Monday, July 14, 2025

-->

धत्! क्यान्जिङ रि चढेर पनि के सरकार सम्झनू

उक्लँदै गर्दा सास फुल्नु त सामान्य थियो, ट्रेकिङ लट्ठी टेक्दै सुस्तरी हिँडिरह्यौँ। माथि टुप्पो निकै टाढा थियो, तल भीरजस्तो देखिन्थ्यो रिंगटै लाग्ने। कतै त बिग्रिएको थियो, टेक्ने ढुंगा पनि पाउन गाह्रो।

धत् क्यान्जिङ रि चढेर पनि के सरकार सम्झनू
क्यान्जिङ रिमा लेखक।

वैशाखको एक बिहान। ६ बजे नै काठमाडौँबाट उत्तर हुइँकिन शुरू गरिसकेका थियौँ। हाम्रो मनमा उत्साह र रोमाञ्चका भुईंफूल तरबरै उम्रिए। नुवाकोटको विदुर र रसुवाको धुन्चे हुँदै स्याफ्रुबेसी पुग्दा दिउँसोको १ बजेको थियो।

स्याफ्रुबेसीबाट नदीको किनारै किनारको बाटो समात्यौँ। हाम्रो स्वागतमा हाजिर थियो सुसाउँदो लाङटाङ नदी। नदीले सुसाउँदै भन्यो– स्वागत छ नयाँ पदयात्रीहरू, मलाई सम्झेर आउनु भो। काठ्माडौँको एकरस जीवनबाट हुत्तिएर हामी पुगेका थियौँ प्राकृतिक आनन्दको रमणीय र दिव्य संसार।

हामी नदीको शीरतर्फ पाइला चाल्दै थियौँ। लाङटाङ नदी भनिरहेको थियो– तपाईंहरू जाँदै गर्नुहोस्, म अर्को समूहलाई स्वागत गर्छु। सहमतिको हात हल्लाएर हामी नदीको उद्गमतर्फ बढिरह्यौँ।

हाम्रो हातमा थियो पदयात्राको लट्ठी। पिठ्युँमा लुगा कोचिएको झोला। कञ्चन पानीको उछलकुदको दृश्यपान गरेर हिँडिरह्यौँ। पानीको बेगवान सुसेलीले हाम्रो कानलाई झङ्कृत गर्दै रोमाञ्चकता थपिरहेको थियो।

एक घण्टाको अविराम हिँडाइपछि डोमन पुग्यौँ, जहाँ लाङटाङ जलविद्युत आयोजना निर्माण भइरहेको थियो। त्यहाँको उकालो चढेपछि पहिरो आइपुग्छ। नामै पहिरो। पहिरो गएर केही सानाठूला ढुंगा गुडिरहने। एक स्थानीयले सचेत गराइन्– त्यहाँ नरोकिनू, ढुंगा खसेर लाग्नसक्छ। पहिरो छिचालेर करिब दुई घण्टा उकालो ओरालो र नदी किनारको तलमाथि जंगलको बाटो हिँडेर बेलुका ६ बजे ब्याम्बु (बाँसघारी) पुग्यौँ, जुन १९७५ मिटर उचाइमा थियो।

स्थानको अंग्रेजी नाम ब्याम्बु। वरिपरि थिए निगालोका घारी। पर्यटकलाई लक्षित गरेर ब्याम्बु भनिएको रहेछ। हाम्रो घर लेले, ललितपुर र त्यस वनक्षेत्र वरपर निगालो पाइन्छ। निगालोबाट भकारी, डोको तथा डालो बुनिन्थ्यो र स्थानीय खपत गरिन्थ्यो। अहिले त पहिलो पुस्तासँगै भकारी र डालोको प्रचलन पनि लोप भइसक्यो। मैले झट्टै बालाई सम्झेँ।

हाम्रा बा डोको बुन्न पोख्त थिए। हाम्रो बारीको डिलमा निगालोको एक झ्याङ थियो। बाको सीपले हाम्रो घरमा आवश्यक डोको कहिल्यै किन्नु परेन। ब्याम्बुमा त्यस्ता निगाला त्यतिकै लडिरहेका थिए। नेपालका जंगलमा यसरी नै निगालो लडिरहेका छन्, निःशुल्क स्रोत र साधन लडिरहेछन्। प्लास्टिकका सामानको आयात रोक्न यस्ता निगालाबाट निर्मित रैथाने सामान प्रयोग गर्न पाए हुन्थ्यो। यस्तै भावना आयो मनमा र यो देशको योजनाझैँ बिलायो।

ब्याम्बुमा लाङटाङ नदीको किनारमै केही होटल रहेछन्। त्यसमध्ये छेउको एउटा होटल रोज्यौँ। नदीको सुसाहट उग्र थियो र सुनिरहँुजस्तो आनन्ददायक।  किनारतर्फ नजान सचेत गराएर ससाना बोर्ड राखिएका थिए। होटल वरिपरि निगालोको झ्याङ भएकोले कहिलेकाँही भालु आफ्ना बच्चा लिएर निगालो खान आउने रहेछन्। त्यस्तो डरलाग्दो कुरा सुनेपछि अँध्यारोमा बाहिर निस्कन डर लाग्यो।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र भएकोले त्यहाँ बिजुलीको पोल र तार राख्न नपाइने रहेछ, बत्तीको लागि सोलारको व्यवस्था थियो। फोन पनि नलाग्ने। तपाईंलाई तातो पानीले नुहाउन मन लाग्यो भने ३०० रुपयाँ चार्ज। खानेकुरा निकै महँगो, आलु फ्राई चार सय प्लेट, पर्यटकलाई ६००। अण्डा फ्राई १०० रुपैयाँ। मासु नपाइने।

भात, दाल र आलुको तरकारी प्याकेजमै आयो। जे जसो हामीले भोक मेट्यौँ। पहिलो दिन निकै थकाइ लागेछ, चाँडै नै सुत्न खोज्यौँ। तर जीउ दुखेर राम्रोसँग सुत्न सकिएन। पदयात्रामा बोकेका झोला हिँड्दै जाँदा निकै गहु्रँगा भए। भोलिपल्ट अनावश्यक देखिएका केही लुगा निकालेर त्यही होटलमा राख्न दियौँ।

बिहान साढे ६ बजे ब्याम्बुमा ब्रेकफास्ट खाएर पदयात्रा फेरि शुरू गर्‍यौँ। हामी त्यस्तो उत्पातै व्यवसायिक र निरन्तरको पदयात्री थिएनौँ। पारिवारिक थियो हाम्रो पदयात्रा र पहिलो पनि।

कहिले बस्दै, कहिले उभिँदै, कहिले पुल तर्दै नदीसँगै उचाइतर्फ लम्किरह्यौँ। हाम्रो हिँडाइको सहारा त्यही ‘ट्रेकिङ स्टिक’ थियो। मेरो हिँडाइ सुस्तरी, तर निरन्तर थियो। हिँडाइको कठिनाइले कसैसँग बोल्ने हिम्मत थिएन। कोही अलि अगाडि थिए, कोही अलि पछि। म बीचमा थिएँ। एक्लै। खच्चडको गोबरको अर्गानिक गन्धले नाकमा हिर्काइरहेको थियो। कोही भनिरहेका थिए– यसको व्यवस्थापन गरेको भए हुने वा बाटो नै अलग गरे हुने। तर त्यसको एकरति असर थिएन ममा।

अविराम तीन घण्टा हिँडेपछि आइपुग्यो २५ सय मिटरको रिम्चे। रिम्चेमा झोला, लट्ठी र क्लान्त शरीर बिसाएर आराम गर्‍यौँ केही क्षण। तर त्यहाँ रोकिनु थिएन, अगाडि बढ्यौँ। त्यसपछि आइपुग्यो नजिकै रहेको लामा होटल। त्यहाँ पनि नरोकिएर अझै एक घण्टा उकालो हिँड्यौँ, धेरै उकालो भने होइन। अनि आइपुग्यो २७ सय मिटर उचाइमा नदीको किनारमा रहेको रिभर साइड।

त्यहाँ थियो रिभर साइडको एक मात्र होटल। पूर्व खबर नगरे पनि खाना तयार रहेछ अर्को समूहको लागि बनाएको। त्यही खाना खुवाए हामी सात जनालाई। एउटा सादा खाना ५०० रुपयाँ। नजिकै थियो हातखुट्टाले छुनसक्ने लाङटाङ नदी। तर चिसो हिमनदीमा खुट्टा डुबाउने प्रयास सफल भएन, फोटोसम्म खिचियो।

नदीको पारिपट्टी मृगका बथान चरिरहेका थिए, तिनीहरूसँगै लंगुरको एक जत्था जिस्किरहेको थियो। हिँड्दैजाँदा जंगलमा त्यस्ता लंगुरका जत्था नजिकै बसिरहेका भेटिन्थे। धुन्चेबाट अघि बढ्दा लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क १०० रुपयाँ बुझाएका थियौँ र सँगै ठूलाठूला बोर्डमा ‘रेड पान्डालाई क्षति नपुर्‍याऔँ’ सन्देश लेखिएका थिए। पाँच दिनको यात्रामा हामीले कतै रेड पान्डा देखेनौँ।

रिभरसाइडमा केही क्षण थकाइ मारेर तीन हजार मिटर उचाइमा रहेको घोडातबेलातर्फ लाग्यौँ। घोडातबेला पुग्नै लाग्दा ठाडो उकालो रहेछ, त्यसपछि समथर। त्यहाँ वयली बताससँग मस्किँदै गुलाबी गुराँसले हामीलाई स्वागत गरिरहेका थिए। फूलैफूलको जंगल देखेपछि आनन्दविभोर भयौँ। घोडातबेला भन्ने बित्तिकै केही घोडा होलान्, बाँध्ने स्थान होलान् भन्ने अनुमान भयो। साँच्चै रहेछ, त्यहाँ खच्चडलाई थकाइ मार्ने स्थल बनाइएको रहेछ बीचबीचमा।

माथि उक्लँदै जाँदा बाटोको बीचबीचमा खच्चडका हुल देखा पर्थे। ओर्लंदा तिनले खाली सिलिन्डर र केही हल्का सामान बोकिरहेका हुन्थे। माथि उक्लँदा ५० देखि ९५ किलोसम्म बोक्ने रहेछन्। पर्यटकलाई खुवाउने खाद्यान्नदेखि आवश्यक सामान बोक्ने यिनै खच्चड।

एउटा खच्चडले स्याफ्रुबेंसीदेखि तीन दिन लगाएर क्यान्जिङ रिसम्म पुर्‍याएको खर्च तीन हजार रुपयाँसम्म लिने रहेछन्। एउटा बथानमा १० देखि माथि नै संख्या र एउटा खच्चडको मुल्य १ लाख रुपयाँसम्म पर्ने रहेछ। खच्चडको एउटा गोठालो हुन्थ्यो हातमा लट्ठी समातेको। ऊसँग हिँड्दै गफिएँ। तिनीहरू तलबी रहेछन् महिनाको ४० हजारसम्म तलब, खाना र कपडा पनि दिने रहेछन् साहुले।

मैले ती खच्चडमा जीवन देखिरहेको थिएँ, एकातर्फ खच्चडको जीवन र अर्कोतर्फ खच्चडसँग जोडिएको मानिसको जीवनडोरी। कति दुःख छ खच्चडलाई। म केही क्षण आफैँ खच्चड बनेर दुःख कथ्न चाहेँ। त्यसपछि त्यो गोठालो, जो पश्चिम बैतडीबाट त्यहाँ आएको थियो, उसले धपाइरहेको त्यो खच्चडको बथान। उता साहु छ बिन्दास, पैसाको हिसाब मात्र छ। सम्झँदै हिँडिरहेँ।

खच्चडको त्यस्ता बथान भेटिँदै, छोड्दै हिँडिरह्यौँ। रिभर साइडबाट लामा होटल हुँदै, अलिअलि उकालो र अलिअलि तेर्सो बाटो। बीचमा आए ३२ सय मिटर उचाइको थाङस्याप, च्याम्की, गुम्बा गाउँ र पुग्यौँ लाङटाङ भ्याली, जहाँ डाँफेले माथि डाँडाबाट हामी आइपुगेको हेरिरहेको थियो। यो त्यही भ्याली हो, जुन बस्तीलाई ७२ सालको भूकम्पपछि आएको पहिरोले पुरेको थियो। ३०० भन्दा बढी मानिस पुरिएका थिए। कति त बेपत्ता भए, लास फेला पार्न पनि सकिएन।

मैले त्यो दर्दनाक घटना सम्झेँ, जुन अझै पनि स्थानीयको मनमा खील बनेर डसिरहेको छ। इजराइलको नागरिक अश्राफ पहिरोमा हराएको धेरै दिनपछि फेला पारेर आफ्नो देश लगिएको रहेछ। बाटोको एक ठाउँमा उनको फोटोसहित सो कुरा लेखिएको बोर्ड टाँगिएको थियो।

पहिरोले ल्याएको ग्राभेल र ढुंगाले पुरानो लाङटाङ भ्याली बगर छ। त्यही बगरको बीचबाट बाटो बनाइएको छ। बगरको बीचमा खोला बगिरहेको छ र काठको सानो पुल छ। बगर पुग्नै लाग्दा एउटा छोर्तेन भेटिन्छ। छोर्तेनमा स्थानीयले चढाएका ससाना ढुंगाका चाङ देखिन्थ्यो, स्मृतिका चाङ।

सेनाले पनि बनाएको छ एक स्मारक, आधुनिक पाराको। त्यस विपत्तिबाट बचेकाले अलि माथि नयाँ बस्ती बसालेका छन्। भरखर तंग्रिएको रहेछ लाङटाङ भ्याली र पदयात्रा। बेलुका ६ बजे पुग्यौँ त्यहाँ। भोलिपल्ट एकजना पाको स्थानीयसँग कुरा गरेँ। उनले भने, “बाबुबाजेको पालादेखि बसेको, भूकम्पले भन्दा पनि बिस्तारै बिस्तारै हिमपोखरीबाट पानी खस्दै थियो र पहिरो गयो, केही बाँकी राखेन।”

उनले अलि माथि समथरमा एउटा घर बनाएर बसेका रहेछन्। केही माला र फलामका चुरा बिक्रीमा राखेका छन्। म किन्न आएको ठानेर उत्साहित भए, तर पछि बोल्न चाहेनन् धेरै।

भ्यालीको दायाँबायाँ चट्टानले बनेका अग्ला पहाड। बीचमा गुचुमुच्च ५०–६० घर। हरेक घर होटलजस्ता, विदेशी पर्यटकलाई केन्द्रीत गरेर बनाइएका। होटलको सभाकक्ष, खाना खाने कोठामा तातो बनाउन फलामले बनेको र बाहिरबाट बन्द गर्न मिल्ने फलाम तातेर कोठै तातो हुने चिम्नी राखिएको हुन्छ। त्यसको वरिपरि बसेर तातो चिया पियौँ, थकाई मार्‍यौँ र खाना खाएर सुत्यौँ।

भोलिपल्ट बिहानको खाजा खाएर फेरि यात्रा शुरू गर्‍यौँ। त्यहाँबाट अझै तीन घण्टाको बाटो बाँकी थियो क्यान्जिङ गोम्पा पुग्न। आराम नगरी हिँडेकोले दोस्रो दिन नै हामी त्यहाँ आइपुग्न सफल भएका थियौँ। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म हिँडिरह्यौैँ। रमाइलो गरेनौँ, चाँडो गरे कामधन्दामा फर्किन सजिलो हुने थियो। बिहान एउटा रोटी, अण्डा, चनाको तरकारी र चियायुक्त नास्ता खाएर साढे ६ बजे फेरि यात्रा शुरू गर्‍यौँ।

वरिपरि चौँरी चरिरहेका थिए। तिनको घरधनीले छोडिदिएका, कति त भूकम्पले घर पुरिएपछि बेवारिसे भएका। मैले एक स्थानीयलाई सोधेँ, कसैका होइन रहेछन् ती चौँरी। उनले भने, “मान्छे नजिक गए भने भाग्छन्, जंगली भइसके।”

तिनको मासु खान नहुने किंवदन्ती रहेछ। लडेर वा केही गरी संयोगले मरेपछि मात्र खाने। टाढा प्लास्टिकको पालजस्तो टाँगेर चौँरी चराइरहेका गोठाला पनि देखिन्थे। गाउँको नजिकै गोठ बनाएर चौँरी पालेका एक जनाले दुर्खा बेच्न ल्याए। महँगै थियो, ३०० रुपैयाँमा एउटा लामो टुक्रा। महँगो लागेर किनेनौँ। सँगै केही घोडा चरिरहेका थिए, केही हिन्हिनाइरहेका।

पहाडको माथिमाथि हिउँ देखिन थाले। कुहिरो माथिबाट तलतल हामीसम्म आइपुग्थ्यो र फेरि माथि लाग्थ्यो। कुहिरोले ल्याएको पानीले हामीलाई रेनकोट लगाउन बाध्य पार्‍यो। केही बेर हिँडेपछि आइपुगे ३५ सय मिटरका मुन्दु र सिन्दुम।

बाटोको बीच बीचमा शेर्पा भाषा र बुट्टा कुँदिएका ढुङ्गा लगाएर बनाइएका पर्खाल भेटिन्थे, तिनको नाम भने थाहा भएन। केही भरखरै बनाएजस्ता सेता र साना गुम्बा, पानीले चलिरहने माने र बगरै बगरको लामो बाटो पार गर्दै केही उक्लेर तीन घण्टापछि ३५ सय मिटर उचाइको क्यान्जिङ गोम्पा पुग्यौँ। क्यान्जिङ गोम्पा क्यान्जिङ रिको फेद समथर चौरमा ४०–५० वटा गुचुमुच्च घरहरू थिए। त्यहाँ पनि हरेक घर होटल नै रहेछन्।

लाङटाङ भ्यालीबाट माथि बस्नको लागि एउटा होटलको नाम सिफारिस गरिएको थियो। त्यही होटल खोज्यौँ। झोला बिसाएर खाना तयारीका लागि भन्यौँ। बाहिर एकदम चिसो थियो मुटु काम्ने। हिमाल नजिकै थिए पारिभित्तामा, खाना खाएर एकछिन टहलिन निस्क्यौँ। हाम्रो अगाडि ६०० मिटर अग्लो ठाडो क्यान्जिङ रि थियो, जुन हामीले चढ्नु थियो।

चौरतिर फन्को लगायौँँ, हिमालबाट आएका हिम नदीले ठूलाठूला बगर बनाएका थिए। माथिपट्टि क्यान्जिङ गुम्बा थियो र नजिकै पारिपट्टि एउटा हिमताल। उक्लिने कि भन्ने थियो, तर उक्लिएनौँ। भोलिपल्ट क्यान्जिङ रि त उक्लिनु नै थियो। आराम गर्ने विचार गर्‍यौँ र होटलमै बस्यौँ। त्यहाँ पनि कोठा तताउने फलामको चिम्नी थियो।

बाटोभरि चर्चा भएको बकथ्रोन जुस एकएक गिलास पियौँ, स्थानीय उत्पादन भएकोले अलि सस्तो थियो २५० रुपैयाँ मात्र। बाँकी त चिकेन सुप ६५०, भेज सुप ६३०, अण्डा राखेको रामेन चाउचाउ सुप ९५०। ६००–७०० रुपैयाँ त घटी केही थिएन। खच्चडलाई बोकाएर तीन दिन लगाएर ल्याउँदा त्यति पर्न सक्ने देखियो। हामीसँगै दुई नेदरल्याण्डका पर्यटक र तिनका गाइड थिए। तिनीहरू बिहान चारैबजे उक्लिने तयारीमा रहेछन्। हामीले पनि त्यही समय समात्ने विचार गर्‍यौँ।

बिहान ४ बजे उठेर उक्लन थाल्यौँ क्यान्जिङ रिको उकालो। ६०० मिटर अग्लो क्यान्जिङ रि शुरूमा अलि तेर्सो भए पनि ठाडो उकालो थियो। उक्लँदै गर्दा सास फुल्नु त सामान्य थियो, ट्रेकिङ लट्ठी टेक्दै सुस्तरी हिँडिरह्यौँ। माथि टुप्पो निकै टाढा थियो, तल भीरजस्तो देखिन्थ्यो रिंगटै लाग्ने। कतै त बिग्रिएको थियो, टेक्ने ढुंगा पनि पाउन गाह्रो। छेउकुना, माथि टुप्पो केही नहेरेर, बाटोमा घोप्टो परेर हिँडिरहेँ। बिस्तारै गन्तव्य नजिक आउँदै थियो।

रातको अँध्यारोमा शुरू गरेको यात्रा झलमल्ल हुँदा पनि उकालो उक्लँदै थियौँ। यस्तो लाग्यो कि, हिमाल पनि यसरी नै ठाडो उक्लिने हो। मौसम सफा थियो र चारैतिर दृश्य खुल्ने कुराले हामी उत्साहित थियौँ। नत्र मौसम खराब भएर बादलले छोप्यो भने दृश्यावलोकन गर्न नपाइने रहेछ। दृश्य नदेखी फर्किएका केही असन्तुष्ट पदयात्रीलाई बाटोमा भेटेका थियौँ।

हिमालको टुप्पामा बिहानको कलिलो घाम देखा पर्‍यो, तलबाटै फोटो खिच्यौँ। तर हामी अझै उक्लिँदै थियौँ। झण्डै ७ बजे टुप्पामा पुग्यौँ, फाइनल्ली क्यान्जिङ रिको चार हजार ४०० मिटर अग्लो शिखरमा। अघिको कठिन उकालो, लामो श्वासप्रश्वास र थकाइ पुरै बिर्सियौँ।

क्यान्जिङ रि प्राकृतिक भ्यु टावर हो, अग्लो डाँडाको टाकुरा जसको टाउकोमा चढेर ३६० डिग्री अर्थात सबै दिशा वरिपरि हिमालै हिमाल देखिन्छ पानारोमिक भ्यु। सरकारले चाह्यो भने क्यान्जिङ रिमा समेत भ्यु टावर बनाइदिन सक्छ, हिमालमा पनि। झट्ट सरकार सम्झेँ, धत् यति बेला पनि के सरकार सम्झनू! त्यो प्राकृतिक भ्यु टावरमा चढेपछि सबै कुरा बिर्सिएँ, अर्कै प्राकृतिक लोकमा थिएँ।

हामी हिमालै हिमालको बीचमा उभिएका थियौँ, हिमच्छादित शिखर चाँदीझैँ टल्किरहेका थिए, चमचम चम्किरहेका थिए, झरझर बलिरहेझैँ थिए। त्यतिकै मनमोहक, चित्ताकर्षक र विलक्षण थिए। हाम्रो सामुन्ने हातैले छोइएलाझैँ लाङटाङ लिरुङ हिमाल थियो, सात हजार २३४ मिटर अग्लो। फैलिएको आधार भएको, मानौँ कि हाम्रो आगमनमा छाती चौडा पारेर अंकमाल गर्न चाहन्छ।

क्यान्जिङ रि चढेपछि अब त जम्मा तीन हजार मिटर त बाँकी हो नि, लाङटाङ हिमाल नै चढ्न सक्छु भन्ने फूर्ति बढ्यो मनमा। निकै बेर एकचित्त भएर वरिपरि घुम्दै चाँदी नै चाँदीका चुचुरा देखिने प्रकृतिको ती सुन्दर, भव्य र विशाल रचना हेरिरहेँ, आँखाबाट मनस्पटलमा छापेँ, छापिरहेँ। प्रकृति नै हो त्यो महान् कलाकार जसले प्राकृतिक क्यानभासमा लाइभ दृश्य पेन्ट, प्राकृतिक कोलाज बनाएको छ। नदीको सुसाहट, चराको चिरबिर र वयली बतासको आवाज सुन्दा प्रकृति नै हो त्यो महान् गायक र संगीतकारझैँ लाग्छ। प्रकृति नै त्यो महान् आख्यानकार हो जसले हरेकको कथा लेखेको छ, बुनेको छ।

हाम्रो वरिपरि लाङटाङ रि, दोर्जे लाक्पा, लिओन्पो गन्ग, चाङ्गबु, गाङ्चेन्पो, मोरिमोट्ठो, यला पिक, गन्जला पिक र गन्जला पासको पानारोमिक भ्यु देखिए। अर्कै समूहका एक जना अनुभव गाइडले एकएक हिमाल चिनाए। वरिपरि घुमीघुमी हेर्‍यौँ ती अद्भूत र मनमोहक दृश्य। हिम नदी पनि शान्त, मौन चिप्लिरहेको देखियो हिमालसँगै पारिभित्तामा।

कहिल्यै नपुगेको, फेरि पुग्न नसक्ने त्यस्तो अद्भुत र दिव्य स्थानमा पुगेका थियौँ। ती दृश्यलाई पोज पोजको फोटोमा कैद गर्ने कार्य तीव्र भयो। उठेर, बसेर, हात फैलाएर, पछाडि फर्किएर, सामूहिक, एकल इत्यादि। माथिल्लो क्यान्जिङ रि पनि रहेछ अलिमाथि। हामीले यसैलाई आफ्नो गन्तव्य मान्यौँ। साँगुरो ठाउँ, भीड बढ्दै थियो, आधा घण्टा बिताएपछि आनन्दित र तृप्त मन लिएर ओर्लियौँ। ओर्लिने कार्य पनि कठिन थियो, घुँडा दुख्ने र गिट्टीमा रड्किने डर।

बिस्तारै ओर्लिएपछि विजय प्राप्त गरेको योद्धाझैँ, कठिन किल्ला फत्ते गरेझैँ र हिमालको शिखर पुगेर फर्किएको आरोहीझैँ विशातलम् अनुभूतिले छाती ढक्क फुलिरहेको थियो। बिहानको खाजा खाएर ढिला नगरी, क्यान्जिङ रिमा रहेको दुग्ध विकास संस्थानको चिज फ्याक्ट्रीबाट चौँरीको केही चिज किनेर ओरालो झर्‍यौँ। चिजको लागि घोडातबेला वरिपरिका स्थानीयले चौँरीको दुध बेच्न ल्याउने रहेछन्।

क्यान्जिङ रिबाट लगातार हिँडेर लामा होटलमा बास बस्यौँ। फलामको तातो चिम्नी वरिपरि बसेर झ्याँइखट्टे पिउँदै थकाइ मेट्यौँ। त्यहाँ चिकेन फ्राई, आलु फ्राई, अण्डा फ्राई लगायत धेरै परिकार पाइने रहेछ। तर, मुल्य महँगो नै रहेछ। भोलिपल्ट उठेर चाँडै यात्रा तय गर्‍यौँ। करिब दुई बजे स्याफ्रुबेसी आइपुगेर खाना खाएपछि काठ्माडौँतिर लाग्यौँ। हाम्रो आँखाको कोषमा लाङटाङको अविस्मरणीय र शीतल प्रतिछाँया अझै टल्किरहेको छ।


सम्बन्धित सामग्री