Wednesday, February 12, 2025

-->

कापीमा लक्ष्य लेखेर मैदान उत्रिने क्रिकेटर नरेन

एनपीएल अक्सनअघि नरेन क्रिकेट छाड्ने सोचमा पुगिसकेका थिए। आफन्त र परिवारले ‘अब खेलेर केही हुँदैन’ भन्न थालेका थिए। उनी आफै पनि कोरिया जान सुटुक्क कोरियन भाषा सिकिरहेका थिए।

कापीमा लक्ष्य लेखेर मैदान उत्रिने क्रिकेटर नरेन

काठमाडौँ– सन् २०११ मा विश्वकप भारतले जितेको समय थियो। भर्खरैको विश्वकपको प्रभावले नेपालमा पनि शहरका गल्लीदेखि गाउँका चौरसम्म ब्याट र बल समाउने किशोरहरू देखिन्थे। त्यही बेला धनगढीको ग्ली एकेडेमीमा भइरहेको क्रिकेटमा नरेन साउद देब्रे हातले बलिङ गरिरहेका थिए।

भारतका अलराउन्डर युवराज सिंह र न्युजिल्यान्डका डेनियल भिटोरी पनि देब्रे हातले बल घुमाउँथे। नरेनसँग पढिरहेका साथी संगम खड्काले सिंह र भिटोरी जस्तै बन्नसक्ने भन्दै उनलाई प्रेरित गरे।

नरेन पनि सिंह र भिटोरीका खेल हेर्न थाले। त्यस्तै गरी बल फ्याँक्ने प्रयासमा लागे। विद्यालयस्तरीय क्रिकेटमा उनको नाम लगातार जोडिन थाल्यो।
उनी कक्षा ६ पढ्न डोटीको बडिकेदार गाँउपालिकाबाट कैलालीको धनगढी झरेका थिए। विद्यालयकै होस्टेलमा बस्थे।

एसईई दिएपछि धनगढीको कैलाली क्रिकेट एकेडेमीमा क्रिकेट सिक्न थाले। उनको पहिलो प्रशिक्षक बने ज्ञानेन्द्र दडिवाना क्षेत्री। “कभर्ड हलमा ट्रेनिङ थालेपछि थाहा भयो कति–कतिबेला नजानेर थ्रो पनि गर्ने रहेछु, कोचले सिकाएपछि धेरै सुधार भयोे” उनी ती दिन सम्झन्छन्।

प्रशिक्षक दडिवाना पनि नरेनेको प्रगति देखेर अहिले मक्ख छन्। खेलमा लगनशील हुने, सिकाएको कुरा सहजै व्यवहारमा लागू गर्ने स्वभावका कारण नरेनले प्रदर्शनमा सुधार ल्याएको उनी बताउँछन्। 

क्रिकेटमा नयाँ नयाँ कौशल अपडेट भइरहेका कारण नयाँ–पुराना सबै खेलाडीले निरन्तर सिकाइको प्रक्रियामा जानुपर्ने दडिवाना बताउँछन्। “बलिङ, ब्याटिङलगायत सबै कुरामा सुधारको आवश्यकता छ। क्रिकेटको सुधारका लागि नरेनजस्ता खेलाडीमा लगानी बढाउनुपर्छ,” उनी भन्छन्।

तर नरेन आफ्नो बलबुताले नै क्रिकेट सिक्दै गए। विद्यालयबाहिर उनको पहिलो आधिकारिक प्रतियोगिता २०७३ सालको इटहरी प्रिमियर लिग थियो। धनगढीबाट खेलेका उनले शुरूआती खेलमा मौका पाएनन्। सेमिफाइनलमा विराटनगरविरुद्ध अन्तिम–११ मा पर्दा उनले न विकेट लिन सके, न त रन नै बनाए। २ ओभर बलिङ गर्दा १४ रन खर्चिए। नवौँ स्थानमा ब्याटिङमा उत्रिँदा ‘डक आउट’ भए।

त्यसपछि काठमाडौँमा जारी मनमोहन कप यु–१६ प्रतियोगितामा नरेनले सुदूरपश्चिमको टिममा स्थान बनाए। सात खेल खेल्दा १५ विकेट लिए। उनी ‘प्लेयर अफ द सिरिज’ बने।

उक्त प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल गण्डकीविरुद्ध थियो। सुदूरपश्चिमले २८ रनमा ७ विकेट गुमाइसकेको थियो। नरेनले आठौँ विकेटका लागि विनोद खत्रीसँग १२६ रनको साझेदारी गरे। विनोदले ८० र नरेनले ४६ रन बनाए।

२०७६ वैशाख ५ गतेबाट शुरू भएको आठौँ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा उनले सुदूरपश्चिमबाट चार खेल खेल्दै ६ विकेट लिए। उनको इकोनोमी २.५० थियो।

उनले तीन वटा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका छन्। पहिलोपटक २०७८ सालमा यो प्रतियोगिता खेल्दा उनको टिम फाइनलमा लुम्बिनीसँग पराजित भएको थियो। उनले ६ खेलमा ९ विकेट लिएका थिए।

दोस्रोपटकको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने सुदूरपश्चिमले फाइनलमा लुम्बिनीलाइ हराएर उपाधि जितेको थियो। उनले सात खेलमा १२ विकेट लिएका थिए। त्यसपछि नै उनी यू–१९ राष्ट्रिय टोलीका लागि प्रारम्भिक क्याम्पमा परेका थिए। तर प्रारम्भिक टोलीका २८ जनाबाट १८ जनाको छनोट हुँदा बाहिरिए।

गत वर्षको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनको प्रदर्शन अझै राम्रो भयो। उनले सात खेलमा १५ विकेट लिए। फाइनलमा लुम्बिनीलाई पराजित गरेर सुदूरपश्चिमले उपाधि पनि जित्यो।

यसपटक नरेन राष्ट्रिय टोलीमा पर्न सफल भए। १५ दिनको क्याम्पपछि नेपालको यू–१९ ले भारतको कर्नाटका यू–१९ सँग एक दिवसीय श्रृंखला खेलेको थियो। उनले उक्त श्रृंखलाको पाँच खेलमा १० विकेट लिए। एउटा खेलमा ‘म्यान अफ द म्याच’ भए।

त्यसपछि, गत नोभेम्बर २९ देखि यूएईमा भएको यू–१९ एशिया कप खेल्ने टोलीमा पनि उनी परे। तर नेपाल लिग चरणका शुरूका तीन वटा खेलमा पराजित भयो। उनको प्रदर्शन पनि राम्रो भएको थिएन। नेपालको अन्तिम खेल अफगानिस्तानविरुद्ध थियो।

टस जितेर ब्याटिङ रोजेको अफगानस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमै समेट्यो। नरेनले एक विकेट लिए। झिनो लक्ष्य पछ्याएको नेपालले २५.५ ओभरमा ६० रनमा ६ विकेट गुमायो। छैटौँ विकेटका रूपमा भरपर्दा ब्याटर अर्जुन कुमाल बाहिरिएपछि नरेन क्रिजमा पुगे।

उनी खेल जिताउने लक्ष्यका साथ मैदान पसेका थिए। तर जितका लागि ८ रन बाँकी छँदा बाहिरिए। “एउटा गेम पनि जिताउन सकिएन भन्ने सोचेर भित्र गएर म रोइरहेको थिएँ,” नरेन सम्झिन्छन्, “तर हामीले जित्यौँ।”

उक्त खेलमा नरेनले सर्वाधिक २६ रन बनाएका थिए। “उत्साहले मात्र राम्रो रिजल्ट ल्याउँदैन, मानसिक रुपमा बलियो भएर योजनाका साथ खेल्यो भने जित हासिल हुन्छ,” उनी भन्छन्।

कापीमा लक्ष्य, मैदानमा प्रदर्शन
एशिया कपमा अफगानस्तानविरुद्धको खेलले नरेनको ‘करियर’मा नयाँ शैली भित्र्यायो। त्यो खेलदेखि उनी आफ्नो लक्ष्य कापीमा लेखेर मैदान उत्रिन थालेका छन्। 

खेल्नुअघि आफ्नो कुन पक्ष बलियो बनाएर खेल्ने भन्ने लेख्छन्। त्यसलाई मैदानमा लागू गर्ने प्रयास गर्छन्। यसले प्रदर्शनमा सुधार आएको उनको भनाइ छ।

एशिया कपबाट फर्किएपछि उनले सिधै नेपाल प्रिमियर लिग (एनपीएल) खेले। उनी सुदूरपश्चिम रोयल्समा थिए। सुदूरपश्चिमले दोस्रो खेल काठमाडौँ गुर्खाजविरुद्ध खेल्दै थियो र यो नै एनपीएलमा उनको डेब्यु थियो। त्यस खेलमा ५ विकेट लिएर उनले डेब्युमा ५ विकेट लिने रेकर्ड बनाए।

तर दोस्रो खेलदेखि उनको लय कायम भएन। त्यो अवस्थामा पनि कप्तान दीपेन्द्रसिंह ऐरी र बलर अविनाश बोहोराले आफूलाई हौसला दिइरहेको उनी बताउँछन्। एनपीएलले उनलाई सिक्ने अवसर मात्र नदिई खेलेर बाँच्न सकिन्छ भन्ने आधार पनि दियो।

एनपीएल अक्सनअघि नरेन क्रिकेट छाड्ने सोचमा पुगिसकेका थिए। उनले क्रिकेट खेल्न थालेको करिब सात वर्ष भइसकेको थियो। आफन्त र परिवारले ‘अब खेलेर केही हुँदैन’ भन्न थालेका थिए।

परिवारको जिम्मेवारी नरेनकै काँधमा थियो। क्रिकेटलाई चटक्कै छाड्न पनि सकेका थिएनन्। तर खस्किँदै गइरहेको आर्थिक अवस्थाले पिरोलिरहेको थियो। करिब चार महिनादेखि उनी कोरियन भाषा अध्ययन पनि गरिरहेका थिए।

“साथीभाइसँग क्रिकेट छोड्छु भन्दा डिमोटिभेट होलान् भन्ने सोचेर कसैलाई केही नभनी घरमै अनलाइनमार्फत कोरियन भाषा तयारी गरिरहेको थिएँ,” उनी भन्छन्। 

एनपीएलले उनको उत्साह थपेको छ। आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैनन्, तर आफूलाई निखार्न चाहन्छन्। “म आफ्नो खेल कौशललाई दोब्बर बनाएर सिनियर टिममा दाबेदारी देखाउन चाहन्छु,” नरेन भन्छन्।

जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताअघि उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध भएका छन्। यद्यपि, उनले जय ट्रफीमा भने मौका पाएनन्। त्रिभुवन आर्मी क्लबमा क्षमतावान् खेलाडी धेरै भएको हुँदा टिममा पर्न उनले आफ्नो खेल थप धारिलो बनाउनुपर्ने छ।

आमामा बढेको विश्वास
नरेन २ वर्षको हुँदा बुवाको मृत्यु भयो। त्यही समय कालाजारका कारण उनकी दिदीले पनि मृत्यु भयो। आमा गिरिजादेवीले संघर्ष गरेर नरेनलाई हुर्काइन्। गिरिजादेवी डोटीको बडिकेदार गाउँपालिकास्थित वीरेन्द्र माविको शिक्षक थिइन्। त्यही कारण नरेनलाई धनगढी पठाएर पढाउन सकेकी थिइन्।

तर नरेन भने क्रिकेटमा लगाब देखाइरहेका थिए। आमा गिरिजादेवी भन्छिन्, “धनगढी रंगशालाको हलमा ३०० तिरेर क्रिकेट सिक्न जान्छु मम्मी भन्यो, त्यसपछि जा भनेर पठाएँ।”

नरेनलाई क्रिकेटको भोक यतिसम्म थियो कि, भारतबाट आउने आफन्त र साथीहरूसँग क्रिकेटका सामग्री मगाउँथे। ती सामग्री साथीहरूलाई बेच्थे र त्यही रकमले आफ्नो खेलको आवश्यकता पूरा गर्थे।

गिरिजादेवीले करिब पाँच वर्षअघि अवकाश पाइसकेकी छन्। त्यही कारण परिवारको जिम्मेवारी नरेनमा सरेको छ। अहिले आफूसँग खर्च नभएको र नरेनले बीसीए (ब्याचलर्स इन कम्प्युटर) पढ्छु भनेर शुरूमा ६ हजार रुपैयाँ माग्दा पनि दिन नसकेको उनी बताउँछिन्।

क्रिकेट खेल्न पनि ब्याट, बल, प्याडलगायत सामग्री जुटाउन नसक्ने अवस्था रहेको उनले सुनाइन्। २–३ वर्षदेखि छोरालाई क्रिकेट छाड्न सम्झाइरहेकी छन्। तर नरेन नतिजाका लागि केही समय कुर्न भनिरहेका छन्।

एनपीएल पछि छोराले क्रिकेट खेलेरै केही गर्छ भन्ने आत्मविश्वास बढेको गिरिजादेवी बताउँछिन्। पहिला खेलका लागि लगानी गर्न नसकिने चिन्ताले क्रिकेट छाड्न भन्थिन्, अब त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भएपछि विश्वास बढेको उनको भनाइ छ।


सम्बन्धित सामग्री