पुस्तक उपहार लिँदै टकेन्द्र (बायाँ रातो सर्टमा) र मुगुको पहिलो सार्वजनिक पुस्तकालय।
काठमाडौँ– ‘मुगु जिल्लामा एउटा पनि सामुदायिक पुस्तकालय छैन।’ काठमाडौँलगायत शहरी क्षेत्रका बासिन्दाका लागि यो आश्चर्यको सूचना हुनसक्छ। तर अब यस्तो आश्चर्य बाँकी छैन।
मुगुमा पहिलो सामुदायिक पुस्तकालय स्थापना भइसकेको छ। २०८० मंसिरदेखि खप्त्याड गाँउपालिका–७ गम्थास्थित श्री लोकप्रिय माविमा सामुदायिक पुस्तकालय सञ्चालनमा छ। समाजसेवी युवा क्लबमार्फत यो सार्वजनिक पुस्तकालय स्थापनाको नेतृत्व भर्खरै किशारोवश्था पार गरेका टेकेन्द्र उपाध्यायले गरेका थिए।
खप्त्याड गाउँपालिकामा नै जन्मिएका टेकेन्द्रले कति पटक त पाठ्यक्रमका पुस्तक नै नदेखी परीक्षा दिनुपरेको थियो। प्रायः पुस्तक आधा शैक्षिक सत्र बितिसकेपछि पुग्थे। पाठ्यक्रमबाहिरका पुस्तक त पढ्नै पाइँदैन थियो। “विद्यालयमा पुस्तकालय थिएन, सदरमुकाममा पुस्तक पसल थिए तर पाठ्यक्रमका पुस्तकबाहेक अरू पाउन मुस्किल थियो,” उनी भन्छन्, “यस्तो ठाँउलाई माया गर्ने भन्दा पनि यहाँबाट भाग्ने धेरै छन्।”
उनको प्रयासले अब मुगु पनि सामुदायिक पुस्तकालय भएको जिल्ला बनेको छ। श्री लोकप्रिय माविमा दुई हजारभन्दा बढी पुस्तक राखेर पुस्तकालय बनाइएको छ। यो सार्वजनिक पुस्तकालय हो। पढ्न चाहनेहरूले बसेर पढ्ने र पढ्नका लागि पुस्तक लैजान पाउने व्यवस्था छ। पुस्तकालयमा बसेर पढ्न शुल्क लाग्दैन, तर घर लैजान पुस्तकको मूल्य बराबरको शुल्क धरौटी राख्नुपर्छ। यही विद्यालयमा पढ्ने विद्यार्थीले भने धरौटीबिना नै लैजान पाउँछन्। विद्यालयमा ९०० विद्यार्थी छन्।
पुस्तक पढ्न लैजाने तर फिर्ता नगर्ने प्रवृत्तिलाई कम गर्न यसो गरिएको टेकेन्द्र बताउँछन्। केही समयपछि यो व्यवस्था परिवर्तन गरिने उनको भनाइ छ।
पुस्तक संकलनको संघर्ष
मुगुमा सार्वजनिक पुस्तकालय बनाउने सोच आएपछि टेकेन्द्रले पहिला नजिकका पाँच वटा विद्यालयको भ्रमण गरे। ती विद्यालयमा पुस्तकालय त थिएनन् नै भवन अभाव र अव्यवस्थित कक्षाकोठाको समस्या थियो। केही विद्यालयले त टिनको टहरामा कक्षा चलाइरहेका थिए।
पहिला आफैले पढेको श्री लोकप्रिय माविमा पुस्तकालय बनाउने निधो गरे। पुस्तक संकलन गरेर पुस्तकालय बनाउने उनको योजना थियो। त्यसका लागि स्थानीय जनप्रतिनिधि र विद्यालयका अधिकारीसँग छलफल गरे। विद्यालयले आवश्यक भौतिक सामग्रीको व्यवस्था गर्ने भयो।
उनले समाजिक सञ्जालमार्फत पुस्तक सहयोग गर्न आह्वान गरे। साथीभाइलाई पनि अनुरोध गरे। आफूले अध्ययन गरिरहेको काठमाडौँ प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसका साथीहरू र केही प्राध्यापकलाई आफ्नो योजना बताए। उनको अभियानको प्रचार हुन थाल्यो। पुस्तकका लेखक, प्रकाशक र वितरकसँग पनि सम्पर्क गरे।
काठमाडौँका विभिन्न गल्ली, चोक र चिया पसल पुगेर पुस्तक लिनु उनको दैनिकीजस्तो बन्यो। पुस्तकका खात बोकेर कीर्तिपुरस्थित डेरा पुग्थे। डेरामा पुस्तक खचाखच हुन थाल्यो। २०८० असारबाट पुस्तक संकलन गर्न थालेका उनले चार महिनामै दुई हजार पुस्तक संकलन गरे।
उनले काठमाडौँबाट कात्तिकमा आफ्नै खर्चमा नेपालगन्जसम्म गाडीमार्फत पुस्तक पठाए। नेपालगन्जबाट मुगु लैजानु चुनौतीपूर्ण थियो। केही समय नेपालगन्जमै पुस्तक थन्किएपछि त्यहाँबाट मुगु लैजान एक जना मनकारी व्यापारीले जिम्मा लिए। गाउँका केही स्थानीय, शिक्षा क्षेत्रमा चासो राख्ने व्यक्तिहरूको सहयोगमा कतै बोकेर त कतै खच्चडको प्रयोगबाट श्री लोकप्रिय माविसम्म पुस्तक लगियो।
विद्यालयले पुस्तकालय कोठा र त्यहाँ चाहिने भौतिक सामग्रीको व्यवस्था ग¥यो। मुगुका सांसद ऐनबहादुर शाहीले मंसिर ३ गते जिल्लाको पहिलो सामुदायिक पुस्तकालयको उद्घाटन गरे।
“धेरै संघर्षपछि बल्ल मुगुमा पहिलो सार्वजनिक पुस्तकालय स्थापना भयो। सानो प्रयासले झन्डै एक हजार विद्यार्थी भाइबहिनीले रोजेर पुस्तक पढ्न पाएका छन्। पढ्न चाहने स्थानीयले पनि पुस्तक पाएका छन्। विद्यार्थीको खुशीअघि मेरो संघर्ष फिक्का लाग्छ,” टकेन्द्र भन्छन्।
यो पुस्तकालयलाई वडाले पनि सहयोग गरेको छ। खप्त्याड–७ का वडाध्यक्ष गोविन्दप्रसाद संज्याल युवाहरूले सकारात्मक सोच राखेर अभियान सञ्चालन गरेको बताउँछन्। “कुनै व्यक्तिगत लाभको लागि छैन, सकारात्मक सोचले अभियान शुरू गरे। यसलाई हामी सबैले सहयोग गरिरहेका छौँ,” संज्याल भन्छन्, “यो अभियानलाइ दिगो बनाइराख्न आवश्यक अन्य सहयोगका लागि हामी सधैँ तत्पर छौँ।”
वडाले पुस्तकालय हेरचाहका लागि एक जना कर्मचारी राखेको छ। पुस्तकालय व्यवस्थापनको जिम्मा विद्यालय र वडाले संयुक्त रूपमा लिएका छन्।
जोन उडबाट प्रभावित
बालबालिकाको शिक्षामा प्रवर्द्धन गर्ने संस्था ‘रुम टु रिड’का संस्थापक जोन उडबाट प्रभावित भएर आफूले पुस्तकालय बनाउने अभियान चलाएको टेकेन्द्र बताउँछन्। उनले जोन उडबारे ‘माइक्रोसफ्टदेखि बाहुनडाँडा’ पुस्तकबाट थाहा पाएका थिए। त्यसपछि आफ्नो क्षेत्रका विद्यालयबारे सोच्न थाले।
उनी अहिले पनि पुस्तक संकलन अभियानमै व्यस्त छन्। अब सोरु गाँउपालिकाको जनज्योति माविमा पुस्तकालय स्थापना गर्ने अभियानमा छन्। विद्यालयले नै उनलाई पुस्तकालय बनाइदिन प्रस्ताव गरेको थियो।
त्यसका लागि साथीहरूसँग मिलेर हालसम्म दुई हजार पुस्तक सकंलन भइसकेको उनले बताए। कात्तिकभित्रै पुस्तकालयको शुभारम्भ गर्ने उनीहरूको योजना छ। पुस्तकालयका लागि चाहिने भौतिक पूर्वाधार र अन्य समाग्रीको प्रबन्ध विद्यालयले गरिसकेको छ।
अहिले उनले केही साथीलाई समेटेर पुस्तकालय निर्माण गरिदिने युवा मन्थन नामक संस्था स्थापना गरेका छन्। चार जना साथीबाट शुरू भएको यो अभियानमा अहिले १५ जना जोडिइसकेका छन्। त्यसमध्ये टेकेन्द्रसहित केही युवा मात्रै सक्रिय छन्।
पुस्तकालय स्थापना गरिदिन मुगुका अन्य गाँउपालिकासँगै जिल्ला बाहिरबाट पनि उनीहरूलाई प्रस्ताव आइरहेको छ। हुम्ला, जुम्ला र जाजरकोटका शिक्षा क्षेत्रमा सरोकार राख्नेहरूले उनलाई पुस्तकालय बनाइदिन प्रस्ताव गरिरहेका छन्।
युवा मन्थनका महासचिव मनोज विष्ट यो अभियान नरोकिने बताउँछन्। उनका अनुसार मुगुका साथै अन्य जिल्लाका ग्रामीण क्षेत्रमा पनि अभियान सञ्चालन गर्ने योजना छ। “अभियानमा जोडिने छुट्टिने भइरहन्छ। तर रोकिने छैन,” उनी भन्छन्, “दुईतीन जना नै किन नहोस् या एक्लै भए पनि यो अभियान सञ्चालन हुनेछ।”