काठमाडौँ– पूर्वी पहाडी जिल्ला तेह्रथुमको म्याङलुङ मूल घर भएकी इङ्वा खापुङ सुब्बाको जन्मसँगै रमाइलो किस्सा जोडिएको छ। उनी बिहानको भुकभुके उज्यालोमा जन्मेकी, त्यो शुभ साइत पनि रहेछ लिम्बू विश्वासमा। त्यही कलिलो बिहानी ‘इङ्वा’को अर्थमा उनको नाम जुरेको रहेछ– इङ्वा।
सानैदेखि कहिले घरेलु बाध्यता त कहिले आफ्नै सोखमा खाना पकाउने रुचिसँगै इङ्वाले आफूमा हुर्काइन्। त्यसमाथि लिम्बू चलनको आफ्नै जातीय र सांस्कृतिक स्वादका खान्कीमा उनलाई लतझैँ लागेको रहेछ।
चलनमा रहँदै आएका खानेकुरामा पनि नयाँ शिल्पी र स्वाद भरेर पकाउने अभ्यास बढेपछि त्यही लत उनमा हुर्किएको रहेछ। “गाउँशहर जतै बसे पनि अथवा जुनै काममा व्यस्त रहे पनि खानेकुरामा, पकाउने र स्वाद खोज्ने कुरामा म सधैँ लागिरहेँ,” नेपालमा प्रचलित बनेको सेफ नेपालको रियालिटी शोमा ‘टप–थ्री’ प्रतिस्पर्धी बनेकी इङ्वाले उकालोसँग भनिन्, “मलाई बच्चैदेखि खाना बनाउने सोख थियो। जहाँ जे नयाँ आइटम देख्यो, त्यो बनाइहाल्नु पर्ने। घरमा बुबाले पनि मेरो सोखलाई मलजल गरिदिनुभयो, जे सामग्री पनि जोरजाम गरिदिने।”
आफू सेफ नेपालको प्रतिस्पर्धामा जानु अघिसम्म यो खानपिनको पेसामा, पकाउने र स्वाद पस्कने काममा आफू ढुक्कैसँग अगाडि बढौँला भन्ने उनलाई लागेकै रहेनछ उनलाई। तर, सोख र अवसर दुवै मिलेझैँ भएको छ इङ्वालाई। अहिले झम्सीखेलको सोल रेस्ट्रो एन्ड बारमा आफ्नो ‘जिन’मै गडेको लिम्बू खान्कीका परिकार पकाउनमा व्यस्त भेटिन्छिन् इङ्वा। यसअघि पोर्क–हबका नामले चलेको यो रेस्टुराँमा अपनत्वको स्वाद थप्न आफू यहाँ आइपुगेको इङ्वाको भनाइ छ।
इङ्वा म्याङ्लुङ गाउँघर छदैमा चाडपर्व, भोजभतेरमा मुख्य भान्सेझैँ खटिन्थिन्। घरपरिवारमा कुनै कार्यक्रम आइपरे खानेकुरा बनाउन अघि सरिहाल्थिन्। सबैले उनको पकवान र खान्की स्वादको वाहवाही गर्थे। त्यही सिप र सोखका भरमा जिल्लामै एक संस्थाको क्यान्टिन सञ्चालक बनेकी थिइन्। त्यो उनका लागि एक चरणको सिकाइ र बुझाइ थियो।
संघर्षकै क्रममा काठमाडौँ आएपछि सातदोबाटोमा चियाखाजा पसल पनि खोलिन्। तर त्यसलाई कोभिड–१९को संक्रमणले थला पार्यो। त्यसपछिको फुर्सदमा भिडियो शेयरिङ प्लेटफर्म युट्युब तथा टिकटकमा जोडिएर परिकार बनाउने र स्वाद पस्कने अभ्यासमा लत बढाइन्। “घरमा बसेका बेला पनि अन्तर्राष्ट्रिय कुकिङ शो हेरिरहन्थेँ। नेपालमा पनि यस्तो शो भए हुन्थ्यो भन्ने लाग्थ्यो। एक दिन फेसबुक खोल्दा सेफ नेपालको प्रतिस्पर्धा हुँदै गरेको थाहा पाएपछि भाग लिएकी थिएँ,” उनले सुनाइन्। यो अठोट र इच्छाकै कारण इङ्वा सेफ नेपालका १०० प्रतियोगीमाझ छानिएर ‘टप–थ्री’मा पुग्न सफल भइन्। यद्यपि सेफ नेपालको उपाधि भने अजुइहाङ राईले जिते।
“हामीमाझ चल्दै आएको खानेकुरालाई सिर्जनशीलताका नाममा जे जसरी तोडमोड गरिन्छ, मैले त्यसो गरिनँ। मैले भने सधैँ स्थानीय स्वादका आफ्नै खानेकुरालाई पस्कन चाहेकी छु, त्यसको प्रशंसा बढी नै पाएकी छु,” उनले भनिन्। आफूसँग खानेकुराको ‘सिद्धान्त’ नभए पनि ‘व्यवहार’ भएको उनले दाबी गरिन्।
अर्ग्यानिक मोह
इङ्वा प्रचलनमा आएका अधिकांश परिकार बनाउन सक्छिन्। अहिले प्रचलनमा रहेका फास्टफुडदेखि विभिन्न विदेशी परिकार उनले बनाउने गरेकी छिन्, पढेर होइन परेर। विशेषतः नेपाली रैथाने परिकारलाई उनले प्राथमिकतामा राख्ने गरेकी छिन्। उनले नेपाली स्थानीय परिकार, सेलरोटी, मासुका परिकार, स्थानीय सामग्रीबाटै विभिन्न थरीका अचार बनाउने गरेकी छिन्, ती पनि सबै अर्ग्यानिक।
उनी विभिन्न समुदायमा प्रचलित अधिकांश परिकार बनाउन खप्पिस छिन्। त्यसमा पनि लिम्बू समुदायभित्र चल्तीमा रहेका परिकारमा उनको रुचि र परख बढी छ। उनी यो जातीय परिकारलाई एकसाथ संस्कृति, सभ्यता र स्वादमा मिसाएर फैलाउन चाहिन्छन्। खानेकुरामा अपनत्व भित्राउनु भनेको आफ्नै बारीको उत्पादन र आफ्नै घरमा बनेको मरमसलाको जोहो गर्नु पनि हो। इङ्वा यसै गर्छिन्।
त्यसमाथि लिम्बू संस्कृति, खानपिन र संगीतकी ज्ञाता गायिका झुमा लिम्बूसँगको सहकार्यमा सोल रेस्ट्रो एन्ड बारमा स्वादको विविधता पस्कने उनको अठोट अगाडि बढिसकेको छ। मुन्धुम गायिका झुमाका अनुसार सोल रेस्ट्रो (स्पेनिस अर्थमा सूर्य र संगीतको संवेगात्मक अर्थ)मा लिम्बू खानाका साथै मेक्सिकन परिकार पनि पाइनेछ।
सोलमा अब किनेमा परिकार (लिम्बू अर्थमा चेम्वीगीक), साग्र्याङमा, याङ्बेन, सिस्नु–खोले–दाल, गुन्द्रुक इन्स्टेन्ट–सुप, तोङ्वा, तीनपाने, पोर्क–पक्कु, खासी–पोर्क (सिलोङ स्वादको सुँगुर) लगायतका सुस्वादु परिकारहरू पाइनेछन्।
“अब झम्सीखेल सोलमा खान्कीको उत्सव चल्नेछ,” इङ्वा भन्छिन्, “फुड सर्भिस विथ अर्ग्यानिक लभ!”