जीवन विचित्र छ। जीवनका आरोह–अवरोह, सिकाइ र बुझाइ पनि उस्तै विचित्रका।
खेतीकिसानीको घरधन्दा र १०० भन्दा बढी गाइभैँसीको गोठाले दैनिकीमाझ सिरहाको भित्री गाउँ नरहनियामा रामटहल टहलिरहेका हुन्थे। कतिसम्मको भित्री गाउँ भने नरहनियाबाट लहान बजार पुग्न चार कोष र राजविराजका विद्यालय/क्याम्पस पुग्न ११ कोष हिँड्नुपर्ने। बरु सीमावर्ती भारतको मधुवनी, खटुना बजार नजिकै पर्थ्यो।
गाउँमा विद्यालय अनि पढेलेखेका कोही थिएनन्।
“त्यही खेतखलियान, गाईबस्तु नै आफ्नो सम्पूर्ण जीवन होला भन्ने हुन्थ्यो,” आफ्नो बाल्यकाल स्मरण गर्दै प्राडा. योगेन्द्रप्रसाद यादवले सुनाए, “त्यसरी गोठालो बनेका बेला अब कुनै दिन पढ्न पाइएला, शिक्षक होइएला भन्ने त सोचाइमैँ थिएन।”
यादवहरूको परिवार ठूलो थियो, वस्तीमा उनीहरूको बसोबास पनि बाक्लो थियो। त्यही हुलमुलमा एक जना आफन्ती हजुरबा थिए, बाबुलाल यादव। ‘म नातिलाई पढालेखा बनाउँछु’ भनेर हत्ते गरिरहने तिनै हजुरबा बाबुलालले भारतबाट आएका केही हिन्दीभाषी शिक्षकको घरेलु कक्षामा भर्ति गरिदिएका रहेछन् उनलाई। भारतीय गुरुहरू गाउँमा आउँथे, गुरुकुलजस्तै पढाउँथे।
धेरैपछि आफ्नै गाउँ सोनवर्षामा जनता माध्यमिक विद्यालय खुलेपछि एकैचोटि चार कक्षामा भर्ना भएका थिए, योगेन्द्र। गाउँकै स्कुलबाट आठ कक्षा पास गरेपछि उनी मधुवनी (भारत)को खटुनामा गए, माध्यमिक तह पढ्न।
गाउँ छँदाको अर्को रमाइलो र अनुभवी क्षण पनि छँदै छ। त्यो भेगमैँ एउटा प्रतिष्ठित नाम थियो, यमुनाप्रसाद यादव जो पटना विश्वविद्यालयबाट अंग्रेजीमा ‘ग्रेजुएट’ थिए। “मेरो सम्झनाको अर्को प्रेरणा पुरुष उहाँ हो जो मलाई ५/६ कक्षामा पढ्दैखेरी हिन्दी–अंग्रेजी अनुवाद सिकाउनुहुन्थ्यो, मेरो ‘करेक्सन’ गरिदिनुहुन्थ्यो।”
खटुनामा विद्यालय तह सकेर योगेन्द्र राजविराज पुगे। राजविराजमा महेन्द्र कलेज खुलेको थियो जहाँ मानविकी संकायमा आईए, बीए पढाइ हुन्थ्यो। “कहिलेकाहीँ आफ्नो गाउँ नरहनिया जान मन लागेमा छुट्टीको मौका पारेर दिनभरजसो हिँडेरै जानुपर्थ्यो, अरू उपाय थिएन,” यादव सम्झन्छन्।
पढाइमा आईए तहमा सर्वोत्कृष्ट बनेर महेन्द्र छात्रवृत्ति पाएपछि त्यही खर्चका भरमा उनले बीए उत्तीर्ण गरेका थिए। बीए पढ्दा उनीसँग कक्षामा ९ जना साथीसंगी थिए तर ती सबै कहाँ कता हराए आफ्नै जगत्मा। २०२२ सालमा काठमाडौँमा एमए पढ्न आउँदा योगेन्द्र एक्ला थिए, अरू कोही साथीभाइ राजविराज या नरहनियाका थिएनन्।
⁎⁎ ⁎
अहिले आएर मेरो जीवन ‘तँ चिता, म पुर्याउँछु’ भनेजस्तै भयो भन्दै छन् योगेन्द्र।
पढाइगुनाइमा धेरै लागेमा भएजति खेतबारी सबै सकिन्छ, खर्च टार्नै सकिन्न भन्नेहरू पनि हुन्थे गाउँघरमा। तर आफूले पाएका विद्यालय, क्याम्पसका गुरुहरू र यमुनाप्रसाद यादव, बाबुलाल यादवजस्ता प्रेरक पात्रका कारण योगेन्द्र कतै अडिएनन्, सिधै देशकै राजधानी आइपुगे।
“म वसन्तपुर, इन्द्रचोकभित्रको चोकाछे गल्लीमा बस्थेँ, राम श्रेष्ठको घरमा। एउटा सिरहाबाटै आएको भाइ विद्यार्थीसँग रुम–शेयरमा ५० रुपैयाँ मासिक भाडा तिरेर बसेको थिएँ,” योगेन्द्र सम्झन्छन्, “त्यसबेला यो मधेशी, यो पहाडी भन्ने भोगाइ मैले खेप्नपरेन। महिनाको ३०० रुपैयाँ भयो भने सबै कुरा पुग्थ्यो, पढाइ, खानपिन या अरू कुरा। धेरैजसो कोठामै बसेर पढिरहने र एमएको कक्षा लिन क्याम्पस (त्रिपुरेश्वर) जाने भएकाले म आफ्नै दुनियाँमा व्यस्त रहेँ।”
योगेन्द्रका साथीभाइमा नेवार थिए, विराटनगरका गुप्ता, अरू पहाडिया पनि। केही त भारतीय मूलका विद्यार्थी पनि हुन्थे। पढाउने शिक्षक भने कोलम्बो प्लानअन्तर्गत आएका भारतीय हुन्थे। पछि नेपाली कोटामा प्राध्यापक कमलप्रकाश मल्ल, नारायणप्रसाद श्रेष्ठ, तारानाथ शर्मा, सूर्यबहादुर शाक्य आदि त्रिपुरेश्वर क्याम्पसमा आए।
“म एमए पढ्दा एक वर्षका लागि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले महिनाको २५० रुपैयाँ छात्रवृत्तिझैँ दिनुभएको थियो। सिंहदरबार गएर प्रधानमन्त्री आउने जाने बाटोमा ढुकेरै मैले उहाँलाई भेटेको थिएँ। म सिरहाको गाउँबाट आएको सामान्य किसानको छोरो भन्दै एमए पढ्ने इच्छा जनाएपछि प्रधानमन्त्रीले एक वर्षको शुल्कको प्रबन्ध गरिदिनुभएको थियो,” आफूले बेहोरेको संघर्ष र पाएको सहयोगबारे कृतज्ञ हुँदै उनी भन्छन्।
मधेशको सिरहा, राजविराज या भारतमा मधुवनीको थातथलोबाट एकैपटक काठमाडौँ आएका योगेन्द्रलाई शुरूआती दिनमा निकै अत्यास लागेको थियो। कतिसम्म भने यसो फाट्टफुट्ट न्युरोडतिर टहल्न निस्कँदा कहीँ कतै धोती लगाएका मान्छे देखिए पनि आफ्नै गाउँठाउँबाट कोही आफन्त आइहाल्यो कि भनेझैँ हुने गरेको रहेछ।
एमएको पढाइ सकेपछि योगेन्द्र सिरहा फर्किए, त्यहाँको क्याम्पसमा पढाउने गरी। सिरहा क्याम्पसमा केही महिना पढाएपछि उनी जनकपुर क्याम्पस (रामस्वरूप रामसागर) पुगे जहाँ उनी १० वर्ष प्राध्यापनमा जोडिए।
“होइन, यत्तिकै पढाइ र बुझाइले त हुँदैन भन्ने भइरहेको थियो। अचानक मैले हैदराबादको इंग्लिस एन्ड फरेन ल्यांग्वेज युनिभर्सिटी जान पाएँ र त्यहीँबाट पीएचडी सिध्याएर म २०३९ सालमा नेपाल फर्किए,” उनी सम्झन्छन्, “संयोगले भाषाविज्ञानका प्रखर गुरु डा. केए जयसिलन (केरला) र प्रवलदास गुप्ता (कोलकाता)को सुपरिवेक्षणमा मैले पीएचडी गर्न पाएँ। मैले भाषा वैज्ञानिक नोम चोमस्कीको ‘थ्योरी अफ गर्वमेन्ट एन्ड बाइन्डिङ’ सिद्धान्तमा पीएचडी गरेको थिएँ।”
चोम्स्कीको भनाइ छ, संसारका भाषाहरूको एउटै ग्रामर हुन्छ, मानवभाषाको त्यो साझा विशेषतालाई ‘युनिभर्सल ग्रामर’ भनिन्छ। संज्ञा (नाउन), शब्द (भर्व) सबै भाषामा हुन्छ तर एडभर्व, एडजेक्टिभ सबैमा नहुन सक्छ। सबै भाषामा प्रिन्सिपल एउटै हुन्छ तर भेरिएसन पनि हुन्छ। यो गहन सोधमा पहिलो नेपाली अध्येता बनेर निस्किए, योगेन्द्र।
पढाइ सकेर उनी जनकपुर पुगेका थिए, फेरि प्राध्यापनका लागि। तर काठमाडौँ केन्द्रबाट भाषाविज्ञान संकायमा प्राध्यापक चाहियो भन्ने सूचना आएपछि उनी कीर्तिपुर पुगिहाले। अनि २०३९ सालदेखि २०६७ सालसम्म लगातार ३८ वर्ष उनी भाषाविज्ञानमै प्राध्यापनमा लागे।
⁎⁎⁎
भाषाविज्ञानका क्षेत्रमा वैज्ञानिकसरह काम गरेका योगेन्द्रका अनुभवमा बालबच्चामा मातृभाषाको सिकाइ र बुझाइ सबैभन्दा बलशाली हुन्छ। उनका अनुसार आफ्नो मातृभाषामा पढाइ भयो भने शिक्षामा गुणस्तरीयता बढ्छ। तर सिद्धान्त र व्यवहार आफैँमा अलग विषय हो।
पाठ्यक्रम विकास केन्द्रले नेपालमै पनि दुई दर्जनभन्दा बढी भाषा (२९ वटा)मा अहिले पाठ्यसामग्री तयार गरेको छ। त्यसको उपयोग भने खासै देखिन्न। “यो अभियान अघि बढाउन शिक्षक तालिम, स्रोत–सामग्री, आर्थिक प्याकेज पनि चाहिन्छ नै, ‘एडभोकेसी’ पनि हराउँदै गएको स्थिति छ,” उनी भन्छन्, “भाषा भनेको संस्कृति र सभ्यता पनि हो। मातृभाषामा अनिवार्य शिक्षाको जिल्लैपिच्छे रोल–मोडेल स्कुल बनाउन सकिन्छ, त्यो पनि गरिएको छैन।”
योगेन्द्रका बुझाइमा हामीकहाँ विषयगत शिक्षककै अभाव छ। तराईको शिक्षक पहाडको कुनै तामाङ गाउँमा गएर पढाउँदा न स्थानीय तहको भाषाको पकड रहन्छ न मातृभाषाकै प्रभाव देखिन्छ। उनलाई लाग्ने गरेको छ, कुनै भाषामा किताब मात्रै छापिदिएर लु पढाउन जाऊ भन्दैमा कहाँ हुन्छ र(?)
“एक पटक म झापा जाँदा सन्थाल जातको बसोबास क्षेत्रमा पुगेको थिएँ। फिनल्यान्ड सरकारको एउटा परियोजना चालु रहेका बेला विद्यालयमा सन्थाली, नेपाली र अंग्रेजीमा पढाइन्थ्यो। त्यहाँका अभिभावक भन्थे– हेर्नुस् सर, हाम्रा बच्चाहरू सात/आठ कक्षा पढेपछि विदेश जाने हुन्। विदेशमा प्रयोग हुने भाषा या ट्राफिक सिग्नल/साइन त अंग्रेजीमा हुन्छन्। तपाईंले भनेजस्तो सन्थाल भाषा माथिसम्म पढेर के हुन्छ?” उनले सम्झिए।
योगेन्द्र दुई पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ बने। उनले २०५० सालमा गठन भएको राष्ट्रिय भाषानीति सुझाव आयोगको सक्रिय सदस्यका रूपमा काम गरे। त्रिविको भाषाविज्ञान विभाग प्रमुख बने, १० वर्षजति। तैपनि काम गर्ने हुटहुटी र तिर्सना यथावत् छँदै छ।
“विश्वव्यापी रूपमा हेर्ने हो भने हरेक दुई सातामा एउटा भाषा मरिरहेको हुन्छ भन्ने मान्यता नै चलेको छ। यो शताब्दीको अन्त्यसम्ममा संसारमा रहेका आधा भाषा सकिएर जान्छन् भन्ने छ,“ उनी भन्छन्, “कतिपय स्वाभाविक पनि हो, मान्नुपर्छ। अब मैथिलीभाषी क्षेत्रबाट काठमाडौँ आएको एउटा परिवारका छोराछोरी कि नेपाली या अंग्रेजीमा त स्थानान्तरण भइहाल्छ। तामाङ भाषा भनौँ वा बराम भाषा, अब भाषिक रूपान्तरण भइसकेको छ नयाँ पुस्तामा। तर जनगणना या भाषिक सर्वेक्षणमा कोही जाँदा सबैले आफ्ना भाषा तामाङ या बराम नै लेखाउँछन् जबकि ती भाषाको पकड उनीहरूभन्दा बाहिर गइसकेको हुन्छ।”
उनको बुझाइमा बसाइँसराइ, अन्तर्जातीय विवाह या अरू धेरै कारणले पनि भाषिक हेराफेरी भइरहेको हुन्छ। र भाषा वैज्ञानिकका दृष्टिकोणमा भाषा लोप हुने कुरा स्वाभाविक हो।
“२००१ देखि अहिलेसम्म तीन वटा राष्ट्रिय जनगणनामा भाषा निर्धारणमा म सहभागी थिएँ। भाषाको संख्या त बढ्दै छ। २००१ मा ९० वटा भाषा रहेकोमा अहिले भाषा संख्या बढेर १२७ वटा पुगेको छ। अब पहिले राई एउटै जात थिए, अहिले राई भित्रै २६/२७ वटा पुगेका छन्। अब जनजाति हुनुपर्ने आधारमा हरेक जनजातिको छुट्टै मातृभाषा हुनुपर्छ भनियो। यसो भनेपछि राईभित्रका कुलुङ, वाम्बुले, साङपाङ, थुलुङ सबैका आ–आफ्ना भाषा लेखिन थाले। यसले स्वभावतः संख्या बढायो नै,” उनी भन्छन्।
उनका अनुसार मधेशमा पहिले सबैले भाषामा मैथिली लेखाउँथे। ब्राह्मणले बोल्ने र ब्राह्मणइतरले बोल्ने मैथिली भाषिका भिन्न छ। यस कारण हाम्रो भाषा अलग छ भन्दै अहिले ‘मगही’ पनि लेखाउन थालेका छन् (जबकि दुवै मैथिली हो)। यस्तै, बजिका भाषा (सर्लाही पश्चिम र रौतहट)पनि उत्पत्ति भएको छ। अंगिका भाषा पनि छ, विराटनगरतिर चल्ने। यी सबै मैथिलीसँग मिल्दा छन्।
“मातृभाषामा पूरै पढाइ गर भनेको होइन, कम्तीमा प्राथमिक तहसम्म हुनुपर्छ, अध्ययन अनुसन्धानले देखाएको कुरा हो यो। यसो गरेमा सिकाइ र संस्कृतिको संरक्षण हुन्छ,” यादव भन्छन्, “जति धेरै भाषा जानियो, त्यति तीक्ष्णता बढ्छ, सोचाइ गर्ने क्षमता पनि बढ्छ। शुरूमा मातृभाषा, अनि नेपाली र अंग्रेजीमा सिफ्ट गरे हुन्छ। यसलाई संक्रमणकालीन बहुभाषिक सिकाइ पद्धति भन्न सकिन्छ।”
यादवका अनुभवमा भाषा हराउनु भनेको संस्कृति हराउनु पनि हो। बराम भाषाकै अध्ययन गर्दा पनि उनीहरूको नयाँ पुस्ता नेपाली, अंग्रेजीमा रूपान्तरण भइसकेको पाइएको थियो। बरामभाषीका नयाँ पुस्ताले रूखबिरुवा या खानेकुराको आफ्नो मौलिक नाम भुल्न थालिसकेका छन्।
जीवनका अधिकांश कालखण्ड (झन्डै आधा शताब्दी) प्राज्ञिक चिन्तन मननमा बिताए योगेन्द्रले। उनी त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक हैसियतमा रहे। तर उनका लागि दुवै ठाउँको अनुभव भने भिन्न छ, अलग छ।
“म विश्वविद्यालयमा ‘होम्ली’ अनुभव गर्छु, गर्थेँ। मेरो घरजस्तै हो विश्वविद्यालय। (संयोगले यो कीर्तिपुरको विश्वविद्यालय घर छेवैमा अहिले आफू बस्ने घर छ, अवकाशपछि।),” उनी भन्छन्, “विश्वविद्यालय छँदा मलाई कहिल्यै आफू डोमिनेट भएको थाहा भएन। यहाँसम्म कि उपकुलपतिले पनि सिधै हस्तक्षेप गर्न सक्दैनन्, एउटा पद्धति छ विश्वविद्यालयमा।”
तर उनका भोगाइमा एकेडेमी एकदमै प्रशासनिक खालको छ नेपाल सरकारको कुनै कार्यालयजस्तै। उनी आफू त्रिविबाट एकेडेमी पुगेपछि निकै ‘सफोकेसन’ महसुस गरेका थिए। हरेक कुरा नियन्त्रणमा हुने, फेरि राजनीतिक ‘डोमिनेसन’ पनि उत्तिकै। “प्राज्ञ–प्रज्ञा पनि पार्टीगत जस्तै लाग्छ, अलिक असमावेशी पनि फिल हुन्छ”, उनले अनुभवी स्वरमा भने।
आधा शताब्दी लामो शैक्षिक, प्राज्ञिक र भाषाविज्ञान क्षेत्रको सोध अनुसन्धानमा लागेपछिको ‘रिकगिनसन’का रूपमा प्राडा यादवले यो पटक प्रतिष्ठित जगदम्बा–श्री पुरस्कार प्राप्त गरेका छन्।
“मेरा लागि असोचनीय, अकल्पनीय थियो जगदम्बा–श्री पुरस्कार। यो दुर्लभ अवसर हो। यो तहको सम्मान पाउने व्यक्ति म थिइनँ कि? तैपनि तन्मयतापूर्वक लागिरहेमा फल मिल्ने रहेछ भन्ने लागेको छ,” खुशीको मुद्रामा यादवले सुनाए।
भैँसीको ढाडमा बसेर खेतखलियान चहार्ने, नरहनिया गाउँमा चहारी बस्ने रामटहल, रामभरोस, रामचरित्र (बाल्यकालीन नाम) आज देश दुनियाँमा भाषावैज्ञानिक प्राडा. योगेन्द्रप्रसाद यादव भनेर कहलिएका छन्।
यो सबै फलप्राप्तीको मुख्य श्रेय कसलाई जान्छ? जब सोधियो, जगदम्बा–श्री विजेता प्राडा. योगेन्द्रलाई, उनले सुस्तरी तर ओजपूर्ण लवजमा सुनाए, “आज म यहाँ आइपुगेकोको छु, यसको पहिलो ‘फ्याक्टर’ भनेको म आफैँ हुँ। किनभने मैले पढ्न चाहेँ, जेजस्तै अवस्थामा पनि सधैँभर विद्यार्थी बन्न चाहेँ। मैले कर्म गरिरहेँ, अनि भाग्य मेरो पिछा लाग्यो। मेरो भोगाइ, बुझाइ र सिकाइमा ‘मि–माइसेल्फ फ्याक्टर’ सबैभन्दा महत्त्वपूर्ण हो।”