नेपाल भौगोलिक हिसाबले मात्र होइन, भाषा र संस्कृतिको हिसाबले पनि विविध छ। शाहकालीन शासनमा नेपाललाई सोलोडोलो ‘काठमाडौँ उपत्यका नै नेपालको एक मात्र रूप हो’ भनेर व्याख्या गरियो। देशका धेरै भू-भागलाई ‘दुर्गम’ नै राख्ने नीतिले प्रश्रय पायो। सुरक्षाको नाममा मुख्यतः उत्तरी क्षेत्रलाई आधारभूत आवश्यकताबाट वञ्चित गरियो। सीमित स्वदेशी र विदेशीले आफ्नो ज्यान जोखिममा राखेर उत्तरतिरका केही ठाउँमा पुगेर लेखेका कृति उच्चकोटीमा दर्ज भएका छन्।
कैयौंमध्ये केही चर्चित किताब डेभिड एल स्नेलग्रोभको ‘हिमालयन पिलग्रिमेज: अ स्टडी अफ टिबेटन रिलिजन बाइ अ ट्राभलर थ्रु वेस्टर्न नेपाल (सन् १९६१)’, जिसेपे टूचीको ‘नेपाल: द डिस्कभरी अफ द मल्ल (१९६२)’, मिसेल पाइलको ‘द मुस्ताङ: फोर्बिडेन किङडम (१९६७)’, मारियो फान्टिनको ‘शेर्पा (१९७१)’, सत्य मोहन जोशीको टोलीको ‘कर्णालीको लोक संस्कृति भाग १-५ (१९७१)’, देवीचन्द्र श्रेष्ठको ‘हुम्ला बोल्छ मानसरोवर (१९७७),’ कोर्निल जेस्टको ‘मनुमेन्ट्स अफ नर्थन नेपाल (१९८१)’, न्यान्सी ई. लेभिनको ‘द डाइनामिक्स अफ पोलियान्ड्री (१९८८)’ र ब्यारी सी. बिसपको ‘कर्णाली अन्डर स्ट्रेस (सन् १९९०)’ हुन्। उति बेला उत्तरी भेगमा एक त पुग्नै गाह्रो, पुगिसकेपछि खान पाउनै गाह्रो, खान पाए पनि भाषा बुझ्न गाह्रो हुन्थ्यो। पञ्चायत काल हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा आज बल्ल कर्णाली अलि श्रव्यदृश्यमा देखिन र अक्षरमा लेखिन थालेको छ। पछिल्लो समय कर्णालीको भूगोल र नदीलाई मुख्य विषय बनाएर रमेश भुसालद्वारा लेखिएको पुस्तक ‘छालकोबाटो: कैलाशदेखि गङ्गासम्म’ चर्चामा छ।
हिन्दू धर्ममा मात्र नभएर बोन्पो, बौद्ध र जैन धर्ममा पनि मानसरोवर-कैलाशको विशिष्ट स्थान छ। कैलाशको चार दिशास्थित घोडाको मुख वा ताम्चोक खम्बावबाट ब्रह्मपुत्र, हात्तीको मुख वा लान्चेन खम्बावबाट सताद्रु/सतलज, सिंहको मुख वा सेङ्गे खम्बावबाट इण्डस् र मयुरको मुख वा माप्चा खम्बावबाट कर्णाली नदी उत्पत्ति भएको यकिन स्वामी प्रणवानन्दले सन् १९३९ मा आफ्नो किताब ‘एक्स्पोरेसन अफ तिब्बत’ मा उल्लेख गरेका छन्। उहिले हुम्लातिरका बूढापाकाले ‘राक्षस तालभन्दा धेरै परबाट सुरु हुन्छ कर्णाली’ भनेको सुनेको थिएँ। तर बहुदलपछि आ-आफ्नो लेखनमा धेरैले कर्णालीको उद्गमस्थल राक्षस ताल हो भने। हुँदाहुँदा एक जना विद्वानले 'कुडा कर्नालीका' को छैठौं संस्करणमा ‘कर्णाली नदीको सुरुवात राक्षस तालबाट भएको हुनाले पानी अपवित्र रहेको र कुनै पनि धार्मिक प्रयोजनमा नचल्ने’ समेत बताएका रहेछन् (हेर्नुस्: के कुनै नदी पवित्र वा अपवित्र हुन्छ?)
त्यस्ता ‘कूपमण्डूक विद्वान’को भ्रम निवारण छालकोबाटो: कैलाशदेखि गंगासम्मले गरेको छ। झोली-तुम्बा बोकेर चीनको स्वायत्त क्षेत्र तिब्बत, नेपालको हुम्लादेखि बर्दिया र भारतको बहराइच हुँदै गङ्गाको अन्तिम विन्दुसम्मको कूल ११ हजार किलोमिटरको कर्णालीलाई छिचोलेर लेखिएको किताबले नदीको उद्गमस्थलका साथै कर्णालीबाट कसरी फाइदा लिन सकिन्छ र यसलाई भावी सन्ततिको निम्ति कसरी जोगाउन सकिन्छ भन्नेबारे समेत उल्लेख गरेको छ।
मानव समाज र पारिस्थितिक प्रणालीको लागि नदी महत्त्वपूर्ण मात्र नभई यसले अनेक जीवलाई पिउन तथा कृषि र उद्योगको लागि पानीको आवश्यकता पूरा गर्छ। यसका साथै, विविध जलचर जीवलाई बासस्थान प्रदान गर्छ। नदीले जलचक्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्नुका साथै मनोरञ्जन र पर्यटनमा उत्तिकै योगदान पुर्याउँछ। पानी र समाजलाई बुझ्न सकियो भने नदी बचाउनुका साथै यसबाट मनग्य फाइदा लिन सकिन्छ। किताबमा लेखकले कर्णालीको इतिहासलाई पाँच हरफमा (पृष्ठ १०० को पहिलो अनुच्छेद) उल्लेख गरेका छन्। कर्णालीको इतिहास र मस्टो परम्परालाई अलि गहिरिएर लेखेका भए कर्णालीको किनारामा भएका केही महत्त्वपूर्ण ठाउँ किताबमा छुट्ने थिएनन् कि?
आजकल ताक्लाकोट भनिने ठाउँलाई स्थानीयले ‘तालाखार’ भन्ने गर्छन्। त्यहाँ जान पासको व्यवस्था लागू भएपछि लेखनमा ‘तालाखार’ बिस्तारै ‘ताक्लाकोट’ मा परिवर्तन भयो। पुरानो कर्णाली राज्यमा पनि मानसरोवर-कैलाश अहिले जस्तै महत्त्वपूर्ण थियो भन्ने कुरा जुम्लाका राजा क्राचल्ल (तिब्बती कागजातमा डाक्पा दे र उनले सन् ११८९ देखि १२२३ सम्म राज्य गरेका थिए) ले आफ्नी आमाको अस्तु सेलाउन मानसरोवर गएका थिए भन्ने तथ्यबाट पुष्टि हुन्छ। यद्यपि, त्यहाँ पुग्न भारतबाट खोलाको तिरैतिर बाटो नभएर गाउँगाउँबाट थियो भन्ने यथेष्ट प्रमाण भेटिन्छन्।
ऐतिहासिक मार्ग भारतको रूपैडियाबाट सुरु (हुन त शुरू बनारसबाट नै हुन्थ्यो) भएर नेपालको कर्णाली चिसापानी हुँदै सुर्खेत, दैलेखको घोडाबास, दुल्लु, राकम, कालिकोटको मान्म-नागमा, जुम्लाको सिंजा, मुगुको वाम (वाउ) गाउँ, हुम्लाको दार्मा-देउली, ह्यार्प्सार पुमा, पंख रादेउ, दुर्पा, खर्पेल गाउँ, खार्पुनाथ, सिमकोट, चौगानफया, डाँडाफया, केर्मी, सल्लीखोला, याल्वांग, यांगार, मुचु, यारी, हिल्सा हुँदै तिब्बतको सेर, खोचेर, तालाखार, मानसरोवर, दार्चेन, सेर्स्सोङ, डेराफु, डोल्मा ला हुँदै कैलाश परिक्रमा गरेर मानसरोवर तालको फेरो लगाएर तीर्थाटन गरिनुका साथै व्यापार व्यवसाय पनि गर्ने प्रचलन पनि थियो। तीर्थयात्रीको खुट्टा चिसोले नखाओस् भनेर सिमकोटमा खुट्टामा लगाउने दोचा (हातले बनाएको जुत्ता) र दोफर (रुमालजस्तो उनीको टुक्रा, जुन मोजाको रूपमा प्रयोग हुन्छ) को व्यवस्था हुने गर्थ्यो। उक्त परम्परालाई निरन्तरता दिन १९०३ सालमा राजा सुरेन्द्र शाहले लालमोहर लगाएर सिमकोटको तल्लो गाउँ खाद्कमा ‘दोचादोफर गुठी’ स्थापना गरेका थिए।
किताब पढ्नु अघि शीर्षक हेर्दा मैले लेखकले नदीमा राफ्टिङ गर्दा पानीको छालमा तैरिएका हुनाले ‘छालको बाटो’ लेखे कि भन्ने अनुमान गरेको थिएँ। किताब पूरा पढिसकेपछि भने लेखकले कर्णालीको ‘किनारै-किनार’ भनेर सङ्केत गरेका हुन् कि भन्ने भान पर्यो। यदि किताबमा ‘किनार’ शब्दको संकेत हो भने स्थानीय भाषाअनुसार ‘छाल’को सट्टा ‘छाइल’ हुनपर्थ्यो। शुद्ध नेपालीमा ‘छाइल’ भनेको ‘छहारी, सियाँल वा छाया’ हो भने स्थानीय खस भाषामा ‘छाया’ र ‘नदीको किनार’ दुवै बुझिन्छ। ‘छाल’ भनेको ‘किनारा’चाहिँ होइन। त्यसैले किताबको नाम ‘छाइलै-छाइल: कैलाशदेखि गङ्गासम्म’ राखेको भएको भए बेस हुन्थ्यो।
तालाखार बजार पारी भित्तामा बनाइएका ‘खोपेदुला’ भनिने प्राचीन घर, तालाखारबाट अलि तल आएपछि १९१२ साल (सन् १८५५-५६) ताका नेपाल-भोटबीच तेस्रो पटक घमासान युद्ध भएको ठाउँ ‘बाह्र सालमा लडाई लडिएको चौर’ र तालाखारबाट लगभग १९ किलोमिटर तल कर्णाली नदीको पूर्वमा रहेको ऐतिहासिक खोचेर गाउँ र खोचेरनाथ गुम्बाबारे किताबमा उल्लेख छैन। खोचेरनाथ गुम्बा सन् ९९६ मा पुरांग राज्यका राजा खोर-रे र राजकुमार ल्हा-देले स्थापना गरेका थिए र यसलाई तिब्बतीमा 'ख्वाचर ल्हाकाङ' भनिने उक्त गुम्बाको एक शिलालेखमा ‘ओम मणि पद्मे हुँ’ लेखिएको छ।
यही गुम्बाबाट २०४९ जेठ/असारतिर हुम्लाका दुई जना व्यक्तिले मूर्ति चोरेर नेपालतिर ल्याउँदा जिल्ला प्रहरी कार्यालयबाट खटाइएको टोलीले च्याछ्हरा नजिक फेला पारी सदरमुकाममा केही महिना राखेपछि पुनः तिब्बतमा नै फिर्ता गरिदिएका थिए। यही कसुरमा मूर्ति चोर्ने दुई जनाविरुद्ध हुम्ला जिल्ला अदालतमा २०४९ मङ्सिर १४ नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा जिल्ला अदालतमा दायर भई त्यसको दुई वर्षपछि २०५१ मङ्सिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश नीलकण्ठ उपाध्यायले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १३ (१) बमोजिम कसुर ठहर गरी दुवै जनालाई २-२ वर्ष कैद र ५-५ हजार जरिवानाको फैसला गरेका थिए।
मुर्तिचोरी काण्डभन्दा पहिले नेपाली सहजै विना कुनै अवरोध तालाखार-मानसरोवर-कैलाशसम्म पुग्थे। सीमामा कुनै जाँचबुझ हुँदैनथ्यो र को-को आए भनेर चिनियाँ पुलिसले तालाखारमा नेपाली बसेको ठाउँमा आफै गएर नाम र कति दिन बस्ने भनेर विवरण मात्र टिप्थे। मूर्तिचोरी काण्डपछि तालाखारमा नेपालीलाई बस्न निषेध गरेपछि नेपालपट्टिको हिल्सा बजारले मूर्त रूप लिएको हो। उक्त चोरी घटनाभन्दा पहिला हिल्सा निर्जन थियो। पछि २०५२/५३ सालमा हुम्लामा जग्गा-जमिन नापी भएसँगै उक्त सार्वजनिक चौर यारी गाउँका मान्छेले आ-आफ्नो नाममा दर्ता गरेका हुन् भने पछि केही उनीहरूले बेचे भने अन्य हुम्लीले सार्वजनिक जग्गामा विना दर्ता त्यसै घर बनाएका हुन्।
२०५३/५४ तिर लिमि उपत्यकाका बासिन्दाको लागि उपयोग हुने गरी सीमापार चरण सम्झौतामा भएको उतार-चढाव र त्यसपछि माओवादी द्वन्द्वकालमा सीमा वारपारमा कडाइ हुँदै २०६२ मा कमल थापा गृहमन्त्री हुँदा ताका नेपालीले तिब्बतमा बढीमा ३० किलोमिटरभन्दा पर जान नपाउने व्यवस्था भएसँगै हिल्सामा बिस्तारै काँडेतार लाग्यो, चेकपोस्ट खडा भयो। अझ, चिनियाँ पक्षले २०६५ मा बेइजिङमा भएको ओलम्पिक अघि दलाइ लामाका अनुयायीहरूबाट सीमापार घुसपैठ हुन सक्ने भन्दै वारपारमा झनै कडाइ गर्यो र यो आजसम्म पनि निरन्तर जारी छ। हिल्सामा रहेको स्नो लायन होटेल संचालक पेमा लामाले भनेको जस्तो ‘सेरा गाउँबाट आएको घोडा नेपालीले चोरेर बेचेको’ काण्डपछि (पृष्ठ ११९ अनुच्छेद २ मा उल्लेख) सीमा वारपारमा आएको सीमित र नियमित आवागमन सहितको कडा प्रतिबन्ध मात्र एउटा मात्र सिङ्गो प्रतिनिधि घटना होइन। त्यो धेरै घटनामध्ये एक हो।
नेपालतिरको हिल्सा नजिकको नौमुले, तुम्कोट गुम्बा, रलिंग गुम्बा, हुम्ला-मुगु कर्णालीको दोभानमा रहेको दमुकको शिव मन्दिर, कोल्टी नजिकको सानो कैलाशको रूपमा पूजा गरिने बादु डाँडा र गङ्गा महासागरमा मिसिनुभन्दा ४-५ कि.मी. वर उडिसामा रहेको निङ्मापा समुदायको ‘बोन्पो नाम्खा ख्योंङ्ग ज्योंङ्ग गुम्बा’, यारी गाउँभन्दा अलि माथि भग्नावशेषका रूपमा रहेको नेपाल-तिब्बत युद्ध (१८५५-५६) ताका र पुनः खम्पा काण्ड ताकाको प्रयोग गरिएको ऐतिहासिक किल्ला, केर्मीमा कामी राजा रहेको तथ्य, सिमकोट गाउँ र सिमकोट बजारमा रहेको धूपीको रुख र चौतारोको ऐतिहासिक पक्ष, रुख नजिकै विसं. १९७१ मा स्थापना भएको ऐतिहासिक जिल्ला अदालत, सर्केगाडस्थित हुम्लाकै पहिलो स्थापित हिमाज्योती स्कुल, केर्मीको जस्तै खार्पू, उनापानी, दर्बी, पिप्लांग-सरिसल्लाजस्ता ठाउँमा रहेका तातोपानीका मूल तथा कुण्ड अनि कर्णाली वरपरका बस्तीमा रहेका मस्टोका ‘माडू’बारे किताबमा लेखक भुसालले उल्लेख गरेका भए नदी संरक्षणबारे मात्र नभई किताबमा अलि इतिहास र पर्यटकीय स्थलहरूको जानकारी पनि समावेश हुन्थ्यो कि?
उडिसामा रहेको नाम्खा ख्योंङ्ग ज्योंङ्ग गुम्बाबाट सन् १९८४/८५ तिर मुचुका छविलाल लामाले ‘अस्तु’ ल्याएर याल्वांग गुम्बा स्थापना गरी त्यसको नाम पनि नाम्खा ख्योंङ्ग ज्योंङ्ग नै राखेको हुनाले उडिसाको गुम्बाले ठूलो महत्त्व राख्छ। उडिसाको गुम्बामा आज पनि हुम्ली उल्लेख्य संख्यामा लामा पढ्न जाने गरेका छन्। याल्वांगको गुम्बा बन्नु अगाडि मुचु परको रहेको तुम्कोट गुम्बा प्रसिद्ध थियो। याल्वांग गुम्बाको महत्त्व बढेसँगै तुम्कोट गुम्बाको महत्त्व घट्न पुग्यो। धार्मिक हिसाबले यो भन्दा पुरानो र महत्वपूर्ण भनेको हुम्ला कै लिमी उपत्यका स्थित हल्जी गुम्बा हो, जुन हजार वर्षभन्दा पनि पुरानो हो।
विगतमा सुनौलो इतिहास बोकेको कर्णाली राज्य बहादुर शाहको पालोमा, विसं. १८४६ मा गोरखा राज्यमा गाभियो। विसं. १८४९ मा गोरखाले गरेको भोटसँगको तेस्रो युद्धमा कर्णालीका जनताले भोटलाई सघाएको भन्ने आरोपसँगै त्यहाँका जनताले निर्मम दमन सहनुपर्यो। यो दमन निरन्तर रूपमा राणाकाल हुँदै पञ्चायतसम्म चलिरह्यो। राज्यले त्यहाँका जनतालाई शिक्षाबाट मात्र होइन, सबै आधारभूत आवश्यकताबाट वञ्चित गर्यो। कुनै बेलाको वैभवशाली कर्णाली राज्य खण्डहरमा परिणत भयो भने त्यहाँका जनताले गरिबीमा पिल्सनु पर्यो।
यही व्याप्त गरिबीलाई संकेत गर्न लेखकले ‘मैलो होस्, फाटेकै होस्, तर कोटै होस् भने जसरी कोट लगाएका उनीजस्ता लोग्ने मानिस बग्रेल्ती भेटिन्छन्’ (पृष्ठ १५४) भनेर इङ्गित गरेका छन्। ‘फाटेकै’(पृष्ठ १५४), ‘उध्रिएको’ (पृष्ठ १४४) जस्ता शब्द गरिबीका सूचक हुन्। अर्को कुरा के भने कोट पातलो कपडा हो र यो लगाउने चलन यस्तै २०५२/५३ सालपछि मात्र आएको हो। त्योभन्दा पहिला ऊनको स्विटर वा बक्खु लगाउने चलन थियो। अन्य हिमाली भेगमा जस्तै हुम्लामा पनि अत्यधिक हिउँ पर्थ्यो तर विश्वव्यापी रूपमा तापक्रम वृद्धिको कारण हिउँको मात्र घट्दै गए र लवाइमा परिवर्तन आएको हो। विज्ञान पढेका लेखकले थोरै वैज्ञानिक आँखाले पनि हेरेका भए राम्रो हुन्थ्यो।
बहुदल आएपछि कर्णालीमा गैरसरकारी संस्था आइएनजीओ र एनजिओको ओइरो लाग्यो। केहीले काम गरेर खाए र धेरै संस्थाले कर्णालीको नाम ‘बेचेर’ खाए। यही परम्परा मौलाएको हुनाले लेखक भुसालले डाँडाफया गाउँमा बिस्कुन सुकाउँदै गरेकी एक महिलासँग ‘तपाईँसँग एक छिन कुरा गर्न मिल्छ?’ भनेर अनुरोध गर्दा उनले ‘कुरा गरेर के गर्न्या हौ। हाम्रो फुटो मात्र खिच्न्या त हौ, दिन्या केही हैनौ’ (पृष्ठ १४६) भनेर रुखो जवाफले कसरी गैरसरकारी संस्थाले केवल आश्वासन मात्र दिने गरेको परिस्थिति छर्लङ्ग पारेको देखिन्छ।
कर्णाली पिछडिएकाले आज पनि सरकारी कर्मचारी कर्णालीमा सरुवा गरेर गइयो र केही समय बसियो भने बढुवाका लागि नम्बर सहजै जोडिन्छ भनेर कर्णाली जाने र छोटो समयसम्म मात्र बसेर फर्कने चलन यथावत् छ। पञ्चायत कालमा हुम्ला जिल्ला अदालतमा काम गर्ने एक कर्मचारीले सिमकोटमा एक घडेरी किनेर आफ्नो स्थायी ठेगाना गण्डकीबाट कर्णाली परिवर्तन गरेका हुनाले उनका छोराले दुर्गम जिल्लाको कोटाबाट नेपाल सरकारको सचिव नै हुन पुगेका थिए। यद्यपि, जागिरमा प्रयोग गर्नुबाहेक उनी हुम्लामा कहिल्यै बनाएर बसेनन् र आजकल पूर्व सचिव साहेब अवकाशप्राप्त जीवन पनि उतै कतै आफ्नो पुरानै थातथलो गण्डकीतिरै बिताइरहेका छन्।
कर्णालीको तिरैतिर हिँडेका लेखकले केही महत्त्वपूर्ण ठाउँ र केही महत्त्वपूर्ण विषयलाई छुट्टाएका मात्र छैनन्, स्थानीयले उल्लेख गरेका सांस्कृतिक पक्षलाई हल्का रूपमा उल्लेख पनि गरेका छन्। कर्णालीको जडान क्षेत्र (सिमकोटभन्दा माथिल्लो भोटे जाति बसोबास गर्ने ठाउँ) मा बोन्पो र बौद्ध धर्मको बाहुल्यता छ भने खसान क्षेत्र (कर्णाली र सुदूर पश्चिम) मा मस्टो देउता मान्ने परम्परा छ । त्यहाँ मस्टालाई ‘कुल देउता’ का रूपमा पुजिन्छ। पूजा गर्ने स्थानलाई किताबको पृष्ठ १५५ मा उल्लेख गरिएअनुसार ‘मन्दिर’ होइन, स्थानीय भाषामा तिनलाई ‘माडु’ भनिन्छ। माडु दुई किसिमका हुन्छन्। घरमा स्थापना गरिएको थानलाई ‘घरमाडु’ र मानव बस्तीभन्दा टाढा स्थापना गरिएको थानलाई ‘वनमाडु’ भन्ने गरिन्छ। ‘मस्टो’लाई स्थानीयहरू ‘मइठो’, ‘महिठो’ र ‘मइठो’ भन्छन्।
मस्टोका १२ भाइ र नौ बहिनी भवानी अनि ती १२ भाइ मस्टोका ८४ भन्दा धेरै उपभेद हुन्छन्। यिनै उपभेदको आधार मस्टोका नाम ठाउँअनुसार फरक-फरक हुन्छन्। देउता चढेर ‘पतुर्ने’ वा ‘काँपेर देउताको भेद देखाउने मान्छे’लाई ‘धामी’ र तिनका पुजारीलाई ‘डान्ग्री’ भन्ने चलन छ। विभिन्न मतवाली जातिका ढ्यांग्रो बजाउने धामी-झाँक्रीभन्दा धेरै फरक हुन् यी। मस्टो स्वभावका दृष्टिले रजोगुणी (रगतको बलि खाने), सत्वगुणी (दूध र खिरको मात्र खाने) र तमोगुणी (बलि वा भाग खाने) हुन्छन्। सुख-दुःख, पूजाआजा, न्याय-निसाफ, झगडा-मेलमिलाप र औसी-पुर्णेमा ठाउँ नै पिच्छे मस्टोको पूजा हुन्छ।
पूजामा स्थानीयले मस्टोको स्वभाव र आफ्नो गच्छेअनुसार पूजाका लागि मस्टो देउतालाई दूध, खीर, ध्वजा, अण्डा, कुखुरा, शंख, त्रिसुल, घण्टी, बोका, खसी, गाई, घोडालगायत केहीले सुनचाँदीसमेत चढाउने गर्छन्। तर देउतालाई चढाएका यी विभिन्न कुरा लेखकले पृष्ठ १५५ मा उल्लेख गरेअनुसार देउताका धामीले पाउँदैनन्। दूध र खीर पूजापछि बाँडेर खाइन्छ। ध्वजा माडुमा बाँधिइन्छ। शंख, त्रिसुल,घण्टी माडुमा राखिन्छ भने अन्डा र कुखुरा पूजा गरिसकेपछि पूजामा सरिक हुनेले माडुभन्दा पर वा घर बाहिर नै पकाएर वा पोलेर खाने चलन छ। कुनै बोकालाई स्थानीयले ‘देउताको रोखालो’ (यसको अर्थ देउताको रक्षक) का रूपमा छाडा छोडिदिन्छ र उक्त रोखालोलाई कसैले केही गर्यो भने अशुभ हुन्छ भनेर गालीसमेत नगर्ने चलन छ।
बोकालाई छाडा छोडिएन भने खसीलाई झैँ बलि दिइन्छ र मासु सबैले भाग लगाएर खाने चलन छ। बलिको मासु खाँदा निरोगी र राम्रो हुने जनविश्वास छ। गाई र घोडा भने तिनको मालिक आफैले वा देउताको डान्ग्रीले पाल्ने चलन छ। जसले पाल्यो, त्यसैले दूध खान्छ तर पूजामा माडुमा चढाउने चलन छ। घोडाचाहिँ पूजाआजा गर्दा वा धामी कतै जाँदा चढेर जाने चलन छ। सुनचाँदी भने धामीले आफ्नो शिरमा रहेको रौं बेरेर बनाइएको लठ्ठामा बेर्ने गरिन्छ। उक्त लाथ्थालाई स्थानीय भाषामा भनिने ‘लह्डी’, ‘लह्णी’, ‘लडी’ वा ‘लणी’ भनिन्छ र धामीको मृत्युपछि लठ्ठामा बेरेको सुनचाँदी नयाँ धामीले पुनः आफ्नो लठ्ठामा बेर्ने चलन छ।
सत्यमोहन जोशीको टोलीले लेखेको ‘कर्णालीको लोक संस्कृति भाग १-५ (१९७१)’ पढेर अहिलेको सिंजा नै सम्पूर्ण कर्णाली हो भनेर बुझ्नेका लागि ‘छालबाटो: कैलाशदेखि गङ्गासम्म’ ले उनीहरूको सोचाइलाई फराकिलो बनाउन सहयोग गरेको छ। किताबमा पानीको महत्वसँगै कर्णालीको हुम्लालगायत अन्य स्थानबारे लेखिएको छ। पिप्लांग-सरिसल्लाबाट अलि माथि दार्म गाउँसम्म लेखक पुगेका भए जुम्लाको सिँचाइको कुलोजस्तै करिब १३ किलोमिटर लामो र ऐतिहासिक ‘तामे कुलो’बारे थाहा हुन्थ्यो।
पानी बुझ्न हिँडेको टोलीले तामे कुलो हेर्न नपाए पनि ठाउँ-ठाउँको भू-बनावट, पानीको शुद्धता नाप्न तापक्रम लिने र पानीमा हुने प्राणीको अध्ययन गर्ने कार्यदेखि लेखकले कर्णाली नदीको उत्पत्ति विन्दुदेखि तिब्बती पठारमा उम्रेका सी-३ र सी-४ प्रकारका बिरुवाबारे सटिक रूपमा वर्णन गरेका छन्। यो यात्रामा कुनै वनस्पतिविद्लाई संलग्न गरेर पुरै यात्रामा वनस्पतिका नमुना संकलन गरिएका भए कुनै दुर्लभ र नयाँ किसिमका वनस्पतिको आविष्कार पो हुन्थ्यो कि? सम्भवतः रसद र लागतको कारणले गर्दा वनस्पतिसँग सम्बन्धित व्यक्तिको समावेश नभएको हुन सक्छ तर यो टोलीले वनस्पतिको क्षेत्रमा योगदान पुर्याउन ठूलो अवसर गुमाएकै मान्नु पर्छ।
लेखकले एकाध ठाउँका केही कुरा गलत लेखेका छन् र स्थानीय भाषाका शाब्दिक अर्थ कतैकतै गलत गरी अर्थ्याएका छन्। ‘केर्मीबाट सल्लीखोला काटेर उकालो लाग्यौं ...’ (अन्तिम अनुच्छेद, पृष्ठ १४१) को ठाउँमा ‘याल्वांगबाट सल्लीखोला काटेर ...’ हुनुपर्ने हो किनकि हिल्सातिरबाट आउँदा पहिले यांगार, त्यसपछि याल्वांग, सल्लिखोला अनि मात्र केर्मी आउँछ। पुनः त्यही अन्तिम अनुच्छेद र पृष्ठमा ‘... चादु गाउँबाट ...’ को सट्टा ‘... च्यादुक गाउँबाट ...’ हुनुपर्छ। त्यसैगरी ‘... गर्न्या ... (२ अनुच्छेद, पृष्ठ १४६) को ठाउँमा ‘... ‘गन्न्या’, ‘खिच्न्या’ को ठाउँमा ‘खिइन्या’ हुनुपर्छ। स्थानीय भाषामा विशेष गरी ‘र’ र ‘स’ को उच्चारण फरक हुने हुँदा लेखकले सही उच्चारण ठम्याउन नसकेका हुन सक्छन्।
कुराकानीको शब्द टिपाई धेरै ठाउँमा गल्ती छन् र स्थानीयले गरेका उच्चारण सही गरेर राख्ने हो भने किताबको पुनः संस्करणमा यस्ता गल्ती मिहिन ढंगले सच्याउन जरुरी छ। पृष्ठ १८० को दोस्रो अन्तिम अनुच्छेद मा ‘भेडाबाख्रालाई सामान बोकाएर जाने कामलाई बादे भनिँदो रहेछ’ को ठाउँमा ‘भेडाबाख्रालाई सामान बोकाएर जाने कामलाई भग्री जाने भनिँदो रहेछ’ हुनपर्छ। ‘बादे’ को अर्थ ‘क्याराराभान’ नभएर ‘खसी’ हो र ‘भग्री जाने’ भनेको ‘भेडाबाख्राको क्याराभान लिएर जाने’ काम हो। किताबको अन्त्यतिर ‘सन्दर्भ सामग्री’मा समावेश गरिएका लेख र किताबका सूची लेखकले आफ्नो किताबको कुनै पनि प्रसंगमा उल्लेख वा उद्धृत गरेका छैनन्। किताबको पुनः संस्करणमा आफूले यात्रा गरेका क्षेत्रसँग सम्बन्धित अत्यावश्यक किताब र प्रतिष्ठित जर्नलका लेखलाई मात्र ‘ग्रन्थसूची’का रूपमा राख्दा उपयुक्त हुन्छ। लेखकले ‘सन्दर्भ सामग्री’ र ‘ग्रन्थसूची’ को भिन्नता के रहेछ, हेरेर उपयुक्त शब्द ‘ग्रन्थसूची’ प्रयोग गर्न उचित हुन्छ।
कुल ३१३ पृष्ठ लेखनसहित थप २० पृष्ठमा रङ्गीन फोटो समेटेर १० भागमा मुख्य विषयवस्तु र बाँकी एक भागमा सन्दर्भ सामग्री समेटिएको किताब उडेर, गुडेर, हिँडेर र बगेर लेखकले गरेको यात्राको अद्भुत वृत्तान्त हो। ७९० रुपैयाँ तिरेर पढ्दा ‘यो किताब बेकार किनिएछ’ भनेर पाठकलाई पछुतो लाग्ने छैन। लेखकले इमानदारीपूर्वक कर्णालीका नेताको खण्डन गरेका छन्। यात्राको क्रममा सहकर्मीसँग यदाकदा ठाकठुक पर्दादेखि बियर चोरर पिएकोसम्म लेखेका भुसालको लेखन शैली कर्णालीजस्तै निरन्तर बगेको छ। पट्यार लाग्दो छैन। यात्राका क्रममा देखिएका ठाउँ र भेटिएका मान्छेबारे सटिक वर्णन गरेका छन्। लेखन अतिशयोक्तिपूर्ण र उदेक लाग्दो छैन। किताब पढेर सकाएपछि जो कोहीले ‘चीनको शासन राम्रो, भारतको रासन राम्रो र नेपालको भाषण राम्रो’ (पृष्ठ १२३ र १४०) बारे बुझ्न ‘एक पटक कैलाशदेखि गङ्गासम्मको यात्रा गर्नै पर्ने रहेछ’ भनेर सोच्न बाध्य हुन्छन्।