Monday, February 17, 2025

-->

जमघटको नयाँ जङ्क्सन चिया पसल: अनौठा नाम, थरीथरी स्वाद

शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।

जमघटको नयाँ जङ्क्सन चिया पसल अनौठा नाम थरीथरी स्वाद

काठमाडौँ– उदयपुरका सन्तोष पन्थी काठमाडौँ बसेर वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका छन्। भाषा परीक्षा दिएर बसेका उनी फुर्सदमा शंखमूलस्थित चिया पसलमा भेटिन्छन्। चियाप्रेमी पन्थी चियाको चुस्कीसँगै साथीभाइसँग रमाइलो गफगाफ गर्न र समय बिताउन शंखमूलमा रहेको 'चियादानी' नामको पसल पुग्छन्।

चियादानीमा उनीहरूको रोजाइ हुन्छ दूध चिया, जुन ३० रुपैयाँ पर्छ। चियासँगै पसलको वातावरण र सेवाबाट आफूहरू प्रभावित भएको पन्थी बताउँछन्। “काठमाडौँमा यति धेरै होटल, रेस्टुराँ छन् तर मलाईचाहिँ यस्तै चिया पसलहरू राम्रो लाग्छ। सस्तो छ, गफगाफको वातावरण पनि हुन्छ,” उनी भन्छन्, “त्यसैले कहिले साथीहरूसँग त कहिले एक्लै पनि यहाँ आउँछु।”

काठमाडौँमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चिया पसललगायत विभिन्न नामका पसल खुलेका छन्। यहाँ स्वदेशीसँगै विदेशी चियाको स्वाद लिन सकिन्छ। चियाको लत मेटाउन खुलेका यस्ता पसलमा युवा पुस्ताको आकर्षण बढ्दो छ। चियाकै लागि प्रख्यात यी पसलमा बिहानबेलुकी ग्राहकको भिड लाग्छ।

एक दशक अघिसम्म काठमाडौँ उपत्यकामा फाट्टफुट्ट रूपमा रहेका चिया मात्र बेच्न खुलेका पसलको संख्या अहिले बढ्दै गएको चाबहिलको चियावालामा भेटिएका अमरप्रसाद देवकोटा बताउँछन्। उनका अनुसार खाजाघरमा चिया अनिवार्यजस्तै पाइने भए पनि चियाकै लागि खुलेका पसल थोरै थिए। “पहिले चिया खान काठमाडौँका खाजाघरमा पस्नुपर्थ्यो, अहिले त चियाघर नै छन्। त्यस बेला चिया कि कालो कि दूधको मात्र हुन्थ्यो,” उनी भन्छन्, “अहिले त चियाकै लामो मेन्यु हुन्छ।”

यसरी खुलिरहेका चिया पसलबाट फरकफरक अनुभवका साथै स्वदेशी तथा विदेशी चियाको स्वाद लिन पाएको उनले बताए। अहिलेका चिया पसल चियामा मात्र सीमित नभई सम्बन्ध बनाउने, आत्मीयता बढाउने एक माध्यमका रूपमा विकसित हुँदै गएका छन्। कुनै सटर वा गल्लीभित्र हुने साँघुरा चिया पसलमा भन्दा यी पसलमा घण्टौँ बिताएर मन हलुका बनाउन सकिने उनी बताउँछन्।

अनामनगरस्थित पोख्रेली मट्का चियामा भेटिएका अनमोल यादव पनि चिया पिउन होटल वा रेस्टुरेन्टभन्दा यस्तै पसल जान रुचाउँछन्। शान्त वातावरणमा मौलिक संस्कृति झल्किने सजावटका कारण यस्ता चिया पसल आफ्नो रोजाइमा पर्ने गरेको उनले सुनाए। उनी काठमाडौँ उपत्यकाका धेरै चिया पसल पुगेका छन्। हरेक गल्ली र सडकमा खुलेका यस्ता पसलमा ठाउँअनुसार चियाको विशेषता र स्वाद फरक भएको उनको अनुभव छ।

पछिल्लो समय चिया पसलको संख्या धेरै भएकाले चिया पारखीका लागि विकल्प पनि धेरै भएको अनमोल बताउँछन्। यसले चियापारखीलाई सहज बनाइदिएको उनको भनाइ छ। “दिनभर अफिसमा काम गर्‍यो, अनि समय मिलाएर चिया पसलतिर गयो। ठूलो फेन्सी रेस्टुरेन्टमा बसे पनि सानो पसलमै बसे पनि चिया त चिया नै हो। मूल्य बरु फरक हुन्छ,” उनी भन्छन्, “यस्तो पसलहरूको वातावरण आफू अनुकूल हुन्छ, अनि रमाइलो  लाग्छ।”

चिया पसलमा चियापारखी मात्र जाँदैनन् भन्ने उदाहरण हुन् समीर ठकुरी। शंखमूलको चियादानीमा भेटिएका उनी साथी सन्तोष पन्थीसँग त्यहाँ पुगेका थिए। चियाप्रति समीरको औधी मोह नभए पनि चियादानीको वातावरणबाट प्रभावित छन्। कहिलेकाहीँ साथीहरूसँग आउने उनीलाई बिस्तारै चियाको लत पनि लाग्दै गएको छ। “यहाँ आउँदा नेचुरल ठाउँमा आएजस्तो लाग्छ। यहाँको सामान्य वातावरण सस्तो चिया, साथीभाइसँगको रमाइलो यस्तैले बानी हुँदै गयो। जति बस्यो उति धेरै बस्न मन लाग्छ,” उनले भने।

चियापारखीलाई केन्द्रमा राखेर खुलेका चिया पसलले मौलिकपन झल्किने सजावट गर्ने गरेका छन्। आकर्षणका लागि कतै डोकोडालो त कतै खरको छानो, मकैका झुत्ता, बाँसको बार, भुईंमा गिटीबालुवा र कतै लोप हुन लागेका सामग्री राख्ने गरिएका छन्। कतै माटोको भाँडोमा चिया बनाउने अनि माटोकै भाडामा खान दिने पनि गरिन्छ। यसरी गाउँलेपन झल्काउँदा बिहानदेखि बेलुकासम्म कंक्रिटले घेरिएका कोठामा रहेन शहरका मानिस आकर्षित हुने मट्का चियाका सञ्चालक राजेश शर्मा बताउँछन्।

चियाको प्रचलन यतिसम्म छ कि पछिल्लो समय कफीका लागि प्रख्यात पसलमा समेत विकल्पमा चिया राखिएको हुन्छ।

सामान्य आम्दानीका लागि गरिने चिया पसल अहिले व्यावसायिक रूपमा शुरू भएको छ। पछिल्लो समय चिया पसल खोल्ने ‘ट्रेन्ड’ नै चलेको छ, जहाँ ग्राहकलाई आकर्षित गर्न विभिन्न उपाय र विधि अपनाइन्छ। चिया पसल खोलेरै कतिपय व्यावसायिक रूपमा सफलसमेत भइरहेका छन् ।

पछिल्लो पाँच वर्षयता काठमाडौँ उपत्यकामा चिया पसल खोल्ने ट्रेन्ड चलेको चियावालाका सञ्चालक गणेशदेव पाण्डे बताउँछन्। उनका अनुसार अहिले बजारमा चिया पसल खोलेर व्यावसायिक रूपमा जम्नेहरूको जमात बढ्दै छ। कम लगानीमै व्यवसायमा जम्न सकिने भएकाले चिया पसलहरू खुल्ने क्रम बढ्दै गएको पाण्डेको बुझाइ छ। देखासिकीले पनि यसमा लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको उनी बताउँछन्।

किशोरकिशोरी, युवादेखि सेवानिवृत्त व्यक्तिहरूले चिया पसललाई चिया पिउनकै लागि मात्र होइन आपसमा भेटघाट, गफ गर्ने र समय बिताउने थलो बनाएका छन्। यी पसलहरूमा खुला ठाउँ, रमाइलो चहलपहल, मौलिकता झल्काउने सजावट र चाहेअनुसार समय बिताउन सकिने भएकाले ग्राहकको आकर्षण बढेको पाण्डे बताउँछन्। “मानिसहरूलाई पहिले कंक्रिटबाट बनेका सामग्री तथा ठाउँ मन पर्थ्यो। अहिले जताततै कंक्रिटै कंक्रिट भवन बनिसके। त्यसैले मानिसहरू अब गाउँघरको मौलिकता झल्किने चिया पसलको वातावरण मन पराउने थालेका छन्,” उनी भन्छन्।

पाण्डेले सञ्चालन गरिरहेको चियावालाले दैनिक १०० भन्दा बढी ग्राहकलाई उनीहरूको चाहनाअनुसारको चिया खुवाइरहेको छ। उनको हजुरबुबाले पनि चिया पसल गरेको उनी बताउँछन्। उनले त्यसलाई परिष्कृत गरी चियावालाका नाममा ६ वर्षयता काठमाडौँको थापाथलीसहित बखुण्डोल, चाबहिल र बुटवलमा विस्तार गरेका छन्।

चियावालामा १३ प्रकारका दूधको चिया, १५ प्रकारको चिसो चिया र हर्बल चियाको स्वाद लिन पाइन्छ। चियावालामा चियालाई तराई चिया, मेरो खुशी चिया र घनश्याम गरी तीन प्रकारमा बाँडिएको छ। यसमध्ये ग्राहकले इच्छाए अनुसारको चिया पिउन सक्छन्। पसलमा चियाको मूल्य ३० देखी ३०० सम्म पर्ने उनी बताउँछन्।

पाण्डेले चियासँगै ग्राहकको इच्छालाई मनन गरेर शान्तिपूर्ण वातावरण र पसललाई मौलिक रूप दिने प्रयास गर्छन्। थापाथलीको चियावालामा बस्नका लागि पुराना काठका मुडा, ओखल  र पुरानो डेस्क बेन्च तथा राढी छन्। चिया राख्न पुराना टेलिभिजन, सुटकेस र डुङ्गालाई प्रयोग गरिएको छ। यसले नयाँपन दिनुका साथै आकर्षण बढाएको उनको भनाइ छ। उनी भन्छन्, “चिया मात्र मीठो भएर हुँदैन। अहिले ग्राहकका लागि वातावरण पनि उत्तिकै महत्त्वपूर्ण छ।”

पसलमा विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने व्यवसायिक र पेशाकर्मीहरू चिया खान र विश्राम गर्न आउँछन्। “अन्य क्षेत्रको चिया पसलमा धेरैजसो युथ देख्नु हुन्छ, जोचाहिँ समय बिताउन चाहन्छन्। तर मेरोमा भने प्रोफेसनल मान्छे धेरै आउँछन् जो काम गरेर बाँकी रहेको समयमा फ्रेस हुन वा जरुरी कुरा गर्न मन पराउँछन्,” उनी भन्छन्, “यसरी हेर्दा मनको बह पोख्ने र गफ गर्ने स्पटको रूपमा चिया पसल विकास भइसकेको छ।”

शंखमूलको चियादानीमा आउने ग्राहकको संख्या पनि ठूलो छ। दैनिक झन्डै ५०० जनाले चियादानीको चिया पिउने सञ्चालक सुवास शर्मा बताउँछन्। काठमाडौँमा आठ महिनाअघि मात्र खुलेको चियादानीले मौलिकता झल्काएको कारण छोटो समयमै सफलता पाएको शर्माको बुझाइ छ। खरको छानामुनि ढुंगा र गिट्टी बिछ्याएको भुईं अनि गमलाहरूमा रोपिएका फूल तथा बिरुवाले हरियाली देखिन्छ। यसरी सजाइएको चियादानीमा सधैँजसो ग्राहकको चहलपहल हुन्छ।

पोखराबाट शुरू भएको चियादानी काठमाडौँसँगै चितवनमा पनि खुलेको छ। आर्थिक लगानी कम, सहज काम र व्यावसायिक रूपमा जम्न सक्ने देखेपछि शर्माले चियादानीको शुरूआत गरेका थिए। शुरूआतदेखि नै वातावरण र चियाको स्वादलाई प्राथमिकता दिएको अधिकांश युवाहरूले मन पराउन थाले। बिस्तारै चियादानीले व्यावसायिक रूपमा गति लियो। अहिले चियादानीले ४० थरीका चिया बेच्ने गरेको छ।

चियादानीले काठमाडौँमा भने ६ थरीका चिया मात्रै बेचिरहेको छ। उनीहरूले अहिले मट्का, कालो, दूध र मसलालगायतका चिया बेच्छन्। यीमध्ये मट्का र मसला चिया बढी बिक्ने शर्मा बताउँछन्। चियादानीमा न्यूनतम ३० देखि अधिकतम १५० रुपैयाँसम्मका चिया पाइन्छ।

“म आफैँ पनि चियापारखी र आफ्नो साथी सर्कलमा पनि चियाको मोह धेरै रहेकोले चियाको बजार छ भन्नेमा विश्वस्त थिएँ,” उनी भन्छन्, “अहिले थोरै मूल्यमा मीठो चिया खान रुचाउने धेरै छन् । त्यही कुरालाई ध्यानमा राखेर चियाको नयाँ स्वाद निकाल्ने जसरी हुन्छ चिया मिठो बनाइन्छ।”

पोखरापछि काठमाडौँमा आफ्नो पसलले बढी चर्चा कमाइरहेको शर्मा बताउँछन्। चियादानीबाट आर्थिक रूपमा राम्रो आम्दानी भइरहेको उनले बताए। चिया पसललाई अझ नयाँ र मौलिक रूप दिँदै लाने हो भने चिया पसलबाटै आम्दानी गरेर देशमै बस्न सकिने उनको भनाइ छ।


सम्बन्धित सामग्री