Wednesday, July 24, 2024

-->

धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी

पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा लिइन्छ। काठमाडौँबाट दुई दिनको यात्रा गरेर यहाँ पुग्न सकिन्छ।

धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी
तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– प्राकृतिक छटाहरूले भरिपूर्ण गन्तव्य हो पाँचपोखरी। समुन्द्र सतहबाट चार हजार २०० मिटर उचाइमा रहेको यो पर्यटकीयस्थल सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा अवस्थित छ।

पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा लिइन्छ। यहाँ पाँचवटा पोखरी छन्। यी पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ। पाँचपोखरी इन्द्रावती नदीको उद्गमस्थल पनि हो। 

काठमाडौँबाट दुई दिनको यात्रा गरेर यहाँ पुग्न सकिन्छ। काठमाडौँको जोरपाटीबाट पाँचपोखरीको लागि बिहान ६ः३० बजे बस छुट्छ। जोरपाटीबाट हिँडेको ६ घण्टामा छिन्ती बजार पुगिन्छ। त्यहाँबाट शुरू हुन्छ, पैदल यात्रा। 

बाटो केही अप्ठ्यारो भए पनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको पत्तै हुँदैन। छिम्तीबाटको उकालो हुँदै टुप्पी डाँडा टप खर्कमा भने बास बस्नुपर्ने हुन्छ।

अर्को दिन टपखर्कबाट नोरसिंपाटी, लौरिबिना हुँदै पाँचपोखरी पुगिन्छ। एकै ठाउँमा पाँचवटा पोखरी, हिमाल, चिसो हावापानी र जमिनमा फुलेका विभिन्न रंगका फूलले त्यहाँ पुग्ने जोकसैको मन लोभिन्छ।

पाँच पोखरीमा हरेक वर्ष भदौमा एकादशीदेखि जनै पूर्णिमासम्म मेलासमेत लाग्ने गर्छ।


सम्बन्धित सामग्री