Tuesday, December 03, 2024

-->

कर्णालीको जडीबुटी संसारलाई चिनाउन कस्सिएका राजेन्द्र

बहुमूल्य जडीबुटीको प्रचुर सम्भावनायुक्त क्षेत्र कर्णालीमा आफ्नै बुताले जडीबुटी उत्पादन, प्रशोधन र प्याकेजिङ गरी विभिन्न देशमा निर्यात गरिरहेका राजेन्द्र यो विषय सरकारको प्राथमिकतामै नपर्दा खिन्न छन्।

कर्णालीको जडीबुटी संसारलाई चिनाउन कस्सिएका राजेन्द्र
राजेन्द्र विष्ट

सुर्खेत– जडीबुटीको प्रचुर सम्भावनाले भरिपूर्ण क्षेत्र मानिन्छ मुलुककै विकटमध्येको भूगोल कर्णाली। औषधीय गुणले भरिएका यहाँका जडीबुटीबारे अझै पनि पर्याप्त अध्ययन हुनसकेको छैन। त्यहीकारण कर्णालीको यो ‘हिरा’ अझै ओझेलमै छ। कर्णालीको त्यही मूल्यवान जडीबुटी संसारलाई चिनाउन राजेन्द्र विष्ट लागिपरेका छन्।

जडीबुटीको खोज अनुसन्धानमा तल्लीन युवा राजेन्द्र विष्टको कथा हो यो, जो यसको उत्पादन र बजारीकरणमा पनि लागिरहेका छन्। उनी यहाँको जडीबुटी स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन दत्तचित्त छन्।

जडीबुटी जगाउने संघर्ष
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका—२, सिरोलमा जन्मेका राजेन्द्रका आमाबुवा उनी ६ वर्षको हुँदा सुविधाको खोजीमा सुर्खेत झरेका थिए। त्यस बेला उनी १ कक्षामा भर्ना भएका थिए। जीविकोपार्जनका लागि बुवाले सुर्खेतको वीरेन्द्रनगर बजारमा एउटा सटर भाडामा लिएर कपडा पसल शुरू गरे, आमाले बुवालाई सघाउन थालिन्।

स्कुल पढ्दै गरेका राजेन्द्रलाई त्यही बेला पेटसम्बन्धी समस्या देखापर्‍यो। त्यसको निदानका लागि बुवाआमाले झारफुक, धामीझाँक्री सबै गरे। कैयौँ पटक अस्पताल पुर्‍याए। तर समस्या पूर्णरूपमा समाधान भएन। यस्तो स्वास्थ्य समस्यासँग जुधिरहे पनि राजेन्द्रले पढाइमा जाँगर कम गरेनन्। उनी एसएलसीमा ७३ प्रतिशत अंक ल्याएर उत्तीर्ण भए।

एसएलसीपछि बुवाले उनलाई विज्ञान विषय पढ्न काठमाडौँ पठाए। “त्यो बेला अहिले जस्तो करिअरबारे कसैको काउन्सिलिङ मिल्दैनथ्यो, बुवाले जे पढ्न भन्नुभो त्यही पढ्न थालियो,” राजेन्द्रले सुनाए।

काठमाडौँ उनलाई बिरानो शहर थियो। मन आत्तिन्थ्यो, तर आफूलाई पढाउन आमाबुवाले गरेको संघर्ष सम्झन्थे। विकट गाउँमा भोगेको दुःख पनि भुलेका थिएनन्। उनी अमृत साइन्स क्याम्पसमा विज्ञान संकायतर्फ भर्ना भए। पढेर डेरामा फर्कंदा कहिले खाना पकाएर खाने जाँगर पनि हुँदैनथ्यो। त्यहीकारण पेटको समस्या बल्झियो।

बल्लतल्ल आइएस्सी उत्तीर्ण त गरे, तर पेटको रोग निको भएन। त्यसपछि अनेक औषधि खाएर रोकथामको प्रयास गरे। त्यहीबेला थाइराइड देखियो। रक्तचाप र तौल कम हुँदै गयो। एक दिन कसैको सल्लाहमा क्षेत्रपाटीस्थित नरदेवी आयुर्वेद चिकित्सालयमा स्वास्थ्य जाँच गराएर औषधि खान थालेपछि उनलाई केही राहत मिल्यो। त्योसँगै उनले योग गर्न थाले।

कमजोर स्वास्थ्य, आयुर्वेदप्रति बढ्न थालेको रुचि, तर एमबीबीएस पढ्न छात्रवृत्तिमा नाम निकाल्ने हुटहुटी कायमै थियो। एक वर्ष त्यसकै तयारी गरे। छात्रवृत्तिमा नाम निस्किएन। “पेइङ लिस्टमा त निस्क्यो, तर मलाई महँगो शुल्क तिरेर पढाउने बुवाआमाको क्षमता थिएन,” उनी भन्छन्। 

एमबीबीएस पढ्न नसकेपछि राजेन्द्रले आफ्नो आर्थिक अवस्थाले भ्याउने विषय पढ्ने निधो गरे र भारतको देहरादुनस्थित हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालयमा स्नातक तहमा चिकित्सा प्रयोगशाला शिल्प विज्ञान अध्ययन गरे। अध्ययनकै क्रममा हरिद्वार पुगेर २१ दिने योग प्रशिक्षण गर्दा औषधीय जडीबुटी र प्राकृतिक चिकित्साबारे बुझे। त्यसपछि यो विधामा उनको रूचि बढ्दै गयो। यसमा स्वअध्ययन अघि बढाए। “आफ्नो स्वास्थ्य समस्या जुन उपचारले निको भएको अनुभव हुन्छ, त्यसैतर्फ आकर्षण हुने रहेछ,” उनले भने।

बीएस्सी, एमएलटी सकेपछि उनलाई भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा काम गर्ने अवसर मिल्यो। यो आफैमा महत्त्वपूर्ण अवसर थियो, तर त्यहाँ काम गरिरहँदा उनलाई आफ्नै देशमा काम गर्न मन लाग्यो। त्यसपछि म्याक्स अस्पतालको जागिर छाडेर सुर्खेत आए।

सुर्खेतका कुनै अस्पतालमा उनको अध्ययन अनुसारको पद सिर्जना गरिएको थिएन। उनी दैलेखको दुल्लुस्थित विजया माध्यमिक विद्यालयमा आइएस्सी पढाउन थाले। त्यहाँ दुई वर्ष पढाइसकेपछि थप अध्ययन गर्न मन लाग्यो र देहरादुनस्थित गढवाल विश्वविद्यालयमै फर्केर स्नात्तकोत्तर तहमा जीव विज्ञान अध्ययन गरे। दुई वर्षपछि फेरि सुर्खेत फर्के। सुर्खेत फर्केर क्याम्पसमा अध्यापन गर्नुको विकल्प थिएन।

तर अध्यापनको साटो उनले भारतकै नागाल्यान्डस्थित ‘द ग्लोबल ओपन युनिभर्सिटी’मा दूरशिक्षामार्फत डेढ वर्षे योग र प्राकृतिक चिकित्साबारे ‘पोस्ट ग्राजुएट डिप्लोमा’ गरे। त्यसपछि औषधीय जडीबुटी, सुगन्ध चिकित्सा, माटोलगायत विषयमा खोज/अनुसन्धानमा लागे।

नेपाली बजारमा आउने जडीबुटीमध्ये ४७ प्रतिशत कर्णाली प्रदेशबाटै आउने सरकारी तथ्यांकले देखाउँछ। कर्णालीमा थोरै मात्र कृषियोग्य जमिन र उद्योग भएकाले स्थानीयले जडीबुटी लगाउँदै आएका त छन्, यसलाई पेसा बनाउन सकिरहेका छैनन्। यो अवस्थामा जडीबुटीमा हात हालेका राजेन्द्रले यसबारे बृहत् अध्ययन गरे। कर्णालीका किसानका उत्पादनलाई बजारसम्म जोड्न भइरहेको कठिनाइ बुझेपछि उत्पादनको सम्भावना र बजार अध्ययन नगरी यसमा लगानी गर्दा आफूलाई पनि धोका हुन सक्ने आकलन पहिल्यै गरेका थिए।

प्राकृतिक रूपमा कस्ता जडीबुटी कहाँ पाइन्छन् भन्नेबारे अध्ययन गर्न उनी कर्णालीका जिल्ला–जिल्ला पुगे। जडीबुटी उत्पादन गरिरहेका किसानसँग कुरा गरे। कर्णालीका डाँडाकाँडा मात्र होइन, भारत, चीन, सिंगापुरलगायत मुलुकमा समेत पुगेर जडीबुटीको औषधि, सुगन्धित तेललगायतका उत्पादनको बजारबारे अध्ययन गरे। त्यसक्रममा जडीबुटीको अन्तर्राष्ट्रिय बजार सोचे भन्दा राम्रो पाए।

“विभिन्न देश पुग्दा चीनको हुलिन वायोटेक उद्योगले जडीबुटी उत्पादनमा मलाई धेरै प्रेरणा दियो। त्यसपछि नेपालमा आफैले उद्योग खोल्ने सोच बनाएँ,” उनले भने।

अनि २०७९ सालमा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौमा वायो कर्णाली एरोमा प्रालि नामको कम्पनी दर्ता गरे। त्यो कम्पनीलाई उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वन डिभिजन कार्यालय, आन्तरिक राजस्व कार्यालय सुर्खेतमा पनि दर्ता गरे। २०८० को शुरूआतदेखि कर्णालीका विभिन्न जिल्लाका किसानले उत्पादन गरेका जडीबुटी जम्मा गरेर सुर्खेतको वीरेन्द्रनगर–६ स्थित तातोपानीमा खोलेको उद्योगमा प्रशोधन गर्न थाले। प्रशोधित जडीबुटीको नमूना स्थानीय बजारदेखि काठमाडौँ हुँदै भारत, सिंगापुर र स्पेनका बजारसम्म पुर्‍याए। 

जडीबुटी उत्पादन र प्रशोधनसँग जोडिएका विदेशका आफ्ना केही साथीहरूलाई उनले कर्णालीका विभिन्न जिल्ला घुमाए। उत्पादित जडीबुटी देखाए। तर पनि किसानले उत्पादन गरेका जडीबुटी प्रशोधन गरेर बिक्री गर्ने उनको कामले निरन्तरता पाउन सकेन। किनभने थुप्रै घरायसी काममा अल्झिएका किसानले समयमै जडीबुटी उपलब्ध गराउन नसक्ने रहेछन्।

आफैले शुरू गरे जडीबुटी उत्पादन 
बजारमा जडीबुटीको माग बढिरहे पनि किसानले समयमै उत्पादन दिन नसक्दा प्रशोधनदेखि प्याकेजिङसम्मका काम प्रभावित भएपछि उनले आफै जडीबुटी उत्पादन शुरू गर्ने निधो गरे। यो काम थप चुनौतीपूर्ण थियो। शुरूमा उनले सुर्खेतको बराहताल गाउँपालिकाको गाँडापानी र तेलपानीमा एक/एक बिघा जमिन किनेर टिमुर लगाए। तर क्षेत्रीय व्यापार—व्यवसायका लागि महत्त्वपूर्ण मानिएको सुर्खेतको तेलपानी बर्दियाको भुरीगाउँ जोड्ने सडकका कारण उनको योजनामा धक्का लाग्यो। पहिरोका कारण वर्षमा आधाभन्दा बढी समय बाटो बन्द हुने र बाँकी समय पनि गाडी चलाउन नमिल्ने भएपछि उनले आफ्नो जमिनमा जडीबुटी लगाउन छोडे।

“त्यस बेला अब काम गर्न सकिन्न होला भन्ने लागेको थियो,” उनले भने, “तर मैले हरेस खाइनँ, विकल्प खोजेँ।” विकल्पका रूपमा वीरेन्द्रनगर नगरपालिका-२ मा १० वर्षदेखि बाँझो रहेको दुई बिघा चार कठ्ठा जमिन पाँच वर्षका लागि भाडामा लिए। तर पूरै जग्गामा जडीबुटी लगाउन उनले शुरूमा किसान नै भेटेनन्।

“युवा जति विदेश पलायन, गाउँमा वृद्धवृद्धा मात्रै। जडीबुटी लगाइदिने किसान भेट्नै मुस्किल पर्‍यो,” उनले भने। बिस्तारै त्यो समस्या समाधान गर्दै गए। अहिले उनले भाडामा लिएको जग्गामा बेलचन्दा, लेमन ग्रास, मुस्ली, वन कुरिलो, तुलसी, स्टेभिया, अश्वगन्धा, मोरिंगालगायत जडीबुटी लगाएका छन्। 

उत्पादन बजार पुर्‍याउँदा भोगेको सास्ती 
पहिलो चरणमा लगाएका जडीबुटी तीन महिनामै प्रशोधनका लागि तयार भए। “अन्य खेतीमा भन्दा जडीबुटी उत्पादन गर्न चुनौती कम हुने रहेछ। गाउँमा बँदेल, दुम्सी, मृग, बाँदरलगायत जंगली जनावरले खेती खाने क्रम बढेको छ,” उनले भने, “तर यस्ता जनावरले जडीबुटी नखाने रहेछन्। सिँचाई पनि धेरै आवश्यक नपर्ने रहेछ। जडीबुटीको प्रतिफल पनि छिट्टै आउने रहेछ।”

तर प्रशोधनपछि जडीबुटी बजार पुर्‍याउन भने सहज भएन। नेपालमा वनस्पति विभागले वनस्पतिजन्य उत्पादनको गुणस्तर जाँच गर्छ। तर विभागको जाँचलाई कतिपय मुलुकले स्वीकार नगरेपछि उनलाई उत्पादित जडीबुटी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन प्रत्येकको नमूना बोकेर भारतको नयाँ दिल्लीस्थित विभिन्न प्रयोगशालामा परीक्षणका लागि पुर्‍याउनु पर्ने बाध्यता आइलाग्यो।

“मैले आफैँले उत्पादन गरेको जडीबुटी र केही अन्य किसानबाट लिएको जडीबुटीबाट सुन्गन्धित तेल तयार पारिरहेको छ,” राजेन्द्र भन्छन्, “तर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन नेपालमा सरकारको प्रयोगशालामा जाँच गरेर मात्रै पुग्दैन। भारतको जस्तै सुविधायुक्त प्रयोगशाला नेपालमा भए हामीले दुःख पाउने थिएनौँ। अनावश्यक खर्च पनि जोगिन्थ्यो।”

राजेन्द्रका अनुसार सुगन्धित जडीबुटी बास्ना, स्वाद, तेल, चिकित्सा, उद्योग तथा वाणिज्य क्षेत्रमा उपयोगी मानिन्छ। कृत्रिम रसायनबाट निर्मित स्वाद र सुगन्धले स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले पछिल्लोतर्फ जडीबुटीतर्फ आकर्षण बढेको छ। तर उनलाई बजारको मागअनुसार पुर्‍याउन हम्मेहम्मे परेको छ। यसका थुप्रै कारण छन्। जमिनमा प्रत्येक नयाँ जडीबुटी लगाउँदा डिभिजन वन कार्यालयबाट स्वीकृति लिनुपर्छ। जडीबुटीको कुनै कच्चा पदार्थ जिल्ला बाहिर पठाउनुपर्यो भने पनि वन कार्यालयकै स्वीकृति चाहिन्छ।

“जडीबुटी उत्पादन गर्दा सरकारी निकायबाट स्वीकृति लिनुपर्‍यो भन्ने तनाव होइन। बारम्बार धाउनुपर्छ, समयमा काम हुँदैन, निकै समय लाग्छ। यसले गर्दा हामी तनावमा छौँ,” उनले भने, “मैले त सदरमुकाममै उत्पादन शुरू गरेकाले सदरमुकामकै कार्यालय धाउने हो। दुर्गम जिल्लाका किसानलाई यस्तो काम गर्न कैयौँ दिन धाउनुपर्छ। उनीहरू धाउँदाधाउँदै गलिसक्छन्, अनि खेती छाडिदिन्छन्।”

राजेन्द्रले आफ्नो भाडाको जमिनमा रोपेका जडीबुटीजन्य वनस्पती

उत्पादित जडीबुटी प्रशोधन र प्याकेजिङ गरेर बजारमा लैजन थालेपछि उनले सरकारको नीतिको उल्झन् र सरकारी निकायको व्यवहार बुझे। उनले उत्पादन गर्न थालेको ‘हर्बल टी’, ‘मोरिंगा’, पाउडरको गुणस्तर जाँच गर्न उनी हरेक दिनजसो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत धाइरहेका छन्। तर जडीबुटीबाट उत्पादिन वस्तु जाँच गर्ने क्षेत्राधिकार आफूलाई नभएको कार्यालयले बताउने गरेको छ। यसका लागि उनी पटकपटक काठमाडौँ पनि धाइसके। नेतादेखि मन्त्रीसम्मलाई आफूले गरिरहेको जडीबुटी खेती देखाइसके।

“मैले जडीबुटी नै उत्पादन गर्ने, प्रशोधन गर्ने, प्याकेजिङ गर्ने र बिक्री गर्ने भनेर कम्पनी खोलेको छु। तर जडीबुटी शब्द नलेखेमा मेरो उत्पादन प्रमाणित हुन्छ भनिन्छ। यसैबाट थाहा हुन्छ कि यो राज्यले जडीबुटीलाई कुन स्थानमा राखेको छ,” जडीबुटीबाट केही शृंगारका सामान पनि तयार पारेका उनले यी सामान प्रमाणित गर्ने निकाय नभएको उल्लेख गर्दै भने, “सबैतिर जडीबुटी उत्पादन गर्नेलाई यस्तै समस्या छ। हामीले उत्पादन, प्रशोधन र प्याकेजिङ गरेका जडीबुटीका सामान प्रमाणित नगरी बिक्री भइरहेको छ। सरकारले न बिक्रीमा रोक लगाएको छ, न हाम्रो सामानको जाँच गरेको छ।”

उनले विभिन्न पुरस्कार तथा सम्मान पाएका छन्। उनको कम्पनीले आईसीटी अवार्ड २०२३ प्राप्त गरेको छ।

अझै पनि राजेन्द्रले उत्पादन गरेका कतिपय बहुमूल्य जडीबुटी सरकारी निकायले नै चिन्दैनन्। किनभने त्यसबारे जाँच गर्ने निकाय छैनन्। कर्णाली प्रदेश सरकारले जडीबुटी विकास तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भन्दै पटक–पटक बजेट भाषण गरेको छ। संघीय सरकारकै बजेट भाषणमा पनि यो परेको छ। तर काम भएको छैन।

यसबाट खिन्न बनेका राजेन्द्र कुनै न कुनै बेला जडीबुटी सरकारको प्राथमिकतामा पर्नेमा भने आशावादी छन्। त्यहीकारण उत्पादनसँगै व्यक्तिगत रूपमा जडीबुटीबारे प्रवर्द्धनको काम पनि गरिरहेका छन्। उनले कृषि विषय पढ्दै गरेका विद्यार्थी, उद्यमी, स्वास्थ्यकर्मीलगायतलाई जडीबुटी उपलब्ध हुने स्थानमा भ्रमण गराउने, योग शिविर चलाउने आदि गरिरहेका छन्। कृषि विषय पढिरहेका विद्यार्थीलाई स्वम्सेवकको रूपमा सरकारी विद्यालयमा खटाएर जडीबुटीको महत्त्वबारे प्रचारप्रसार गर्न पनि लगाइरहेका छन्। सरोकारवालालाई सहभागी गराएर जडीबुटीको खोज र व्यवसायबारे विभिन्न कार्यशालासमेत सञ्चालन गरेका छन्।


सम्बन्धित सामग्री