Friday, March 21, 2025

-->

विश्वमा बिरलै देखिने तुलबहादुरको बलिङ शैली, राष्ट्रिय टोलीमा पर्न संघर्षरत

भारतका कुलदीप यादव वा दक्षिण अफ्रिकाका तब्रेज साम्सीको शैलीमा बलिङ गर्ने क्रिकेटर नेपालको राष्ट्रिय टोलीमा कोही छैनन्। त्यही शैलीका बलर तुलबहादुर थापा देशको प्रतिनिधित्व गर्ने अठोटमा छन्।

विश्वमा बिरलै देखिने तुलबहादुरको बलिङ शैली राष्ट्रिय टोलीमा पर्न संघर्षरत

काठमाडौँ– “ऊ अलिक फरक क्षमताको खेलाडी हो। नेपालमा त्यसरी बलिङ गर्ने सिनियर लेभलमा एक जना मात्रै छ,” प्रशिक्षक शक्ति गौचनले तुलबहादुर थापा मगरको ‘राज’ बताए।

तुल चार वर्षदेखि गौचनले नै भैरहवामा चलाएको स्टार क्रिकेट एकेडेमीमा अभ्यासरत छन्। राष्ट्रिय क्रिकेट टिमका कुशल मल्ल पनि यही एकेडेमीका उत्पादन हुन्। कुशल घर गएको बेला यी दुई सँगै अभ्यास पनि गर्छन्। दुवै देब्रे हातले बल स्पिन गराउँछन्।

राष्ट्रिय टोलीबाट खेलिसकेका स्पिनर ललित राजवंशी र सूर्य तामाङ पनि देब्रेहाते नै हुन्। तर यी सबैभन्दा फरक छन् तुल। शक्ति गौचनले भनेजस्तै उनी ‘एक्लो’ हुन्।

तुल भारतीय क्रिकेटर कुलदीप यादवको बलिङ मन पराउँछन्। उनको बलिङ शैली पनि ठ्याक्कै कुलदीपको जस्तै छ– देब्रेहातको पाखुराले बल घुमाउने। यसरी घुमाएर फ्याँकिएको बल दायाँहाते बलरले दायाँहाते ब्याटरलाई ‘अफस्पिन’ गराएजस्तै ‘अफ स्टम्प’ वा त्यसभन्दा बाहिर ठोक्किएर ‘लेग स्टम्प’तर्फ जान्छ। यस्तो बलिङ शैलीलाई ‘लेफ्ट आर्म रिस्ट स्पिन’ भनिन्छ।

संसारमा यसरी बलिङ गर्ने खेलाडी निकै कम छन्। केही वर्षअघि क्रिकेट खेलबाट सन्यास लिएका अस्ट्रेलियाका ब्राड हग र त्यसअघि माइकल बेभेन यसरी बलिङ गर्थे। दक्षिण अफ्रिकाका तब्रेज साम्सी र अफगानिस्तानका नूर अहमद पनि यही शैलीमा बलिङ गर्छन्। दक्षिण अफ्रिकामा साम्सीअघि सन् १९९५ देखि २००४ सम्म राष्ट्रिय टोलीबाट खेलेका पल एडम्स मात्र यस्तो बलर थिए। वेस्ट इन्डिज, न्यूजिल्यान्डलगायत देशमा पनि यसरी बलिङ गर्ने राष्ट्रिय टोलीबाट खेलेका खेलाडी निकै कम छन्।

तुलले आफूलाई यिनै औँलामा गनिने क्रिकेटरमाझ उभ्याउन सक्ने सम्भावना छ। अहिले भने उनलालाई मौका चाहिएको र ‘ब्रेक थ्रु’ आवश्यक रहेको गौचन बताउँछन्। “कुनै पनि सिनियर लेभलमा अनुभव बटुल्न पायो भने उसले क्षमता प्रदर्शन गर्नसक्छ,” गौचन भन्छन्।

भारतमा प्रशिक्षण, नेपालमा प्रतिस्पर्धा 
प्युठानको नौबहिनी गाउँपालिकास्थित दाम्रीका तुलबहादुर भलिबलमा रुचि राख्थे। गाउँको विद्यालयमा दाइहरूले भलिबल खेल्दा उनी पनि पछिपछि दौडिन्थे। तर उनका बाबु खड्गबहादुरलाई भने छोरो बिग्रिने चिन्ता थियो।

अनि खड्गले ८ वर्षको उमेरमै भाइ सोमबहादुरको साथ लगाएर छोरालाई पढ्न भारतको चण्डिगढ पठाइदिए। “हामी त खेतीकिसानी गरेका मान्छे, भाइ उता इन्डियन आर्मी थियो। उतै पढोस् भनेर पठाएको थिएँ,” खड्ग भन्छन्।

उनी छोरालाई पनि भाइजस्तै भारतीय सेनामा भर्ती गराउन चाहन्थे। तर उता तुल पढ्ने विद्यालयको क्रिकेटको माहोलले उनलाई छोपिहाल्यो। चण्डिगढमा उनले गाउँस्तरीय क्रिकेट हुँदै जिल्ला तहसम्म खेले। यस्ता प्रतियोगितामा बारम्बार ‘प्लेयर अफ द म्याच’ र ‘प्लेयर अफ द सिरिज’ हुन थाले।

चण्डिगढमा तुलले युवराज सिंहका बुवा योगराजको एकेडेमीमा क्रिकेट सिकिरहेका थिए। उनी कक्षा ८ मा हुँदा गर्मी बिदामा नेपाल आए। त्यसअघि, नेपालले सन् २०१४ को विश्वकप क्रिकेट खेलिसकेको थियो। “त्यस बेला केटाकेटी नै थिएँ, नेपालले विश्वकप खेलेको पत्तै पाएको थिइनँ,” उनी भन्छन्।

उनी कपिलवस्तुको चन्द्रौटास्थित काकाको घरमा बस्थे। त्यहाँ क्रिकेट खेल्ने माहोल पाए। त्यहीँबाट दाङ जिल्ला क्रिकेट संघमार्फत पीएम कपका लागि जिल्लास्तरीय छनोट खेले। तर छनोट हुन सकेनन्। 

त्यसपछि दाङमै मेयर कपमा यूएनबीसी क्लबबाट सिद्धेश्वरी क्लबविरुद्ध खेलिरहँदा घाइते भए। खुट्टाको जोर्नीमै चोट लागेपछि उपचारका लागि चण्डीगढ नै फर्किए। चण्डीगढमा उनका प्रशिक्षक मुकेश यादवले उपचारमा सहयोग गरे। फिजियोले केही समय अनिवार्य आराम र थेरापी गर्नुपर्ने बताए। १० महिनाको थेरापीपछि बल्ल खेलमा फर्किन सके।

तुलबहादुर भारतमा क्रिकेट खेल्दा टिममा परे पनि अन्तिम–११ मा मौका नै दिइँदैन थियो। उनका काकाका दुई छोरी (दिदीहरू) पनि पञ्जाबको टिमबाट ह्यान्ड बल खेल्थे।

भारतमा खेल्दा टिममा पर्ने तर खेल्न नपाउने भएपछि तुलबहादुर निराश हुन्थे। उनले मैदानमा आफ्नो कौशल देखाउन पाउँदैनथे। भाइ निराश भएको देखेर दिदीहरूले नै नेपाल गएर खेल्न प्रेरित गरेका थिए।

अकस्मात बनेका देब्रेहाते रिस्ट स्पिनर
तुलबहादुर भारतमा छँदा ब्याटर थिए। टिमका लागि ‘वान डाउन’ आएर ब्याटिङ गर्थे। त्यसअघि मध्यम गतिमा बलिङ पनि गर्थे। तर दाङमा खुट्टाको जोर्नीमै समस्या आएपछि फेरि त्यसरी नै बलिङ गर्न मन लागेको थिए।

खुट्टा ठीक भएपछि उनी सन् २०१७ को अन्तिममा नेपाल आए। यहाँ देब्रे हातले स्पिन गर्न थाले। त्यही समयमा दाङमा जिल्लास्तरीय तीन वटा प्रतियोगिता खेले। दुई वटामा ‘प्लेयर अफ द सिरिज’ भए। 

यू–१९ राष्ट्रिय टोलीका लागि लुम्बिनी प्रदेशको ट्यालेन्ट हन्ट नेपालगन्जमा हुने सूचना देखे। यू–१९ राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक जगत टमाटा खेलाडी छनोटका लागि पुगेका थिए। प्रशिक्षक सन्जु क्षेत्रीले तुलबहादुरलाई नेपालगन्ज लिएर गए।

लुम्बिनी प्रदेशबाट सहभागी हुने १० जना देब्रेहाते स्पिनरहरू थिए। ती देब्रेहाते स्पिनर सबै ‘अर्थोडक्स’ (औँलाको सहायताले बल घुमाउने र भुईंमा ठोक्किएपछि ब्याटरबाट टाढा जाने) थिए। त्यो देखेर सन्जुले तुललाई भने, “१० जना नै तिमीभन्दा राम्रा स्पिनर छन्। यसरी त तिमी टिममा पर्दैनौ। तिमी ..... फाल्न सक्छौ?”

सन्जुले उनलाई देब्रेहाते ‘रिस्ट स्पिन’ गर्न भनेका थिए। (लेफ्ट आर्म रिस्ट स्पिन शैलीलाई चिनाउन सन्जुले प्रयोग गरेको शब्दलाई आजभोलि जातीय घृणाजनित मानिने हुँदा यहाँ प्रयोग गरिएको छैन। –सम्पादक)

प्रशिक्षक सन्जुको सल्लाह अुनसार उनले फारममा ‘तुलबहादुर थापा लेफ्टआर्म ....’ लेखे। त्यसपछि प्रशिक्षक जगत टमाटाले उनलाई शुरूमै बोलाएर सोधे, “तिमी .... (लेफ्ट आर्म रिस्ट स्पिन) फाल्न सक्छौ?”

प्रशिक्षक टमाटाले आफ्नो बलिङ हेर्न शुरूमै बोलाएपछि तुलबहादुर अचम्मित भए। उनी भन्छन्, “कुन बलिङ गर्छु आफैलाई थाहा थिएन, तर खत्रै गर्ने रहेछु कि क्या हो भन्ने लाग्यो।”

तुलको बलिङबाट प्रशिक्षक टमाटा आकर्षित भए। ट्यालेन्ट हन्टमा सहभागी २०० जनामध्ये २६ जनाको नाम दोस्रो चरणका लागि निस्किँदा उनी पनि अटाए। “खुशीले त्यो दिन रातभरि सुत्न सकिनँ,” उनी भन्छन्। 

त्यो खुशी लामो समय रहेन। २६ जनाबाट सात जना छनोट हुँदा उनी परेनन्। तर प्रशिक्षकले टमाटाले दिएको प्रेरणाले उनी अहिलेसम्म उत्साहित छन्। चार वर्षदेखि भैरहवास्थित शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षण लिइरहेका छन्। एक दिन राष्ट्रिय टोलीबाट खेल्ने अठोट कायम छ।

मौका पाउनै संघर्ष
दुई वर्ष स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षण गरेपछि सन् २०२० मा पीएम कपको छनोट शुरू भएको थियो। उनले दाङ जिल्लाबाट खेलेका तीन खेलमा १३ विकेट लिए। तर छनोट हुन सकेनन्। उनी पुनः अभ्यासमा लागिरहे। 

अर्को वर्षको पीएम कपको छनोटमा ९ विकेट लिए। त्यस पटक वैकल्पिकमा परे। त्यसलगत्तै भएको तिलोत्तमा कपमा मणिग्राम किङ्समा अनुबन्ध भए। उनलाई मणिग्रामले १५ हजार रुपैयाँमा किनेको थियो। पहिलो पटक खेलेर पैसा पाए।

तिलोत्तमा कपमा आएका राष्ट्रिय खेलाडी शरद भेषवाकर उनको बलिङ देखेर आकर्षित भएका थिए। एक दिन बिहानै शरदले तुलबहादुरलाइ फोन गरे। बलिङ गरेको भिडियो पठाउन लगाए। त्यस बेला एभरेस्ट प्रिमियर लिग (ईपीएल) हुँदै थियो। भैरहवा ग्लाडिएटरको प्रशिक्षक पुबुदु दसानायके थिए। 

तुलबहादुरको भिडियो हेरेपछि पुबुदुले सिधै टिममा राखे। तर कोरोनाका कारण खेल हुन पाएन। केही समयपछि भएको ईपीएल पनि उनका लागि उत्साहप्रद रहेन। पहिलो खेल मात्रै खेल्न पाउँदा जम्मा एक विकेट लिए। 

सन् २०२२ को पीएम कपमा उनी लुम्बिनीको टिममा परे। त्यहाँ पनि एउटा मात्र खेल खेल्न पाए। “खेलिरहेका खेलाडीलाई नै प्राथमिकता दिने, नयाँहरूले त्यति अवसर नपाउने हुन्छ। जित्नै पर्ने दबाब भएर हो कि भन्ने महसुस भयो,” उनी भन्छन्। 

त्यसपछिको यू–१९ राट्रिय क्रिकेट प्रतियोगीतामा पनि लुम्बिनी प्रदेशको टिममा परे। त्यस प्रतियोगितामा दुई वटा खेल मात्रै खेल्न पाए। देव खनालको कप्तानीमा उनको टिमले फाइनल जित्यो। 

उक्त प्रतियोगितापछि उनी गम्भीर बिरामी भए। पेट दुख्ने समस्याले निरन्तर अस्पताल धाउँदा पनि निको भएन। अनि भारत गए। त्यहाँ दिदी सोनिया र सम्झना थापा मगरले उपचार खर्च जुटाउन सहयोग गरे।

उनी यू–१९ एशिया कपका लागि बन्द प्रशिक्षणमा छनोट भएका थिए। रोग पूर्णरूपमा ठीक नभए पनि बन्द प्रशिक्षणमा सहभागी भए। यद्यपि, राष्ट्रिय टोलीबाट खेल्न सक्ने अवस्था भएन।

अहिले उनको स्वास्थ्य सामान्य छ र खेलको लय समात्न प्रयत्नरत छन्। यही वर्ष भएको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उनी जनकपुर बोल्ट्समा थिए। जनकपुरले एनपीएल उपाधि त जित्यो। उनी जम्मा तीन पटक अन्तिम–११ मा परे। तर दुई खेलमा जम्मा १–१ ओभर मात्र बलिङ गर्न पाए।

एक पटक ७ र अर्को पटक १२ रन दिँदा विकेट लिन सकेनन्। अधिकांश विदेशी खेलाडी र नेपालको राष्ट्रिय टोलीका अनुभवी खेलाडीका कारण उनले मौका पाएनन्। “खुलेर खेल्न टिममा परेर मात्रै हुँदैन, मैदानमै उत्रेर अनुभव गर्न पाउनुपर्छ। अब चाँहि म रेडी छु जस्तो लाग्छ,” उनी भन्छन्।

तुलबहादुरले पछिल्लो पटक भर्खरै धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न भएको अर्जुन ट्रफी खेले। उनले बुटवलको न्यु होराइजनबाट खेलेका थिए। तर उनको टिमले राम्रो प्रदर्शन गरेन, चारमध्ये तीन खेलमा हार बेहोर्‍यो। न्यू होराइजनले जितेको एक खेलमा ‘प्लेयर अफ द म्याच’ तुल नै भए। उनले चार खेलमा ६ विकेट लिए।

यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका शक्ति गौचन तुलबहादुरको खेल राम्रो भए पनि एक्सपोजरको कमी रहेको बताउँछन्। स्टार क्रिकेट एकेडेमीका प्रशिक्षक गौचनका अनुसार तुल आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गर्न तयार छन्।

बाबु खड्ग पनि तुलले राष्ट्रिय टोलीबाटै खेलेको सुन्न आतुर छन्। तर तुलको खेल कस्तो छ अहिलेसम्म मैदानमा हेर्न पाएका छैनन्। “हिमालको छेउमा बसाइ छ, छोराले क्रिकेट राम्रै खेलेको सुन्छु, खुशी लागेको छ,” उनी भन्छन्, “गाईवस्तु, बाख्रा पाल्ने र खेतिकिसानी गर्ने भएर छोराको खेल हेर्न पाइएको छैन।”

पृथक बलिङ शैली नै तुलको बलियो पक्ष हो। तर मैदानमा ब्याटरलाई दबाबमा राख्नु र विकेट लिनु महत्त्वपूर्ण हुन्छ। आफ्नो अबको उद्देश्य राष्ट्रिय टोली नै रहेको उनी बताउँछन्।

भैरहवामा उनको अभ्यास चलिरहेको छ।


सम्बन्धित सामग्री