भियतनामको हनोई शहर। यो शहरको माझमा छ– होन कियम लेक। मानिसले यसलाई ‘शोर्ड लेक’ भनेर पनि चिन्छन्। यो नाममा एउटा मिथक जोडिएको छ। मिङ राजवंशलाई युद्धमा पराजित गरेका बादशाह ले लोई यही पोखरीमा डुंगा खियाउँदै थिए। अचानक किम क्वी नामक एक सुनौलो कछुवा देखापर्छ र सोध्छ– ‘सम्राट! तिमीले युद्धमा चलाएको जादुई तरबार कहाँ छ?’
तरबारको नाम थियो– हेभन्स विल।
यो तरबारले लोईलाई १० हजार मानिस बराबरको तागत दिएको थियो। भियतनामिजको विश्वास छ– लोईले यही तरबार बोकेर १० वर्षसम्म युद्ध लडे र भियतनाममा मिङ राजवंशको अन्त्य गरे।
कछुवा त्यही तरबार फिर्ता लिन आएको थियो। कछुवाका मालिक ड्रयागन राजाले यो तरबार बादशाह लोईलाई दिएका थिए।
लोईले आफूसँग भएको तरबार कछुवालाई फिर्ता दिए। कछुवा पोखरीमा अलप भयो। सम्राटले पोखरीको नाम सोर्ड लेक राखिदिए।
उनले आफूसँग भएको तरबार फिर्ता दिनु अगाडिसम्म यो पोखरी ता भोङ थियो।
सन् २०२४ को अन्तिम दिनतिर म भियतनामको हनोई शहरमा छु र यही पोखरीको किनारमा उभिएको छु।
घाम डुबिसकेको छ तर उज्यालो हराएको छैन। यस्तो समय मलाई खुब मनपर्छ। पोखरीको बीचमा एउटा मन्दिर छ। बेलाबेला चल्ने मधुरो हावाले पानीमा स–साना तरंग पैदा गर्छ। पानीमा प्रतिविम्बित पोखरी वरिपरीका रूखहरू पनि सुस्तरी हल्लिन्छन्। आँखा तिरमिर–तिरमिर हुन्छ। पानीमा लेउ लागेको छ, सिंगो पोखरी हरियो रङ पोतेको क्यानभाषजस्तो देखिन्छ।

वर्ल्ड क्वार्टर छेउको होन कियम लेक र काठमाडौँको रानी पोखरी मलाई उस्तै–उस्तै लाग्यो।
होन कियमको वरपर मानिस झुम्मिएका थिए। दिनभरि पढेर आएका विद्यार्थी होलान्। कार्यालय बिदा भएर टहलिन आएका कर्मचारी होलान्। घुम्न आएका पर्यटक होलान्। वा बेलुकीपख टहलिने निस्केका स्थानीय होलान्।
पोखरीको वरिपरि होचा प्लास्टिकका स्टुलहरू राखिएका थिए। बुढाबुढीहरू त्यसमा बसेर विशाल पोखरी हेरिरहेका थिए। सानासाना नानीबाबु देखिन्थे, जसको हातमा ठूला ‘बम्बइया लड्डु’ र मुखैमा नअट्ने आइसक्रिमका कोन थिए। फर्सीको बियाँ पनि खुब चर्चित रहेछ। बियाँ मुठ्ठी पारेर कुटुकुट चपाइरहेकाहरू जहीँतहीँ देख्न पाइन्थ्यो। कोहीकोही त बियर पनि पिइरहेका थिए।
त्यहाँ थरिथरिका परिकार पाकेका थिए। पोखरीको किनारामा हिँडिरहँदा स्वादिलो गन्धले हुरूक्क बनाउँथ्यो। पेट टन्न हुँदा पनि मुखभरि पानी आउने रहेछ, भोको पेट हुँदा के हुन्थ्यो होला!
यो ठाउँ गफ गर्ने अड्डा पनि रहेछ। बुढापाका, अधबैंशे, जवान, बालबच्चा हात हल्लाइ–हल्लाइ बात मारेका थिए। तिनका गफ के होलान्! भर्खरको अमेरिकी राष्ट्रपति निर्वाचन, युक्रेन–गाँजा युद्ध, भियतनामको राजनीति वा भ्रष्टाचार, महिलामाथि हुने दुर्व्यवहार, सरकारको अपारदर्शी काम, व्यवहारिक समस्या अथवा यस्तै केही होलान्। म काठमाडौँका चिया पसलमा हुने चर्काचर्का गफ सम्झिन्छु, त्यहाँका गफका मसला पनि त यस्तै हुन्छन्।
भाषा नजान्दा धेरै कुरा छुट्छन्। उनीहरूले नअड्की बोलेको भियतनामी भाषा मेरो समझमा आएन, नत्र म पनि एक प्लेट खाजा समाएर उनीहरूका गफ सुन्थेँ होला। के थाहा, गफमै मिसिन पनि सक्थेँ कि!
झमक्क साँझ पर्यो। अन्धकारलाई चिर्न वरिपरि बत्ती बले। बत्तीको दुधिलो प्रकाशले होन कियम अझ सुन्दर देखियो।

पोखरीको एकछेउबाट भित्र सडकतिर लागेँ। सडक झलमल्ल थिए। सडकका छेउमा लस्करै व्यापार चलेको थियो। यहाँ स्ट्रिट फुड चर्चित रहेछ। सडकको पेटीमा बसेर मानिस खाइरहेका थिए। तावाबाट माछा पोलेको आवाज मात्र होइन, बास्ना पनि रगमगिँदै आएको थियो। कतै ‘पोर्क’को बास्ना पनि हामफालेर आउँथ्यो। कोहीकोही ‘फऽ’ नुडल सुपको सुर्की लिइरहेका थिए। बरफ हालेको कफी ‘कफे स–दा’ को बासना पनि परपरसम्म फैलिएको थियो।
सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामा र सीएनएनका खानपिन सम्बन्धी कार्यक्रम प्रख्यात प्रस्तोता एन्थोनी बोर्डनले भियतनामको यस्तै सडक छेउको सानो रेस्टुरेन्टमा प्लास्टिकको मेचमा बसेर खाजा खाएका थिए। ले भान हु सडकमा रहेको द बुन चा हुवङ लियन रेस्टुरेन्ट अहिलेसम्म चर्चित छ।
तस्वीर: पिट सुजा/ह्वाइट हाउस
उनीहरूले त्यतिबेला बुन चा खाएका थिए। पछि त्यो रेस्टुरेन्टको नामसमेत बुन चा ओबामा रेस्टुरेन्ट राखियो। यो घटनाले हनोईको स्ट्रिट फुड कल्चरलाई बढावा दिएकोले होला यी सडक छेउका खाने ठाउँमा पश्चिमेली देशका पर्यटक समेत प्रशस्त देखिन्थे। हनोईमा मेरो बसाई होन कियम लेकबाट नजिकै थियो।
हनोईमा खुला ठाउँ प्रशस्त रहेछन्। यहाँका खाली ठाउँहरूमा मानिस बाजा घन्काएर कसरत गरेको देखिन्थे। एक ठाउँमा गीतको तालमा केही हुल वृद्धहरू छमछम नाचेका थिए। एकछिन उभिएर नाच हेरेँ। मोबाइलमा २० सेकेन्डजति रेकर्ड पनि गरेँ। पछि पो थाहा भयो, उनीहरू शारीरिक व्याम गरिरहेका थिए।
सानो–सानो घरमा बस्नेलाई यस्ता फराकिलो ठाउँले कसरत गर्न सजिलो बनाएको थियो। वृद्धहरूलाई कसरतको निहुँमा बेलुकी एक अर्कासँग गफ गर्ने मेसो मिलेको थियो। एक्लोपन हटाउने यो गजबको आइडिया हो। स्वास्थ्यको लागि एक्लोपन अहिले विश्वको बढ्दो चुनौती हो। बुढ्यौलीमा यो समस्या झन् विकराल हुन्छ। विश्व स्वाथ्य संगठन (डब्लुएचओ) भन्छ– लगभग चारमध्ये एक जना वृद्धवृद्धा सामाजिक एक्लोपनको सिकार भएका छन्।

एक्लोपन किशोरकिशोरीमा पनि छ। ब्राजिल, टर्की, भारत, साउदी अरबलगायत धेरै मुलुकका किशोरकिशोरीमा यो समस्या विकराल छ। दक्षिण कोरियामा त उनीहरूलाई एक्लोपनको सिकार हुन नदिन लाखौँ रकम खर्च गरिएको छ।
कोरियाको राजधानी सियोलमा सन् २०२३ मा त्यहाँको सरकारले कसैले पनि एक्लोपन महसुस नगरोस् भनेर आगामी पाँच वर्षमा लगभग ३२७ मिलियन डलर खर्च गर्ने घोषणा गरेको थियो। यद्यपि, हरेक वर्ष हजारौँ कोरियन कसैलाई थाहै नदिई सुटुक्क मृत्यु रोज्छन्। एक्लै बस्ने, परिवार वा आफन्तबाट अलग्गिने, आत्महत्या वा रोगका कारण मृत्यु हुने र हप्तौँपछि मात्र लाश फेला पर्ने समस्या व्याप्त छ। यस्तो मृत्युलाई कोरियन भाषामा ‘गोडोक्सा’ भनिन्छ।
दक्षिण कोरियाको गोडाक्साजस्तै जापानमा पनि एउटा शब्द छ– हिकिकोमोरी। समाजबाट आफूलाई अलग्याएर एक्लो बन्नुलाई जापानिजहरू हिकिकोमोरी भन्छन्। त्यहाँको ‘जेन–जी’मा यो समस्या उकालो लागेको छ।
डब्लूएचओले सन् २०२३ मा एक्लोपनलाई गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या भनेको थियो। अमेरिकी सर्जन जनरलले यसको स्वास्थ्य जोखिमलाई दिनको १५ वटा चुरोट पिउनुसँग तुलना गरेका थिए। अध्ययन प्रतिवेदन सार्वजानिक गर्दै डब्ल्यूएचओ कमिसन अन सोसल कनेक्सनकी कमिसनर चिडो एम्पेम्बाले भनेकी थिइन्, “एक्लोपन एक विश्वव्यापी स्वास्थ्य समस्या हो, जसले स्वास्थ्य, समाज कल्याण र विकास लगायत हरेक ठाउँमा असर गर्छ।”
मेरो दिमागमा एकपछि अर्को गरी काठमाडौँका दृश्य घुम्न थाल्छन्। मानिसले संसारमा जहाँ पुगेर जस्तोसुकै सुन्दर दृश्य देखे पनि आफ्नै परिवेशसँग तुलना गर्दोरहेछ। ऊसँगै उसका आफ्नै परिवेश पनि घुम्दारहेछन्। उसका रहर वा आवश्यकता पनि सँगसँगै घुम्दारहेछन्। मलाई यतिबेला यस्तै भइरहेको छ।
मेरो दिमागले खुला ठाउँ खोज्छ। खै कहाँ छ खुला ठाउँ! हाम्रोमा यस्ता ठाउँ अत्यन्त कम छन्। बच्चाहरूलाई खेल्ने ठाउँ समेत छैनन्।
२०७२ को भूकम्पले काठमाडौँलाई खुला ठाउँको महत्त्व सिकाएको थियो। तर अहँ हामीले पाठ सिकेनौँ। बरू अलिअलि भएका खुला ठाउँहरू पनि मिच्नतिर लाग्यौँ।
करिब १०० हेक्टरमा फैलिएको वर्ल्ड क्वार्टर पुरानो बस्ती मात्र होइन, यो हनोईको महत्त्वपूर्ण व्यापारिक क्षेत्र पनि हो। यहाँ भियतनामको प्रख्यात सेरामिकका सामानदेखि चाँदीका गहना, पर्यटकले चाहने सूविनीयर, परम्परागत जडीबुटी र दैनिक आवश्यक पर्ने सामानका पसलहरू टन्न छन्। पुराना पसल प्रशस्त देख्न पाइन्छ। आलिशान आधुनिक मल पनि छन्। दुवैतिर मानिसको आउजाउ प्रशस्त देखिन्छन्।

पैदलमार्फत अधिकांश भाग घुम्न सकिने यो क्षेत्रमा विभिन्न ऐतिहासिक संरचना देख्न पाइन्छ। यहाँका पुराना शैलीका घरहरूमा फ्रेन्च आर्किटेक्चरको प्रभाव छ। अघिल्लो पुस्तासम्म त अधिकांशले फ्रेन्च भाषा पनि बोल्थे। हिजोआज फ्रेन्च बोल्ने कम छन्। सन् २०१९ को जनगणनाअनुसार भियतनामको जनसंख्या सवा १० करोड थियो, यसमध्ये पौने ७ लाखले मात्र फ्रेन्च बोल्छन्।
हनोईमा घरहरूको बनावट रोचक छ, काठमाडौँको झल्को पनि आउँछ। भित्री शहरमा एक अर्कासँग जोडिएका अधिकांश घरहरू प्रायः तीन चार मिटर चौडा र दुई तीन तला अग्ला छन्। ती प्रायः पहेलो रङ र काठका झ्यालले सजिएका थिए।
बार्दली र झ्यालमा झुण्ड्याइएका फूल र बिरूवाले पुराना घरमा पनि सुन्दरता थपेको थियो। काठमाडौँका भित्री टोलका घरहरूमा यस्तो हरियाली देखिँदैन, तर एकछिन त असन, इन्द्रचोक र न्युरोडका गल्ली हिँडेको जस्तोचाहिँ लाग्छ। यहाँ घर पनि एकअर्कासँग टाँसिएर उभिएका छन्।

भित्री शहरमा हिँड्न रमाइलो हुन्छ। तर, यता पनि पार्किङको समस्या रहेछ। ‘बर्मा गए कर्मसँगै’ भनेजस्तो भयो मलाई। सडक पेटीको आधा भाग त गाडी र मोटरसाइकलले ओगेटका, आधामा पसलका सामान बिच्छ्याइएको। नगरप्रहरी यहाँ पनि छन्, तर तिनीहरू सडकमा सामान बेचेर जीविका चलाउनेविरूद्ध जाइलागेका छैनन्। मासु पोल्नेहरूलाई लछारपछार पार्दैनन्। सानो ठेलामा फलफूल बेच्नेहरूलाई लखेट्दैनन्। सडक किनारामा सस्ता लुगा बेच्नेहरूको आँखामा त्रास देखिँदैन थियो। सडक व्यापारले शहरलाई थप जीवन्त बनाएको थियो।
दुई दिनको वर्ल्ड क्वार्टरको बसाइपछि हनोईभन्दा टाढा हालोङ बे लागियो।

यहाँ दुई दिन क्रुजमा समुन्द्रतिर बिताउने योजना थियो। करिब १६ सय वर्गकिलोमिटरमा फैलिएको हालोङ बे साउथ चाइना समुन्द्रमा अवस्थित छ। हरियो पानीमा हजारौँ चुनढुंगाले बनेका टापुहरू समुन्द्रबाट निस्किएका छन्। परबाट हेर्दा सानातिना हिमाल ठडिएजस्तो लाग्छ। ती पेन्टिङजस्ता अत्यन्त सुन्दर देखिन्थे।
समुन्द्रमा माछा मारेर जीविका चलाउनेहरूका डुंगा र हालोङ बेको सौन्दर्य हेर्ने पर्यटकको ओइरो लागेको थियो। उनीहरूलाई बोकेका विशाल जहाजहरू ओहोरदोहोर गरिरहेका थिए। जहाजको बार्दलीमा बसेर म समुन्द्र हेरिरहेको थिएँ। जहाजमा ठोकिएको छाल र आकाशका चराचुरूंगीको आवाजबाहेक वातावरण शान्त थियो। मेरा निम्ति यो अत्यन्त सुन्दर अनुभव थियो। हुन त, दैनिक यही पानीमा बिताउनेहरूका दुःख सुमुन्द्रभन्दा गहिरो होला, तर पर्यटकका रूपमा मेरा निम्ति यो पल अविस्मरणीय थियो।
दुई दिन समुन्द्रमा बिताएर म पुनः वर्ल्ड क्वार्टर फर्किएँ।
मलाई हो चि मिन्ह शहर जान मन थियो। तर, यो पटक सम्भव भएन।
सन् १९५४ सम्म भियतनाम फ्रेन्च उपनिवेश थियो। फ्रेन्चले देशमा बाटोघाटो, अस्पताल, स्कुलदेखि उच्च शिक्षाको पठनपाठनको व्यवस्था गरेको थियो। तर, त्यहाँको असमानता कहालीलाग्दो थियो। फ्रेन्चले खडा गरेका सुविधामा सबै नागरिकको समान पहुँच थिएन। यसबाट फ्रेन्च उपनिवेशकर्ता, उनीहरूलाई अनुयायी र शक्तिका नजिककालाई फाइदा पुगेको थियो। फ्रेन्च उपनिवेशको समयमा भियतनाममा रोमन लिपिको औपचारिक प्रयोग हुन थाल्यो। रोमन लिपि १८औँ शताब्दीदेखि नै चल्तीमा भए पनि चिनियाँ अक्षर प्रयोग हुन्थ्यो। भियतनामी खानामा समेत फ्रेन्चहरूको मरमसला र विधिको प्रयोग हुन थाल्यो।
इतिहासमा हरेक उपनिवेशकर्ताले आफ्नो शक्ति र ज्ञान प्रयोग गरेर औपनिवेशिक समाजलाई दमन गरेका थिए। भारतमा बेलायतले, विभिन्न युरोपियन मुलुकले अफ्रिकी राष्ट्र र उत्तर अमेरिकामा स्थानीय संस्कार, संस्कृति र परम्परालाई तहसनहस पारेका थिए।
सत्तरीको अन्त्य र अस्सीको शुरूआतसम्म भियतनाम वर्षौंको लडाइँले थिलथिलो भएको थियो। सत्तरीको दशकको मध्यतिरबाट बल्ल उत्तर र दक्षिण टुक्रिएको भियतनाम एक राष्ट्र भएका हुन्। त्यसको अर्को एक दशक आन्तरिक र अन्तर्राष्ट्रिय भू–राजनीतिले गर्दा विकासको कामले गति पाएन। उत्तर भियतनाममा फ्रेन्चले बनाएका जे–जस्ता संरचना थिए, ती पनि अमेरिकी कारपेट बम प्रहारले ध्वस्त बनाइदिएको थियो।
लडाइँले भौतिक क्षति त गरेकै थियो, लामो द्वन्दकालले नागरिकको मानसिक र शारीरिक स्वास्थ्यलाई पनि अकल्पनीय असर पारेको थियो। यी सबै यथार्थको बाबजुद पनि भियतनामले पछिल्लो २०–२५ वर्षमा द्रुत गतिमा प्रगति गरेको देखिन्छ। आज बाटोघाटोदेखि अन्य आधुनिक संरचनाहरूले देशको बदलिँदो आर्थिक–सामाजिक परिस्थितिलाई चित्रण गरेको छ।