रामपुर– तिहारमा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ। पहिले शहर बजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ।
गाउँमा झिनियाँको माग बजारकै तुलनामा बढ्दै गएको छ। एक दशक अघिदेखि झिनियाँ व्यवसायमा लागेका पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठको व्यस्तता लागेपछि बढ्दो छ। उनी गाउँमा झिनियाँ उद्योग शुरूआत गर्ने पहिलो व्यवसायी हुन्। उनले रामपुर नगरपालिका–५ स्थित राङभाङचोकमा उद्योगका रूपमा झिनियाँ सञ्चालन गरेका छन्।
गुणस्तरीय उत्पादन भएकाले गाउँमा खुद्रा तथा थोक रूपमा सहुलियत मूल्यमा दिनहुँ ठूलो परिमाणमा बिक्री हुने गर्छ। गाउँ–गाउँका किराना पसल, स्थानीय ग्राहक नै धेरै बढ्न थालेको व्यवसायी श्रेष्ठ बताउँछन्। “शुरूआतका क्रममा बिक्रीका लागि गाउँमा भन्दा विभिन्न शहर बजारमा नै पुग्नुपथ्र्यो, गाउँमा कम मात्रामा मात्रै व्यापार हुन्थ्यो,” उनले भने, “पछिल्ला वर्षमा ग्रामीण भेगमा नै धेरै व्यापार हुने गरेको छ, तिहारमा झिनियाँको व्यापार गर्न बजार नै कुर्नुपर्ने अवस्था छैन।”
श्रेष्ठले झिनियाँ उत्पादनका लागि सात जना कामदारलाई रोजगार दिएका छन्। तिहारमा धेरै व्यापार हुने भएकाले वर्षायाम सकिएलगत्तै ठूलो परिमाणमा झिनियाँ उत्पादन गर्ने गरेको श्रेष्ठले बताए। “माग धेरै आउने भएकाले चाडपर्व शुरू हुनु तीन–चार महिनाअघिदेखि नै जनशक्ति थप गरेर बिहानदेखि साँझसम्म निरन्तर दैनिक ठूलो मात्रामा उत्पादन हुन्छ,” उनले भने, “जुनसुकै समय पनि ग्राहकले पाउनुहुन्छ।”
बाह्रै महिना झिनियाँ उत्पादन हुने भएकाले पनि उनको उद्योगमा झिनियाँ खरिद गर्ने ग्राहकको चहलपहल भई नै रहन्छ। यस वर्षको दशैँ र तिहारमा मात्रै श्रेष्ठले झिनियाँबाट पाँच लाख बराबरको आम्दानी हुने बताए। अहिलेसम्म साढे चार लाखबराबरको झिनियाँ बिक्री गरिसकेका छन्। भाइटीकाको दिनसम्म ग्राहक आउने भएकाले पनि तयारी अवस्थामा राखेका छन्।
रामपुर नगरपालिकामा पहिलो व्यवसायका रूपमा श्रेष्ठले एक दशकअघि झिनियाँ उद्योग शुरू गरेका हुन्। उनले शुरू गरेको व्यवसाय अहिले यस क्षेत्रमा फस्टाउँदै गएको छ। श्रेष्ठकै उत्प्रेरणामा यस क्षेत्रमा अन्य झिनियाँ व्यवसायी थपिँदै गएका छन्। रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले बजारमा झिनियाँ उत्पादन नदेखेपछि उद्योग शुरू गरेको बताए।
सानो हाते साँचोबाट शुरू भएको व्यवसाय अहिले उद्योगको रूपमा स्थापित भएको छ। व्यापार बढ्दै जादा विद्युत्बाट चल्ने दुईवटा ठूला मेसिनबाट झिनियाँ उत्पादन गर्छन्। तिहारको बेलामा खुद्रा मात्रै एक व्यक्तिले दाजुभाइलाई कोशेलीको रूपमा सगुनस्वरुप दिन ४० दर्जनसम्म झिनियाँ लैजाने गरेको उनकी श्रीमती लक्ष्मी श्रेष्ठले बताइन्। यस वर्ष मौसम राम्रो भएकाले विगतमा भन्दा उत्पादन धेरै हुँदा ग्राहकको मागअनुसार पुर्याउने कोसिसमा रहेको उनी बताउँछन्।
“महिलालाई झिनियाँ उद्योग धेरै राम्रो छ, घरायसी कामकाज सकेर दिउँसोको समय झिनियाँ बनाएर राम्रो आयआर्जन गर्न सकिन्छ,लगानी पनि धेरै छैन,” उनले भनिन्। शुरूमा एक्लै गरे पनि झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर बनाउने गरेको उनको भनाइ छ।
झिनियाँ प्रतिदर्जन ९० मा बिक्री भइरहेको छ। गुणस्तरीय, ठूला, खादा स्वाद राम्रो हुने भएकाले यस उद्योगबाटै भाइटीकामा दाजुभाइलाई सगुन दिन झिनियाँ खरिद गर्न ग्राहक आउने गरेका छन्। तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको छ।
पहिले बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो। घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो। तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा झिनियाँ बनाउने कार्य गरिँदैन। त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्। उद्योग तथा बजारमा जतिबेला पनि खरिद गर्न पाइने भएपछि ग्राहकलाई चाडपर्वका बेला झिनियाँ खरिद गर्न धेरै सहज भएको छ।
भाइटीका लगाइदिएपछि कोशेलीका रुपमा सगुनस्वरुप झिनियाँ, सेलरोटी, बस्त्र उपहारलगायतका विभिन्न मीठा–मीठा परिकार दिदीबहिनीले आफ्ना दाजुभाइलाई दिने चलन रहेकाले झिनियाँ खरिद गर्न उद्योगमा आएको तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारकी सुनिता कुमालले बताइन्। अघिल्ला वर्षको तुलनामा यसपटक झिनियाँको माग धेरै छ। दशैँ शुरू भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायी बताउँछन्।
झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डारण गरेर बजारमा पठाउन सकिन्छ ।
गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ। तिहारबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघेसङ्क्रान्ति, तीजलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ। चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ।
लगानी धेरै नपर्ने, बिहान साँझ घरायसी कामधन्दाका अलवा, छोराछोरी विद्यालय पठाएपछिको समय सदुपयोग गर्दै झिनियाँ बनाएर महिलाले आफ्नो खर्च चलाउन सक्ने भएका छन्।