Friday, April 19, 2024

-->

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा युवा

म्याग्दीको बेनी नगरपालिका–६ का अशोक शाही, वडा नं ८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका–७ का रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जन तथा मौलिकता संरक्षणमा लगाएका हुन्। 

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा युवा

म्याग्दी– आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ।

नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुन लागेको अवस्थामा म्याग्दीका तीन युवा सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन्।

बेनी नगरपालिका–६ का अशोक शाही, वडा नं ८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका–७ का रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जन तथा मौलिकता संरक्षणमा लगाएका हुन्। 

घर, भवन, मन्दिर, गुम्बा, संग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा मौलिक बुट्टा भरेर आकर्षक बनाउने सीप उनीहरूसँग छ। काठ र बाँसबाट सामान बनाउन जामुनाखर्कमा ‘राउटे हस्तकला उद्योग’ खोलेका छन्।

एक पटक देखेको र चित्र हेरेका आधारमा काठ कुँदेर दुरुस्त सामग्री तयार पार्नु तीनै जनाको विशेषता हो। “सानैदेखि काठ कुँदेर विभिन्न सामान बनाउने गर्थेँ,” शाहीले भने, “त्यसैलाई अहिले आम्दानीको बाटो बनाएको छु। तीनजना मिलेर सामान बनाएर बेच्ने गरेका छौँ।”

प्रर्दशनीका लागि तयार पारेको काष्ठकलाका सामग्री प्रयोग गरेर जामुनाखर्कमा मौलिकता झल्काउने घर पुनःनिर्माण गरिएको छ। शाही वैदेशिक रोजगारीका सिलसिलामा २७ महिना मलेसियामा बिताएर २०७४ सालमा फर्किएका हुन्। मलेसियामा सोचेजस्तो नभएपछि घर फर्किएर काठ र बाँसका सामान बनाउने व्यवसाय थालेको उनले सुनाए।

शाहीले सात वर्ष मलेसियाको फर्निचर उद्योगमा काम गरेर फर्किए वर्षीय अमर र बेनीमै फर्निचरमा काम गर्दै आएका रुपेशलाई रोजगारी दिएका हुन्। शुरूमा बाँसका सिन्का बनाउन चीनबाट नौ लाख खर्चेर मेसिन ल्याए। उद्योगमा १५ लाख रुपैयाँ लगानी गरेका छन्।

५०० देखि दुई लाख ५० हजार मूल्य रुपैँयासम्मका सामग्री बनाउने अमरले बताए। बाँसका सिन्कालाई डिजाइन र स्वरूपअनुसारको टुक्रा बनाएर फेबीकलले टाँसेर मुडा कुर्सी, टेबल र चोयाबाट डोका, डाला, नांलो, थुन्से, भकारीजस्ता परम्परागत घरायसी सामग्री तयार पारिँदै आएको उद्योगमा पछिल्लो समय काठका सामान उत्पादन हुन थालेको छ।

भवन, घर, मन्दिरका फर्निचरका साथै उपहार र सजावटका लागि मागबमोजिम हस्तकलाका सामान बनाउने गरिएको छ।

शाहीले पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँचतले दरबार, घर, दर्जनौँ मन्दिर तथा ऐतिहासिकस्थलका आकृति तयार पारेका छन्। 


सम्बन्धित सामग्री