Sunday, November 03, 2024

-->

विदेशबाट फर्किएर आरनमा रमाउँदै अर्जुन

बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।

विदेशबाट फर्किएर आरनमा रमाउँदै अर्जुन

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे। वैदेशिक रोजगारमा सोचेअनुरुप आम्दानी गर्न नसकेपछि उनी स्वदेश फर्किए। स्वदेश फर्किएपछि उनले पुर्ख्यौली आरन पेसालाई अगाडि बढाए। 

गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्। आरन पेसाबाट वार्षिक सात लाख आम्दानी भइरहेको गजमेरले जानकारी दिए। साउदी अरब रोजगारीमा रहँदा साहुले लगाएको वचनका कारण स्वदेश फिर्ता भई पुर्खाले गर्दै आएको आरन पेसा सञ्चालन गरेका हुन्। 

“विभिन्न कम्पनीमा कामका लागि गएका नेपालीले तोकिएको काम र पारिश्रमिक नपाउने, गाली र यातनाका साथै दुर्व्यवहार खेप्नुपरेको अनुभव छ,” उनले भने, “मैले स्वदेश फर्किएपछि आरन पेसालाई शुरू गर्ने सोच बनाएँ। अहिले वार्षिक सात लाखसम्म आम्दानी हुन्छ।” गत वर्ष मात्रै पर्यटन तथा उद्योग कार्यालय तनहुँमा परम्परागत अंकित आरन व्यवसाय दर्ता गरेका हुन्। 

आरन व्यवसाय सञ्चालनका लागि गोल सिद्धथान, देवीथुम्का र पार्चे सामुदायिक वन उपभोक्ता समितिका साथै स्थानीय व्यक्तिको सहयोग लिँदै आएको गजमेरको भनाइ थियो। हँसिया, खुर्पा, कुटो, कोदालो, कोदाली, बन्चरो, खुँडा, तरबार, खुकुरी, करौँती, फाली, करुवा, बसिला, छिनो, चिम्टालगायतका घरेलु हतियार, कृषि औजार निर्माण तथा तयारी, मर्मत र अर्जाप्ने काम गर्दै आएका छन्। 

सिजनमा दैनिक छ/सात हजार आम्दानी गर्ने गजमेरले आरन व्यवसायमा अन्य दुई जनालाई रोजगारीसमेत दिएका छन्। आरन पेसाबाटै भएको आम्दानीबाट घर व्यवहार चलाउन सहयोग पुगेको छ। “यही पेसाबाट भएको आम्दानीले छोराछोरीलाई बन्दीपुरको बोर्डिङ स्कुलमा गुणस्तरीय शिक्षा दिन सकेको छु,” उनले भने, “३५ जना गाउँलेबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सहयोग प्राप्त गरी व्यवसाय सञ्चालन गरेको हु।”

यहाँ उत्पादित कृषि औजार खुर्पा २०० रुपैयाँदेखि दुई हजार ५००, कुटो ५००, कोदालो ८०० देखि दुई हजारसम्म, बन्चरो एक हजारदेखि दुई हजार ५०० सम्म, खुँडा एक हजार ५०० देखि आठ हजारसम्म, बसिला ५०० देखि एक हजार ५०० सम्म बिक्री हुने गरेको गजमेरले जानकारी दिए। पुराना औजार मर्मतका लागि १५० र अर्जापेको ६० रुपैयाँ लिने गरेको उनले सुनाए। 

“आरन पेसा हाम्रो पुर्ख्यौली पेसा हो। गाउँमा आरन पेसा लोप हुँदा गाउँलेलेसमेत दुःख पाएका थिए,” गजमेरले भने, “मैले यो पेसा शुरू गरेपछि गाउँलेले सेवा पाएका छन् भने म स्वरोजगार बनेको छु।” यहाँ उत्पादित घरेलु हतियार तथा कृषि औजार घर–घरमै पुगेर बिक्री गर्ने गरेको उनले बताए। भने, “किसानले सुविधा खोज्छन्। म किसानकै घरदैलोमा गई सेवा दिँदै आएको छु। यहाँ उत्पादित कृषि औजार बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकामा बिक्री हुने गरेको छ।”

सामाजिक सञ्जालमा सक्रिय गजमेरले यसको उपयोग गरी कृषि औजारको प्रचार र बिक्री गर्दै आएका छन्। “टिकटक र फेसबुकमा मैले हालेको भिडियो हेरेर बन्दीपुर घुम्न आएका व्यक्ति मसँग सम्पर्कमा आउनुहुन्छ,” उनले भने, “उहाँहरूले कृषि औजार खरिद गरेर लैजानुहुन्छ।” गत वर्ष गाउँपालिकाले एक लाख प्रदान गरेको थियो। 

वैदेशिक रोजगारीबाट फर्किएर आरन पेसा सञ्चालन गरेकामा प्रोत्साहनस्वरुप नगद प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। त्यस्तै आरन संरक्षण तथा प्रवर्द्धनका लागि ४० हजार सहयोग गरिएको उनको भनाइ छ।


सम्बन्धित सामग्री