युशु (छिङहाई)—
“डाँडा र काँडा, उकाला ठाडा जँघार हजार
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको
सिमसिमे पानी, बतास चिसो बरफझैँ डुलेको।”
आजभन्दा ८५ वर्षअघि पहिलोचोटि छापिएको महाकवि देवकोटाकृत ‘मुना–मदन’का नायक मदनको उपरोक्त बयानमा उल्लेखित तिब्बतको ल्हासाभन्दा झन्डै १५ सय किलोमिटर टाढाको ‘भोट बस्ती’ हो— युशु।
तिब्बती पठारको यो कुनोमा रोजीरोटी खोज्दै आइपुगेका छन्— काभ्रेको पनौतीका नवराज रसाइली (३३)। उहिले कामको खोजीमा भोट पुगेका मदनझैँ काभ्रेली नवराजका पनि उस्तै सन्ताप छन्, उस्तै सपना। घरमा रहेका जहान परिवारको हेरदेख र थोरतिनो धन कमाउने सपनामा नवराज यो दुर्गम ‘भोट’ आएको ६ वर्ष भइसकेको छ। “भोट आएर सुनचाँदीकै काम गरिएको छ, आफूले सिकेजानेकै काम भएकाले मलाई त्यति मुस्किल परेको छैन,” नवराजले सुनाए।
नवराजजस्तै चितवनका अंकित सुनार (३०), रसुवाका अर्जुन सेन्चुरी (४९), नुवाकोटका निर्मल सुनार (३१), उदयपुरका दिलीप मगराती (३९), काभ्रेका मीनकुमार लामा (२८) सहितको टोली युशु शहरको मध्य भागमा अवस्थित पाथाङस्थित युशु लोसानिका ट्रेडिसनल प्रोडक्ट्स ट्रेडिङ प्रालिका कामदार हुन्। फलाम, सुनचाँदी, भाँडा–वर्तनदेखि जातीय गरगहना तथा शृङ्गारका सामान (पेकु) बनाउने काममा जुटेका यी नेपाली तन्नेरीलाई यो अवसर जुटाइदिएका छन्— तिब्बती मूलका उद्यमी लोसानिका (५१)ले।
“म त जन्मले मात्रै यताको, कर्मले उतैको हो जस्तो लाग्छ,” प्रस्टसँग नेपाली बोल्न सक्ने लोसानिकाले यता भनेर (चिखु, युशु) र उता भनेर (काठमाडौँ–पाटन) भन्ने सम्झाउँदै आफ्नो उद्यमबारे सुनाए, “छिङहाई र तिब्बत गरेर एक दर्जनभन्दा बढी ठाउँमा मैले पसल राखेको छु। छिङहाईको युशु जिल्लाका भित्री गाउँबस्तीमा पनि मोबाइल भ्यानबाट सामान बिक्रीमा लगिरहन्छु, हरेक गाउँका मेला–प्रदर्शनीमा म सामान पुर्याउन जान्छु। त्यसका लागि औसतमा १०० जति नेपाली कामदारले मलाई साथ दिने गरेका छन्।”
यसरी लोसानिकाले बिक्रीमा लैजाने वस्तुमा पाटनबाट लगिएका भाडा–वर्तनदेखि बौद्धमा बनेका कार्पेट, लामा–भिक्षुका कपडा, थाङ्का र बौद्ध पूजाका अनेक सामग्री हुने रहेछन्।
“यहाँ युशुको मेरो कारखानामा के हिउँद, के बर्खा— काम चलिरहन्छ,” उनी भन्छन्, “अब जाडोयाम शुरू भएपछि झन्डै चारपाँच महिना त हिउँ परिरहन्छ। तैपनि कारखानामै खाने–बस्ने सुविधा भएकाले मेरो काम चलिरहन्छ।” उनको युशु लोसानिका ट्रेडिसनल प्रोडक्ट्स ट्रेडिङमा भने स्थानीय गाउँलेले ल्याएका सुनचाँदीबाट उनीहरूले चाहेजस्ता गरगहना बन्ने गरेको रहेछ।
नेपाली मात्रै ‘भरपर्दा’
लोसानिकासँग नेपालको साइनो २५ वर्ष पुरानो छ। पढाइगुनाइको अवसर नपाए पनि तिब्बतको ल्हासाबाट केही नेपाली व्यापारीको साथ लागेर लोसानिका पहिलो पटक काठमाडौँको बौद्ध र ललितपुरको पाटन पुगेका थिए।
“नेपालीहरू निकै सहयोगी लाग्यो। आफूले जानेको पेसाको काम गर्न जस्तै परिस्थितिमा पनि तयार हुने रहेछन्,” लोसानिकाले सुनाए, “अनि आफ्नै सम्पर्क र मसँग विश्वासको नाता जोडेर झन्डै १५ वर्षदेखि नेपाली कामदार यता आउन थालेका छन्।”
उनका अनुसार नेपाली थाङ्का, बौद्ध धर्मका पूजा सामग्री, कार्पेट, भाँडा–वर्तन, धूप, लामाका कपडा, बख्खु, मूर्ति आदिको कारोबार मात्रै वार्षिक १० करोड रुपैयाँसम्म पुग्ने गरेको छ।
लोसानिकालाई कि तिब्बती भाषा बोल्न आउँछ कि नेपाली। कतिले त उनलाई ‘युशु बहादुर’ले पनि बोलाउँछन्। नेपाल–छिङहाई उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका लोसानिका सकेसम्म नेपाली कामदारलाई भोटतिर रोजीरोटीमा ल्याउने गरेको बताउँछन्।
“भर्खरै हामी पाँच जना पार्टनर मिलेर पाँच करोड रुपैयाँ लगानीमा ल्हासामा एउटा नेपाल रेस्टुरा खोलेका छौँ। नेपालबाटै १० जना कुक–वेटर ल्याउने भनेकोमा निकै झमेला खेप्नुपरेको अवस्था छ,” उनले सुनाए, “खासमा चीनमा ल्याएर नेपाली केटीको बिहा गर्ने गरिएको र मानव तस्करी हुने गरेको समाचार आएपछि हामीलाई पनि यहाँ निकै मुस्किल परेको अवस्था हो।”
त्यस्तो नेपालीसँगको ‘विवाह काण्ड’का घटना कहीँकतै भएको भए पनि युशु र तिब्बत क्षेत्रमा कहीँ पनि यस्तो तस्करी गतिविधि नरहेको लोसानिकाले दाबी गरे।
आपसी विश्वास र सम्पर्कका आधारमा लोसानिका मातहतमा काम गर्न नेपालबाट केही युवती कामदार पनि युशु आइपुगेका रहेछन्। काभ्रे, दोलालघाटबाट पाँच वर्षअघि युशु आएकी मिठ्ठु लामा (२७) अहिले पूरै तिब्बती युवतीझैँ बनेकी छिन्, बोलीचालीदेखि लवाइखवाइसम्म।
“यहाँ मलाई आनन्द छ, खाना पकाउने या चिया बनाउनेदेखि अरू घरेलु काम गर्नुपर्छ,” अविवाहित मिठ्ठु भन्छिन्, “आम्दानी पनि राम्रो छ, म त पाएसम्म यतै काम गर्नेछु।”
मिठ्ठुसँगै युशु आएकी हेलम्बुकी डोल्मा ह्योल्मो भने अहिले गाउँ फर्केकी रहिछन्। यी सबै कामदारका संरक्षक रहेका लोसानिकाका अनुसार यसरी वैधानिक बाटोबाट श्रम गरीवरी काममा आएका नेपालीले न्यूनतम दुई हजार (झन्डै ४० हजार रुपैयाँ) र बढीमा १० हजार युवान (झन्डै दुई लाख रुपैयाँ) मासिक कमाउने गरेका छन्। त्यसमा पनि सुनचाँदीकै कालिगढी काममा रहेकाले पाउने सेवासुविधा निकै राम्रो छ।
लोसानिकाले काठमाडौँ, जोरपाटीमा पनि गलैँचा उद्योग सञ्चालन गरेका छन्, नेपाली उद्यमीसँगको सहकार्यमा। पाटनस्थित ललितपुर हेन्डीक्राफ्ट एसोसिएसनका कार्यकारी सदस्य मिलिन्द शाक्यको मछिन हेन्डीक्राफ्टसँगको सहकार्यमा हस्तकलाका सामान पनि नकबहिलबाट युशुसम्म ल्याउने गरेका छन्।
युशुको चुट्टौ गाउँमा जारी व्यापार प्रदर्शनीमा सहभागी हुन शाक्य पनि पाथाङ गाउँ आइपुगेका रहेछन्। “युशुमा मैले हस्तकला, सुनजडित सामग्री तथा अन्य धातुजन्य उत्पादन बिक्रीका लागि सहकार्य गर्दै आएको छु,” शाक्य भन्छन्, “यताको बजार निकै भरपर्दो छ र फाइदाजनक पनि।”
‘युशुले नेपाललाई सम्झेको छ’
काठमाडौँको जस्तै भू–बनोट र थप हिमाली अवस्थिति रहेको युशु प्रि–फ्याक्चर ( जिल्ला) सम्पूर्ण रूपमा पर्यटन तथा पशुपालनका भरमा बाँचेको रहेछ। युशु प्रि–फ्याक्चरअन्तर्गत पाथाङ गाउँको प्रमुख इसियाङ चोङ्गका अनुसार पर्यटन र पशुपालनको मुख्य आधार रहेको यो भेगमा १० हजार मात्रै जनसंख्या छ। यो सानो हिमाली गाउँमा ५० हजारभन्दा बढी चौँरी पालिएको छ, भेडा–च्याङ्ग्राको संख्या पनि निकै छ। बर्सेनि २० हजारभन्दा बढी आन्तरिक वा बाह्य पर्यटक यो हिमाली छेउभित्तामा आइपुग्छन्।
सन् २०१० अप्रिलमा ७.१ म्याग्निच्युडको भूकम्पले पूर्ण रूपमा क्षतविक्षत बनेको युशुमा त्यसबेला झन्डै दुई हजार मानिस मरेका थिए, त्योबेला हराइरहेका झन्डै २५० व्यक्तिको अझै अत्तोपत्तो छैन। त्यसपछि स्थानीय र केन्द्र सरकारको बलबुतामा झन्डै तीन वर्षकै अन्तरमा पुनर्निर्माण भएको युशु शहरले अहिले पनि त्यो विपत्तिको झस्को भुल्न सकेको छैन।
भूकम्पको मुख्य झट्कापछि लगातार १४ दिनसम्म गएका २०० भन्दा बढी परकम्पले सिंगो बस्तीलाई कम्पित बनाएको क्षणलाई अझै पनि ‘युशु अर्थक्वेक रिलिफ मेमोरियल सेन्टर’ले सम्झाइरहेको छ।
“नेपालमा सन् २०१५ मा भूकम्प गएपछि हामीले यहाँबाट केही राहत सामग्री पठाएका थियौँ, भूकम्पपछिको पुनर्निर्माणमा राय–परामर्श बाँडेका थियौँ,” पाथाङकी जनप्रतिनिधि चोङ्गले भनिन्, “युशुमा स्थापित भएको गाउँ समृद्ध नीति र गरिबी निवारण योजनाबाट नेपालले पनि धेरै कुरा सिक्न सक्छ।”
भूकम्पपछि क्षतविक्षत बनेको बौद्धनाथको जनकल्याण सेकेन्डरी स्कुलको पुनर्निर्माणमा पनि युशुले सम्पूर्ण सहयोग गरेको रहेछ। छेन्दु या ल्हासाबाट हवाई सम्पर्कमा जोडिएको युशुबाट जैविक विविधताको प्रवर्द्धन (हिउँ चितुवा संरक्षण)सहितका योजनामा सहकार्य गर्न सकिने युशुका अधिकारीको भनाइ थियो।
यसरी युशुमा अनन्त कुराहरू देखिए, महाकवि देवकोटाले भनेझैँ ‘चौँरीको पर्दा बुद्धको मूर्ति सुनमा कुँदेको’ अनेक बिम्बहरू भेटिए। तर नेपाल–चीन मिडिया फोरमका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठले भनेझैँ ‘नेपाल–चीनको सुसम्बन्धलाई जोड्ने भृकुटी र कलाकार अरनिकोबारे इतिहास या वृत्तान्त सम्झाउने न कुनै स्मारक भेटियो न संग्रहालय!’
किनभने त्यही युशुको एउटा कुनोमा श्रङ चङ गम्पो (६१७–६५० एडी)की एक जना श्रीमती वेनचेङका बारेमा संग्रहालय, स्तुपा र विशिष्ट गुम्बा निर्मित थियो। तर तिनै तिब्बती राजा गम्पोकी नेपाली मूलकी अर्की श्रीमती भृकुटीबारे भने कहीँकतै नामनिसान थिएन। न यसबारेमा जिज्ञासा राख्दा युशु जिल्लाका अधिकारीले केही बताउनै सके।
“चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको
रंगीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको
शीतल पानी हरिया पात हिउँका टाकुरा
शिरीष फूल फुलेको सेतो रुखका आँकुरा !” (मुनामदन)