काठमाडौँ— नेपालमा हरेक वर्ष झन्डै ४० हजार जनालाई सर्पले टोक्ने गरेको र तीमध्ये करिब तीन हजारको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ। मृत्यु हुने अधिकांश तराईका छन्।
सुनील बोगटी, नवीन भट्ट, सृष्टि नेपाल, प्रकाश नेपाली र सञ्जीवकुमार शर्मालगायतको टोलीले गरेको अध्ययनमा हिमाली र पहाडी क्षेत्रमा हुने सर्पदंशबारे ठोस जानकारी छैन। नेपाल मेडिकल एसोसिएसनको जर्नल (२०२२) ले समेत उधृत गरेको यो अध्ययनअनुसार सर्पदंशबाट पीडित हुनेमा झन्डै ७५ प्रतिशत महिला र बालबालिका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टरसमेत रहेका प्राडा सञ्जीवकुमार शर्माका अनुसार तराईमा पनि पूर्वमा सर्पदंशका धेरै घटना हुन्छन्। “पूर्वी नेपालको तुलनामा मध्यपश्चिममा स्रोत साधको कमी, स्वयंसेवकको सुविधा नहुनु, उपचार केन्द्र नजिक वा पहुँचमा नहुनुजस्ता कारणले मृत्यु हुनेको संख्या धेरै छ,” उनी भन्छन्।
सर्पदंशको तथ्यांक अस्पताल वा उपचार केन्द्र पुगेपछिको संख्यामा निर्भर रहेको प्राडा शर्मा बताउँछन्। त्यसमध्ये ८० प्रतिशतको मृत्यु अस्पताल लाने क्रममा हुने उनको भनाइ छ।
नेपालमा १०५ वटा सर्पदंश उपचार केन्द्र छन्। तर जनचेतना अभाव र समयमै अस्पताल पुर्याउन नसक्दा धेरैले ज्यान गुमाउने सर्पविज्ञ कमल देवकोटा बताउँछन्। उनका अनुसार अन्धविश्वासका कारण पनि सर्पदंशपछि कतिपयको मृत्यु हुने गरेको छ।
सर्पले टोकिहाले सकेसम्म छिटो उपचार केन्द्र गएर ‘एन्टिभेनोम’ लिनुपर्ने उनी बताउँछन्। “कतिपयले गाउँघरमै घरेलु उपचार गर्छन्। यसकारण विभिन्न अंगमा घात पुग्ने वा मृत्यु हुने सम्भावना बढी हुन्छ,” देवकोटा भन्छन्।
सर्पले डसेको ठाँउ काट्ने, मुखले चुस्ने, लागुपदार्थ लगाउने वा खाने, विभिन्न जडिबुटीको लेप लगाउने पनि गर्छन्। कतिले त पहिलो उपचारको रूपमा साबुन पानीले धुने, माटो लगाउने, कुखुराको सुली दल्ने पनि गर्छन्। धामी झाँक्री लगाउने पनि धेरै भएको देवकोटा बताउँछन्।
सर्पदंशबाट कसरी जोगिने?
सर्पविज्ञ देवकोटाका अनुसार सर्पले मानिसलाई चाहेर नभई असुरक्षित महसुस गरेपछि आत्मरक्षाका लागि टोक्छ। त्यसैले सचेतना अपनाए सर्पदंशबाट सजिलै बच्न सकिने उनको भनाइ छ।
मानिसको आउजाउ हुने ठाउँमा सर्प देखेमा उद्धारकर्मीलाई खबर गर्नुपर्छ। सर्पलाई चलाउने, लखेट्ने, मार्ने वा फोटो र भिडियो खिच्न थाल्ने गर्नु हुँदैन। घर वरपर झाडी वा फोहोर राख्नु हुँदैन। फोहोर भएमा मुसा आउने र त्यसलाई खान सर्प पनि आउने गर्छन्।
घरका पर्खालहरूमा भएका दुलालाई टाल्ने, खेतबारीमा काम गर्न जाँदा शरीर ढाक्ने लुगा लगाउने गर्नुपर्छ। खेतबारीमा काम गर्दा पञ्जा र बुट लगाउनु पर्छ। राति हिँडडुल गर्दा लाइटको प्रयोग गर्नु पर्छ। सुत्दा सकेसम्म खाटमा सुत्ने र झुलको प्रयोग गर्नुपर्छ। बालबच्चालाई जहाँपायो त्यहीँ नखेल्न प्रेरित गर्नु पर्छ।
सर्पले डसे के गर्ने?
सर्पले डसे नआत्तिने, टोकेको ठाँउमा सफा कपडाले हलुका बाध्ने गर्नु पर्छ। धेरै हलचल गर्नु हुँदैन। सर्पदंशका पीडितलाई सजिलोसँग ढल्किन दिने र तुरुन्तै अस्पताल वा नजिकैको सर्पदंश उपचार केन्द्र लैजानु पर्छ।
सर्पदंशबाट मृत्यु हुनुको कारण विषालु र गैरविषालु सर्प चिन्न नसक्नु पनि एक हो। अधिकांशले सर्प चिन्न नसक्दा कुरेर लक्षण हेरेर मात्रै अस्पताल जाने गरेका छन्। कतिपयले भने गैरविषालु भएको भन्दै बेवस्ता गर्छन्।
“सर्प चाहे विषालु होस् वा गैरविषालु जस्तोसुकै सर्पले टोकेमा अस्पताल जानुपर्छ। तर नेपालमा त्यस्तो जनचेतना धेरै कम पाइन्छ।” देवकोटा भन्छन्।
केही विषालु सर्प
नेपालमा ८९ प्रजातिका सर्प छन्। यीमध्ये १७ प्रजातिका सर्प विषालु छन्। यीमध्ये पनि झन्डै १० प्रकारका विषालु प्रजाति पहाडी र हिमाली क्षेत्रमा छन्। सर्पको बासस्थान वनजंगल, घाँसे मैदान, खेतबारी आदि हो। यी ठाउँ जाने किसानहरू धेरैजसो सर्पदंशमा पर्ने गरेका छन्।
तातो जलवायु, मौसमी वर्षा, प्राकृतिक वनस्पति, र उभयचर वनस्पति हुने तराईलाई सर्पको बसोबासका लागि राम्रो ठाँउ मानिन्छ। तर पहाड र हिमालका सर्प र सर्पदंशबारे धेरै अध्ययन भएको छैन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्राडा शर्मा बजेट अभावमा अध्ययन हुन नसकेको बताउँछन्।
पहाडी र हिमाली क्षेत्रमा हिमालयन करेत, किङ कोब्रा, हिमालयन पिट भाइपर, तिब्बती पिट भाइपर र माउन्टेन पिट भाइपर जस्ता विषालु सर्प भएको उनको भनाइ छ। तराईमा भने भारतीय कोब्रा (जसलाई कमन कोब्रा र नेपालमा गोमन भनिन्छ) कमन करेत, रसल्स भाइपरलगायत विषालु सर्प छन्। नेपालमा सबैभन्दा धेरै मानिसको ज्यान लिने सर्प करेत र गोमनका विभिन्न प्रजाति छन्।
किङ कोब्राः किङ कोब्रा विश्वको सबैभन्दा लामो विषालु सर्प मानिन्छ। यसको लम्बाइ १० देखि १८ फिटसम्म हुन्छ। शरीर सामान्यतः ओलिभ हरियो, कालो वा खैरो रङको हुन्छ, जसमा फुस्रो पहेँलो वा सेतो धर्सा हुन्छ।
यसको टाउको ठूलो र फराकिलो हुन्छ, जसमा हुड हुन्छ। हुड विशेष मांसपेशी र साना हाडबाट बनेको हुन्छ। जब कोब्रालाई खतरा महसुस हुन्छ, आफ्नो हुड फैलाएर आफैलाई ठूलो देखाउने प्रयास गर्छ।
यो प्रायः वनजंगलमा बस्छ। विशेषगरी नेपालका तराईमा पाइने यो सर्प पछिल्लो समय पहाडतिर पनि देखिएको छ। यसले अन्य सर्पहरूलाई आफ्नो आहारा बनाउँछ। विशेष गरी विषालु सर्पहरूलाई यसले खान्छ।
कमन करेतः कमन करेतको शरीरमा कालो वा गाढा निलो रङ र सेतो वा पातलो पहेँलो धर्सा हुन्छन्। कुनै कालो रङका समेत हुन्छ। यसको लम्बाइ ३ देखि ५ फिटसम्म हुन्छ। टाउको संकीर्ण र लामो हुन्छ।
यो सर्प वनजंगल, खेतबारी र घरगोठमा बस्ने हुनाले मान्छेलाई खतरा हुन्छ। नेपालका तराई र तल्लो क्षेत्रमा बढी पाइन्छ। यसले साधारण क्रेट सर्प, मुुुसा, भ्यागुत्ताजस्ता उभयचर र अन्य साना जनावर खान्छन्।
यो सर्प अत्यन्त विषालु हुन्छ र यसको विषमा न्युरोटोक्सिक रहेको पाइन्छ। यदि, समयमै उपचार नपाए यसको विषले स्नायुतन्तुमा असर पुर्याएर पक्षघात र मृत्युसमेत हुन्छ।
रसल्स भाइपरः रसल्स भाइपर ५ देखि ६ फिट लामो हुन्छ। यो प्रायः हलुका खैरो, सेतो वा पहेँलो हुन्छ। यसको शरीरमा बांगाटिंगा धर्सा र कत्ला हुन्छन्। यसको रङ सुख्खा माटोसँग मिल्दोजुल्दो हुन्छ। टाउको त्रिकोणात्मक र आँखा ठूला हुन्छन्।
यो सर्प वनजंगल, खेतबारी र घाँसे मैदानमा बस्छ। नेपालका तराई र पहाडी क्षेत्रमा बढी पाइन्छ। यो सर्पको आहारा पनि उभयचर र साना चराहरू हुन्।
रसल्स भाइपर अत्यन्त विषालु हुन्छ। यसको विषमा हेमोटोक्सिन हुन्छ, जसले रक्तस्राव गराउँछ र विभिन्न अंगमा क्षति गराउँछ। उपचारमा ढिलाइ हुँदा मृत्युको सम्भावना धेरै हुन्छ।
भारतीय कोब्रा (गोमन): यो सर्पको शरीर चम्किलो खैरो वा कालो रङको हुन्छ। यो ५ देखि ६ फिट लामो हुन्छ। भारतीय कोब्राको टाउको फराकिलो हुन्छ। जब यसले खतरा महसुस गर्छ, आफ्नो हुड फैलाउँछ। किङ कोब्रा र भारतीय कोब्रा लगभग उस्तै हुन्छन्, तर भारतीय कोब्राको दाँत केही सानो हुन्छ।
भारतीय कोब्राको टाउको पछाडि हुडमा विशेष चिन्ह पनि हुन्छ। यो विशेषगरि तराई क्षेत्रमा बस्छ। यसलाई नेपालमा गोमन सर्प भनिन्छ। भारतीय कोब्रा भारत र नेपाल दुवैतिर मानिसलाई धेरै टोक्ने सर्प हो।
हरियो पिट भाइपरः पहाड र वनजंगलमा पाइने यो सर्प हरियो रङको हुन्छ। यसको लम्बाइ ५० देखि ७० सेन्टिमिटरको हुन्छ। यो सर्प प्रायः रातको समयमा सक्रिय हुन्छ र वनमा छायायुक्त भागहरूमा लुकेर बस्छ। यो धेरै आक्रामक हुँदैन, तर यसलाई चलाउने वा जिस्काउने गर्दा आक्रमण गर्छ।
यो सर्पको विषमा हेमोटोक्सिन र न्युरोटोक्सिनको मिश्रण हुन्छ। हेमोटोक्सिनले रक्तकोष र तन्तुमा क्षति पुर्याउँछ भने न्युरोटोक्सिनले स्नायु प्रणालीमा असर गर्छ। यो सर्पले डसेपछि विषको असर शरीरमा छिटो फैलने भएकाले जतिसक्दो उपचार केन्द्र पुर्याउनु पर्छ।
मलयन करेतः यो सर्पलाई मान्छेका लागि खतरनाक मानिन्छ। यसको लम्बाइ १.७५ मिटरसम्म हुन्छ। यसको रङ कालो वा गहिरो निलोमा पातला सेतो वा पहेँलो धर्सा हुन्छन्। यी सर्प नेपालमा कमै पाइन्छन्।
यी सर्प पानीको स्रोत नजिकै धानबाली, सिम खेतलगायत स्थानमा पाइन्छन्। राति बढी सक्रिय हुने र सामान्यतः मानिसलाई आक्रामण नगर्ने खालका हुन्छन्। यसको विषमा अत्यधिक न्युरोटोक्सिक हुन्छ, जसले पक्षाघात र श्वासप्रस्वासमा समस्या आउँछ।