Saturday, May 17, 2025

-->

हिंसा पीडितदेखि सफलतासम्मः सहकारीले बदलेको लिबाङका महिलाको जीवन

दिनभरि घरको काम। राति नसुतेर मासु काट्नुपर्थ्यो। अनि डोकामा हालेर बेच्न हिँड्थे। मासु बिक्रीले फाइदा दिएपछि उनीहरूले सहकारी खोल्ने योजना बनाए। यसरी खोलिएको सहकारीले कसरी फेरियो महिलाको जीवन?

हिंसा पीडितदेखि सफलतासम्मः सहकारीले बदलेको लिबाङका महिलाको जीवन

काठमाडौँ– हिराकुमारी बुढा घले २० वर्षअगाडिको सम्झनामा पुगिन्।

तीन छोराछोरी हुर्किंदै थिए। तर उनी हरबखत छोरीहरूको जीवन आफ्नैजस्तो हुने चिन्तामा हुन्थिन्। श्रीमानका कारण आफ्नो जीवन दुःखको अनकन्टार भुमरीमा परेको महसुस हुन्थ्यो।

“लोग्ने नाम मात्रका थिए। सुख कहिले दिएनन्, दुःख भने हरेक दिन थपिदिन्थे,” हिरा भन्छिन्, “छोराछोरी जन्माउन मात्र साथी थिए, बाँकी त म एक्लै थिएँ र एक्लै छु।”

उमेरले पाँच दशक टेकेकी हिरा रोल्पा सदरमुकाम लिबाङकी स्थायी बासिन्दा हुन्। उनको दुःख विवाहलगत्तै शुरू भएका थिए। परिवारले १६ वर्षको उमेरमै बिहे गरिदिए। १७ वर्षमा पहिलो सन्तान छोरालाई जन्म दिइन्। त्यसपछि लगालग दुई छोरी जन्मिए।

बस्नको लागि घर त थियो, तर आफ्नो जमिनको उब्जनीले वर्षदिन खान पुग्दैन थियो। “लोग्नेको कमाइ र माया कस्तो हुन्छ भन्ने मैले कहिल्यै थाहा पाइनँ। दिदीबहिनीको मायाले मलाई बचायो र आजसम्म पनि बाँचिरहेकी छु।”

घरमा दाजुभाइ थिएनन्, पाँच जना छोरीहरू मात्र थिए। बाबु भारतीय सैनिक। सेनाको बेतनले परिवार जेनतेन चलेको थियो। उनले माइतीमा हुँदा कक्षा १० को टेस्ट परीक्षासम्म दिएकी थिइन्। तर विवाहपछि पढाइ रोकियो। अनि, उनले बन्धन मात्र बेहोर्नु परेन, घरेलु हिंसासमेत सहन बाध्य भइन्।

हिराकुमारी बुढा घले।

घरमा खेतबारीको कामसँगै घरेलु मदिरा बनाएर बेच्थिन्। छोराछोरीको विद्यालय शुल्क तिर्ने आधार त्यही थियो।

त्यस बेला देशमा माओवादीको सशस्त्र युद्व चलिरहेको थियो। युद्धको दोहोरो चेपुवामा थिए रोल्पाका स्थानीय। त्यसमाथि घर धान्ने जिम्मेवारीमा रहेका महिलाको पीडा बेग्लै थियो।

हिराले २०६० सालमा एउटा तालिम लिन पाइन्, जसले उनको जीवन नै बदलिदियो। महिला विकास कार्यालय रोल्पाले लिबाङको गुरुङ गाँउका २५ महिलालाई सातदिने आधारभूत तालिम दियो। तालिम लिन जाँदा श्रीमान्बाट पिटाइ पनि खाइन्। तर हिम्मत हारिनन्।

एसएलसी उत्तीर्ण गर्न नपाएको चोट उनको मनमा खिल बनेर गढेको थियो। महिला विकास कार्यालयले दिएको आधारभूत तालिमले उद्यमी बन्ने प्रेरणा दियो। महिला सक्षम हुँदाका फाइदाहरू ऐनाजसरी देखाइदियो। बल्ल उनीहरूले महिलामाथि हुने दमनको कुरा बुझे।

तालिमबाट हिरालाई केही सामूहिक काम गर्ने हुटहुटी भयो। त्यसमा सहभागी २४ जना महिलाले मासिक २० रुपैयाँ बचत गर्नेगरी समूह बनाए। समूहको बैठक गर्थे, तर द्वन्द्वको समयमा त्यसरी भेला हुन पनि सकस थियो। “राज्य र विद्रोही दुवै पक्षले हामीलाई केरकार गर्थे, समूहमा नबस भन्थे,” उनी भन्छिन्, “हामीले दुवै पक्षको पिटाइसमेत खानुपर्‍यो।”

समूहमा पैसा बचत भएसँगै उनीहरूले जग्गा भाडामा लिएर कुखुरापालन शुरू गरे। शुरूमा २०० चल्ला ल्याए। तर कुखुराको मासु बेच्न उस्तै सास्ती खेप्नुपर्‍यो। “कुखुराको मासु आर्मी ब्यारेकमा बेच्थ्यौँ। मासु बेच्दा टमाटर, खुर्सानी, अदुवा, प्याजका पोका निःशुल्क दिनुपर्थ्यो,” हिरा भन्छिन्।

दिनभरि घरको काम हुन्थ्यो। राति नसुतेर मासु काट्नुपर्थ्यो। अनि डोकामा हालेर मासु बेच्न हिँड्थे। मासु बिक्रीले फाइदा दिएपछि उनीहरूले सहकारी खोल्ने योजना बनाए। 

२०६६ जेठ २१ गते जिल्ला कृषि विकास कार्यालयमा सिर्जनशील कृषि महिला सहकारी संस्था दर्ता गरे। उक्त संस्थाको अध्यक्षमा हालसम्म हिरा नै छिन्। सहकारीका १०० सदस्यमध्ये ९२ जना जनजाति महिला छन्। बाँकी पाँच जना क्षेत्री र तीन जना दलित महिला छन्।

आर्थिक वर्ष २०८०/८१ मा सहकारीले ९० लाख रुपैयाँको कारोबार गरेको हिरा बताउँछिन्। हाल लिबाङमा सहकारीको आफ्नै भवन छ। सहकारीले आम्दामी राम्रो गर्न थालेपछि ३ लाखमा जग्गा किनेर २० लाख लगानीमा भवन बनाए।

सहकारी स्थापनापछि भूसंरक्षण कार्यालय लिबाङले उन्नत जातको बीउ उत्पादन तालिम दियो। तालिमपछि बीउ उत्पादन गर्न २५ हजार रुपैयाँ पनि दियो। हालसम्म पनि सहकारीले यो काम गरिरहेको सहकारीकी सचिव पवित्रा गुरुङ बताउँछिन्।

पवित्रा भन्छिन्, “बजार झर्‍यो भने आइमाई जति सबै बिग्रिने भए भनेर हाम्रो चरित्रमा दोष लगाउँथे। तर हामीले हिम्मत हारेनौँ, अहिले पैसा चाहिँदा अरूसँग हात थाप्नुपर्दैन।”

सहकारीकी अर्की सदस्य निमा थापा मगर पैसाले शक्ति दिएको बताउँछिन्। पटुकीमा पैसा भएपछि मन पनि ढुक्न हुने उनी सुनाउँछिन्। केही सहकारीले गरेको अपचलनले सहकारीलाई कतिपयले विश्वास गर्न छाडे पनि आफूहरू इमानदार भएर काम गरिरहेको उनको भनाइ छ।

सहकारीकी अध्यक्ष हिरा २०६२ सालमा छारखोला सामुदायिक वनको उपाध्यक्ष पनि भइन्। सँगसँगै गाउँमा जनचेतना फैलाउने काम पनि गर्छिन्। “परिवार नियोजनका साधनबारे बताउँदा, शौचालय प्रयोगबारे भन्दा मलाई छोरीबुहारी बिगारी भनेर आरोप पनि लगाए। मेरो चरित्रमा पनि नराम्रो भने,” उनी भन्छिन्, “गाँउमा द्वन्द्वबाट विस्थापित भएर सदरमुकाम बसेका धेरै थिए। बन्दुक पड्काउने, मान्छे मार्ने कति भयो भयो! तर सामाजिक काम गर्न म कसैसँग डराइनँ।”

उनीहरूको सहकारीले अहिले गाईवस्तु पाल्न सहयोग गर्छ। किराना पसल, चिया पसल, कोसेली घर, होमस्टे चलाउन पनि सहयोग गरेको छ। हिरा आफैले २०७६ देखि कोसेली घर चलाइरहेकी छन्। सहकारीले सदस्यलाई १४ प्रतिशत व्याजमा ५ लाख रुपैयाँसम्म ऋण दिने गरेको छ।

सहकारीले आर्थिक रूपमा मात्र नभई हिंसामा परेका महिला तथा बालबालिकाका मुद्दा अदालतसम्म लैजाने, मनोपरामर्श दिने काम पनि गरिरहेको छ। सहकारीका सदस्य महिलाहरूले आफ्ना छोराछोरीलाई राम्रोसँग पढाउन सकेका छन्। उच्च शिक्षाका लागि कोही काठमाडौँ र कोही विदेशसम्म पनि पुगिसकेको उनीहरू बताउँछन्। “पहिले लोग्ने मान्छेसँग बोल्न डराउने हामी अहिले राजनीतिक दलका नेताहरूसँग समन्वय गर्न सक्ने र नबुझेको कुरा सोध्न सक्ने भएका छौँ,” हिरा भन्छिन्।


सम्बन्धित सामग्री