गण्डकी– पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्धर्वको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा ताजै छन्। पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर ६० वर्षका भए। उनले पुर्ख्यौली पेसालाई भने निरन्तरता दिइरहेका छन्।
गन्धर्व समुदायमा सारंगी बजाउने पेसा बिस्तारै लोप हुन थालेकोले आफूले निरन्तरता दिएको उनको भनाइ छ। “गन्धर्व जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराइसकेको छ,” उनले भने, “पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन।”
सारंगी रेट्दै समाजमा विषयवस्तुलाई गीतको माध्यबाट मानिसको मन छुनेगरी सूचना दिन घरघरमा डुल्नु गन्धर्व जातिको मौलिक लोक संस्कृति हो। वर्षैंदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो।
पहिले–पहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन। गन्धर्वहरू सारंगी रेट्दै गीत गाएर गाउँलेले दिएको नुन, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्थे। यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रूपमा थियो।
रामबहादुरका बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएका हुन्। उनीहरूले जीवनभर यही पेसालाई अँगालेका थिए। आफूले पनि सारंगी रेटेर नै तीन छोरी, एक छोराको पालनपोषण र शिक्षादीक्षा दिने काम गरेको उनी सुनाउँछन्। आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उनले बताए। सारंगीलाई गन्धर्व समुदायको सौभाग्यका रूपमा लिने गरेको उल्लेख गर्दै रामबहादुर भन्छन्, “गन्धर्व समुदायमा बुढापाकाले आफ्ना सन्ततिलाई पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्दै आएका छन्।”
गन्धर्वहरूका लागि जीवनको सर्वस्व नै सारंगी हो। “भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो,” उनले भने, “त्यस समयमा गन्धर्वले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ।”
बाँकी जीवन यही पेसामा समर्पित गर्ने रामबहादुरको रहर छ। नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले भने पिरोलिरहने उनले बताए।