अन्नपूर्ण– २०२० सालको दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन। पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे।
उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को घान्द्रुकमा हुन्थ्यो। ढुंगेनी नामले परिचित गाउँमा पर्यटकको नजर जान्थ्यो र उनीहरू एक रात त्यहीँ बस्न चाहन्थे। तर, घान्द्रुकमा त्यो समय होटल, रेस्टुरेन्ट थिएन।
गाउँमा अंग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो। सोही समय पर्यटकको सारथि बने, शंकरमान गुरुङ। २०२६ सालमा उनले घान्द्रुककै मेश्रम वराह विद्यालयमा पढाउन थालेका थिए। अंग्रेजी विषय पढाउने उनलाई भाषा नआउने कुरै भएन।
विद्यालय बिदापछि घर पुग्दासम्म पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँ देखाउने काम उनले नै गरे। त्यसबेला घान्द्रुकमा ‘फिस्टेल’ होटलमात्र थियो। फिस्टेललाई पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो। केहीलाई बास पाउनै मुस्किल। अन्ततः शंकरमान आफैँले घरमा पाहुना राख्ने निधो गरे। समयक्रमैसँगै जन्मियो, होटल मिलन। “चार बजे छुट्टी भएर घर फर्किँदा विदेशी पर्यटक बाटोमा भेटिन्थे,” शंकरमान २०२६ सालतिको कुरा सम्झिन्छन्, “उनीहरूले यहाँ लजिङ फुडिङबारे सोध्थे। त्यो बेला यहाँ फिस्टेलबाहेक अरु होटल थिएनन्। त्यहाँ प्याक भएपछि मेरै घरमा लगेर पाहुना सुताउँथे।”
घरमै सेवा दिँदा शुरू त आफूले सित्तैमा राखेको उनी सम्झिन्छन्। “हामीले त पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो। त्यो बेला पैसा लिने चलन थिएन,” उनले भने, “बिहान ट्रेकिङ जाने बेला कति हो, के हो भनेर सोध्थे। हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, पर्दैन भन्थेँ।”
होटल गर्दा गाउँलेले नराम्रो नजरले हेरेको तीतो यथार्थ पनि उनीसँग छ। “कूल घरानाका मान्छेले बाटोमा बसेर अर्काको जुठो भाँडा माझ्ने भन्थे,” शंकरमानले भने, “मैले वास्ता गरिनँ। होटल सञ्चालन थाले। अहिलेचाहिँ सबैले मेरो कपी गरेका छन्।”
त्यो समय एक सुका कप चिया। साढे ३ रुपैयाँमा खाना। बास सित्तैमा थियो। सुका र मोहोरको त्यो जमाना अहिले फेरिएको छ। तर शंकरमान र होटल मिलनको सम्बन्ध ५३ वर्षदेखि अनवरत चलिरहेकै छ।
सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेपछि अन्नपूर्ण पदमार्गले चर्चा पायो। पर्यटकीय गाउँ घान्द्रुक पुनः आकर्षणको केन्द्र बन्न थाल्यो। “गोराहरूको टार्गेट भनेकै अन्नपूर्ण बेस क्याम्प थियो। तर एक रात घान्द्रुक बसेर उकालो चढ्थे,” शंकरमानले भने, “त्यो बेला पोखरा–बागलुङ सडक खुलेकै थिएन। पोखराबाट नै टुरिस्ट आउँथे। होटल मिलनबाट सेवा दिन पाउँदा निकै खुसी लाग्थ्यो।”
घान्द्रुकको पहिलो होटल फिस्टेल बीचैमा बन्द भयो। तर श्करमानले पाहुनाको सेवा गरिरहे। पाहुनालाई साथीको व्यवहार गरे। सोही कारण पनि उनको पर्यटकसँग पुरानो सम्बन्ध छ। एकपटक आएका पाहुना फर्की–फर्की आउने गरेको शंकरमान बताउँछन्। “होटलका कारण विदेशी पर्यटक साथी बने। मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन्। सिंगापुर, जापान सबैतिरका साथीहरू भेट्न हरेक वर्षजसो आउँछन्,” उनले भने।
७८ वर्षीय शंकरमान उमेर ढल्किँदै गएपछि व्यवसायबाट टाढा हुने सोचमा छन्। “काम गर्ने भनेर मात्र नहुने रहेछ। अब नसक्ने अवस्थामा पुगेको छु,” उनले भने, “अब छोराबुहारीलाई गर भनेर छाड्ने सोचमा छु।” शुरूमा हेयको भावले हेर्ने घान्द्रुकका स्थानीय अधिकांशले होटल स्थापना गरी पाहुनाको सेवा गरेको देख्दा उहाँलाई अहिले खुशी लाग्छ।
“शुरूमा मैले नै यसो गर्नुपर्छ भनेर सिकाएको हुँ। अहिले सबैलाई राम्रो भएको छ,” उनले भने, “मैले एक सुका कप चियाबाट थालेको व्यवसायमा १४ कोठाबाट ३५ जनालाई सेवा दिन्छु। अहिले कोठाको एक हजार २००, खाना ५५० र चियाको ७० रुपैयाँ भएको छ।” घान्द्रुकमा होटलका पायोनियर शंकरमान गुरुङलाई घान्द्रुक पर्यटन व्यावसायी समिति आफ्नो पहिलो साधारणसभामा सम्मानसमेत गरेको छ।
शंकरमानको सिको गर्दै बिस्तारै घान्द्रुकमा होटल रेस्टुरेन्ट खुल्दै गएको घान्द्रुक पर्यटन व्यवसायी समिति अध्यक्ष विक्रम गुरुङले बताए। विक्रमका अनुसार घान्द्रुकका करिब ३०० घरधुरीमध्ये १०५ मा विभिन्न व्यवसाय सञ्चालित छ। जसमा ५५ होटल, १८ होमस्टे र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन्।
घान्द्रुकमा होटल तथा होमस्टे गरी ७२० कोठामा एकै दिन दुई हजारसम्म पाहुना राख्न सकिने अध्यक्ष विक्रम गुरुङले बताए।