Thursday, May 30, 2024

-->

बेमौसमी हिमपातले असहज बन्दै जनजीवन

वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ।

बेमौसमी हिमपातले असहज बन्दै जनजीवन

ताप्लेजुङ– ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो। पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे। त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो। तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ। पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ।

पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबार बेलुका तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ। यसअघि सामान्य हिमपात भए पनि यति धेरै हिउँ खसेको थिएन। साँझ परेपछि वर्षा हुने र हिउँ पर्ने क्रम केही दिनदेखि चलिरहेको हिमाली बस्ती घुन्साका दीपक शेर्पाले बताए।

यता ओलाङचुङगोलामा समेत केही दिनदेखि सामान्य वर्षासहित हिमपात भइरहेको छ। यो वर्ष ढिलो गरेर हिमपात भए पनि विगतका वर्षमा जस्तो बाक्लो हिमपात भने भएको छैन। “विगतमा यतिबेलाको जस्तो चैतमा हिउँ पर्दैनथ्यो, यो वर्ष हिउँ पर्ने बेला पुस–माघमा मौसम खुला भयो, हिजोआज वर्षा र हिमपात भइरहेको छ”, शेर्पाले भने।

यो वर्ष शुक्रबार पहिलो पटक केही उच्च क्षेत्रका गाउँमा समेत हिउँ परेको छ। सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन, मामांखे, मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका गाउँमा हिमपात भएको स्थानीयले बताए। हिउँदको समयमा पानी नपर्दा हिउँदे बालीनाली फस्टाउन नसके पनि पछिल्लो समयमा परेको वर्षाले भने किसानलाई सामान्य राहत मिलेको छ। तर तल्लो क्षेत्रसम्म नै हिउँ पर्दा भने अलैँची बालीमा क्षति हुन्छ।

“अलैँची, मकै, जौँ, गहुँ, तरकारी र फलफूल खेतीका लागि हिउँदमै वर्षा हुनुपर्थ्यो, यो वर्ष हिउँदमा वर्षा भएन तैपनि आजभोलिको वर्षाले सामान्य राहत मिलेको छ”, फावाखोलाका कमल विष्टले भने। तर यतिबेला पर्ने हिउँले अलैँची खेतीलाई भने असर गर्ने उनको भनाइ छ। बाक्लो हिउँले अलैँचीका बोट ढल्ने, हिमपातपछि चर्को घाम लाग्दा बोट सुक्नेजस्ता समस्या देखिने गरेको उनले बताए।  

ताप्लेजुङमा यो वर्ष फागुन मध्यतिर फाट्टफुट्ट वर्षा र हिमपात भएको थियो। त्यसयता निकै दिनपछि चैत लाग्दादेखि सामान्यतया वर्षा भइरहेको छ। उच्च क्षेत्रमा भएको बेमौसमी हिमपातले आलुखेतीमा असर पुर्‍याएको छ। मानव बसोबास रहेका यहाँका हिमाली गाउँ घुन्सा, याङ्मा, ग्याब्ला, फले, ओलाङचुङगोलालगायतमा यतिबेला आलु रोपिसकिएको छ। केही दिनअघि रोपिएको आलु नउर्मिदै हिउँ परेकाले बीउ कुहिन सक्ने सम्भावना भएको स्थानीयले बताएका छन्। “हिजोआज भर्खरै आलु रोपिसकिएको छ, आलु उर्मिने बेलामा निरन्तर हिउँ पर्‍यो भने माटोभित्रै बीउ वा बीउको अङ्कुरण कुहिने सम्भावना हुन्छ”, घुन्साका दीपक शेर्पाले भने।

यहाँका हिमाली बस्ती तथा गाउँको मुख्य खेती भनेकै आलु हो। आलुखेतीबाटै स्थानीयवासीले आम्दानी लिन्छन्। आलु फलाएर तल्लो क्षेत्रका बासिन्दासँग अन्न साटेर लैजाने चलन छ। उच्च क्षेत्रमा अन्नबाली नहुने भएकाले औलका मानिससँग आलुसँग अन्न साटेर लैजाने गरिएको हो।

यता, बेमौसमी हिमपातले बालीनालीमा मात्रै नभई वन्यजन्तु र बोटबिरुवामा समेत असर पुग्ने बताइन्छ। समयमा हिउँ नपर्दा चिसोमा अभ्यस्त बोटबिरुवा र वन्यजन्तुमा असर पुग्छ भने न्यानो मौसम हुने सिजनमा हिउँ पर्दा पनि बोटबिरुवा र वन्यजन्तुलाई असर पुग्छ। वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ। यस्तै, न्यानो खोजिरहेका जीवजनावर तथा वन्यजन्तुलाई समेत एक्कासि पर्ने हिमपातले कठिनाइ हुने गरेको स्थानीयवासीले बताएका छन्।

बेमौसमी हिमपातले चिसो बढेसँगै उच्च क्षेत्रका बासिन्दालाई समेत असहज भएको स्थानीयले बताएका छन्। केही दिनअघि न्यानो मौसम शुरू भएर पशुचौपायासहित उच्च गोठ सार्दै लगेका पशुपालकले समेत समस्या भएको बताए। केही न्यानो महसुस गरेर माथिल्लो भेगमा गोठ सारेपछि भएको हिमपातले असर गरेको भेडापालक गोपाल विष्टले बताए। यस्तै, वर्षा र हिमपातले हिमाल हेर्न, आरोहण गर्न आएका पर्यटकलाई समेत असर पुर्‍याउने पर्यटन व्यवसायीले बताएका छन्।


सम्बन्धित सामग्री