रचना गरेको,
“माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ।

पोखरा त साँच्चिकै पो पोखरा नै रैछ।” 

यस्ता धेरै गीत यही फेवातालसँग जोडेर लेखिएका छन्। 

यस्तै विन्ध्यवासिनी मन्दिर यहाँको अर्को आकर्षण हो। पोखराको उत्तरतर्फ सानो थुम्कोजस्तो स्थानमा रहेको यो मन्दिर धार्मिक रूपमा महत्त्वपूर्ण छ। मन्दिर परिसरबाट पोखराको उत्तरतर्फका हिमाली दृश्य हेर्न लायक छन्। फेवाको सिरानतिर देखाएर एउटै लहरमा रहेका पुम्दीकोट र विश्व शान्ति स्तुप यहाँ नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको जानकारी दिँदै आदित्यसामु मैले एक वर्ष अघि वासुसँगै त्यहाँको यात्रा गरेको स्मरण गरेँ। पछिल्लो समय पोखरामा चासो र चर्चा कमाएको गन्तव्यका रूपमा स्थापित पुम्दीकोटको महादेव मूर्ति र छेवैको विश्व शान्ति स्तूपले खासगरी धार्मिक पर्यटकलाई तान्ने गरेका छन्।

मैले आदित्यलाई जानकारी दिँदै भनिरहेको थिएँ–यसका अतिरिक्त पातले छाँगो (डेभिड फल्स) र गुप्तेश्वर महादेव गुफा पनि यहाँका पर्यटकीय महत्वका स्थान हुन्। म र आदित्य त्यहाँ गफ गरिरहेकै थियौँ। विपरीत दिशाबाट शिव लम्साल, पोषण केसी, प्रेम केसी, बाला अधिकारी, किशोर थापा, मुकुन्द भण्डारी, कृष्णप्रसाद सापकोटा, सोनी शर्मा, आत्मा गुरागाईं, सलोजा दाहाल, ललिता साह, माधव धिताल, नारायण अर्याल, शिव देवकोटा, वासुदेव पौडेल, लोकराज अवस्थी, नारायण अधिकारी, खिला कार्कीलगायत अन्य थुप्रै पत्रकार साथी आए। मित्र विपुल पोखरेल, दीपक आचार्य, प्रदीप कोइराला, परमेश्वर अधिकारी आदि दिउँसैदेखि हराएका थिए। खोज जारी थियो तर उनीहरू यहाँ पनि भेटिएनन्। जे होस, यहाँ भेटिएका साथीहरू हाम्रो ‘मकै भोज’मा सहभागी भए। 

हामी बाबुछोराको कुरा सुनेका वासुले अलिकति जानकारी थप्दै भने, "यहाँका ऐतिहासिक कोटहरू पनि दर्शनीय छन्।" उनका अनुसार पोखरासँगै आसपासका क्षेत्रमा रहेका मल्लकालीन कोटहरू पनि पर्यटकीय स्थलका रूपमा विकसित भइरहेका छन्। पछिल्लो समय स्थानीयमा पनि आफ्नो इतिहासप्रति रुचि बढेको भन्दै थिए पौडेल। उनका अनुसार भरतपोखरीको ऐतिहासिक कोट, भैरव मन्दिरसँगै पोखरा आसपासका ठूलाकोट, हुडिकोट, फोक्सिङकोट, अर्घौं मौलाकालिका आदि स्थान अवलोकन-गन्तव्य बनेका छन्।  

कुरा रमाइलै भइरहेको थियो, तर समयले नेटो काटिरहेको थियो। अब सूर्य पूर्णास्त भइसकेको थियो। बढ्दै थियो अँध्यारो। हामी जुन बाटो आएका थियौँ, त्यही बाटो फिर्ता भयौँ। आरती अझै जारी थियो तर त्यहाँको उपस्थितिमा थोरै परिवर्तन आएको थियो। सायद रातीको पोखरा ब्युँझिरहेको थियो, त्यहाँ उपस्थित अनुहारहरू अघि आउँदाको भन्दा फरक देखिन्थे।


सम्बन्धित सामग्री