सन्तबहादुर गुरुङ। तस्वीर: श्याम/उकालो
पोखरा– छपनी ढुंगाले टम्म मिलाएर बनाइएका बाटोमा कति दिनदेखि मान्छे नहिँडेका होलान्! पल्लो डाँडासम्म आँखा मिलिक्क नगरी हेर्दा पनि कोही मान्छे देखिँदैनन्।
“सिधानेमा तपाईँहरूलाई स्वागत छ,” लेखिएको अग्लो स्वागत गेट छँदैछ। गेटसँगै ‘तल्लो सिधाने होमस्टे, पोखरा–२३’ लेखेको देखिन्छ। हाम्रा पाइला त्यतै सोझिए। झम्के साँझमा गाउँ पुग्दा घरगोठ रित्तै थिए। भित्र बिजुलीको उज्यालो थियो, गुनगुन गरेको आवाज बाहिरसम्मै सुनियो।
हामीले पहिलो घरमै बासका लागि सोध्यौँ।
होमस्टे सञ्चालनको स्थानीय नीतिबमोजिम गाउँमा आइपुगेका पाहुनालाई आलोपालो बासको व्यवस्था गर्ने चलन रहेछ। हामी त्यही घरका मान्छेले दिएको निर्देशन पच्छ्याउँदै सन्तबहादुर गुरुङको घर पुग्यौँ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि राज्य पुनर्संरचना हुँदा साबिक पोखरा उपमहानगरलाई महानगरपालिका बनाइयो। साबिक भदौरे र तामागी गाविस पनि पोखरा महानगरमा गाभिए।
महानगरमा गाभिएपछि विकास निर्माणका कामले तीव्रता पाउने स्थानीयको आशा थियो। तर झुरुप्प परेको सानो बस्तीका ढोकामा ताल्चा ठोकेर गाउँ बिस्तारै शहर झरिरहेको छ। हामीलाई बास दिएर बेलुकाको भान्छा तयारी गर्न थालेका सन्तबहादुरसँग हामी केहीबेर गफियौँ।
उनका अनुसार सिधानेमा ‘घरबास कार्यक्रम’ अर्थात् होमस्टे शुरू भएको १४ वर्षभन्दा बढी भइसकेको रहेछ। २०६७ सालदेखि विधिवत दर्ता गरी सामूहिक रूपमा सञ्चालन हुँदै आएको होमस्टेमा आलोपालो प्रणालीमार्फत पाहुना बसाइन्छ। “कोहीमा धेरै पाहुना आउने, कोहीमा आउँदै नआउने भएपछि पालो सिस्टम शुरू भयो,” उनी भन्छन्।
गाउँमा सामूहिक घरबासको योजना शुरू हुनुअगावै सन्तबहादुरले एकल प्रयासमा बास माग्न आउनेलाई राख्ने प्रबन्ध मिलाएका थिए। “पाहुना कोही हिँडेर आउने, कोही गाडीमै पनि आउने, कोही बाइकमा आउने र बस्ने ठाउँ पाइन्छ कि भनेर सोध्थे,” उनी भन्छन्, “ए यसरी मान्छे आउँदोरहेछ त भनेर बस्ने ठाउँ बनायौँ। आज तपाईं आउनुभयो, त्यहाँ त त्यस्तो छ भनेर भनिदिनुभयो। त्यसरी प्रचार हुँदाहुँदै नेपाली पर्यटकहरू सँगै विदेशी पनि आउन थाले।”
आउनेजाने गर्दागर्दै बिस्तारै यो क्रम पनि बढ्दै गयो। सिधानेको शिरमाथि प्रख्यात धार्मिकस्थल पञ्चासे भएको हुनाले मान्छेहरू त्यहाँ आउजाउ गर्छन्। पञ्चासेमा मंसिरमा सतबिज छर्ने मेला नै लाग्छ। मान्छेको भीडभाड निकै हुन्छ।
पोखराको मुख्यबजारदेखि आउँदा मन्दिरसम्म पुग्न नसक्ने अवस्था आएपछि धेरै जनाले बास खोजे। अनि शुरू भयो घरबास कार्यक्रम। “माथि पुग्न अलि समय लाग्ने भयो। जान नसक्ने, यहाँ बसेर माथि जान सजिलो भयो पोखराबाट आउँदा। माथितिर अलि महँगो पनि पर्न जान्छ,” उनी भन्छन्।
होमस्टे सञ्चालनमा आइसकेपछि गाउँमै फलेका अर्गानिक अनाजको तिक्खर स्वाद पनि लिन पाउने हुँदा पर्यटक आकर्षित भएका छन्।
तर अहिले समयले कोल्टे फेर्दैछ। कुनै बेला गुल्जार बस्ती रित्तो हुँदैछ। पहिले पाँच घरले शुरू गरेको होमस्टे अहिले तीन घरमा खुम्चिएको छ। सन्त भन्छन्, “कोही बिरामी हुने उमेर पनि भयो, नसक्ने भए। घरहरू खासै धेरै छैनन्। धेरैजसो बसाइँसराइ गरेर शहरतिर लागिसके।”
एक समय थियो– कुनै घरमा मर्दापर्दा सबै गाउँले जुट्थे। अहिले त बिरामी भइहाले पोखराबाट मान्छे नआएसम्म उद्धार गर्न गाह्रो छ। यस्तो सम्झँदा पनि दुःख लाग्ने उनी बताउँछन्।
अहिले सिंगो गाउँमा २६÷२७ जना मात्रै छन्। ३०–३५ घरधुरी रहेको गाउँ बसाइँसराइले खाली बनाएको छ। छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन आमाबाबु नै शहरतिर लागेको सन्तबहादुर बताउँछन्।
गाउँको सिधाने आधारभूत विद्यालय र हर्पन माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या खस्किँदै गइरहेको उनले सुनाए। गाउँमा प्राथमिक उपचार पाए पनि अन्य स्वास्थ्य सेवा लिन पोखरा बजारतिरै दौडिनुपर्छ।
१५ वर्षअघि गाउँसम्म मोटरबाटो पुगेको थियो। तर बर्खायाममा सवारीसाधन चल्दैन। खाद्यान्नको व्यवस्था पहिला नै नगरे मुस्किल पर्छ। आफ्नो थातथलोमै अडिइरहन सवारीको सहज आवागमनले बाधा नपारिदेओस् भन्ने लागेको सन्त बताउँछन्। “महानगरपालिकाले बाटो पिच गरिदिए, पहिरो गएको ठाउँमा सफा गरिदिएर सडक सुचारू गरिदिए हुन्थ्यो,” उनी भन्छन्, “वडाबाट पनि हुनुपर्ने हो, अब के हुने हो?”
गाउँ छोडेर बेलायत पुगेकाहरूले एम्बुलेन्सको व्यवस्था गरिदिएका छन्। सरकारका निकायबाट भने कुनै सुविधा पाउन नसकेको सन्तबहादुरको गुनासो छ। “वडाले त केही पनि सुविधा दिएको छैन। बाटो पिच गर्दै छ। भदौ, असोजमा माथिल्लो सिधाने, अर्को साल भञ्ज्याङ नै पुर्याउने लक्ष्य छ केरे, अब के हुने हो!” उनी भन्छन्, “हिउँदमा भञ्ज्याङसम्म गाडी चल्थ्यो। जीप त जसरी पनि चल्छ। बाटो ब्लक भएको छ पहिरोले, बस पनि बाटोको समितिले जहाँसम्म जान्छ त्यहाँसम्म जानुपर्छ भनेर दमदमेसम्म आइरहेको थियो।”
गाउँ छोडेर शहर गएकाहरू पनि आपतमा सहयोग गर्न र चाडपर्वमा सामेल हुन फर्कने गरेका छन्। बालाचर्तुदशीलगायत अनुष्ठानमा सबै एकजुट हुने गरेको उनले सुनाए। तर गाउँ छाडेर हिँडेका कतिञ्जेल आइरहलान्! उनी पनि होमस्टे कुरेर कहिलेसम्म गाउँ बसिरहलान्। सन्तबहादुरसँग जवाफ छैन।