काठमाडौँ– नेपालीले दैनिक १८ घण्टासम्म विद्युत् आपूर्तिविहीन बन्नुपरेको अर्थात् लोडसेडिङबाट छुटकारा पाएको धेरै भएको छैन। २०७५ वैशाख १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो। अहिले लोडसेडिङ नै त छैन तर सुक्खायाम शुरू भएसँगै आपूर्तिभन्दा माग बढी हुनथालेकाले फेरि लोडसेडिङ हुन सक्ने आशंका गर्न थालिएको छ।
करिब साढे ६ वर्ष अघिसम्म जारी लोडसेडिङबाट निम्तिएको अन्धकार चिर्न शहर, बजार धेरैतिर मैनबत्ती नै प्रमुख सहारा बनेको थियो। त्यसकारण किनमेलमा छुट्दै नछुट्ने वस्तु बन्न पुगेको थियो मैनबत्ती।
केही दिनअघि लाजिम्पाटस्थित मैनबत्ती पसल (क्यान्डल स्टोर)मा तृषा ढुंगाना क्यान्डल किन्दै गरेको भेटिइन्। तर उनले किन्दै गरेको त्यो क्यान्डल अर्थात् मैनबत्ती लोडसेडिङताका जस्तो अँध्यारो चिर्नलाई थिएन। ‘लेमन–ग्रास’को सुगन्ध आउने ग्लास क्यान्डल किनेकी तृषाले पछिल्लो समय नियमित रूपमा सुगन्धित क्यान्डल प्रयोग गर्दै आएको, यसको प्रयोगले सकारात्मक ऊर्जा आउने र आनन्दितसमेत महसुस हुने बताइन्।
“दुई वर्षअघि पहिलोपटक प्रयोग गरेको थिएँ, त्यसपछि नियमित प्रयोग गरिरहेको छु। लेमन–ग्रास रोज्, चक्लेट लगायत फ्लेवरका क्यान्डल म प्रायः छुटाउँदिनँ,” उनले भनिन्, “नजिकमा क्यान्डल बाल्दा सुगन्धले सकारात्मक ऊर्जा मिल्छ। बेलुका पढ्दा र बिहान योग गर्दा क्यान्डल नै बाल्छु।”
६–७ वर्षअघि तृषा मैनबत्ती बालेर पढ्थिन्। “त्यतिबेला लोडसेडिङ थियो, मैनबत्ती बाल्नैपर्ने बाध्यता थियो। अहिले चाहिँ सौखले क्यान्डल बाल्छु,” उनले भनिन्, “त्यसबेला क्यान्डल बाल्दा उज्यालो हुन्थ्यो, अहिले सुगन्ध पनि मिल्छ। आनन्द अनुभूति पनि हुन्छ।”
बागबजारको एक सुपरमार्केटमा जाडोका कपडा किन्न आएकी सुजिता कार्कीका आँखा किनमेलपछि बेच्न राखिएका आकर्षक क्यान्डलमा गएर रोकिए। विभिन्न डिजाइन र सुगन्धित क्यान्डल देखेर लोभिएकी उनले आफूलाई रोक्न सकिनन्। केही नसोची चक्लेट फ्लेवरको ‘ग्लास क्यान्डल’ किनिन्। काँचको कपमा मैनबत्ती राखिएझैँ देखिने त्यो क्यान्डललाई ७०० रुपैयाँ पर्यो।
तस्वीर सौजन्यः मनैदेखि सेन्टेड क्यान्डल्स
“म सौखले क्यान्डल किन्छु, प्रायः किनिरहेकै हुन्छु। घरमा क्यान्डल बाल्दा सकारात्मक ऊर्जा आएझैँ महसुस हुन्छ,” उनले भनिन्, “अहिले उज्यालोको लागि नै त क्यान्डल बाल्नु पर्दैन। सौखले बाल्छु।”
मैनबत्तीको फैलिँदो प्रयोग
तृषा र सुजिता जस्तै मैनबत्तीलाई फरक प्रयोजनका लागि उपयोग गर्नेको संख्या पछिल्लो समय बढिरहेको छ। कतिपयले यसलाई घरमा सुगन्ध दिने वस्तुसँगै अगरबत्तीको सट्टामा समेत प्रयोग गर्न थालेका छन्। त्यहीकारण यसको माग बढ्दो छ। सुगन्धित क्यान्डल यहाँका बजारदेखि विदेशमा समेत बिक्री गर्दै आएको हिमालयन अटेलियरका कर्मचारी सन्तोष कार्कीले पछिल्लो समय आकर्षक र सुगन्धित क्यान्डलप्रति आकर्षण बढेको बताए।
यस्ता क्यान्डल मुख्यतः क्यान्डल लाइट डिनरसँगै होटल तथा रेस्टुराँमा सजावटका लागिसमेत माग हुने उनी बताउँछन्। “कतिपय ग्राहकले चाडबाड, पूजाआजा र यस्तै उत्सवका लागि पनि सुगन्धित क्यान्डल लैजाने गर्नुहुन्छ। हामीले बिक्री गर्ने अरू सामान किन्न आउँदा कोही ग्राहक सुगन्धित क्यान्डल पनि लिएर जानुहुन्छ,” उनले भने, “एउटा क्यान्डलले लगातार २४ घण्टा काम गर्छ। त्यसैले चाडपर्वहरूमा पनि यो ग्राहकको रोजाइमा पर्छ।”
आफूकहाँ आउने ग्राहकमध्ये कतिपयले पढ्दा एकाग्रता मिल्ने बताउने गरेको, कतिपयले चाहिँ स्पाका लागि लैजान थालेको बताएको कार्कीको भनाइ छ।
गृष्मा पौडेल सुगन्धित क्यान्डल उत्पादन र बिक्री वितरण गरिरहेको ‘मनैदेखि सेन्टेड क्यान्डल्स्’को संस्थापक हुन्। सुगन्धित क्यान्डल बाल्दा सकारात्मक ऊर्जा मिल्ने र आनन्द हुने भन्दै ग्राहकले लैजाने गरेको उल्लेख गर्दै उनले ग्राहकै रोजाइअनुसारका थरीथरीका क्यान्डल उत्पादन गरिरहेको बताइन्।
तस्वीर सौजन्यः मनैदेखि सेन्टेड क्यान्डल्स
“ग्राहकले भने जस्तै सुगन्ध राखिएका क्यान्डल बनाएर बेच्ने गर्छौं। रोज्, स्ट्रबेरी, ज्यास्मिन, लेमन–ग्रास, मिन्ट, चक्लेट जस्ता विभिन्न सुगन्ध भरेर आकर्षक डिजाइनमा क्यान्डल बनाउँछौँ,” उनले भनिन्, “ग्राहकको मागअनुसार जुनसुकै स्वाद (फ्लेबर) को क्यान्डल बनाउँछौँ। अहिले पर्फ्युमको सुगन्ध, ल्याभेन्डर अनि लेमन–ग्रासको सुगन्ध राखिएका क्यान्डलको माग धेरै माग आउने गरेको छ।”
पौडलका अनुसार सबभन्दा धेरै माग ग्लास क्यान्डलको छ, त्यसमा पनि लेभेन्डर, लेमन–ग्रास, रोज् र ज्यासमिन फ्लेबरको माग धेरै आउँछ। ग्लास क्यान्डल आकर्षकसँगै पग्लिएर जाने समस्या नहुने भएकाले पनि धेरैको रोजाइमा परेको देखिन्छ।
“क्यान्डललाई उज्यालो मात्र नभई सौखका रूपमा प्रयोग गर्न थालिएपछि हामीले यसमै व्यवसाय गर्ने निधो गर्यौँ,” उनले भनिन्, “चार वर्षदेखि सुगन्धित (सेन्टेड) क्यान्डल उत्पादन र बिक्री गरिरहेका छौँ। हाम्रा ग्राहकमध्ये धेरैजसो व्यक्तिगत प्रयोजनमा लैजानेहरु नै हुनुहुन्छ।”
अहिले अरूले पनि यो व्यवसाय शुरू गरेका छन्। क्यान्डल व्यवसायी सुनिल वैद्यले सुगन्धित क्यान्डलसमेत उत्पादन गरेर बिक्री गर्ने ‘क्ले एन्ड क्यान्डल’ सञ्चालन गरिरहेका छन्। वैद्यका अनुसार क्यान्डलको आकार र प्रयोग भएको कच्चा पदार्थ अनुसार यसको मूल्य निर्धारण हुन्छ।
तस्वीर साैजन्य: तुलाधर स्टोर
क्यान्डल बनाउन पाराफिन वाक्स, सोया वाक्स, कोकोनट वाक्स, विज वाक्स लगायत प्रयोग गरिन्छ। पाराफिन वाक्स सजिलो र सुलभ भए पनि अन्य वाक्स भने महँगो पर्छ। आकार ठूलो भएमा र महँगो कच्चा पदार्थ प्रयोग भएमा पनि क्यान्डलको मूल्य धेरै पर्छ। आफूले १५ हजार रुपैयाँसम्म पर्ने क्यान्डल बनाएर बेचेको उल्लेख गर्दै वैद्यले भने, “३० किलोको क्यान्डल हामीले १५ हजारमा बिक्री गरेका हौँ। त्यसमा मिहिनेत, कच्चा पदार्थ अनि समय सबै जोडिन्छ।”
क्ले एन्ड क्यान्डलले माग भएअनुसार पनि सुगन्धित क्यान्डल उत्पादन गर्छ। आल्मुनियमको भाँडामा बनाइने (टिलाईट) क्यान्डल, क्युब क्यान्डल, ग्लास क्यान्डल ‘अन डिमान्ड’ नै उत्पादन गर्ने गरिएको वैद्यले बताए। अहिले यस्ता क्यान्डल युरोपका देशमा समेत निर्यात हुन थालेका छन्। “मेरो विचारमा उत्पादनको करिब १५ प्रतिशत सुगन्धित क्यान्डल विदेश निर्यात हुन्छ,” वैद्यले भने।
पछिल्लो समय जन्मदिन, एनिभर्सरी जस्ता अवसरमा सुगन्धित क्यान्डल नै उपहार दिन थालिएको छ। यसबाहेक विभिन्न संघसंस्थाले औपचारिक कार्यक्रम र डेकोरेसनका लागिसमेत सुगन्धित क्यान्डल किनेर लैजाने गरेको वैद्यले बताए।

मैनबत्तीको प्रयोग यसरी फैलिइरहँदा उज्यालो मात्र दिने मैनबत्तीको व्यवसाय गर्नेहरू भने अहिले बिक्री पूरै ओरालो लागेको बताउँछन्।
गोदावरी, ललितपुरका गोपाल महर्जन तिनैमध्ये हुन्। डेढ दशकदेखि मैनबत्ती व्यवसाय गरिहरेका महर्जनका अनुसार केही वर्ष अघिसम्म उनको परिवारलाई नै मैनबत्ती बनाउन भ्याइनभ्याइ हुन्थ्यो। उनको मैनबत्ती काठमाडौँ उपत्यकासहित बाहिरी जिल्लामा समेत जान्थ्यो।
अहिले मैनबत्तीको प्रयोग लगभग हुनै छाडेको महर्जन बताउँछन्। “अँध्यारोलाई लक्षित गरेर मैनबत्ती बनाउँथ्यौँ, अब अँध्यारो नै नभएपछि किन बिक्री हुन्थ्यो र!” उनले भने, “सामान्य खाले मैनबत्ती मात्र बनायौँ, अरू बनाउन जानेनौँ। बिक्री हुन छाडेपछि धेरै ध्यान पनि दिएनौँ।”
महर्जन परिवार अहिले मैनबत्ती व्यवसायबाट अलग नै त भइसकेको छैन, विकल्पमा अरू काममा भने केन्द्रित भएको छ। माग भएमा मात्र अहिले मैनबत्ती बनाउने गरिएको महर्जनले बताए।
पसलमा पनि अहिले सामान्य मैनबत्ती बिक्री हुँदैन। जस्तो, तुलाधर स्टोरका सञ्चालक विजय हर्ष तुलाधरले आफ्नो पसलमा रहेका पाँच रुपैयाँदेखि ५०० रुपैयाँसम्मका मैनबत्ती प्रायः दशैँ–तिहार, पूजा र जन्मदिनका लागि मात्र बिक्री हुने गरेको बताए। यसरी किन्नेको संख्या पनि निकै कम छ।
“लोडसेडिङको समस्या हटेपछि मैनबत्ती बिक्री ठप्प जस्तै भयो,” उनले भने, “अहिले थरीथरीका फेन्सी क्यान्डलको बिगबिगी छ, खास मैनबत्तीको बिक्री असाध्यै कम छ।”