Thursday, January 23, 2025

-->

दार्जिलिङबाट दशैँ नियाल्दा…

दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ। कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यति मात्र होइन नेतासमेत प्राय: कमानबाटै आउँछन्।

दार्जिलिङबाट दशैँ नियाल्दा…

समय बद्लिएकाले हो कि उमेरले डाँडा काट्दै गरेकाले हो, यसपालि दशैँको उस्तो रौनक उति देखिएन। अचेल कलकत्ताको दुर्गा पूजा सबैभन्दा राम्रो भन्दै सक्नेजति दशैँको छुट्टीमा कलकत्ता नै जान्छन् अनि नसक्नेचाहिँ टिभीमा हेर्छन्। सेप्टेम्बरको अन्ततिर, अघिअघि आकाश सफा र निक्खर निलो देखिन्थ्यो। वरिपरिका डाँडा पनि भर्खरै ‘बाथरुम’बाट नुहाएर निस्किएझैँ सफा अनि ओभानो हुन्थे। हावामा हल्का चिसो चढेर आउन थालेपछि ‘लौ है शुरू भयो दशैँको घाम’ भन्थे गाउँलेहरू।

घर सफा गर्ने, झ्यालढोकामा रङ लगाउने, घरको छानामा सिरक र डसना सुकाउनेजस्ता काम त्यही समय गरिन्थ्यो। आँगनको लुगा सुकाउने तारमा कतै सुइटरै सुइटर त कतै कोटैकोट घाम तापिरहेको दृश्य सामान्य हुन्थ्यो। दशैँ एक प्रकारले हिउँदको सरकारी घोषणा जस्तो लाग्थ्यो। चार दशकअघिसम्म दशैँको मौसम शुरू भएपछि कमेरेमाटो खन्नेको ओइरो लाग्थ्यो।

सन् १९६२ को चिनियाँ आक्रमणपछि कालेबुङको दुर्बिन डाँडामा सैनिकले छाउनी बनाएर बसे। त्यही डाँडामा मात्रै पाइन्थ्यो रातोमाटो। गाउँका मेरा दौँतरी ठूलाहरूलाई पछ्याएर माटो खन्न जान्थे। म पनि आमालाई पछ्याउँथेँ। पिँढीसम्म रातोमाटोले लिपेर भित्तामा कमेरेमाटो दल्ने चलन थियो सबैतिर।

सरकारी कार्यालयबाहेक अरू निर्माणमा सिमेन्ट पसेकै थिएन। बेलायतबाट ल्याइएको अथवा आएको भन्ठानेर होला, सिमेन्टलाई ‘बेलाइती’ भन्ने गरिन्थ्यो। अझै पनि देउसी खेल्नेहरू 'रातोमाटो, चिप्लो बाटो, लड्दै पड्दै आएको हामी' नै भन्छन् भट्ट्याउँदा, जबकि रातोमाटो कतै सिलो खोज्दासमेत पाइँदैन। 

अचेल प्रकृतिको साटो ऋतु परिवर्तनका बारेमा पनि टेलिभिजनद्वारा थाहा पाइन्छ। रेफ्रिजटेर, कोकाकोला र 'डर्मी कुल' पाउडरको विज्ञापन शुरू भएपछि अब गर्मी चढेछ भन्ने बुझ्छौँ हामी। उसैगरी ‘लक्स कट्सुल’ले टिभीको स्क्रिनबाट हिउँदको घोषणा गर्छ।

जे नै भए पनि दशैँ त दशैँ नै हो। आ–आफ्नो बुताअनुसार रमाइलो गर्ने मौका कसले चुकाउन चाहन्थ्यो र? अझै पनि खशी पाल्छन् गाउँलेहरू दशैँकै लागि भनेर। पाल्छन् मात्र होइन, कति  बस्तीमा त खशी किसानको एक मात्र कमाइको स्रोत हुनेगर्छ। अघि यस पेसामा गाउँबस्तीको एकछत्र आधिपत्य थियो, तर बिस्तारै मधेशबाट पहाड छिरेका मुस्लिम सम्प्रदायका सदस्य यस पेसामा प्रवेश भए। पहिले ब्रोइलरको दोकान खोले अनि त्यसपछि खशी, गोरु, माछा र भैँसी सबैतिर पसे।

दशैँको हप्ता दिनअघि खशी पाल्नेहरू गाउँ घुम्थे, हर घरको आवश्यकता सोध्दै। अब त सोझै ‘फलानो मुसलमानको दोकानमा राम्रो पाउँछ, तर पहिल्यै भनिराख्नुपर्छ’ भन्छन् गाउँकै मान्छेहरू।

***
सधैँ दशैँको मुखैमा चिया बगानमा किचलो हुनेगर्छ बोनसको कुरा लिएर। दशैँको मुखैमा चिया श्रमिकले थाहै नपाइ कमानमा ताला लाएर भाग्छन् बगानका म्यानेजर। जो भाग्दैनन् उनीहरू पनि प्रत्येक वर्ष दशैँको मुखमा बगानलाई घाटा भएको कुरा गर्छन् अनि एकै किस्तीमा बोनस दिन नसक्ने बताउँछन्। श्रमिकको धर्ना, 'गेट मिटिङ', राजनीतिक दलको मध्यस्थता, एकपछि अर्को प्रक्रिया दोहोरिन्छ, तर श्रमिकको २० प्रतिशत बोनसको माग १२ प्रतिशत, १४ प्रतिशत र १६ प्रतिशतकै वरिपरि घुमिरहन्छ।

झन्डै हप्तापहिले बोनसको हिसाब नमिलेर रित्तो डोको बोकेका महिलाको एउटा झुन्ड रुँदै घर फर्किरहेको छोटो भिडियो ह्वाटस्एपपमा अपलोड भएको देखेँ। मन नै अमिलो भएर आयो। म आफ्नो झ्यालको सिसा चम्काउन कागजले पुछ्दै थिएँ। कमानका दिदीबहिनीको आँसुले विचलित बनायो।

अझै पनि ‘दशैँमा मासु खान पाइन्छ’ भनेर खुशी हुने बालबच्चा भएका परिवारको संख्या पहाडमा बहुमत छ। दार्जिलिङ पहाडको ६० प्रतिशत जनता कमानका बासिन्दा छन्। भन्ने नै हो भने, दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ।

कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यति मात्र होइन, नेतासमेत प्राय: कमानबाटै आउँछन्। रतनलाल ब्राह्मण, आनन्दपाठक, साङदोपाल लेप्चा, दावा लामा, आरबी राईजस्ता मार्क्सवादी नेता सबै कमानकै सन्तान हुन्। सुवास घिसिङ र विमल गुरुङ पनि कमानबाटै।

कमानकै नेता हुँदासमेत सन् १९४८ मार्च  १५ मा पास गरिएको न्यूनतम रोजगारको कानून ७६ वर्ष बितिसक्दा पनि दार्जिलिङ पहाडको चियाकमानमा लागू गरिएन। ‘नौलाखे तारा’ गीतमा अगमसिंह गिरीले त्यही पीडा लेखेका छन्

‘सुनको सपना साथमा, किन है बाँधी ल्यायौ नि?’

अनि दशैँमा मादल बजाउँदै मालश्री गाउनेले पनि खुशीले गाएका कहाँ हुन र?

जोसेफ ब्रड्स्कीको प्रसिद्ध कविता छ ‘जीमा जङ्सन्।’ त्यहाँ एक महिलाको वर्णन छ, जो पानी परिरहेको समयमा पनि निथ्रुक्क भिज्दै नाच्दै गाउँदै स्ट्रबेरी टिप्छे। कवि छक्क परेर तिनलाई हेरिरहन्छन्। ‘परिश्रम गर्ने यी गाउँले सरल नारी कति खुशी हुन सकेका!’ सोचेरै उनी छक्क पर्छन्। तर पानी अझ जोडले दर्कन थालेपछि सबै आ–आफ्नो क्याम्पमा पस्छन्। केहीबेरपछि पानी कम हुन्छ अनि कवि बाहिर निस्केर स्ट्रबेरीको त्यो ठूलो चौरतिर लाग्दा एउटा क्याम्पबाट कसैको सुँकसुँकाई सुनेर क्याम्पअघि अडिन्छ र भित्र चियाएर हेर्छ। अघि खुशी देखिएको (ठानिएको) महिला नै रोइरहेको देख्छ। ती महिला आफ्नो पीडा आफैँलाई सुनाउँदै रोइरहेकी हुन्छिन्। 

बोनसको कुरा नमिलेपछि रित्तो डोको बोकेर रुँदै फर्किने महिलालाई देख्दा येभ्तुसेन्कोकी ती महिलाको याद आयो। त्यसैलाई त गिरीले लेखेका होलान्:

‘नसम्झ यहाँ नेपाली, सञ्चोले आज बाँचेको
पहराबीच सुनखरी छैन र कहाँ हाँसेको?

***
म पत्ती टिप्ने आमाको छोरा हुँ। मलाई कमानको दुःख याद छ भन्थे विमल गुरुङ तर केन्द्र सरकारले ७६ वर्षअघि पास गरेको कानून न त विमल गुरुङले लागू गराउन सके न त घिसिङले नै। अझ घिसिङको समयदेखि त जनप्रतिनिधि पनि पहाड मात्र होइन राज्य बाहिरबाट मगाउने चलनसमेत शुरू भयो। राजस्थान र पन्जाबबाट सांसद झिकाइए। हाल मणिपुरे सांसद छन् दार्जिलिङमा। 

श्रमिकका रूपमा दार्जिलिङका चिया बगानमा प्राय: महिलाकै भूमिका महत्त्वको छ। पत्ती टिप्नेहरू पुरुष होइन, महिला नै हुन्छन्। चिया बगानको साहित्य र संगीतमा उनीहरूकै भूमिकाको वर्णन भेटिन्छ: 

साइँली बुहारी चिया बारीमा,
दुई पात एक सुइरो टिप्न
साइँली बुहारी चिया बारीमा।

तिनै साइँली बुहारीहरू रुँदै रित्तो डोको र रित्तो गोजी अनि गह्रौँ मन बोकेर फर्किएको देखेपछि अलिकति पनि संवेदना हुने कसको मन नकुँडिएला? 

२००३ मा जब भारतमा औसत चियाको दर ७७ रुपियाँ भारू प्रतिकिलो थियो, कलकत्ताको अक्सन (मोलमोलाइ बजार) मा श्रीमान् सेठले मकैबारी चियाको पहिलो बोली तीन हजार रुपियाँ प्रतिकिलोबाट शुरू गरेको कुरा दार्जिलिङ चियाबारे अध्ययन गर्न आएका जर्मनीका जेफ कोस्टलरले लेखेका छन्। तीन हजार रुपियाँबाट शुरू भएको बोली अन्तमा अन्तर्राष्ट्रिय ग्राहकको निम्ति भारतीय एजेन्ट गोडफ्रे फिलीपले १८ हजार रुपियाँमा आफ्ना प्रतिद्वन्द्वी हातबाट आफ्नो पक्षमा पारेको कुरा कोस्टलरले पुस्तकमा लेखेका छन्।

सेठ, मित्तल र ब्यानर्जीहरूले लेख्छन् यस्ता पुस्तकहरू। चियाको बोटमा पात र मुना मात्र छन्, जरा र माटो गायब हुन्छ। दार्जिलिङको चिया बन्ने प्रक्रिया धेरै अप्ठ्यारो भएको बताउँछन् लेखकहरू तर त्यो अप्ठ्यारो काम गर्नेहरू को हुन् अनि तिनीहरूको जीवन कसरी चलिरहेछ भन्नेबारे बिरलै चर्चा पुस्तकमा चर्चा हुन्छ। 

दशैँका बेला चिया श्रमिक सडक, जुलुस र धर्नामा हुने गर्छन्। यस्तो समयमा केको दशैँ? यस्तै कुनै बोनसको जुलुसबाट घर फर्केपछि क्रान्तिकारी कवि विकास गोतामेले लेखेका थिए: 

कति रात मेरो बाबु भोकै सुतेको हुनपर्छ
कति बिहान मेरी आमा भोकै उठेको हुनपर्छ
चियाको बोटलाई रातको सपना सुस्तरी भनेको हुनपर्छ
कुटो कोदालोले आफ्नै खुट्टा कति खनेको हुनपर्छ।

धेरै वर्ष भयो गोतामे बितेको अनि त्यहाँ सूचना पठाउने कुनै साधन भएको भए म तिनलाई लेख्ने थिएँ–

त्यस्तै छ है कविजी चियाबारीको खबर, जस्तो तिमीले लेखेको थियौ। भोकै सुत्ने र उठ्नेहरूको संख्या बढेको छ। अब त झनै आत्महत्या गर्नेहरू पनि पो देखा पर्दैछन्। हामी यसरी राष्ट्रको मूलधारमा पस्दैछौँ। देशको अरू भागमा किसान आत्महत्या गर्दैछन् भने पहाडमा चाहिँ चिया श्रमिक। 

बजारको अवस्था यति बेला दयनीय छ। ज्वरो र सर्दीको औषधि लिन बजार गएको थिएँ, दोकान मालिकले ‘डाक्टर आइपुग्ने बेला भयो, एकै छिन पर्खिनुहोस्’ भनेर उसको छेउमा मलाई बसायो। के सोच्यो कुन्नि, केहीबेर पछि भन्यो, ‘छैन नि सर यो पालि त बजार सुक्खा छ। दार्जिलिङको अवस्था त अझै खतम छ।

बजारमा पैसा आउने भनेको कमानबाटै हो। कमानकाहरूले बोनस नपाएपछि अरू के उपाय छ त? दशैँ त कमान र पर्यटककै हातमा त छ। रेलवे र एनएचपीसी (नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन प्राइभेट लिमिटेड)ले बाटो खतम पारिहाल्यो। त्योमाथि यसपालिको पानी! बाटै त छैन, कसरी आओस् पर्यटक?'

टाउको हल्लाउँदै म तिनको कुरा सुनिरहेँ। डाक्टर अझ आइपुगेका थिएनन्। तिनले कुरा अघि बढाउँदै भने, ‘गइसक्यो नि सर हाम्रोहरू त थुप्रै, व्यापार नै छैन। अन्त बसेर पनि के गर्नु? अचेल त कालेबुङ र दार्जिलिङको भन्यो भने त हाम्रो कम्युनिटीमा छोरी पनि दिन मान्दैन। बरु सिक्किमचाहिँ ठीक छ। अर्कोचाहिँ अनलाइन सर। सबै बिजनेस त अनलाइनले लगिसक्यो। अनलाइन र लटरी। लुगाफाटा किन्ने पैसासमेत लटरीको टिकट किनेर सक्छन् मान्छेहरू। भिखारी बनायो यो लटरी (चिट्ठा)ले चाहिँ। खोइ के शुरू भयो भयो यस्तो?’

यत्तिकैमा डाक्टर देखा परे अनि म तिनको गुनासोदेखि जोगिएँ। सन् १९६८ मा यही अक्टोबर महिनामा परेको मुसलधारे पानीले ताण्डव मच्चाएको थियो। टिस्टा नदीको एन्डर्सन पुल बगाएको त्यही बेला हो। दशैँकै समय थियो। कति मरे गिन्ती नै छैन। धेरै वर्षपछि नेसनल जियोग्राफी पत्रिकामा हवाईजहाजबाट उतिखेर खिचिएको बीभत्स तस्वीर देखेर म छक्क परेको थिएँ।

अचेल पनि अक्टोबरमा पानी पर्‍यो भने ‘६८ को एकुन्द्रो मेटाउने हो कि क्या हो!’ भन्छन् पुराना मान्छेहरू। २०२२ अक्टोबरमै सिक्किमपटि बनेको टिस्टाको बाँध विस्फोट भएर धेरै ज्यानमालको खती गर्‍यो। यसपालि पनि पानी र पहिरो त्यस्तै छ। ज्यानको क्षति थोरै भए पनि बाटोचाहिँ लग्यो। बजारमा सामान छोइसक्नु छैन।

त्यसमाथि दार्जिलिङ पहाडको राजनीतिक परिस्थिति यस्तो डामाडोल छ कि अब व्यापारीले आफ्नो भविष्य अनिश्चित देख्न थालेका छन्। व्यापारीको निम्ति मूल कुरा नै व्यापार हो, त्यसैको आधार मक्किन थालेपछि अरू कुराको त के महत्त्व?

अर्कोतिर, यतिबेला दार्जिलिङको राजनीतिमा अन्योलपूर्ण र दिशाहीन छ। सत्ताधारी दल विकासको कुरा गर्छन्। तर कुरै मात्र गरेको देखिएका छ। सत्तामा नहुनेहरू सत्ता हत्याउन परिचय र चिनारीको मुद्दामा छन्। त्यहाँ पनि जति मान्छे, उति नै कुरा भनेझैँ स्थिति छ। कोही चिनारीको निम्ति गोर्खाल्याण्ड नै चाहिन्छ भन्छन् त कोही छैटौँ अनुसूची भए पुग्छ भनिरहेछन्। कोही केन्द्र शासित प्रदेशको वकालत गर्दैछन् भने अझ अर्काथरि सिक्किमसित विलयलाई एक मात्र तर्कसंगत समाधान हो भन्दैछन्। मुद्दामा एकमत नभएपछि समाधान कसरी सम्भव हुने?

***
भर्खरै लद्दाखबाट छैटौँ अनुसूचीको मागमा सोनाम वाङचुकको नेतृत्वमा दिल्ली हिँडेका १५० पदयात्रीलाई दिल्ली पुलिसले पक्राउ गर्‍यो। राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धा अर्पण गरी त्यहीँ भोक हडतालमा बस्ने उनीहरूको कार्यक्रम थियो, जुन सफल हुन सकेन। सोनाम वाङचुक र तिनका साथीहरूलाई पक्राउ गरिएकै दिन हत्या र बलात्कारको सजाय भोगिरहेका 'डेरा सच्चा सौदा'का रामरहीम नामक धर्मगुरुलाई ५० दिनको जमानतमा मुक्त गर्‍यो दिल्ली अदालतले।

हरियाणामा चुनाव थियो, अनि गुरमीत रामरहीमका धेरै अनुयायी हरियाणा छन् भन्ने कुरा केन्द्र सरकारलाई थाहा थियो। तिनले जमानतमा छुट्नसाथ आफ्नो पन्थको सभा डाकेर भाजपालाई भोट हाल्ने अपिल पनि गरे। 'असत्यमाथि सत्यको विजय उत्सव मनाउने समय'मा देशमा यस्ता हर्कत हुन्छन्। 

वर्तमान निराशाजनक भएपछि पनि मानिस विगततिर फर्किन्छ कि कसो! मलाई फेरि आफू केटाकेटी नै छँदाको दशैँको याद आयो। अति उत्साहसित हामी 'नाच पार्टी'लाई पर्खिन्थ्यौ। महिनौँ अघिदेखि उनीहरू रिहर्सल गर्थे। केटाकेटीको भीड लाग्थ्यो, रिहर्सल हेर्न। त्यस समयका युवाहरू सबैजसो नै बितिसके। फोटो भएर आआफ्नो घरको भित्तामा झुन्डिइसके। उनीहरूसितै उनीहरूको गीत पनि हराइसक्यो। कतै फेरि त्यो धुन सुन्न पाए त! तिर्सना लाग्छ। एउटा त्यस्तै गीत, जो प्रत्येक नाचपार्टीमा सुनिन्थ्यो :

गाइदेऊ न गाइदेऊ न
पहाडसित हाँसेर
फूल त्यो देखेर…

पहाड रोइरहेको समय त्यस्तो गीत पनि विरोधाभासपूर्ण लाग्छ। तरै पनि दशैँ आयो कि मेरो मनमा पहिले बज्ने गीतचाहिँ त्यही हो। पहिलो गीत सकिएपछि दर्शकबाट फर्माइस हुन्थ्यो, 'अब ट्विस्ट हेर्नुपर्छ ट्विस्ट…’

हिन्दी सिनेमाले लोकप्रिय बनाएको ट्विस्टचाहिँ विशेष दुई वटा गीतमा नाचिन्थ्यो, ‘आवो ट्विस्ट करे’ र ‘आजकल तेरेमेरे प्यारका चर्चा।'

ट्विस्ट गर्नेहरू थरर छाती हल्लाउँथे अनि त्यही नै ट्विस्टको हाइलाइट् हुन्थ्यो। गाउँमा ट्विस्ट सिनेमामार्फत पसे पनि गीतचाहिँ नेपाली नै गाइन्थ्यो। शब्द संगीत कसको हो त्यो सित कसैलाई वास्ता हुँदैनथ्यो। एउटा त्यस्तै गीतको बोल थियो: 

निलो आकाश, चन्द्र सितारा

आऊ हे धरती बोलाई रहेछ।

नाच-पार्टीहरू हराएको धेरै भयो। अब त ट्र्याकहरू लिएर आउँछन् झुन्डझुन्ड केटाकेटी। बिजुलीको थ्रिपिन सकेट पोइन्ट सोध्छन्। न त सुर मिल्छ न त गितारको तार। समाज नै बेसुरा भएको समयमा संगीतमा के सुर होस्! लाहुरेहरू पनि अचेल ‘लाहुरेको रेलिमै फेस नै राम्रो’जस्तो गीतको कुरा गरे मुन्टो बटार्छन्। अहिले त सजिलो छ। सिमानाबाट मोबाइलमा दिनहुँ भिडियो कल गर्छन्।

टाढा हुँदा पनि पहिलेझैँ दूरीको उस्तो पीडा हुँदैन, त्यसैले अघिअघि दशैँमा बज्ने ‘बिछोडको पीडा नसकी खप्न’जस्ता गीतहरू बजेको सुनिँदैन। न त भाइटीकामा ‘आउँछिन् कि चेली भनेर आमा दोबाटोतिर धाएको' नै देखिन्छ।

तिहारमा देउसी खेल्नेको संख्या धेरै कम भए पनि उनीहरू अझै ‘बलिराजको हुकुम’को तामिल गर्न भने छाडेका छैनन्। बलिराजालाई त बामन अवतारले तेस्रो पाइला शीरमा राखेर पातालमा 'भसाएका' थिए। तिनले देउसी खेल्ने आदेश कसरी अनि कसलाई दिए होलान्, सोचेरै छक्क पर्छु।

कुनै बेला लाग्छ, कतै हामी संस्कृतिको नाममा धर्मले सिकाएको षड्यन्त्रको प्रचार त गरिरहेका छैनौँ? बाली र सुग्रीवको लडाइँमा पनि रामले त्यस्तै षड्यन्त्र गरेका थिए। ईश्वरको दर्जा पाएका कारण कति सजिलो थियो उनीहरूलाई! जस्तै परिस्थितिबाट पनि ‘लीला’ भनेर सजिलै जोगिन्थे।

दशैँको आत्मा हेर्दा यो असत्यमाथि सत्यको विजयको उत्सव हो। पापमाथि पुण्यको विजय हो। तर पौराणिकदेखि वर्तमानमा पाइएका धेरै उदाहरणमा धेरैजसो असत्यको नै सत्यमाथि विजय भएको देखिन्छ। भारत अनि नेपालमा हामी राष्ट्रियस्तरमा दशैँको चाड मनाउँछौँ। शक्तिको पूजा गरेर खाँडो जगाउँछौँ। हामीले दुर्गामूर्तिको स्थापना गर्दैगर्दा लेबनान र बेरुतमा इजरायलले हजारौँ किलोको बम विस्फोट गरेर असंख्य असहाय नागरिकको हत्या गरिराखेकै हुन्छ।

महिषासुरलाई वध गर्न देउताहरू एक्लाएक्लै असक्षम भएपछि ब्रह्मा, विष्णु र महेशको शक्ति मिलाएर दुर्गाको सिर्जना भएजस्तै युरोप र अमेरिकाको शक्ति मिलाएर एउटा कमजोर र गरिब क्षेत्र प्यालेस्टाइनलाई ध्वंस पार्न इजरायल लागिपरेको देख्दा कसरी गर्ने दशैँको रमाइलो? परिवारमा टाढाकै सम्बन्धीको मृत्यु भएको खण्डमा समेत हामी शोक मनाउँछौँ।

२०२३ अक्टोबर ७ मा प्यालेस्टाइनले गरेको मिसाइल आक्रमणमा १२०० इजरायली नागरिकको मृत्यु भयो। त्यसपछि आत्मरक्षाको नाममा इजरायलले जारी राखेको आक्रमणमा ४१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। यो संख्या दिनहुँ बढ्दो छ। कथाको रावण दहन गर्दै यथार्थको रावणलाई अझै शक्तिशाली बनाउने विरोधाभासपूर्ण समयमा हामी बाँचिरहेका छौँ।

***
डाक्टरलाई देखाएपछि म हाट बजारतिर झरेँ। श्रीमतीले नाकिमा (भटमासको एक प्रकारको परिकार) र च्याउ पाए ल्याउने फर्मान गरेकी थिइन्। हाटबजारको भीडमा मान्छेका भागदौडबीच अनेकन् संवाद कानमा ठोक्किँदै थिए: 

‘मटन त छोइसक्नु भए पो…यसपालि त चिकनले नै काम चलाउनु पर्ला जस्तो छ।'

‘प्रणामी हुनु पनि त साह्रै छ नि त हौ…टमाटर डेढ सय पुग्यो, लसुन ३६० र अदुवा २८०..आगो लागेको छ आगो…केले पुर्‍याउनु?’

‘अन्त नाथे कोपी (काउली या बन्दा) त १५० रुपियाँ भएछ…!’

पछिल्तिरबाट एउटा दोकाने महिला सबैको आवाजलाई माथ गर्नेगरी चिच्याइन्, ‘जे भए पनि वर्ष दिनमा आउने चाड हो…महँगो भयो भनेर केटाकेटीलाई सोल्दर (झानेको मोही)मै टाटो मार्नु त मिलेन नि…!’


सम्बन्धित सामग्री