काठमाडौँ– सुरक्षा दिने र मालिकप्रति बफादार हुने विशेषताले कुकुर मानिसको रक्षकसँगै घरपरिवारमा रमाइलोसँग समय बिताउने साथी पनि बनेको छ। त्यसैले पनि काठमाडौँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा सोखकै रूपमा कुकुर पाल्नेको संख्या अत्यधिक छ।
कुकुर पशु भए तापनि यसको गणना परिवारकै सदस्यको रूपमा हुने गरेको छ। त्यसैले परिवारका सदस्य घुमघाममा बाहिर जाँदा होस् वा पारिवारिक समारोहमा, कुकुरको उपस्थिति छुटेको हुँदैन। हिन्दू धर्ममा कुकुरलाई भगवान्को साथी मानिन्छ र उसको बफादारीको कदर गर्दै पूजासमेत गर्ने चलन छ।
कुकुरलाई घरपालुवा जनावरको रूपमा करिब १२ हजार वर्ष अघिदेखि पाल्न थालिएको अनुमान छ। पहिले गाईबस्तु चराउन, घर हेरचाह गर्न जस्ता काममा कुकुरको प्रयोग गरिँदै आएकोमा आवश्यकताअनुसार सिकार गर्न र मित्रता बढाउनका लागि विभिन्न नस्लका कुकुर पाल्न थालिएको पाइन्छ। अहिले संसारभर करिब २०० जातका कुकुर पाइन्छन्। नेपाली बजारमा पनि अहिले विभिन्न जातका कुकुर देखिन थालेका छन्।
नेपालमा पालिएका कुकुरको वर्गीकरण
कुकुरमा सिकार गर्ने, सुरक्षा दिने, साथी बन्नेलगायत विभिन्न खालका विशेषता हुन्छन्। एकै जातको कुकुरमा पनि धेरै प्रकारको विशेषता पाइन्छ। त्यसैले पनि विशेषता र त्यसको कामबाट कुकुरको वर्गीकरण गर्न कठिन हुने जानकारहरू बताउँछन्। भिन्नाभिन्नै विशेषता हुँदा वर्गीकरण पनि एकै प्रकारको नरहेको केनल क्लब अफ नेपालका सचिव विवेश श्रेष्ठ बताउँछन्।
नेपालमा पालिने कुकुरलाई आधिकारिकता दिनेदेखि कुकुर पालकहरूलाई आवश्यक सल्लाह–सुझाव दिइरहेको संस्था केनल क्लब अफ नेपालले यहाँका कुकुरलाई पाँच भागमा वर्गीकरण गरेको छ। यस्तो वर्गीकरणबाट नयाँ नस्ल उत्पादन गर्न मद्दत पुग्नुका साथै मानिसलाई चाहिएको जस्तो कुकुर पाउन सहज हुने क्लबका अधिकारीहरू बताउँछन्।
नेपालमा पालिने कुकुरलाई शिपडग, वर्किङ डग, टेरियर डग, हन्टिङ डग र कम्पानियन डग गरी पाँच वर्गमा छुट्ट्याइएको छ। यसमा विभिन्न जात र विषेशताका कुकुर पर्छन्।
शिपडग
विशेषगरी यो वर्गका कुकुरलाई भरपर्दो गार्डका रूपमा लिइन्छ। त्यसैले चरनमा रहेका भेडाबाख्रामा नजर राख्न शिपडग पाल्ने प्राचीन इतिहास छ। आफ्नो सक्रियता र बलियो शरीरको कारण यी कुकुर चर्चित छन्।
यो वर्गमा बोर्डर कोली, अस्ट्रेलियन सेफर्ड, जर्मन सेफर्डलगायतका कुकुर पर्छन्। यी कुकुरले भेडा, गाईबस्तु र बाख्राजस्ता पशुधनको व्यवस्थापन र संरक्षण गर्न मद्दत गर्छन्। यी वर्गका कुकुर ठूलो जीउडाल, शक्तिशाली र साहसी हुन्छन्। यी कुकुरका बच्चाको मूल्य अरूको भन्दा महँगो पर्न जान्छ। यस्ता कुकुर पाल्नका लागि आफूले दिनुपर्ने समय र लागतको मूल्य पनि धेरै लाग्छ।
वर्किङ डग
वर्किङ डगमा बक्सर, डोबरम्यान, मास्टिफ, बुल मास्टिफ लगायतका कुकुर पर्छन्। यिनीहरूमा गाइड गर्ने, सचेत गराउने र खोजीका साथै उद्धार गर्ने क्षमता हुन्छ। त्यसैले पशुपालनदेखि लागुऔषधसम्म पत्ता लगाउनमा यस्ता कुकुरको प्रयोग हुन्छ। त्यसबाहेक विभिन्न व्यावसायिक भूमिकामा मानिसलाई सहयोग गरून् भनेर यिनलाई प्रशिक्षित गरिन्छ। प्रशिक्षण दिएर कुकुरलाई सैन्य अपरेसनदेखि खोजी र उद्धार अभियानका लागि प्रयोग गरेको पाइन्छ।
काम गर्ने कुकुर चलाख, वफादारी र बहुमुखी क्षमताका लागि परिचित छन्। यी कुकुरलाई भरपर्दो सहाराका रूपमा पनि लिइन्छ। सम्पत्ति, मानिस र जनावरको रक्षा गर्नु यिनीहरूको विशेषता हो। मध्यमदेखि ठूलो आकारको पनि हुने यस प्रजातिको माग बढ्दो छ।
टेरियर
सिकार गर्ने र कीरा नियन्त्रण गर्ने भूमिकाका लागि टेरियर वर्गको कुकुर उत्तम रहेको व्यवसायी बताउँछन्। इतिहासदेखि नै टेरियर वर्गका कुकुर मूल रूपमा मुसा, स्याल र मुसा प्रजातिकै ब्याजर नामक जनावरको सिकार गर्न उत्पादन गरिएको पाइन्छ। खाडल खन्न सक्ने, पछ्याउने र साना जनावरलाई सिकार बनाउने यसको विशेषता हो। तर पछिल्लो समय यी कुकुरलाई कामका लागि भन्दा पनि सोखका निमित्त पाल्ने गरिएको यसका सौखिनहरू बताउँछन्।
यिनीहरू ऊर्जावान्, फुर्तिलो र साहसी स्वभावका हुन्छन्। टेरियर सानोदेखि मध्यम आकारसम्मका हुन्छन्। जिज्ञासु र छिट्टै सिक्ने क्षमता रहेका टेरियर कडा स्वभावका भए तापनि चञ्चल र परिवारसँग मिलनसार हुन्छन्। भुकेर सम्भावित खतराबारे मालिकलाई सचेत गराउने यिनीहरूको स्वभाव हुन्छ। अमेरिकन पिटबुल टेरियर, अमेरिकन बुल्ली, बुलटेरियर यस वर्गमा पर्दछन्।
सिकारी कुकुर (हन्टिङ डग)
सिकार गर्ने कुकुरलाई गुन्डग पनि भनिन्छ। यी कुकुर बुद्धिमान, कामप्रति लगनशील, वफादार र इमानदारीका लागि परिचित छन्। यी कुकुर पानीमा पौडने र सिकार गर्न सक्ने क्षमताका हुन्छन्। यस वर्गमा ल्याब्रडोर रिट्रिवर, ग्रेहउन्ड, ककर स्पानियल इत्यादि पर्दछन्।
यिनीहरूमा गन्ध पहिल्याउन सक्ने क्षमता तेजिलो हुनुका साथै फुर्तिलो र चलाख स्वभावका हुन्छन्। ऐतिहासिक रूपमा हरिण, स्याल र खरायोजस्ता जनावरको सिकार गर्न यिनको प्रयोग गरिने जानकारहरू बताउँछन्। यी कुकुर मध्यमदेखि ठूला आकारसम्मका हुन्छन्। यिनीहरू पनि महँगा कुकुरमा गनिन्छन्।
साथीका रूपमा कुकुर
नेपालमा पालिने घरपालुवा कुकुरमध्ये अधिकांश प्रजाति ‘कम्प्यानियन’ अर्थात् साथी वर्गमा पर्ने विज्ञहरू बताउँछन्। हेरचाहका लागि धेरै समय दिन नसक्ने, न्यून लागतमा पाल्ने र घर परिवारमा रमाइलो माहौल बनाउनेहरूले यो वर्गका कुकुर रोज्ने गरेका छन्। यसमा जापनिज स्पिज्, पग, लासाएप्सो, पोमेरेनियन, चौचौ, पुडल, फ्रेन्च बुलडग, चिवावाजस्ता जातिहरू पर्छन्।
यिनीहरू आकारमा सानो वा मध्यम प्रकारका हुन्छन्। यी प्रजातिका कुकुर मिलनसार र बफादार हुन्छन्। यस्ता कुकुरले टोक्ने जोखिम कम भएकाले बालबालिकासँगै हुर्काउन पनि सहज हुने नेपाल कुकुर (क्यानाइन) संघका अध्यक्ष मुकुन्द बानियाँ बताउँछन्।
“घरमा बालबच्चा छन्। बच्चालाई साथीको रूपमा कुकुर लिन चाहनेहरूका लागि यी कुकुर राम्रो र सजिलो हुन्छ,” उनले भने, “काठमाडौँमा त सानो फ्ल्याट लिएर बस्ने, अफिस जानेहरूले पनि कुकुर पाल्छन्। त्यस्ता व्यक्तिलाई आकार सानो भएका र इमानदार, हेरचाहमा धेरै समय नलाग्ने अनि लागत पनि कम पर्ने यो जाति उपयुक्त छ।”
नेपालमा जर्मन सेफर्ड, जापनिज स्पिज्, पग, चौचौ, पुडल, फ्रेन्च बुलडग, चिवावा, गोल्डेन ल्याब्रडोर, हस्की बढी प्रचलनमा छन्।
व्यावसायिक भएकोमा चिन्ता
पछिल्लो समय कुकुर उत्पादन गर्ने काम व्यावसायिक हुँदै जानुलाई अधिकारकर्मीहरूले चिन्ताको विषय ठानेका छन्। केनल क्लब अफ नेपालका सचिव श्रेष्ठले सोखका रूपमा कुकुर उत्पादन गर्ने अवधारणा शुरू भए पनि अहिले यो काम व्यावसायिक हुँदै गएकोमा चिन्ता व्यक्त गरे। यसरी व्यवसायीकरण हुँदै जाँदा कुकुरमा धेरै शारीरिक समस्या आउने उनले बताए।
“एउटा कुकुरले वर्षमा एक पटक गर्भधारण गर्छ। तर मालिकलाई चाहिएपछि उसले दुई पटकसम्म बच्चा जन्माउन बाध्य हुनुपर्छ। यसो गर्दा उसको स्वास्थ्यमा समस्या पर्न जान्छ,” उनले भने, “कुकुर उत्पादन व्यवसायतिर ढल्किँदा कुकुरप्रति यति अत्याचार हुन थालिसकेको छ। यसलाई रोक्नुपर्छ।”
उनका अनुसार काठमाडौँ उपत्यकाका केनलमध्ये ७० प्रतिशत केनलले आधारभूत आवश्यकतासमेत पूरा गर्दैनन्। डग फार्म र व्यावसायिक संस्था नै खोलेर उत्पादन र बिक्री वितरण भइरहेको उनको ठम्याइ छ। यसले नस्ल सुधार तथा कुकुर उत्पादनको अवधारणालाई संकटमा पार्ने उनी बताउँछन्।