Thursday, February 29, 2024

-->

म्याग्दीका घुम्ती गोठ रित्तिँदै

गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन्। बढ्दो वैदेशिक रोजगारीका कारण गोठमा युवापुस्ताको आकर्षण छैन।

म्याग्दीका घुम्ती गोठ रित्तिँदै

म्याग्दी– शरीरका लुगाफाटा च्यातिएका छन्। कपाल र दारी फुलेर सेता भएका छन्। गालाका छाला चाउरी पर्न थालिसकेका छन्। तर उमेरले ७० वर्ष पार गरिसकेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन्।

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ। 

गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उनको नियमित दैनिकी हो। जीवनको अधिकांश समय गोठमा बिताएका उनको भैँसीगोठमा अहिले ९ वटा भैँसी छन्। उनले परम्परागतरूपमा घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आएका छन्। बर्खायाममा लेकाली बुकीहरूमा पुर्‍याउने घुम्ती गोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ।

घुम्ती गोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन्। गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राेखेका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन्।

“म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ”, उनले भने।

रोजगारीका लागि दक्षिण कोरिया गए पनि छ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उनको भनाइ छ। गाउँ आएपछि शुरूमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय पनि शुरू गरेका तुलाचनले दुई महिनामै आफ्नो पुर्ख्याैली पेसा घुम्ती गोठमा पशुपालन शुरू गरेको विगत स्मरण गरे।

परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुर्ख्याैली घुम्ती गोठलाई निरन्तरता दिएको उनको भनाइ थियो। करिब १५ वर्षसम्म भेडाबाख्रापालन गरेका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आएका छन्। २०-२५ वटासम्म भैँसी पाल्ने गरेका उनले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको संख्या घटाउँदै लगेको जानकारी दिए।

गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उनले बताए। बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्ती गोठमा रमाएका छन्।

“मलाई पनि गोठमा नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुशी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु,” उनले भने। 

घुम्ती गोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उनले बताए। “एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्ती गोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने,” उनले दुखेसो पोखे।

गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन्। बढ्दो वैदेशिक रोजगारीका कारण गोठमा युवापुस्ताको आकर्षण छैन। गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उनी गुनासो गर्छन्।

तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताए। गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको उनको भनाइ छ।


सम्बन्धित सामग्री