जानकी– बाँकेको नेपालगन्ज–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहम्मद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन्।
५२ वर्षीय अमिनले बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेका हुन्। उनले आठ वर्षको उमेरदेखि नै बाजेसँग माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन थाले। बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिके।
“बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ। माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ। माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु,” अमिनले विगत सम्झिँदै भने। बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिनले सुनाए।
“जे सिकायो त्यही सिक्ने त हो। मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाए। मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु,” उनले भने, “माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकाले आज हाम्रा लागि यही नै पेसा बनेको छ।”
अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दशैँ तिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन। अघिल्लो वर्षमा १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा छ हजार रुपैयाँ आम्दानी भएको उनले बताए। भने, “यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ र?”
अमिनका परिवारका सात जना माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन्। माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन्। ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिनले बताए। “सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ। भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ,” उनले भने, “यस वर्ष त ह्वात्तै घट्यो। यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ।”
अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएकी छन्। उनले कसगर भाँडा बनाउन सासूबाट सिकेको बताइन्। नेपालगन्ज–५ स्थित मसानघाट टोलकी उनले आफूसँगै दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाएको बताइन्।
पुर्ख्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छिन्। भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ छ। गत वर्षको दशैँ तिहारमा १३ हजारको व्यापार गरेकी उनले १० हजार नाफा कमाएकी थिइन्। तर यस वर्ष भने पाँच हजार रुपैयाँ मात्रै नाफा भएको उनको भनाइ छ।
अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ। तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफियाले सुनाइन्।
“हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो। तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ,” उनले भनिन्, “आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ।” सुफियाले यस वर्षको दसैँ तिहारका लागि एक ट्रली माटोका भाँडा बनाएकी थिइन्। तर, सोचेजस्तो नाफा हुन सकेन।
बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगरका झन्डै २१ घरपरिवारका छन्। तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुर्ख्यौली पेसाका रूपमा चिनाउँदै आइरहेका छन्। कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन्।
पहिले मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरालो लाग्दै गएको छ। माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गरेका छन्। एक ट्रली माटोको मूल्य साढे चार हजार पर्छ। पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ। उमेरले झन्डै चार दशक नाघिसकेका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आएका छन्। पप्पुको सात जनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्छन्। माटोका भाँडा बनाउने समयमा परिवारलाई पनि सघाउँछन्।
पप्पुले भने, “जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्याला मजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ।” एक ट्रली माटोको मूल्य चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि साढे चार हजार तिर्नुपर्ने भएको छ। काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गरिन्छ। “गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशु चौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ,” सुफियाले भनिन्, “हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ।”
एक क्विन्टल दाउरालाई एक हजार पर्छ। माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ। धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ। दुईदेखि २५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा)लगायत अन्य भाँडाकुँडा बनाइन्छन्।
माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन। त्यो चार महिनामा मात्रै उनीहरू दैनिकी रूपमा ज्याला मजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्ने गर्छन्।