लद्दाख, भारत– यही असार दोस्रो साता लद्दाख भ्रमणमा निस्कँदा धनगढीबाट गाडी चढेर सात घण्टामा भारतको राजधानी दिल्ली पुगेका हामीसँग लद्दाखसम्म पुग्न दुई विकल्प थिए। पहिलो, एक घण्टा लामो दिल्ली–लद्दाख हवाई यात्रा। दोस्रो, २० घण्टा लामो ९३५ किमीको सडक यात्रा। हामीले पहिलो विकल्प रोज्यौँ। र, दोस्रो दिन बिहानै लद्दाख पुग्यौँ। ‘हाई अल्टिच्यूड’ले स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्ने सुझाव गाइडबाट पाएकाले त्यो दिन आराम गरेरै बितायौँ। साँझमा होटल नजिकैको मुख्य बजार घुम्न निस्कियौँ।
भ्रमणको तेस्रो दिन अर्थात् लद्दाख पुगेको दोस्रो दिन थिन्लेस नामग्याल हाम्रो चालक थिए। गाइडको काम पनि उनैले गरिदिन्थे। हामी बसेको सोकर रिट्रिट होटलले घुमाउने जिम्मा थिन्लेसलाई दिएको थियो। नेपाली भनेर चिनेपछि उनले पहिलो भेटमै भने, “लेहस्थित शे गुम्बामा पाँच सय वर्ष अघि नेपाली कालिगडहरूले बनाएको बुद्धको विशाल मूर्ति छ।”
चौथो दिन पेङ्गाग तालबाट फर्कंदै गर्दा हामीले बुद्धको मूर्ति रहेको शे गुम्बा जाने निधो गर्यौँ। लेह सदरमुकामबाट झन्डै १५ किलोमिटरको दूरीमा लेह–मनाली सडक किनारको बायाँतर्फ पुरानो दरबार छ। त्यहीसँग जोडिएको शे गुम्बामा छ, शाक्यमुनि बुद्धको भीमकाय मूर्ति।
ढल्दै गरेको दरबार भग्नावशेषका रूपमा बाँकी छ, तर छेउमै रहेको गुम्बा भने प्राचीन इतिहास बोकेर उभिएको छ। यही गुम्बासँग नेपालको साइनो जोडिएको छ।
२६ फिट अग्लो शाक्यमुनि बुद्धको यो मूर्ति बनाउन आठ किलो सुन र १२० किलो तामा प्रयोग गरिएको बताइन्छ। “सन् १६५५ मा राजा देल्दन नामग्यालले आफ्ना पिता राजा सेंगे नामग्यालको सम्झनामा यो मूर्ति बनाउन नेपालबाट कालिगडहरू झिकाएका थिए,” गुम्बाका भिक्षु जिग्देनले भने, “लद्दाखको यो दोस्रो ठूलो मूर्ति हो जसलाई बनाउन दुई दशक भन्दा धेरै समय लागेको थियो।”
लद्दाखका राजाको आग्रहमा नेपालका तत्कालीन राजाले शाक्यमुनि बुद्धको मूर्ति बनाउन ३० जना कालिगडलाई लद्दाख पठाएका थिए।
लद्दाख पुगेका कालिगडहरू मूर्ति बनाएपछि फर्केर आएनन्। लद्दाखका राजाले उनीहरूलाई जग्गा र सम्पत्ति दिएर उतै राखे। जसमध्ये मुख्य कालिगडका लागि दरबारछेउमै घर बनाइदिएका थिए। खेतीपातीका लागि नजिकैको गाउँमा जमिन पनि दिएका थिए। २८ जनालाई लद्दाखबाट ३५ किलोमिटर दूरीमा पर्ने चिलिङ गाउँमा बसाइएको थियो। एक जनालाई भने चेम्डेमा राखियो।
शे गुम्बाको अवलोकनपछि बुद्धको त्यो विशाल मूर्ति बनाउने कालिगडका सन्तानलाई भेट्ने हुटहुटीले हामीलाई लेहको मुख्य बजारसम्म डोर्यायो।
मुख्य बजारको पश्चिमपट्टि सामसङको शो रुम छ। त्यसकै अघिल्तिर हामी एउटा सानो गल्लीभित्र पस्यौँ। हामीलाई भित्री गल्लीमा रहेको सुन पसल ‘फाइन आर्ट्स् गोल्ड स्मिथ’ मा एक जनाले पर्खिरहेका थिए। उनी रहेछन् ५२ वर्षीय फुञ्चुक दोर्जे। दोर्जेसँग मोबाइलमा भएको कुराकानी र उनले बताएको बाटो पछ्याएर हामी त्यहाँ पुगेका थियौ। सुन पसलमा दुई जना थिए। एक जनाले हामीलाई भित्र बोलाए।
साँघुरो पसलमा बस्ने ठाउँ थिएन। उनले त्यहाँबाट हामीमाई एउटा कफी शपमा लिएर गए। हामी उनको कुरा सुन्न उत्सुक थियौँ। आफूलाई मुख्य कालिगडको सन्तान बताउने दोर्जेले कुरा शुरू गर्दै भने, “हाम्रा पुर्खालाई लद्दाखी राजाले शाक्यमुनि बुद्धको मूर्ति बनाउन झन्डै पाँच सय वर्षअघि नेपालबाट झिकाएका थिए। मूर्ति बनाएपछि उहाँहरू नेपाल फर्किनुभएन। यतै बस्नुभयो।”
उनीहरू नेपालको कुन ठाउँबाट त्यहाँ पुगे होलान् त? फुञ्चुक दोर्जेले सोलुखुम्बु जिल्ला आफ्नो पुर्ख्यौली थलो रहेको अनुमान गरे। तर उनी कन्फर्म भने छैनन्। त्यसका लागि सोधीखोजी गर्न सोलु जान पाएका छैनन्। सन् १९९० मा उनी सानै थिए। त्यहीबेला हजुरबुवा र बुवासँग नेपाल गएको सम्झनाबाहेक उनीसँग नेपालका अरू कुनै याद साथमा छैनन्।
उनले सुनाएअनुसार लद्दाखमा उनका बाजेको नाम सरकारी ढड्डामा पम्बर सुनार लेखिएको थियो। उनका बुवाले दोर्जे लेख्न थाले। त्यसपछि उनी पनि दोर्जे भए।
लद्दाखमा स्थानीय बोलीचालीको भाषामा नेपालबाट आएकालाई ‘सेरगर’ भन्ने गर्छन्। सेरगर भन्नाले सुनको काम गर्ने सुनार भन्ने बुझाउँछ। “सायद मूर्ति बनाउने भएकाले हाम्रो थर सुनार लेखियो होला। तर हाम्रो परिवारमा कसैले सुनारको काम भने गरेको थिएन,” उनले भने, “तर मैले पछि यसैलाई पेशा बनाएँ। यो पसल भने मेरो होइन, साथीको हो।
पसलमा सघाएबापत साथीले पैसा दिन्छन्, त्यहीबाट उनको गुजारा चलेको छ।
उनका साथी मुस्लिम हुन्। दोर्जे आफूलाई हिन्दु मान्छन्। तर लद्दाखमा उनी बौद्धमार्गीका रूपमा चिनिन्छन्। बौद्ध धर्मकी अनुयायी उनकी छोरी दलाई लामाको संगतमा भिक्षु भइन्।
उनी सबैभन्दा पहिले गणेशको पूजा गर्छन्। त्यसपछि बुद्धको। “पुर्खाहरू हिन्दु थिए, नेपाल गएर मेरो हजुरबुवाले साथमा गणेशको मूर्ति लिएर आउनुभएको थियो,” दोर्जे भन्छन्, “हजुरबुवापछिको पुस्ता बौद्ध परिवेशमा हुर्कियो। हामी बौद्धमार्गी भयौँ। यद्यपि मेरो पहिलो धर्म हिन्दु हो। त्यसपछि मात्र हामी बुद्धिष्ट हौँ।”
उनी गणेश भगवानलाई आफ्नो कुलदेवता मान्छन्। गणेशको कृपाले आफ्नो पुर्खाले लद्दाखमा नाम कमाएको उनको विश्वास छ। सेनामा कार्यरत उनका बुवा सिकिस्त बिरामी भएर चण्डिगढ अस्पतालमा भर्ना गरिएका बेला परिवारमा उनी बाँच्ने आशा नरहेको, चिकित्सकले पनि घर लैजान सुझाव दिएको, तर गणेश भगवानप्रतिको अगाध विश्वासकै कारण बुवाको जीवन जोगिएको भन्दै उनले सुनाए, “घरमा गणेशको पूजाआराधना गरेको एक हप्तामा त बुवा सन्चो भएर आउनुभयो।”
नेपाली भन्नसाथ हुरुक्कै हुने दोर्जेले नेपाली मूलकी महिलासँग विवाह गरे। उनकी पत्नी प्रस्टसँग नेपाली बोल्छिन्। “पुर्खाको थातथलो पत्ता लगाउन नेपाल जान मन त छ, तर त्यत्रो पैसा छैन,” उनले आफैभित्र दबाएको धोको सुनाउँदै भने, “पुर्खाको थलो पत्ता लगाउने इच्छा दबाएरै बसेको छु।”
लद्दाख र मुस्ताङका समानता
हिमालपारिको जिल्ला भनिने मुस्ताङ र भारतको लद्दाखबीच धेरै समानता छन्। यहाँको भू–बनोट, धर्म, संस्कृति र परम्परा पनि समान छन्। लेह, लद्दाखमा बौद्धमार्गीको बाहुल्य छ जहाँ प्राचीन गुम्बा र दरबारहरू छन्।
मुस्ताङझैँ लद्दाख हिमश्रृंखलाले घेरिएको छ। यहाँका अधिकांश भू–भाग ६ महिना भन्दा लामो समय हिउँले ढाकिन्छन्। अझ कतिपय भू–भाग यस्ता पनि छन् जहाँ बाह्रै महिना हिउँ रहन्छ। लद्दाखको एउटा भूगोल लेह हो र यही नै यो सानो उपत्यकाको राजधानी हो।
क्षेत्रफलको तुलनामा नेपालको मुस्ताङ र लद्दाख दुवै भूगोलमा जनसंख्या थोरै छ। लद्दाख भारतको केन्द्र शासित प्रान्त हो जसको उत्तरमा काराकोरम पहाड र दक्षिणमा हिमालय शृंखला छ। यो भारतको सबभन्दा कम जनसंख्या भएको केन्द्रशासित भू–भाग हो। यसको पूर्वमा चीनको स्वशाशित क्षेत्र तिब्बत पर्छ। दक्षिणमा भारतको हिमाञ्चल प्रदेश र पश्चिममा केन्द्रशासित जम्मु कश्मीर र पाकिस्तान अधीनस्थ गिलगित बल्टिस्तान छ।
सुदूर उत्तरमा काराकोरम पर्वत शृंखलासंग जोडिएको अक्साई भूभाग, जो चीनको नियन्त्रणमा छ, त्यसमाथि भारतले दाबी गर्दै आएको छ। यो भू–भाग सन् १९६२ को युद्धपछि चीनको अधीनमा पुगेको हो।
लद्दाख पहिले जम्मु कश्मीरको हिस्सा थियो। ३१ अक्टोबर २०१९ मा भारतको संसद्ले जम्मु तथा कश्मीर पुनर्गठन अधिनियम पारित गर्यो, यो सँगै धारा ३७० हटाई यसलाई केन्द्र शासित प्रदेश बनाइयो।
लद्दाख अन्तर्गत दुई वटा जिल्ला छन्– लेह र कारगिल। लोकसभाको सिट भने एउटै छ। कुल क्षेत्रफल १ लाख ६६ हजार ६९८ बर्ग किलोमिटर रहेको लद्दाखमा दुई तिहाइ भू–भाग चीन र पाकिस्तानको अधीनमा छ। भारतको अधीनमा ५९ हजार १४६ वर्ग किलोमिटर छ। लद्दाखको (भारत शासित) जनसंख्या भने २ लाख ७४ हजार २८९ मात्र छ जसमध्ये ठूलो हिस्सा कारगिलमा छ।
सन् १९९९ मे ३ मा पाकिस्तानसँग भएको कारगिल युद्ध र त्यसअघि १९६२ अक्टोबर २० देखि नोभेम्बर २१ सम्म चीनसँग भएको एक महिना लामो युद्धपछि भारतले लद्दाखसँग जोडिएको अक्साई गुमाएको थियो। त्यसपछि भारतले लद्दाखमा ठूलो संख्यामा सुरक्षाबल तैनाथ गर्यो। अहिले लद्दाखका सडकमा सुरक्षा बलका गाडीहरू बाक्लै संख्यामा कुद्नु सामान्य मानिन्छ।
बेलाबेलामा सीमा क्षेत्रमा हुने झडपका घट्नाले लद्दाखको शान्तिमा भने खासै असर गर्दैनन्। यहीकारण लद्दाखमा ठूलो संख्यामा पर्यटक पुग्छन्। चीन र भारतमा फैलिएको १३४ किमी लामो पेङ्गग तालमा सन् २००९ मा ‘थ्री इडियट्स्’ र २०१२ मा ‘जब तक है जान’ फिल्म छायांकन भएपछि लद्दाखमा भारतीय पर्यटकहरूको भीड थेगिनसक्नु छ।
लद्दाखमा हरेक वर्ष लाखौँ पर्यटक भित्रिनुको मुख्य कारण यसको सुन्दरता नै हो। मनमोहक लेह, सुन्दर हिमालहरू, बिछट्टै आकर्षक पेङ्गग ताल। जति हेरे पनि हेरिरहूँ लाग्ने यहाँका मनोरम दृश्यहरू। अद्वितीय कलात्मक प्राचीन गुम्बा र दरबारहरू यहाँका थप आकर्षण हुन्।
सुरक्षाका दृष्टिले संवेदनशील भारतको विकट भूगोल लद्दाखमा पर्यटक ओइरिने मुख्य कारण भने ‘कनेक्टिभिटी’ हो। राजधानी दिल्ली, हिमाञ्चल र जम्मु कश्मिरसँगको हवाई र सडक सुविधा यति सहज र भरपर्दो छ, जसले पनि लद्दाखको यात्रा सजिलै गर्न सक्छन्।
केही जोखिम मोलेर मोटरसाइकलको रोमाञ्चकारी यात्रा गर्नेहरू लद्दाखको सुन्दरताका अगाडि सबै कुरा बिर्सिन्छन्।
१७ हजार पाँच सय फिट उचाइमा रहेको चाङ्ला पासको यात्राका क्रममा ‘हाई अल्टिच्यूड’ का कारण स्वास्थ्यमा आउन सक्ने समस्यालाई भने नजरअन्दाज गर्न मिल्दैन। त्यसका लागि सावधानी र सजगता अपनाउनैपर्ने हुन्छ।
भारतका लागि लड्ने गोर्खाली
३ मे सन् १९९९ मा तीन महिना तीन हप्ता दुई दिनसम्म भारत र पाकिस्तानबीच भएको कारगिल युद्धमा दुबैतर्फ ठूलो क्षति भयो। अन्तिममा युद्ध भारतले जित्यो।
त्यसअघि सन् १९६२ मा चीनसँग भएको युद्धमा भारतले क्षति व्यहोरेको थियो। त्यहीबेला भारतले आफ्नो भू–भाग अक्साई गुमाएर चीनको अधीनमा पुगेको थियो। त्यसपछि पनि चीन र पाकिस्तानी सीमामा थुप्रै घटनाहरू भए।
यी दुवै लडाइँमा भारतको तर्फबाट गोर्खाली फौजका नेपालीले वीरतापूर्वक लडे। सयौँले ज्यान गुमाए। गोर्खा राइफल्समा कार्यरत मेजर धनसिंह थापा तिनैमध्ये थिए। २० अक्टोबर १९६२ मा तीनवटा मोर्चामा चिनियाँ फौजलाई रिजंगलामा परास्त गरेका थापा चिनियाँ फौजको नियन्त्रणमा नआएसम्म लडे। चिनियाँ फौजविरुद्ध अदम्य साहससाथ लडेबापत परम वीर चक्र पाएका थापाको वीरताको गाथा लेहबाट १० किलोमिटर दूरीमा रहेको ‘हल अफ फेम’ मा लेखिएको छ। उनलाई लडाइँको मोर्चामा साथ दिने सुबेदार थिए ट्वाईसी (सेकेन्ड इन्चार्ज) मीनबहादुर गुरुङ।
गुरुङले एलएमजी प्रहार गरेर थुप्रै चिनियाँ सैनिकलाई ढालेका थिए। त्यही क्रममा उनी आफै चिनियाँ फौजद्वारा प्रहार गरिएको रकेट लञ्चरले बंकरभित्र पुरिएका थिए। उनी त्यहाँबाट समेत निस्किएर चिनियाँ फौज विरुद्ध जाइलागेको, त्यसक्रममा चिनियाँ फौजतर्फ ठूलो क्षति पुर्याएको र अन्त्यमा चिनियाँ फौजको आक्रमणमा ज्यान गुमाएको अभिलेखले देखाउँछन्।
लडाइँपछि थापालाई लेफ्टिनेन्ट कर्णेलमा बढुवा गरेको भारत सरकारले उनलाई परम वीर चक्र प्रदान गरेको थियो। त्योसँगै भारत सरकारले उनको सम्मानमा पेङ्गाग तालको उत्तरी किनारमा रहेको पोस्टको नाम धनसिंह थापा पोस्ट राख्यो।
सन् १९४८ देखि हालसम्म पाकिस्तान र चीनसँग भएका विभिन्न युद्ध र लडाइँमा वीरतासाथ लड्ने भारतीय फौजका बहादुर सिपाहीको गाथा लेखिएको छ। जहाँ थापासँगै चीन र पाकिस्तानसँगको लडाइँमा बहादुरीका साथ लडेका गोर्खालीहरूको गाथा पनि अंकित छ।
सन् १९४८ मा भारतीय सेनाको नेतृत्व गरेर पहिलो पटक मनाली हुँदै लेह पुगेका गोरखा राइफल्सका मेजर हरि चन्दले १८ हजार फिटको उचाइमा पाकिस्तानी फौजलाई परास्त गर्दै लेहमा भारतको झन्डा फहराएका थिए। त्यसअघि यति उच्च हिमाली क्षेत्रमा लडाइँको अनुभव नभएको भारतीय सेनाले चन्दको नेतृत्वमा सफलता हात पारेको थियो। र, लेहबाट पाकिस्तानी फौजलाई पछि हट्न बाध्य बनाएको थियो।
पाकिस्तानी फौजसँगको लडाइँमा वीर गति प्राप्त गरेका उनलाई मरणोपरान्त लेफ्टिनेन्ट कर्नेलमा बढुवा गर्दै भारत सरकारले उनको पराक्रमको कदर गरेर महा वीर चक्र प्रदान गरेको थियो। उनको तस्वीरसहित वीरताको गाथा पनि ‘हल अफ फेम’मा लेखिएको छ।
त्यही लहरमा २१ अक्टोबर १९६२ मा लद्दाखको श्रीजाप पोस्टमा चिनियाँ फौजद्वारा गरिएको आक्रमणमा भारतीय फौजलाई जोगाएबापत महा वीर चक्र पाउने गोरखा राइफल्सका नायक रविलाल थापाको बहादुरीको गाथा लेखिएको छ। उनले श्रीजाप पोस्टपछि अर्को पोस्टमा कार्यरत भारतीय फौजलाई समेत चिनियाँ आक्रमणबाट कुशलता र बहादुरीसाथ जोगाएका थिए। अन्तिममा आफ्नो फौजलाई चिनियाँ आक्रमणबाट जोगाउन थापा डुंगाबाट पेगांग ताल पार गराइरहेका थिए। त्यहीबेला चिनियाँ फौजले आक्रमण गरी डुंगा ध्वस्त गरिदिए पनि उनी आफ्ना साथीहरूलाई जोगाउन सफल भएका थिए। त्यसबापत भारत सरकारले उनलाई महा वीर चक्र प्रदान गरेको थियो।
पाकिस्तान र चीन सीमामा विभिन्न समयमा भएको लडाइँमा अदम्य साहससाथ सीमा रक्षाका लागि लडेबापत महा वीर चक्र प्राप्त गर्ने मेजर राजेश सिंह अधिकारी, नायक प्रेम बहादुर गुरुङ, लान्स हवलदार नरबहादुर आलेलगायत गोर्खालीहरूको वीरताको गाथा ‘हल अफ फेम’मा लेखिएको छ। त्यसमा कुँदिएका तस्वीर र त्योसँगै लेखिएको वीर गाथाले लद्दाखसँग नेपालीको साइनो गौरवपूर्ण रहेको देखाउँछ।
रेस्टुरेन्टदेखि र्याफ्टिङ, जताततै नेपाली
लेहको सबभन्दा व्यस्त ‘द टिबेटियन किचेन’मा राति १२ बजेसम्म विदेशी पर्यटकको भीड थेगिनसक्नु छ। सय जनाको क्षमता रहेको रेस्टुरेन्टमा साँझ नपर्दै टेबुल बुक गर्नुपर्छ। नभए बस्ने ठाउँ पाइँदैन।
दिउँसो १२ः३० बजे खुल्ने ‘द टिबेटियन किचेन’मा म्यानेजरदेखि सेफ, वेटर सबै नेपाली छन्। यहाँ ३६ जना नेपाली कार्यरत छन्। म्यानेजर बुटवलका ज्ञानबहादुर राना मगर छन्। “विभिन्न परिकार र तिनको स्वादका कारण हाम्रो रेस्टुरेन्ट विदेशी पर्यटकको पहिलो रोजाइमा पर्छ,” म्यानेजर मगर भन्छन्, “राति १२ बजेसम्म त हामीलाई काम गर्न भ्याइनभ्याई हुन्छ।”
जति ग्राहक टेबलमा परिकार खाइरहेका हुन्छन्, त्यो भन्दा पनि धेरै टेबलको पखाइमा कुरिरहेका हुन्छन्। साँझ छिप्पिँदै गएपछि ‘द टिबेटियन किचेन’मा ग्राहकको भीड बाक्लिँदै जान्छ। मगर भन्छन्, “त्यसैले दिउँसै ग्राहकले आफ्नो लागि टेबल ‘बुक’ गर्छन्।”
लेहको मुख्य भागमा रहेको यो रेस्टुरेन्ट मात्र होइन, चीन नजिकको भारतको अन्तिम बस्ती मेरकको ग्रान्ड हिमालय होटलको म्यानेजरदेखि वेटरसम्मको भूमिकामा नेपाली युवाहरू कार्यरत छन्।
दाङ, तुलसीपुरका २४ वर्षीय अनन्त पुन मगर होटल म्यानेजरको भूमिकामा छन्। बुवा आमासँग दुई वर्षको हुँदा भारत आएका अनन्त त्यसयता भारतमै छन्। हेटौँडाका विनोद पौडेल होटलको मेन सेफ हुन्। प्युठानका २३ वर्षीय योगी बुढामगर, बागलुङका विकास थापा र हेटौँडाका सुदीप लामा पनि त्यही होटलमा काम गर्छन्। छ महिना हिउँले ढाकिने मेरकमा इन्टरनेट र टेलिफोन सुविधा छैन। कहिलेकाहीँ सेनाले छाड्ने इन्टरनेट सेवा लिन क्याम्प वरिपरि त्यहाँका धेरै जना झुम्मिन्छन्।
होटलमा इन्टरनेट सेवा नभएकोमा आश्चर्यचकित भएका हामीलाई म्यानेजर मगरको सोझो जवाफ थियो, “हामीले यो अवस्था सधैँ झेल्छौँ। एक दिन त तपाईंहरू पनि झेल्नुस्।”
हिउँदमा मेरकका होटलहरू बन्द हुन्छन्। स्थानीय बाहेक सबैले बस्ती छोड्छन्। नेपालीहरू पनि कोही लेह, कोही हिमाञ्चल झर्छन्। छुट्टीका छ महिनामध्ये एक/डेढ महिना घरमा बिताउने हेटौँडाका पौडेल बाँकी समय गोवामा सेफको काम गर्न जान्छन्।
लद्दाखको जीवनको अभिन्न हिस्सा बनेका छन्, नेपालीहरू। २५ वर्षदेखि लेहमा कार्यरत नुवाकोटका रण बहादुर पाण्डेयले सुनाए, “नेपाली नभए लद्दाखको जीवन चल्दैन भन्ने त होइन, तर नेपाली बिनाको कुनै व्यवसाय र क्षेत्र नै छैन।”
लद्दाखको निर्माणाधीन बौद्ध स्तुपका कालिगडदेखि मिस्त्री नेपालीहरू छन्। मुख्य मिस्त्री इटहरीका पदम बहादुर तामाङ हुन्। उनी भन्छन्, “यसको निर्माणमा संलग्न अधिकांश नेपाली छन्।”
बेकरी व्यवसायी पाण्डेयले भनेको कुरा रेस्टुरेन्टदेखि र्याफ्टिङसम्म नेपालीको उपस्थितिले पनि पुष्टि हुन्छ।
लेह–पेगांग लेक सडक खण्डअन्तर्गत पर्ने दुरबुकमा भेटिए, दुई नेपाली युवा सिद्धिलाल र सुजित परियार। जुम्लाका उनीहरू त्यहाँ सिलाजित, सुगन्धित तेल र जडीबुटी बेचिरहेका थिए। सिद्धिलालले सुनाए, “लद्दाखमा हामी जस्तै जडीबुटी बेच्ने १५ जना छौँ।”
यसैगरी हरेक वर्ष उनीहरू जडीबुटी बेच्न लद्दाख आइपुग्छन्। र, दशैँमा खर्च जुटाएर घर फर्किन्छन्।
लद्दाखमा भारतको सीमा सुरक्षा गर्ने सैनिकदेखि अन्तिम सीमासम्म जोखिम मोलेर र्याफ्टिङ गर्नेहरू समेत नेपाली भेटिए।
लद्दाखको लामो नदी झास्करमा र्याफ्टिङ गर्नेहरू झन्डै शतप्रतिशत नेपाली युवाहरू छन्। चितवन, राप्तीका मिलन पाठक २०२२ देखि हरेक वर्ष तीन महिना र्याफ्टिङका लागि लद्दाख आइपुग्छन्। भन्छन्, “नेपालमा बर्खा शुरू भएपछि अफ सिजन शुरू हुन्छ। अनि यता आउँछौँ।”
अरूबेला कालीगण्डकी, भोटेकोशी, त्रिशूलीमा व्यस्त रहने नेपाली युवाहरू तीन महिना भने झास्करको र्याफ्टिङमा रमाउँछन्।
चितवन जुगेडीका हिमाल तेस्रो पटक हो र्याफ्टिङका लागि लद्दाख आएको। धरानका शुक्र, धादिङका विक्रम, पहिलो पटक गोरखाका विकास थापालाई पनि लद्दाखमा तीन महिना र्याफ्टिङ गर्दा हुने आम्दानीले हरेक वर्ष तान्छ। र त, उनीहरू नेपालमा अफ सिजन शुरू भएपछि लद्दाख हानिन्छन्।
झास्कर र ईन्डस नदीको संगममा भेटिए, एक हुल युवा। उनीहरू सबै र्याफ्टिङ व्यवसायमा संलग्न थिए। दुवै नदीको संगम भएकोले होला, त्यो ठाउँलाई संगम भनेर चिनिन्छ।
झास्कर नदी उद्गमस्थलबाट बगेर संगम पुग्दा दुई सय किलोमिटर दूरी तय गर्छ। र्याफ्टिङका लागि यो नदी प्रमुख गन्तव्य हो। पाठक भन्छन्, “हामी एक दिनको प्याकेजमा ३५ किलोमिटर माथिबाट र्याफ्टिङ गर्छौँ। आधा दिनको प्याकेज १४ किलोमिटरको छ। र, बच्चाहरूसहित दुई घण्टाको प्याकेज ८ किलोमिटर माथिबाट थाल्छौँ। बेलाबेला झास्कर नदीमा एक्सपिडिसन पनि गर्छौँ।”
पाठकले जुन र जुलाईमा लद्दाखमा पर्यटक ओइरिने भएकाले यो समयमा र्याफ्टिङमा राम्रो आम्दानी हुने सुनाए। भने, “हरेक वर्ष तीन महिना लद्दाखमा र्याफ्टिङ गर्ने नियमित सेड्युल नै भइसक्यो।”
ईन्डस नदीको उद्गम लद्दाख नजिकैको हिम श्रृंखला हुन्। र्याफ्टिङका लागि ईन्डस नदीले खासै महत्त्व राख्दैन। तर झास्कर नदीमा भने तीन महिना (जुन, जुलाई र अगस्ट) नेपाली युवाहरूलाई र्याफ्टिङ गर्न भ्याइनभ्याई हुन्छ। पाठक भन्छन्, “हिउँदमा पूर्णतः जम्ने झास्कर नदीमा त्यो समयमा हिउँमाथि ट्रेकिङ र स्केटिङको छुट्टै रमाइलो हुन्छ। त्यतिबेला भने यहाँ हाम्रो काम हुँदैन।”