बेनी– म्याग्दी सदरमुकाम बेनीमा ठेकी र मदानी बिक्री गर्न आएका टीका चुदारा निराश छन्। बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ शुरूदेखि नै बागलुङबाट ठेकी र मदानी लिएर म्याग्दी आएका उनले सोचेअनुरूप सामान बिक्री गर्न सकेका छैनन्।
गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये थोरैले मात्र ठेकी र मदानी खरिद गरेको चुदाराले बताए। “केही वर्ष अघिसम्म ठेकी र मदानीको माग पुर्याउनै कठिन हुने गर्थ्यो। मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको एक साता भइसक्यो, ठेकी र मदानीको बिक्री भएको छैन,” उनले भने।
गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लास्टिकका ठेकी तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेकी र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ। काठको ठेकीमा गाईभैँसीको दूध, दही र मोही संकलन गरिन्छ भने ठेकीलाई दूध दुहुन प्रयोग गरिन्छ। काठका ठेकीको विकल्पमा धातुबाट बनेका ठेकी बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेकी बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ।
गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकीलाई ३ हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्ने गर्छ। बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेकी, मदानी, पुङ, पुचाईसँगै सजावटका लागि साना ठेकीका सामान बनाउँदै आएका छन्। अहिले ६० वर्ष पुगेका चुदाराले आफूले २० वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा ठेकी बनाउन थालेको बताए।
‘‘बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, यो पेसालाई सरकारी तवरबाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्,” उनले भने, “मेरा छोराहरूले पनि अन्य पेसा र रोजगारी गर्न थालेका छन्, हामी पछि गाउँमा यसरी ठेकी बनाउने मानिस भेटिँदैन।”
चुदारा म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघेसंक्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका सामान बिक्री गर्न आउने गरेका छन्।