काठमाडौँ– सुखली चौधरी (८६) हिजोआज कैलाली र बारा जिल्ला ओहोरदोहोर गरिरहन्छिन्। गत वैशाख ७ गते उनी कैलारी गाँउपालिका–१ रानामुरास्थित घरमै थिइन्। दुईतीन दिनमा बारा जान झोला ठिक्क पारिसकेकी थिइन्। झोलामा कान्छो छोरा र बुहारीका लागि कोशेली पनि थिए।
थारू समुदायकी सुखलीसँग मीठो पकवान बनाउने मात्र होइन, कपडा बुन्ने, माटोका भाँडा बनाउने शिल्प छन्। र उनका भोगाइको लामो कथा पनि छ।
बाल्यकालमा आमा गुमाइन्, अनि मानसिक र शारीरिक यातना पाइन्। उमेर नपुग्दै विवाह गर्नुपर्यो। विवाहपछि पाँच पटकसम्म सुत्केरी नउम्किँदै सन्तान गुमाउनु पर्यो। १० वर्षे सशस्त्र द्वन्द्वमा श्रीमान् र दुई छोरा गुमाइन्। आफ्ना दुई छोराजस्तै धेरै सन्तानको बलिदानबाट आएको गणतन्त्रमा गर्व लागेको उनको भनाइ छ।
उनको उमेर घाँसदाउरा, भारी बोक्ने, गाइभैँसीको स्याहार, ढिकीजाँतो गर्दैमा बितेर गयो। हरेक दिन दुईतीन घण्टाको मात्र सुताइ हुन्थ्यो। छोराले मात्र पढ्न पाउँथे। दाइजोका नाममा महिला प्रताडित थिए। पञ्चायतकालमा कसैका छोरीबुहारी सुन्दर लागे जमिनदारले भलभान्सा (गाँउको अगुवा) लाई भन्न पठाइ हबेलीमा बोलाउँथे। महिलाको पनि अधिकार हुन्छ भन्ने थाहासमेत थिएन।
उनी राणाकालमा जन्मिइन्। २००७ सालमा आएको प्रजातन्त्र भोगिन्। पञ्चायतका ३० वर्ष पनि भोगिन्। २०४६ सालपछिको बहुदलीय व्यवस्था र २०५८ सालपछिको राजाको प्रत्यक्ष शासन देखिन्। १० बर्से सशस्त्र युद्धले त उनलाई पिर्नुसम्म पिर्यो।
साम्यवादको सपनामा लागेर उनका जेठा र माइला छोरा सशस्त्र युद्धमा होमिए। राज्यपक्षले श्रीमानलाई यातना दियो। त्यही कारण उनका श्रीमानको २०५७ सालमा मृत्यु भयो।
सुखली चौधरी र उनले बनाएका सामग्री।
पतिशोकको वर्षदिन नबित्दै २०५८ सालमा जेठा छोरा जोख्खन चौधरी युद्धका क्रममा मारिए। माइलो छोरा जगतरामको पनि युद्धकै क्रममा २०५९ सालमा मृत्यु भयो। उनी नातिनातिना, बुहारीहरू र कान्छा छोराको अभिवाकक बनिन्।
उबेला सुखलीले मन हुँदाहुँदै पनि पढ्न पाइनन्। तर अहिले उनका नातिनीहरूले पढ्न पाएका छन्। समय फेरिँदै आएको छ। श्रीमानको कमाइमा मात्र निर्भर हुने महिला अब इलम गरेर खान सक्छन्। आफ्नो मर्जीले बाँच्न सक्छन्। अहिले त छोरीहरू विदेश पनि जानसक्ने भन्दा सुखली प्रसन्न देखिइन्।
सुखलीलाई २०७६ सालमा स्तन क्यान्सर भयो। भक्तपुर क्यान्सर अस्पतालका डाक्टरले दायाँ स्तन काटेर फालिदिए। “दुःख र पीडा त जन्मिँदै लिएर आएको रहेछु, म नै भइनँ भने मेरो परिवारलाई कसले बचाउँछ? क्यान्सरदेखि बाँचे अझै बाँचिरा’छु” उनी भन्छिन्।
महिला र पुरुष बराबर नै नभए पनि अहिले एकै ठाँउमा काम गर्न पाएका छन्, यस्तो देख्दा उनलाई राम्रो लाग्छ। उनको पालाका अन्धविश्वास र कुरीति पनि अहिले हट्दैछन्। तर ‘दहेज’ प्रथा पहिलेभन्दा बढेको उनको अनुभव छ। पहिला छोरीलाई गाई, थाल, लोटा, ढकिया, डेलुवा, बिडा, पंखाजस्ता सामान दिने चलन थियो। अहिले दाइजोमा पैसा, बाइक दिने विकृति शुरू भएको उनी बताउँछिन्।
महसुस नभएको गणतन्त्र
माकुरी बिशंखे (७७) र सुभद्रा बिशंखे (७२) आफूहरूलाई अझै ‘गणतन्त्र नआएको’ महसुस गर्छन्। माकुरी र सुभद्रा अविवाहित हुन्, यही कारण उनीहरूले अझै खिसीट्युरी सुन्नुपर्थ्यो। ‘तिमीहरूले बिहे गरेनौ, सित्तैमा बाजा बजाइदिन्छौँ, बिहे गर,’ भनेर पुरुषहरू जिस्काइरहन्थे।
चन्द्रागिरि नगरपालिका–१० का स्थानीय यी दिदीबहिनीको संघर्ष आख्यानजस्तो लाग्छ। देशमा आएको राजनीतिक परिवर्तनमा दिदीबहिनीको भोगाइका रूप अनेक छन्। निरङ्कुश राजतन्त्रदेखि लोकतन्त्र, गणतन्त्रसम्म बेहोरेका उनीहरू छोरीलाई सम्पत्तिमा समान अधिकार नहुनु, जातीय भेदभाव नहट्नुलगायत समस्या अहिले पनि भएको बताउँछन्।
औलोले गर्दा २०१० सालमा बुबा गुमाएपछि उनीहरू आमाको अभिभावकत्वमा हुर्किए। त्यस बेला सुभद्रा ६ महिनाकी थिइन्। चार सन्तानमध्ये पहिलो सन्तान दिदीको विवाह किशोरी अवस्थामै भयो। तर, दिदीको विवाह सुखद् रहेन। दिनदिनै हिंसा भोग्नुपर्थ्यो। “दिदीले हिंसा भोगी, भिनाजुको अत्याचारी बेहोरा देखेरै मैले बिहे गरिनँ, पछि बहिनीले पनि बिहे गर्न मानिनँ,” माकुरी भन्छिन्।
सुभद्रा बिशंखे र माकुरी बिशंखे।
खेतबारीको उब्जनीले मात्र पुग्दैन थियो। तरकारी र दाउरा बेच्ने, मेलामा जाने, तानमा कपडा बुन्ने, ज्यामी काम गर्ने गर्थे। काँठबाट दाउरा र तरकारीको भारी बोकेर बसन्तपुर, जैसीदेवल, असन, कालिमाटी पुग्थे। बिहान ४ बजे उठेर शहरतिर लाग्नुपर्थ्यो।
दाउरा बेचेर फर्किएपछि खान खाई खेतको काममा जानुपर्थ्यो। साँझ कपडा बुन्न जानुपर्थ्यो। “जुनी मात्र छोरीको लिएर आएका छौँ, अरू (कामले) त छोरा जस्ता छौँ,” माकुरी भन्छिन्।
लैंगिक विभेदका कारण सम्पत्तिको अधिकारका लागि पनि उनीहरूले भाइसँगै संघर्ष गर्नुपर्यो। भाइसँगको रस्साकस्सीमा उनीहरूको एक रोपनी आठ आना जग्गा पाए। “गणतन्त्र आइसक्दा पनि पैतृक सम्पत्तिमा समान हक छैन, छोराछोरीमा समानता हुन अझ कति समय लाग्ने हो,” माकुरी भन्छिन्।
माकुरी र सुभद्रासँग आमा र बहिनीहरू।
घरमा पुरुष नहुँदाका विभेद समाजबाट पनि भोगेका छन्। कि लास बोक्नु पर्यो, कि त दाउरा बोकेर मलामी आउनुपर्यो भनेर गुठीको उर्दी आउँथ्यो। गाँउमा कोही बित्दा उनीहरू दाउरा बोकेर जानुपर्थ्यो। ‘भोलि तिमीहरू मरेपछि भाइका छोरा र गुठीले मिलेर काजक्रिया गर्नपर्छ’ भन्दै व्यंग्य गर्थे।
हिन्दू धर्म संस्कारका कर्मकाण्ड पुरुष प्रधान तथा जातीय भेदभावबाट मुक्त हुन सकेको छैन। छरछिमेक र आफन्तले काजक्रियाको डर देखाएपछि उनीहरूले धर्म नै परिवर्तन गरिदिए। “ठूलो जात, सानो जात भन्ने हुन्न, मरेपछि पनि त्यस्तो कर्मकाण्ड गर्नुको अर्थ हुँदैन,” सुभ्रदा भन्छिन्।
फेरिएकी देवी राई
देवी राई (६०) लाई स्कुल पढ्न नपाएको गुनासो अझै छ। गाँउमा ‘छोरीलाई पढाए पढाउने मास्टरसँगै पोइला जान्छन्’ भन्थे। त्यही पिरले बाबुआमाले स्कुल पठाएनन्। तर उनले छोरीलाई पढाएकी छिन्। उनकी छोरीले स्नाकोत्तर गरिसकेकी छन्।
उदयपुरको बेलका नगरपालिकाकी देवीलाई छोरीले पढ्न पाउनु गणतन्त्रको बलियो पक्ष लाग्छ। छोरीहरू शिक्षक, डाक्टर, नेता, इन्जिनियर, पत्रकार, कलाकार बन्न पाएका छन्। निम्न मध्यम वर्गीय परिवारमा जन्मिएकी देवीले सन्तानको सुखी जीवनकै लागि दुःख गरिन्। उनको गाँउका अधिकांश पुरुष घर चलाउनका लागि मजदुरी गर्न भारत जान्थे। महिलालाई घरको र सन्तानको दोहोरो जिम्मेवारी आइलाग्थ्यो।
गाँउमा अशिक्षा, अन्धविश्वास धेरै थियो। छोरा पाउन नसकेको भनेर लोग्नेले श्रीमती कुट्थे। घरपरिवारले बहिष्कार गर्थ्यो। अनि श्रीमानले दोस्रो विवाह गर्थे। मेलपात गरेर कमाएको पैसा, बाख्रा, कुखुरा, हाँस बेचेको पैसा पनि लोग्नेले खोसेर जाँडरक्सी खाइदिन्थे। बाहिरको काम गर्न जाँदा महिलालाई पुरुषको भन्दा थोरै ज्याला हुन्थ्यो। “१०–१२ वर्षको नानीलाई ३५–४० वर्षको मान्छेसँग बिहे गर्दिन्थे, नानीहरूको बलात्कार हुन्थ्यो,” उनी भन्छिन्।
देवी राई।
कलिलो उमेर आमा बन्नु पर्दा र धेरै बच्चा पाउँदा आङ खस्ने रोग लाग्थ्यो। आफूले कति महिलाको पाठेघर कुहिएको पनि देखेको देवी बताउँछिन्। महिलासँग पैसा हुदैन्थ्यो। शिक्षा र पैसा अभाव एकातिर थियो, लाजले उपचार गर्न अस्पताल पनि जाँदैन थिए।
देवी दुई छोरा र दुई छोरीकी आमा भइन्। उनका श्रीमान् पनि मजदुरी गर्न बाहिर जान्थे। उनी खेती गर्थिन्। हाटबजारमा घरेलु मदिरा बेच्थिन्। सुँगुर, कुखुरा, हाँस पालेर घरखर्च चलाउँथिन्।
गणतन्त्र आइकन जनताले सरकारी कामका लागि टाढा धाउनु नपरेको अनुभव उनीसँग छ। प्रशासनमा महिला पनि हुँदा आफ्नो कुरा सुनाउन सजिलो भएको उनी बताउँछिन्।
राज्यको समावेशी नीतिले आरक्षणको व्यवस्था छ। चाडपर्वमा जातिअनुसार बिदा दिइन्छ। यी सबै परिवर्तन देख्न पाउँदा खुशी लागेको उनी बताउँछिन्।
फेसबुक, टिकटक र युट्युबमा संसार हेर्न पाउँदा उनी खुशी छिन्। छोराछोरीको न्यास्रो फोन र सामाजिक सञ्जालले पूरा गरिदिएको छ। छोराछोरीलाई पढ्नका लागि पहिला धरान र अहिले काठमाडौँ पठाएकी छन्। छोरीको सहयोगले आफूले पनि नाम लेख्नसक्ने भएकी छन्।