काठमाडौँ– सुरक्षा, कर्पोरेट, प्राज्ञिक, उड्डयन, कलाका साथै विभिन्न निकायका प्रमुख तथा बौद्धिक वृत्तमा आमरूपमा पुरुषको नेतृत्व देखिन्छ। तर पछिल्लो समय यस्ता क्षेत्रमा पनि महिलाले पनि नेतृत्व सम्हाल्दै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्। सुरक्षा, कर्पोरेट, प्राज्ञिक, उड्डयन क्षेत्रका चार जना महिलासँगको कुराकानीका क्रममा उनीहरूले लामो समयदेखि समाजमा गढेका धारणा विचार परिवर्तन हुन समय लाग्ने धारणा साझा गरेका छन्।
उच्च पदस्थ तथा जटिल पेसामा संलग्न उनीहरू व्यक्तिको लैंगिकताभन्दा क्षमता र कौशललाई प्राथमिकता दिनुपर्ने बताउँछन्। साथै उनीहरूले महिलाका लागि हरेक क्षेत्र चुनौतीपूर्ण रहेको तर ती चुनौती त्यो पेसाका लागि सुवर्ण मौका पनि हुनसक्ने बताउँछन्।
५ महिनाअघि असोजमा हिमालयन रिइन्सोयरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा नियुक्ति भइन्, उपासना पौडेल। कर्पोरेट क्षेत्रमा उच्च ओहदामा पुरुषको वर्चस्व रहँदा पौडेल यस्ता भाष्यलाई चिर्दै पहिलो युवा अनि महिला सीईओका रूपमा निजी संस्थाको नेतृत्व सम्हालिरहेकी छन्। यसअघि पनि उनी युनाइटेड इन्स्योरेन्समा सीईओका रूपमा कार्यरत थिइन्।
भारतको दिल्ली युनिभर्सिटीबाट एमबीए गरेकी उनी भारतकै आईसीआईसीलाई लोम्बार्ड इन्स्योरेन्स, एक्सा र भोडाफोन गरी लामो समय बीमा तथा ‘ब्रान्डिङ’मा काम गरिन्। उनले नेपालमा सानिमा बैंकमा सहायक महाप्रबन्धक (एजीएम)का रूपमा आफ्नो व्यावसायिक जीवन शुरू गरेकी थिइन्। त्यसपछि उनी युनाइटेड इन्स्योरेन्समा सीईओको रूपमा प्रवेश गरिन्। घाटामा रहेको युनाइटेडलाई नाफामा पुर्याएकी उनी हाल हिमालयन रिकोमा छिन्।
कपोरेट क्षेत्रमा सीईओको नाम लिँदा सुट–बुट लगाएको, ढाकाटोपीमा सजिने पुरुषको आकृति सम्झिने समयमा महिलाले नेतृत्व सम्हाल्नु केही नयाँ भए पनि अनौठो भने नभएको उनी बताउँछिन्। “यो कुरा मैले भारतमा काम गर्दादेखि युनाइटेडमा काम गर्दासम्म महसुस गरेँ। यद्यपि, यो कुरा मेरा लागि अफेन्सिभ (आपत्तिजनक) रहेन। मेरो मान्यता काम र योग्यताले आफ्नो स्थान बनाउनु हो।”
व्यक्तिको लैंगिकताभन्दा क्षमता र कौशललाई प्राथमिकता दिनुपर्ने उनी बताउँछिन्। उनी नयाँ पिँढीलाई ‘टिम वर्क’मा विश्वास राख्न सल्लाह दिन्छिन्। टिममा काम गर्दा जुनसुकै तहका कर्मचारीमा पनि आफ्नो क्षमता र कमजोरीबारे जानकार हुनुपर्ने उनको सुझाव छ।
“हाम्रो वर्क कल्चरमा ‘मलाई आउँदैन’ भने आँट कसैमा छैन। जति नै विज्ञलाई पनि सबै कुरा जानकारी हुँदैन। यसकारण कुनै पनि टिममा रहेका टिम लिडर हुन् अथवा स्टाफ आफूले नजानेका, नआएका कुरा निःशंकोच स्पष्ट राख्नसक्ने हुनुपर्छ,” उनी भन्छिन्।
फेन्सी देखिने कर्पोरेटजस्तै पुरुष दबदबा रहेको क्षेत्र हो, सुरक्षा निकाय। उच्चपदस्थ अधिकारीमा पनि पुरुषको बाहुल्यता उत्तिकै छ। जनसेवामा बढी केन्द्रित हुने यस पेसामा आमजनतासँग सदैव सम्पर्कमा रहिरहनुपर्छ। सुरक्षा निकायतर्फ नेपाल प्रहरी जनताको नजिक बसेर काम गर्ने संगठन पनि हो।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दुर्गा सिंहले ३० वर्ष प्रहरी सेवामा बिताइन्। उनी आगामी चैतमा अवकाशमा जाँदै छिन्। २०५१ सालमा प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी थिइन्। “३० वर्ष कसरी र कहिले बित्यो थाहै भएन। नीलो बर्दीलाई निक्कै माया गरियो, आफूले रोजेको बाटो हो यो,” उनी भन्छिन्।
जनसेवामा लाग्दा कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको उनी बताउँछिन्। यसको श्रेय उनी आफ्नो परिवार, सेवाग्राही अनि कार्यक्षेत्रका सहकर्मीलाई दिन्छिन्। प्रहरी संगठनप्रति पनि उनले कृतज्ञता दर्साइन्।
“३० वर्षअघि नेपाल प्रहरीमै पनि महिला इन्स्पेन्टरमा हामी चार जना महिला थियौँ। हामीअघि एक मात्र पूजा सिंह हुनुन्थ्यो,” एआईजी सिंह भन्छिन्, “यद्यपि त्यो बेलामा पनि पुरुष साथीहरूले तिमी महिला हौँ भनेर सायदै विभेद गरेको मलाई थाहा छैन।”
सिंहलाई प्रहरी पेसामा लाग्न प्रोत्साहित गर्ने उनका ठूलो बुबा थिए। “मलाई ठूलो बुबाले प्रहरी पेसामा लाग्न हौसला दिनु भएको थियो। मेरो परिवारमा कहिल्यै पनि महिला र पुरुष भनेर विभेद रहेन। सायद त्यही कारण पनि आज यहाँ छु,” उनले भनिन्।
यद्यपि, यो असाधारण पेसा भएका कारण आफ्नो असाधारण समय पनि दिनुपर्ने नयाँ भर्नार्थीलाई उनको सल्लाह छ। “काम सबै गाह्रो हुन्छ। एउटा गृहिणीलाई पनि घरका सबै कामकाज मिलाउन गाह्रो छ,” प्रहरी पेसाबारे निर्मित भाष्यबारे उनी भन्छिन्, “यहाँका चुनौती सुवर्ण मौका पनि हुन्। त्यही भएर काममा कमिटमेन्ट हुनुपर्छ। कामले महिला अथवा पुरुष भनेर भेद गर्दैन।”
प्राज्ञिक क्षेत्रमा लाग्ने व्यक्तिलाई अतिरिक्त समय आवश्यक पर्ने जिकिर गर्दै महिलाका लागि समय व्यवस्थापन केही चुनौती पूर्ण रहेको बताउँछिन्, मोनालिसा महर्जन। जर्मनस्थित हाइडल्बर्ग विश्वविद्यालयका लागि नेपालमा रहेको साउथ एशियन इन्टिच्युकी प्रतिनिधि हुन्, महर्जन। यससँगै उनी अमूर्त सम्पदाको विश्वसम्पदा सूचीकरणका लागि ‘एक्रिडेटेड फेसिलिटेटर’ पनि हुन्। आफ्नो व्यावसायिक करिअरमा युनेस्कोको उक्त भूमिका महत्त्वपूर्ण रहेको उनी बताउँछिन्। उनी अमूर्त सम्पदामा विशेषज्ञता राख्छिन्।
शिक्षित परिवारमा हुर्किएकी उनी दाजुभाइ नभएकाले तीन दिदीबहिनीले विभेदको महसुस नगरेको बताउँछिन्। यद्यपि, समाजमा अझै पनि महिलाले गर्ने कामलाई अर्थ र कामभन्दा पनि सोखका रूपमा हेरिने गरेको उनको गुनासो छ। “हामीलाई पुरुषसरह काबिल, योग्य देखिँदैन,” उनले भनिन्।
विदेशको तुलनामा नेपालमा महिला रिसर्चरको संख्या कम भएको उनी बताउँछिन्। समय व्यवस्थापनको विषयमा जोड दिँदै उनी भन्छिन्, “महिलालाई पारिवारिक, सामाजिक र आफ्नो व्यावसायिक जीवनशैलीको सन्तुलन मिलाउनु पर्ने चुनौती छ। फेरि पुरुषसरह व्यावसायिक जीवनमा योग्य र प्रतिस्पर्धी पनि हुनै पर्यो।”
यस्ता पारिवारिक, घरायसी, सामाजिक व्यवस्थापनको विषयमा पुरुष एकेडेमिक्सले जसरी पर्सनल स्पेसका लागि अनुकूल वातावरण पाउँछन्, त्यतिको खुकुलो महिलालाई नभएको उनले बताइन्।
बाल्यकालमा के बन्नेभन्दा प्रायजसोको उत्तर छन्, ‘डाक्टर, पाइलट, इन्जिनियर।’ हुर्कँदै, बढ्दै, पढ्दै जाँदा कोहीले बाल्यकालीन सपना पछ्याउँछन्, कोही रहर र बाध्यताले भिन्न पेसा व्यवसायमा पुग्छन्। लुना प्रधान भने बाल्यकालको सपना पछ्याउँदै पाइलट बनिन्। हाल उनी बुद्ध एयरमा सिनियर क्याप्टेनका रूपमा उडान भर्छिन्।
एभियसन क्षेत्रमा उनको प्रवेश सन् २००७ मा यती एयरलाइन्समा पाइलटका रूपमा भएको हो। उनी यती एयरलाइन्समा सन् २०१९ सम्म आबद्ध रहिन्। त्यसपछि एक वर्ष उनी भारतमा इन्डिगो एयरलाइन्सको पाइलटका रूपमा रहिन्। कोभिडकालमा नेपाल फर्केकी उनी २०२१ यता बुद्ध एयरमा ‘सिनियर क्याप्टेन’का रूपमा आबद्ध छिन्।
उच्च पदस्थ र जटिल पेसामा महिलाको सहभागिता न्यून छ तर उनले आफूले महिला भएकै कारण कहिल्यै विभेद नखेपेको बताउँछिन्। “कहिलेकाहीँ प्रतिकूल मौसमको कारण उडान केही रफ हुन्छ। यस्तामा महिला पाइलट भएर यस्तो भएको होला भन्ने प्रतिक्रिया पाइन्छ,” उनले भनिन्, “लामो समयदेखि समाजको मनस्थितिमा गडेका विचार, धारणा परिवर्तन हुन समय लाग्छ नै। यस्ता कुरामा माइन्ड गर्दिनँ म।”
उनी महिला पाइलट अझ जिम्मेवार हुने बताउँछिन्। “नेपालको सन्दर्भमा अहिलेसम्म महिला पाइलटले चलाएको प्लेन दुर्घटना भएको रेकर्ड छैन। महिला आत्मविश्वास अथवा डरमै भए पनि अझ सुरक्षित उडान गर्छन्,” क्याप्टेन प्रधानले थपिन्।