Saturday, April 20, 2024

-->

प्रसूति अस्पतालको ‘मिल्क बैंक’ : दुध नआउने आमाका नवजात शिशुलाई अमृत कोष

आमाको दुध सेवन गर्न नपाएका वा नसकेका नवजात शिशुका लागि अन्य सुत्केरीले दान गरेको दुध खुवाउन थापाथलीस्थित प्रसूति अस्पतालले ‘अमृत कोष’ शुरू गरेको छ।

प्रसूति अस्पतालको ‘मिल्क बैंक’  दुध नआउने आमाका नवजात शिशुलाई अमृत कोष

काठमाडौँ– शर्मिला केसी (२७) गएको फागुन ३ गते सुस्त गतिमा पाइला बढाउँदै थापाथलीस्थित प्रसूति अस्पतालको वार्डबाट ‘अमृत कोष’तर्फ गइन्। ढोकामा पुगेपछि बेग्लै गाउन र चप्पल लगाइन्। अनि अमृत कोषको दुध संकलन कक्ष प्रवेश गरिन्।

चार दिनकी सुत्केरी उनी करिब एक घण्टापछि त्यहाँबाट बाहिरिइन्। त्यतिन्जेलसम्म नवजात शिशुले आमाको दुध खान पाएकै थिएनन्।

सुत्केरी भएको दुई दिनसम्म उनको दुध आएन। दुई दिनपछि दुध आउँदा शिशुलाई जन्डिस संक्रमण पत्ता लागेपछि एनआईसीयूमा सारिइसकिएको थियो। अस्पतालमा आमाको दुध जम्मा गरिने अमृत कोष स्थापना भएको र त्यहाँबाट एनआईसीयूका शिशुलाई दिन सकिने चिकित्सकले उनलाई जानकारी दिए।

‘मिल्क बैंक’ भनेर चिनिने अमृत कोषमा अन्य सुत्केरी आमाहरूले दान गरेको दुध पनि संकलन गरेर राखिन्छ। यसरी राखिएको दुध शिशुहरूलाई निःशुल्क दिइन्छ। 

दुध संकलनपछि प्रशोधन हुन्छ। अनि बोटलमा राखिन्छ। बोटलमा दान दिने आमाको नाम उल्लेख हुन्छ। “अस्पतालमा यस खालको सुविधा नभएको भए बाहिर पसलमा किनेर बट्टाको दुध खान दिनु पर्थ्यो। धेरै राम्रो काम भयो,” शर्मिला भन्छिन्। 

छोमु तामाङ (२१) आफ्ना सन्तानलाई स्तानपान गराएपछि बाँकी रहेको दुध दान गर्छिन्। उनी रसुवाबाट सुत्केरी हुन प्रसूति अस्पताल आएकी हुन्। १५ दिनअघि शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी उनले केही दिनदेखि दुध दान गरिरहेकी छन्। 

 

आफ्नो सन्तानलाई खुवाएपछि बाँकी भएको दुध त्यतिकै खेर जानुभन्दा अन्य शिशुका लागि दिनु धर्म हुने ठानेर दान गरेको उनी बताउँछिन्। “अमृत कोषबारे यहीँ आएर थाहा भयो,” उनी भन्छिन्, “आफ्नो सन्तानलाई पुग्छ भने खेर जाने दुध फाल्नु सट्टा अस्पतालमा अरू बच्चालाई दिन ठीक लाग्यो।” 

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्थापना दिवस पारेर गएको भदौ ३ गते औपचारिक रूपमा ‘अमृत कोष’ शुरू गरिएको नवजात शिशु विभागकी प्रमुख डा. कल्पना उपाध्याय सुवेदीले जानकारी दिइन्। हालसम्म अमृत कोषमा करिब ३०० आमाहरूले दुध दान गरिसकेका छन्। ३१८ शिशुले अमृत कोषमार्फत आमाको दुध सेवन गर्न पाएका छन्। 

हालसम्म १७४ लिटर दुध दान भइसकेको अस्पतालको तथ्यांक छ। नेपालमा पहिलोपटक प्रयोग भए पनि सन् १९९० कै दशकमा ब्राजिल र नर्वेजस्ता देशले मिल्क बैंक शुरू गरेको डा. सुवेदी बताउँछिन्। 

पोषणविद् डा. अरुणा उप्रेती नवजात शिशुको लागि पहिलोपटक आउने आमाको बिगौती दुध पोषिलो हुने बताउँछिन्। बिगौती दुधको पोषणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ। “सुत्केरी भएपछि दुध नआउने, आए पनि शिशुले तान्न नसक्ने अवस्था भइरहेको हुन्छ”, डा. उप्रेती भन्छिन्, “बजारमा पाइने फर्मुला मिल्क पोषणयुक्त हुँदैनन्। यसको लागि अमृत कोष उत्तम विकल्प हो।”

के हो अमृत कोष?
अमृत कोषमा सुत्केरी आमाहरूले दान गरेको दुध जम्मा गरिन्छ। दुधलाई प्रशोधनपछि भण्डारण गरिन्छ। यो कोषले विशेषतः एनआईसीयूमा रहेका र कमजोर स्वास्थ्य अवस्था भएका शिशुलाई प्राथमिकतामा राखेर दुध खुवाउने गर्छ।

 

अमृत कोषलाई स्वास्थ तथा जनसंख्या मन्त्रालय, युनिसेफ नेपाल तथा युरोपियन युनियनको सहकार्यमा खोलिएको र बृहत स्तनपान व्यवस्थापन केन्द्र (सीएलएमसी) अन्तर्गत राखिएको डा. सुवेदी बताउँछिन्। सीएलएमसीले तीन चरणमा काम गर्ने उनको भनाइ छ। “पहिलो, सामान्य रूपमा जन्मेका बच्चालाई जन्मेको तीन घण्टामा सुत्केरी आमाको स्तनपान गराउने। दोस्रो, नवजात शिशुले आमाको दुध तान्न नसके आमाकै दुधलाई निचोरेर सेवन गराउने। तेस्रो, आमाको दुध नआए अन्य दातृ आमाबाट संकलन गरेको दुध खुवाउने। यसलाई मिल्क बैंक अर्थात् अमृत कोष भनिन्छ,” उनले भनिन्।

डा. सुवेदीका अनुसार, कोषले विशेषतः परिपक्व नहुँदै जन्मिएर एनआईसियूमा राखिएका शिशुलाई प्राथमिकतामा राखेर दुधको व्यवस्था गर्छ। आफ्नो आमाको स्तनपान गर्न नसकेका वा आमाको दुधै नआएका शिशुलाई पनि सहयोग गर्ने डा. सुवेदीले बताइन्।

सन्तानलाई स्तनपान गराएपछि खेर जाने दुधलाईसुत्केरी आमाहरूले कोषमा दान गर्न सक्छन्। त्यस्तै, शिशुले स्तनपान गर्न नसके पनि सुत्केरी आमाले अमृत कोषमा दान गरेर त्यसमार्फत आफ्नो शिशुलाई खुवाउन सक्छन्। 

प्राविधिक रूपमा कति सुरक्षित?
दुध दानका लागि सबैभन्दा पहिले अस्पतालले सुत्केरी आमाको स्वीकृति लिन्छ। एचआईभी, हेपाटाइटिस र सिफिलिस गरी तीन परीक्षण गरिन्छ। गर्भवती भएको पछिल्लो ६ महिनामा यस्तो जाँच भएको छ भने सोही रिपोर्ट पनि मान्न सकिने डा. सुवेदी बताउँछिन्। सोही अवधिमा दातृ आमाको शरीरको कुनै अंग, विशेषतः स्तनको क्षेत्रमा कुनै प्रकारको संक्रमण भए–नभएको जाँच हुन्छ। 

परीक्षण रिपोर्ट नेगेटिभ आए मात्र दुध दान गर्न सकिन्छ। यसरी संकलन भएको दुधलाई २ देखि ८ सेन्टिग्रेडमा २४ घण्टा राख्न सकिन्छ। २४ घण्टापछि माइनस २० डिग्रीमा डिप फ्रिजमा राखिन्छ।

तीनदेखि पाँचजना सुत्केरीले दान गरेको दुध एकै ठाँउमा मिसाएर प्रशोधनका लागि पठाइन्छ। प्रशोधनका लागि कम्तीमा १७ सय मिलिलिटर दुध संकलन हुनुपर्छ। आफ्नै सन्तानको लागि दुध दान गरेका आमाको हकमा भने भण्डारण गरिएको दुध बिनाप्रशोधन पनि खुवाउन सकिन्छ।

प्रशोधित दुधको नमूना परीक्षणका लागि पठाइन्छ। रिपोर्ट नआएसम्म दुधलाई माइनस २० डिग्रीमै राखिन्छ। रिपोर्ट नेगेटिभ आएपछि मात्र शिशुको लागि उपयुक्त हुन्छ। 

प्रशोधन नगरी राखिएको दुध तीन महिनासम्म प्रयोग गर्न सकिने उनी बताउँछिन्। तीन महिनापछि पुनः उक्त दुधलाई प्रशोधन गरी थप तीन महिना प्रयोग गर्न सकिने डा. सुवेदी बताउँछिन्। 

अमृत कोषलाई विस्तार गर्न सम्भव छ?
शुरूका दिनमा अमृत कोषमा दैनिक ४०० देखि ५०० मिलिलिटर दुध संकलन हुन्थ्यो। अहिले दैनिक १२ सय मिलिलिटर जम्मा हुन थालेको डा. सुवेदीले जानकारी दिइन्। उनका अनुसार एकैदिन सबैभन्दा बढी दुई लिटरसम्म जम्मा भएको छ।

यस अवधारणाले विस्तारै विस्तृत रूप लिन सक्ने सम्भावना रहेको सीएलएमसीकी व्यवस्थापक स्मृति पौडेल बताउँछिन्। “हाल प्रसूति अस्पतालमा मात्र रहेको यो सेवा देशका विभिन्न स्थानमा स्थापना गर्न सके अनाथ बालबालिकाका लागि उपयुक्त हुनसक्ने सम्भावना छ,” डा. पौडेल भन्छिन्, “दैनिक अस्पताल आउन नसक्ने सुत्केरीका लागि पनि पायक पर्ने स्थानमा यस्ता केन्द्र स्थापना गर्न सकिए यो अवधारणाले बृहत स्वरूप लिन सक्छ।” 

नेपालमा परम्परागत रूपमा यस्तो अभ्यास भए पनि संस्थागत नभएको पोषणविद् डा. उप्रेती बताउँछिन्। उनी भन्छिन्, “गाउँघरमा अझै पनि सुत्केरी आमाको दुध नआए वा आमाको मृत्यु भएमा छिमेकका अन्य सुत्केरीले दुध खुवाएर हुर्काएका उदाहरण प्रशस्त छन्।” यही परम्परा संस्थागत रूपमा शुरू हुनु राम्रो भएको उनी बताउँछिन्।


भिडियो


सम्बन्धित सामग्री