दार्चुला– आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ। विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयअनुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ।
शैल्यशिखर नगरपालिका–६ का पदमे लुहार युवा पुस्ताले आरन पेसा गरेर जीविकोपार्जन गर्न मुस्किल भएको बताउँछन्। “यसबाट आय आर्जन खासै छैन,” उनले भने, “यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि युवा पुस्ताको आकर्षण छैन।”
दिनरात काम गरे पनि आरन पेसा गर्नेले उचित पारिश्रमिक पाउँदैनन्। उनीहरूलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन। “सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो,” लुहारले भने। राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग गर्दिए पेसामा अडिरहन सहयोग पुग्ने स्थानीय तेजुवा लुहारले बताए।
पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हुँदा युवाले आरन पेसा छाड्दै गएको मालिकार्जुन गाउँपालिका–३ का फगिर टमाटाको भनाइ छ। पछिल्लो समय युवाहरू परम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेको उनको भनाइ छ। दिनभर फलाम पिटेर सामग्री निर्माण गरेअनुसारको ज्याला नपाउने हुँदा आरन पेसा लोप हुन थालेको टमाटा बताउँछन्। औजार बनाएबापत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम छ।
आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको हो। विभिन्न किसिमका औजार उत्पादन गरे पनि बजारको समस्या भएको स्थानीय गोकर्ण लोहारको भनाइ छ। गाउँ–गाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उनले बताए।
१६ वर्षको उमेरदेखि आरन पेसा सम्हाल्दै आएका लोहार ७५ वर्ष हुँदासम्म यही पेसामा सक्रिय छन्। परम्परागत रूपमा गर्दै आएको आरन पेसाबाट परिवारको खर्च धान्न समस्या भएको उनको भनाइ छ। यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने लोहारको माग छ।
युवाहरू पुरानो पेसाभन्दा अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेपछि परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ।