Wednesday, July 24, 2024

-->

पाँच हजारबाट व्यवसाय थालेकी मिनाकुमारीलाई अहिले माग पूरा गर्न हम्मे

मिनाकुमारीले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ।

पाँच हजारबाट व्यवसाय थालेकी मिनाकुमारीलाई अहिले माग पूरा गर्न हम्मे
फाइल तस्वीर

पाँचथर– याङवरक गाउँपालिका–३ ओयामको देवीस्थानकी मिनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष पूरा भयो। तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले तालिम दिएपछि नियमित रूपमा ऊनका सामग्री निर्माण गर्दै आएकी उनीलाई अहिले माग पूरा गर्न कठिन परेको छ।

गुरुङले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ। विसं २०५१ मा यहाँको चरिभञ्ज्याङमा घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिएपछि मिनाकुमारीले ऊनका सामग्री निर्माण गर्न थालेकी थिइन्।

“पहिले मैले केही पनि जानेको थिइनँ। म त भारत मै जन्मे हुर्केको हुँ। विवाह गरेर यहाँ आएपछि के चाहिँ गरौँ भनेर खोज्दा यहाँ बाबु बाजेले गरिराखेको काम गर्नु ठीक लाग्यो,” उनले भनिन्, “तर मलाई सीप केही नआउने। तालिम लिने अवसर पाएपछि मैले नियमित रूपमा सामग्री उत्पादन गर्दै आएकी छु।”

विवाह गरेर घरमा आउँदा उनको २८ जनाको परिवार थियो। घरमा भेडापालन पनि भएकाले यो व्यवसाय गर्न उनलाई सबैतिरबाट सहज भयो। तालिम लिएपछि नै उनले आफ्नो कामलाई व्यवसायको रूप दिन सोही कार्यालयबाट पाँच हजार ऋण पाएकी थिइन्। “त्यही ऋणबाट व्यवसाय शुरूआत गरेँ। ऋणबाट व्यवसाय थाल्दाको चिनो मसँग अझै छ तिनपाटे राडी,” उद्यमी गुरुङले भनिन्, “त्यसयता यही व्यवसायले घर परिवार चलाउँदै आएका छौँ।”

घरेलुको ऋण चुक्ता गरेपछि उनले कृषि विकास बैंकबाट २० हजार ऋण लिएर किस्ता तिर्न थालेकी थिइन्। तत्कालीन सशस्त्र द्वन्द्वका समयमा उक्त ऋण पनि तिर्न जान बन्देज भयो। उनको व्यवसाय पनि धराशायी भयो। उत्पादित सामग्री सहजै बजार पुग्न कठिन भयो। संकटकालमा रोकिएको उनको व्यवसाय पुनः पुरानै स्थितिमा पुग्यो। 

उनको व्यवसायले उचाइ लिन घरेलु कार्यालयबाट आएको एउटा फोन निकै महत्त्वपूर्ण भयो। “गाउँघरको घरपाला (गाउँकै भेडाको) ऊनबाट सामग्री निर्माण गरिरहेकी थिएँ। पछि घरेलु कार्यालयबाट मलाई फोन आयो,” उनले भनिन्, “परम्परागत पेसालाई व्यवसाय बनाउनेहरूलाई तालिम दिने कार्यक्रम रहेछ। त्यसपछि मैले व्यावसायिक रूपमा काम गर्ने तालिम लिने अवसर पाएँ।”

उनले आफ्नो व्यवसायलाई बढाएपछि भेडाको ऊनको खाँचो पनि भएन। भेडापालकले घरमै ऊन पठाइदिन थाले। “पहिले त २० जनासम्म दिदीबहिनीले मेरोमा काम गर्नुहुन्थ्यो। अहिले चाही उहाँहरूले ऊन जोखेर आफ्नै घरमा खोसलेर धागो बनाएर ल्याइदिनु हुन्छ,” उद्यमी गुरुङले भनिन्, “धेरै माग आउँदा दिदीबहिनीहरूलाई भेला पारेर बुन्छौँ। माग आएपछि सबैलाई बोलाउँछु। अहिले गाउँका धेरै जना ऊनका सामग्री बुन्न सक्षम भइसकेका छन्।”

गुरुङको उद्योगमा अहिले चेयर म्याट, सोफा सेट, बुर्कासन, दुई र तीन पाटे राडी, लुकुनी, स्टकोट, कोट, झोला, पर्स, गमलामा राख्ने फूललगायत सामग्री निर्माण हुने गरेका छन्। उनका अनुसार ऊनका २०८ प्रकारका सामग्री निर्माण गर्न सकिन्छ। यद्यपि यहाँ ती सबै सामग्री उत्पादन हुँदैनन्। उद्योगमा प्रयोग हुने ऊन भने जिल्लाकै फालेलुङमा रहेको भेडी गोठसहित ताप्लेजुङका विभिन्न स्थानबाट आपूर्ति गर्ने गरिएको छ। गुरुङले सामग्री निर्माणका लागि विभिन्न प्रकारका ऊन काठमाडौँबाट ल्याउने गरेकी छन्। 

विदेश पुग्छन् अधिकांश सामग्री
उद्यमी गुरुङका अनुसार उत्पादित सामग्रीका आधारमा फाइदा हुने गर्छ। “सानो सामग्रीमा सय रुपैयाँ हाराहारी नाफा हुने गरेको छ, ठूलो सामग्रीमा दुई हजार रुपैयाँसम्म फाइदा राखेर बिक्री गर्छौं,” उनले भनिन्, “धेरै मूल्य राखौँ बिक्री हुन गाह्रो हुन्छ, कम मूल्य राख्दा फाइदा हुँदैन।” यद्यपि आफैँ बजार गएर बिक्री गर्दा भने आकर्षक मूल्य प्राप्त गर्न सकिने गुरुङ बताउँछिन्।

यहाँ उत्पादित ऊनका सामग्री देशका विभिन्न स्थानसहित छिमेकी मुलुक भारत र अन्य देशमा समेत बिक्री हुने गरेको छ। अमेरिका, अस्ट्रेलिया, जापानलगायत देशमा बस्ने नेपालीले घरमा सजावटका लागि यहाँका सामग्री माग गर्ने गर्दछन्। पछिल्ला दिनमा लुकुनी मृत्यु कार्यमा प्रयोग गर्न थालिएको छ। जस कारण यसको माग क्रमशः बढिरहेको मिनाकुमारीको भनाइ छ।

उनको उद्योगमा केन्द्रित भई अहिले ऊन खोस्रिने, धागो तान्ने, तान बुन्नेलगायत काममा औसत १० महिला संलग्न भई रोजगारी प्राप्त गरिरहेका छन्। तर कठिन ठानेर ऊनको काम गर्नेको संख्या घटिरहेको छ। अब प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाउन मिनाकुमारीसहितका महिलाले चासो राखिरहेका छन्। आफूहरूले गरी आएको परम्परागत पेसाको संवर्द्धनका लागि अहिलेसम्म कुनै पनि सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ।

“अहिले हामीलाई ऊन फड्किने सामग्री चाहिएको छ। ऊन फड्कार्न धेरै गाह्रो छ। त्यही कारण आउने माग समयमा पूरा गर्न सकिरहेका छैनौँ,” उनले भनिन्, “तान जसले पनि बुन्छ। ठूलो समस्या भनेको पिउरी बनाउन गाह्रो छ । त्यही गर्न मेसिन पाए हुन्थ्यो भन्ने आशा छ।” 

केही समयअघि घरेलु तथा साना उद्योग कार्यालय पाँचथरबाट मिनाकुमारीको उद्योगमा प्रविधि विस्तार गर्न बजेट विनियोजन पनि भएको  थियो। तर कार्यालयबाट विनियोजित एक लाख रुपैयाँ बजेटमा मेसिन नआउने भएपछि बजेट प्रयोग नै हुन सकेन। भेडाको ऊनबाट धागो कात्न उनमा रहेको लट्टा फुटाउनुपर्छ। लट्टा फुटाउन प्रयोग हुने कोर्‍यासो भाँचिएर डालोभरि रहेको मिनाकुमारीको गुनासो छ। 

“अहिले युट्युबमा के–के नयाँ सामग्री पाइन्छ भनेर बुझ्न थालेका छौँ”, उनले भनिन्, “हामीलाई चाहिएको ऊन फड्किने नै हो। हामीले काठमाडौँमा प्रदर्शनीका क्रममा धान कात्ने, ऊन फड्कार्नेलगायत सामग्री देखेका थियौँ। मेसिनबाट सामग्री बनाउँदा अलि नरम पनि हुने रहेछ।”

यहाँ उत्पादन हुने सामग्री कतिपय घरबाटै बिक्री हुन्छ भने कतिपय गाडीमा हालेर पठाउने गरिएको छ। सामग्री बिक्रीका आधारमा आम्दानी हुने गरेको तर उपभोक्ताको माग पूरा गर्न नसकिरहेको मिनाकुमारीको भनाइ छ । 

राष्ट्रिय औद्योगिक प्रदर्शनीलगायत स्थानसम्म पुगेकी मिनाकुमारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न सरकारी निकायले उत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत गरिसकेका छन्। यहाँ उत्पादन भएको राडीपाखी याङ्वरक गाउँपालिका तथा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा उपहारका रूपमा वितरण हुँदै आएको छ। सामग्रीले पहिचान बनाए पनि प्रविधिलाई प्रयोगमा ल्याउन नसक्दा सामग्री उत्पादन कठिन बन्दै गएको मिनाकुमारीकी छोरी युनुसा गुरुङको भनाइ छ। 

प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाइ दीर्घकालीन आम्दानीको स्रोत बनाउने अभिलाषा मिनाकुमारीजस्तै यहाँका अधिकांश महिलाले राखेका छन्। यसका लागि सरकारी निकायले प्रविधि र उपकरण हस्तान्तरण गर्नुपर्ने उनीहरूको माग छ। शिक्षकसमेत रहेकी मिनाकुमारीका श्रीमान् पूर्णकुमार गुरुङ पनि प्रविधि हस्तान्तरण गरी सरकारले मद्दत गर्नुपर्ने बताउँछन्। राडीपाखी बुन्ने चलन क्रमशः घट्दै गएकाले उत्पादन हुने उद्योगी व्यवसायीलाई सहयोग भए मात्रै परम्परागत पेसा जीवन्त रहने उनको भनाइ छ। 

उक्त स्थानमा मिनाकुमारीले मात्रै उद्योग दर्ता गरेकी छन्। तर ऊनका सामग्री बनाउने काम यहाँका गुरुङ समुदायका अधिकांश महिला र अन्य समुदायका केही महिलाले गर्दै आएका छन्। यहाँकी माया गुरुङ कहिले आफ्नै घरमा त कहिले मिनाकुमारीको उद्योगमा गएर ऊनका सामग्री बनाउने काम गर्दै आएकी छन्। “घरमा फुर्सदको समयमा ऊनकै काम गरिरहन्छौँ। अलिअलि आम्दानी हुन्छ। नानीहरूलाई खर्च पुर्‍याउन सकिन्छ,” आफ्नो अनुभव सुनाउँदै मायाले भनिन्।

 

वर्षमा ३० धार्नीसम्म ऊनबाट सामग्री बनाउन सके अलिअलि बचत गर्न सकिने उनको अनुभव छ। ऊनका सामग्री निर्माण गर्ने काम सहज भने पक्कै छैन। “नगर्ने मानिसले जीउभरि ऊन लाग्छ के गरेको भन्नुहुन्छ? त्यही आम्दानी हुने भएरै हामी यो काम गरिरहेका छौँ। हामीलाई राम्रै लाग्छ,” मायाले भनिन्। 

६५ वर्षकी मैना गुरुङ पनि यही व्यवसायबाट घरको खर्च जुटाउने गरेको बताउँछिन्। “६५ वर्षको भएँ। उनको काम गरेर ठीकै आम्दानी गरिरहेकी छु। भ्याएको बेला काम गरौँ–गरौँ लाग्छ,” मैनाले भनिन्, “बिक्री पनि भइरहेकै छ। म अरूले जस्तो सबै सामग्री बनाउन त जान्दिनँ। आफूले जानेअनुसारका राडीसहितका सामग्री बनाइरहेकी छु।”

यो पेसालाई छोरी बुहारीले अंगाल्ने अपेक्षामा मैना छन्। “हामीले त उमेरका कारण काम गर्न सक्न छाड्यौँ। हाम्रो छोरी बुहारीहरूले सीप सिकेर कहिलेकाहीँ बुन्ने गरेका छन्,” उनले भनिन्, “बाबु बाजेको पेसालाई निरन्तरता दिन्छन् भन्ने आशा छ।”


सम्बन्धित सामग्री