Thursday, June 19, 2025

-->

नेपालमा ‘इन्डोर प्लान्ट’: कसरी शुरू भयो, किन राख्ने?

घरमा मात्र नभई, कार्यालय, रेस्टुरेन्ट, होटल, रिसोर्टलगायत स्थानमा इन्डोर प्लान्टहरू देख्न सकिन्छ। नेपालमा यो चलन शुरू भएको लामो समय भएको छैन। घरभित्र किन राखिन्छ वनस्पति?

नेपालमा ‘इन्डोर प्लान्ट’ कसरी शुरू भयो किन राख्ने

काठमाडौँ– कलंकी बस्ने बिजुली सुनारलाई इन्डोर प्लान्ट असाध्यै मनपर्छ। उनी पेसाले शिक्षक हुन्। उनको कोठामा भान्सा, सुत्ने खाट, दराजसँगै ‘प्लान्ट स्ट्यान्ड’ पनि छन्। थरीथरीका वनस्पतिले कोठा सजाएकी छन्। “जीवित बिरुवाले पोजेटिभ भाइभ्स दिन्छ, मुड पनि राम्रो बन्छ। कामबाट फर्किंदा बिरुवाले मन आनन्दित बनाइदिन्छ,” उनी भन्छिन्।

यात्रा गर्न रुचाउने स्टुडियो कुशलका सञ्चालक कुशल विष्टलाई काठमाडौँ बस्दा निसास्सिए जस्तै लाग्छ। प्रकृतिको नजिक रहन उनले १० वर्षदेखि इन्डोर प्लान्ट लगाएका छन्। “प्लान्टसँग माया बसेको छ, कहिलेकाहीँ त काम छाडेर प्लान्टसँग समय बिताउँछु,” उनी भन्छन्, “म नचहारेको कुनै नर्सरी बाँकी छैन।”

कुशलले फोटो स्टुडियोसँगै एक वर्षदेखि काठमाडौँको च्यासलमा ‘चिया ग्यालरी’ पनि चलाइरहेका छन्। उनले कोठा, स्टुडियो र चिया ग्यालरीमा इन्डोर प्लान्ट लगाएका छन्।

पत्रकार बुनु थारूले २०७६ सालमा कोरोना महामारी रोक्न गरिएको बन्दाबन्दीका बेला इन्डोर प्लान्ट लगाउन र गोडमेल गर्ने समय पाइन्। त्यो बेला नयाँ जातका वनस्पति तथा गमला संकलन गरिन्। उनीसँग मोनस्टेरा, होया, स्नेक, स्पाइडर, सिंगोनियमलगायत जातका इन्डोर प्लान्ट छन्। “मेरो प्यासन नै माटो र हरियो वनस्पति हो, जहाँ  घण्टौँ बस्छु, उनीहरूसँग कुरा गर्छु,” उनी भन्छिन्।

घरमा मात्र नभई, आजभोलि कार्यालय, होटल, लज, रिसोर्ट, रेस्टुरेन्टलगायत स्थानमा ठूला, मझौला र साना आकारका इन्डोर प्लान्टहरू देख्न सकिन्छ। विभिन्न अवसरमा इन्डोर प्लान्ट उपहार दिने चलन पनि भेटिन्छ। सामाजिक सञ्जालमा इन्डोर प्लान्टसम्बन्धी पेज र च्यानल छन्।

झापाकी पवित्रा तामाङ क्षेत्रीले ‘पवित्रा गार्डेन’ युट्युब च्यानल चलाउँछिन्। युट्युबमा इन्डोर प्लान्ट र फूलहरूबारे जानकारीमूलक भिडियो हाल्छिन्। भिडियो हेरेरै ग्राहकहरू आउने उनको भनाइ छ।

नर्सरी, फूल र इन्डोर प्लान्ट गरेर ६०० भन्दा बढी पसल फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) मा आबद्ध भएको अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन्। “इन्डोर प्लान्ट कल्चर विदेशबाट आएको हो। यो फेसनजस्तै भयो। नयाँ नयाँ बिरुवा भित्रिएको भित्रिएकै छ,” उनी भन्छन्।

संसारभरि वनस्पतिलाई ‘हाइब्रिड’ गरेर बेच्ने चलन बढ्दै छ। इन्डोर प्लान्टको स्याहार धेरै गर्न नपर्ने, हप्ता दिनसम्म घरधनी बाहिर गए पनि बाँच्नसक्ने हुन्छ। त्यसैले पनि यसलाई घरभित्र राख्न सहज भएको हो।

कसरी भित्रियो नेपाल?
ललितपुरको हरिसिद्धिस्थित बोनसाई नेपाल नर्सरीका सञ्चालक प्रा. फणेन्द्र महत इन्डोर प्लान्ट भूमध्यरेखीय क्षेत्र, उष्ण हावापानीको जंगलमा पाइने वनस्पतिहरू भएको बताउँछन्। युरोप र अमेरिकामा बाहिर बाँच्न नसक्ने बिरुवा घरभित्र निश्चित तापक्रममा रोपिन्छ। तर नेपालमा केही रैथाने बिरुवालाई पनि इन्डोर प्लान्टको रूपमा रोपिएको उनको भनाइ छ।

नर्सरीतिर बेच्न राखिने मोन्स्टेरा वनस्पति नेपालको जंगलमा पाइने प्रा महत बताउँछन्। त्यसको स्थानीय नाम कन्चिर्नो हो। धर्म प्रचारमा युरोपबाहिर पुगेका पादरीहरूले उनीहरूलाई मन परेका वनस्पति युरोप पुर्‍याए। ती वनस्पतिलाई इन्डोर प्लान्टका रूपमा विकास गरे। “नेपालमा शाह, राणाको दरबारका मालीले यस्ता बिरुवा सारे, अरूलाई बाँडे। विदेश जान थालेपछि सामान्य मानिसले पनि थाहा पाउँदै गए। ब्रिटिस लाहुरेहरूले बिरुवा ल्याएर घरमा रोपेपछि फैलिँदै गयो,” प्रा. महत भन्छन्।

काठमाडौँ विश्वविद्यालय बायोटेक्नोलोजी विभागका प्रमुख प्राडा ध्रुवप्रसाद गौचन इन्डोर प्लान्ट नेपालमा भित्रिएको विषय बुझ्न वनस्पति रोप्ने संस्कृतिको इतिहास बुझ्नुपर्ने बताउँछन्। पूर्वीय संस्कृतिमा वर, पिपल, तुलसीजस्ता बिरुवा लगाउने चलन परम्परागत हो। नेपालमा लिच्छविकालमै पवित्र मानिने वनस्पति रोप्ने र पुज्ने चलन थियो। त्यो चलन अहिले पनि छँदैछ।

प्राडा गौचन नेपालमा इन्डोर प्लान्टको संस्कृति विकास हुनुका मुख्य चार कारण रहेको बताउँछन्। पहिलो परम्परागत कारण। पवित्र मानिएका वनस्पति तुलसी, वर, पिपल, बेलपत्रसँग मानिसहरू नजिक थिए। सन् १९९० ताका काठमाडौँमा हरियाली देख्न सकिन्थ्यो। अहिले हरियाली नहुँदा घरभित्रै बिरुवा रोप्ने चलन बस्यो।

दोस्रो, नेपालमा चलेको सशस्त्र द्वन्द्व। गाँउबाट शहरमा बसाइँसराइ बढेपछि उर्वर जग्गा घडेरी बने। शहरमा बगैँचा, पार्क कम हुँदा घरभित्रै बिरुवा रोप्न थालियो। कतिले त मनिप्लान्ट घरमा राख्यो भने पैसा आउँछ भनेर पनि राख्न थालेको गौचन बताउँछन्।

तेस्रो, सन् २०१५ पछि सामाजिक सञ्जालमा सक्रियता बढ्दै गयो। त्यहाँ फोटो र भिडियो राख्न थालेपछि प्रचार हुँदै गयो। मान्छेले घरमा थरीथरीका वनस्पति राख्नुलाई आफ्नो स्टेटस प्रतीकका रूपमा देखाउन थाले।

चौँथो, सन् २०१९ को कोराना महामारीले मान्छेहरूलाई घरमा थुनिदियो। घरभित्रै बसिरहँदा हरियाली, खुला वातावरण र शुद्ध हावाको महत्त्व बुझे। त्यो फुर्सदमा इन्डोर प्लान्ट राख्ने चलन विस्तार भयो।

वनस्पतिविद् डा. मानबहादुर रोकाया नेपालमा इन्डोर प्लान्ट कहिलेबाट विकसित भयो भन्ने लिखित दस्तावेज नभएको बताउँछन्। उनका अनुसार मल्लकालमै पनि घरनजिक सानो बगैँचा बनाउने गरिन्थ्यो। जंगबहादुर राणा युरोप यात्राबाट फर्किएपछि दरबारमा बगैँचा बनाउन लगाए। तत्कालीन समयमा सिंहदरबार र केशर महलमा ठूला बगैँचा थिए।

घरभित्रै वनस्पति लगाउने चलन भने २०४७ सालपछि बिस्तारै शुरू भएको डा. रोकायाको भनाइ छ। उनका अनुसार २०५१–५२ सालतिर दक्षिणकालीमा बाँसका चोयाबाट बनाइएको भाँडामा सुनाखरी राखेर बेच्ने गरिन्थ्यो। पछि पानी अमला पनि त्यसरी बेचेको आफूले देखेको उनी बताउँछन्। “विश्वव्यापीकरणको प्रभाव र आधुनिक जीवनशैलीतिर ढल्कँदै जाँदा इन्डोर प्लान्टको संस्कृति विकास भयो,” उनी भन्छन्।

विसं. २०५० को दशकमा मानिसहरूको देशविदेश आउजाउ बढ्यो। सौन्दर्य चेत बढ्दै गयो। नयाँनयाँ घर, अपार्टमेन्ट बन्दै गए। यसले ‘इन्टेरियर डिजाइन’का रूपमा घरभित्र बिरुवा रोप्न थालिएको डा. रोकायाको भनाइ छ।

गुनकेशरी नर्सरी हाँडीगाँउका सञ्चालक श्यामसुन्दर प्रजापति २०४८ सालदेखि यो पेसामा छन्। इन्डोर प्लान्टबारे मान्छेहरू बुझ्न थालेको लामो समय नभएको उनी बताउँछन्। “मान्छेहरू बिरुवा किन्ने भन्दा पनि मागेर लैजान खोज्थे, मुन्टा भाँचेर देऊ भन्थे। काठमाडौँको वातावरण पनि बिग्रिँदै गयो, स्वस्थ हावा पाइन्छ भनेर इन्डोर प्लान्ट किन्ने बढे,” उनी भन्छन्।

तर इन्डोर प्लान्टबारे कतिपयलाई अझै भ्रम भएको प्रजापति बताउँछन्। इन्डोर प्लान्टलाई पनि खाना बनाउन घाम चाहिने उनको भनाइ छ। किटनाशक र ढुसीको औषधिबारे राम्रोसँग नबुझी प्रयोग गर्दा यस्ता वनस्पतिको आयु लामो हुँदैन।

बाँसबारीमा रहेको ‘बिरुवा घर’का सञ्चालक सन्तोष आचार्य इन्डोर प्लान्ट पहिला हङकङ, सिंगापुर, थाइल्यान्डलगायत देशबाट ल्याइए पनि अहिले नेपालमा समेत उत्पादन हुने बताउँछन्। यसले कोठा सजाउने मात्र नभई, घरभित्रको हावा पनि शुद्ध गर्न सहयोग गर्ने कारण मानिसहरूको आकर्षण बढ्दै गएको उनको भनाइ छ।

विशालनगरस्थित ‘द नेक्स्ट फ्रेम’का सञ्चालक प्रवीण राई इन्डोर प्लान्टको माग धेरै हुन थालेको बताउँछन्। उनीसँग ५०० देखि २० हजार रुपैयाँसम्मका इन्डोर प्लान्ट छन्। 

किन राख्ने इन्डोर प्लान्ट?
इन्टिनियर डिजाइनर कन्सल्टेन्ट अर्चना शाह इन्डोर प्लान्टलाई ‘जस्ट फर ब्युटिफिकेसन’ भन्छिन्। इन्डोर प्लान्टले अक्सिजन दिने हुँदा स्वास्थ्यलाई भने राम्रो गर्ने उनको भनाइ छ।

सबै डिजाइनरले बास्तविक इन्डोर प्लान्ट नराख्ने गरेको शाह बताउँछिन्। कतिले गुगल युट्युब, टिकटिकमा वास्तुशास्त्रीले घरमा वनस्पति राख्दा राम्रो हुने बताएको सुनेर पनि राख्ने गरेका छन्। कतिपयले भने वास्तुशास्त्रीसँग सल्लाह नै लिएर राख्छन्।

वास्तुशास्त्री नारायणप्रसाद दुलाल वनस्पति विज्ञान र वास्तु विज्ञानको सम्बन्ध प्राचीनकालदेखि जोडिएको बताउँछन्। घरभित्र हरियो देख्दा मन खुशी हुने उनको भनाइ छ। “एरिका पाम, लम्की ब्याम्बो, जेट प्लान्ट, स्नेक प्लान्ट, मनि प्लान्टले बिग्रिएको वास्तुलाई सन्तुलनमा ल्याउँछ। अझ बढी त एरिका पामस्पर्शी वायुले ग्रहको नकारात्मक उर्जालाई कटाउँछ। राहु ग्रहको नकारात्मक प्रभावलाई  चिर्न सहयोगी हुन्छ,” उनी भन्छन्।

इन्डोर प्लान्टको सौन्दर्य त छ नै, यसका फाइदा वा घाटाबारे विभिन्न अनुसन्धान पनि भइरहेको काठमाडौँ विश्वविद्यालय बायोटेक्नोलोजी विभागका प्रमुख प्राडा ध्रुवप्रसाद गौचन बताउँछन्। आधुनिक जीवनशैलीमा इलेक्ट्रोनिक ग्याजेट, वाइफाई प्रयोग धेरै छ। एक्सरे, एमआरआई गर्दा युबी रेडिएसन, इलेक्ट्रो रेडिएसन आउँछ। यो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

फ्यान र काठमाडौँ विश्वविद्यालय बायोटेक्नोलोजी विभागको समन्वयमा ‘द रेडिएसन एब्जप्सन अफ इन्डोर प्लान्ट’ शीर्षकमा अनुसन्धान भएको थियो। प्राडा गौचनकै अग्रसरतामा भएको अनुसन्धानमा केही बिरुवाले युबी रेडिएसन र इलेक्ट्रो रेडिएसन कम गराउनसक्ने देखिएको थियो। एलोभेरा, जेड प्लान्ट, स्नेक प्लान्टले यूबी रेडिएसन सोस्ने गरेको पाइएको थियो।

त्यस्तै टीभी, एलईडीको रेडिएसन कम गर्न स्नेक प्लान्ट, रबर प्लान्ट र वाइफाई राउटरको रेडिएसन कम गर्न पिस लिली, क्याक्टसका विभिन्न प्रजाति उपयोगी हुने देखिएको थियो। मोबाइलको रेडिएसन कम गराउन पिस लिली र एलोभेरा उपयोगी हुने पाइएको प्राडा गौचन बताउँछन्।

इन्टेरियर डिजाइनर उषा श्रेष्ठका अनुसार घरभित्र वनस्पति सजाउने कार्यलाई ‘बायोफिलिक डिजाइन’ भनिन्छ। यसले मानिस र प्रकृतिलाई जोड्ने उनको भनाइ छ। मरुभूमि भएका वा वन नभएका देश वा स्थानमा घरभित्र हरियाली बनाउने चलन भएको श्रेष्ठ बताउँछिन्।

तर सबै प्रकारका वनस्पति सबैलाई सहज नहुने उनी बताउँछिन्। “कसैलाई कुनै प्लान्टसँग एलर्जी हुन्छ, इन्टेरियर डिजाइन गर्दा बोटानिस्टसँग सहकार्य गरेर इन्डोर प्लान्ट सेट गर्छौं,” उनी भन्छिन्।

फ्यानका निवर्तमान अध्यक्ष मीनकुमार तामाङ शहरमा कंक्रिटका घर बढ्दै जाँदा स्वास्थ्य राम्रो हुने अपेक्षाका साथ इन्डोर प्लान्ट राख्ने चलन फैलिँदै गएको बताउँछन्। “ग्लोबल वार्मिङले काठमाडौँमा पनि गर्मी बढ्दो छ, प्लान्ट घरमा राख्दा शीतल भएको ठान्ने र घरको शोभा पनि बढ्ने हुन्छ,” उनी भन्छन्।

लामो समयदेखि वातावरण पत्रकारिता गर्दै आएका पत्रकार तथा लेखक रमेश भुषाल इन्डोर प्लान्ट संस्कृति बजारसँग पनि जोडिएको बताउँछन्। बजारले जे चाहान्छ, त्यो आइपुगिहाल्छ। बाहिर हरियाली हराउँदै जाँदा घरभित्र हरियो बनाउने सोचले इन्डोर प्लान्टको चलन बढेको हुनसक्ने उनको भनाइ छ।


सम्बन्धित सामग्री