Tuesday, December 03, 2024

-->

बुंगमतीका बुद्धिरत्न जो आफ्नो जिउधन खर्चेर सार्वजनिक सम्पत्ति जोगाइरहेछन्

भूमाफियाले कब्जा गरेका सार्वजनिक सम्पत्ति फर्काउन आफ्नो खेतबारी बेचेर मुद्दामामिलामा लागिपरेका व्यक्ति हुन् बुद्धिरत्न शाक्य, जसलाई विपक्षीहरूले दिने धाकधम्कीको कुनै पर्वाह छैन।

बुंगमतीका बुद्धिरत्न जो आफ्नो जिउधन खर्चेर सार्वजनिक सम्पत्ति जोगाइरहेछन्

ललितपुर– एउटा साँघुरो कोठाको मधुरो प्रकाशमा दुई वटा पुराना खाट देखिन्छन्। खाटमाथि फाटिसकेका सुकुल र तन्ना ओछ्याइएका छन्। त्यसमाथि नेपाली कागजका फाइल र निवेदनहरू असरल्ल छन्। संविधान, विभिन्न ऐन तथा नियमावलीका पुस्तकहरूको पनि चाङ छ। त्यही बीचमा एउटा ‘टेबल ल्याम्प’ र एउटा ‘म्याग्निफाइङ ग्लास’ पनि देखिन्छ। 

५३ वर्षीय बुद्धिरत्न शाक्य असोज १४ गते राति करिब ९ बजे त्यही खाटको एउटा किनारमा घोत्लिएर केही फाइल अध्ययन गरिरहेका भेटिए। उनी विभिन्न व्यक्तिले कानून मिचेर हडपेका सार्वजनिक सम्पत्तिका फाइल चाख दिएर पढिरहेका थिए। उनले दिनहुँ यस्ता फाइल पल्टाउने काममा आफूलाई लीन बनाउन थालेको एक दशक बितिसकेको छ। 

उनको आँखाको डिल सुन्निएको देखिन्छ। छेउछाउमा अनेक थरी औषधिहरू छन्। खाटनजिकै एउटा अक्सिजन सिलिन्डर छ। दमका बिरामी उनले त्यसलाई आपत्कालीन सहारा बनाएका छन्। उनको शरीर कमजोर छ। हातखुट्टाको दुखाइ सहन कठिन भइरहेको यथार्थ लुकाउँदैनन्। 

खाटसँगैको भित्तामा एउटा सेतो बोर्ड झुन्डिएको छ। बोर्डमा अदालतमा विचाराधीन मुद्दा र तिनका तारेखहरूको मिति लेखिएका छन्। कोठाको दायाँबायाँ काठको पुरानो दराज धार्मिक, सांस्कृतिक लगायतका पुस्तकहरूले भरिएका छन्। बुद्धिरत्नको खाने, बस्ने, मध्यरातसम्म कागजात अध्ययन गर्ने र सुत्ने यही एउटा कोठा हो। 

उनी हरेक बिहान झिस्मिसेमै उठ्छन्। आफ्नो नित्यकर्म सकेपछि रेडियोमा समाचार सुन्छन्। त्यसपछि मुद्दाका फाइलहरू अध्ययन गर्छन्। श्रीमती जमुनाले पकाएको खाना उनले त्यही खाटको कुनामा बसेर खान्छन्। त्यसपछि फाइल र निवेदनहरूले भरिएको एउटा पुरानो गह्रुंगो कालो झोला काँधमा झुन्ड्याएर हतारहतार घरबाट निस्कन्छन्। थरथर कामिरहेका हातले आफ्नो पुरानो ‘स्प्लेन्डर’ मोटरसाइकलको ह्यान्डल समात्छन्। त्यसपछि गाह्रोसँग ‘किक’ हान्छन्। 

आफ्ना स्वास्थ्य समस्याको पर्वाह नगरी हरेक दिन यसैगरी घरबाट निस्कन किन हतार गर्छन् उनी? किनभने उनलाई हरेक दिन ललितपुर महानगरपालिका–२२ मा पर्ने बुंगमतीको देशपोखरी, कोटाटोलस्थित आफ्नो घरबाट करिब ४५ मिनेट यात्रा गरेर पुलचोकदेखि लगनखेलसम्म रहेका सरकारी अड्डाहरूमा पुग्नुपर्छ। कहिलेकाहीँ सर्वोच्च अदालत पनि धाउनुपर्ने हुन्छ। 

झन्डै एक दशकदेखिको उनको यो दिनचर्या रहरभन्दा पनि जिम्मेवारीबोधको निरन्तरता हो। जिल्लाको सार्वजनिक सम्पत्ति जोगाउने लडाइँमा होमिएका उनी एक्लै छन्। किन त?   

भर्ना शुल्क जोहो गर्न कानको मुन्द्रा बिक्री 
बुद्धिरत्न आर्थिक अवस्था जर्जर भएको परिवारमा जन्मिएका थिए। उनका बुवा बुद्धिराज ज्यामी काम गर्थे। आमा पनि बुवालाई सघाउँथिन्। त्यति गर्दा पनि उनीहरूलाई हातमुख जोर्न हम्मेहम्मे पर्थ्यो। त्यसैले उनीहरूले गुठीको जग्गामा बाली उब्जाउँथे। गुठीलाई कुत बुझाउँथे। तर बुद्धिरत्न दुई वर्षको छँदा उनका बुवा बिते। उनी एक्ला सन्तान थिए। एकल आमा, ठूलोबुवा र ठूलीआमाको रेखदेखमा हुर्किए।  

उनलाई पढ्ने रहर थियो। सरकारी विद्यालय (आदर्श शौल युवक माध्यमिक विद्यालय) मा भर्ना हुन पाए। २०४५ सालमा सोही विद्यालयबाट एसएलसी दिएका उनी नेपाल ल क्याम्पसमा भर्ना भएका थिए। त्यो चाहिँ उनको रहर नभई बाध्यता थियो। उनकी आमाले लेखपढ गर्ने मौका पाएकी थिइनन्। उनले नेपाली भाषासमेत नबुझ्दा घरायसी कारोबारमा कठिनाइ झेल्नुपरेको थियो। हजुरबुवाको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्दा होस् या अन्य घरायसी कागजातहरू नेपालीमा पढ्न नजान्दा आमाले आफन्त वा छिमेकी खोज्दै हिँड्नुपरेको उनले देखेका थिए।   

बुद्धिरत्नले आमालाई यस्तो हैरानीबाट छुटकारा दिन चाहे। लेखपढ गर्न नपाएका अरूलाई पनि सहयोग गर्न उनले कानून विषय अध्ययन गर्ने निधो गरे। तर क्याम्पसमा लाग्ने उनको भर्ना शुल्क जुटाउने उपाय भएन। अन्ततः उनकी आमाले बाल्यकालदेखि कानमा लगाउँदै आएको सुनको मुन्द्रा बन्धकी राखेर ५०० रुपैयाँ क्याम्पसलाई बुझाइन्। त्यसपछि मात्र बुद्धिरत्नले भर्ना पाए। “आमाको दुःख देख्न सक्दैनथेँ। आफूले कानून पढेपछि आफ्ना लागि मात्र नभई अरूलाई पनि सहयोग हुन्छ भन्ने ठानेँ। मलाई पढ्ने अवसर सुनभन्दा पनि अमूल्य लाग्यो,” उनले भने। 

तर उनलाई पढ्न सहज थिएन। खर्चको अभाव पूर्ति गर्न दिनभर अरूको खेतबारीमा काम गरेर साँझ मात्रै क्याम्पस जान्थे। जेनतेन उनले आईए पास गरे। बीएलमा भर्ना त भए, तर काम छोड्दा जीविका रोकिन् भएकाले अध्ययन त्यागे। “ठूलो बुवासँगै आमा पनि रोगले थला पर्नुभयो। घरको जिम्मेवारीले थिच्दै लग्यो। किताब किन्ने पैसासमेत जुटाउन सकिनँ। अनि पढाइ बीचमै छोड्नुपर्‍यो,” उनले विगत सम्झिए। 

अध्ययन बीचैमा रोकिएपछि उनले २०४८ सालदेखि मालपोत कार्यालय ललितपुरमा लेखापढीको काम शुरू गरे। त्यो बेला लेखापढीको काम गर्दा राम्रै आम्दानी हुन्थ्यो। तर आर्थिक अवस्था कमजोर भएका ललितपुरको दक्षिणी भेगमा पर्ने बुंगमतीका किसानहरूले जग्गाको कारोबार गर्दा उनीसँग सहयोग माग्न थाले। मनकारी उनले पैसा तिर्न नसक्ने किसानलाई निःशुल्क सहयोग गर्थे। किसानहरू दंग पर्दा उनी पनि आनन्दित हुन्थे। 

त्यस्तो सहयोगी व्यवहारले स्थानीयमाझ चिनिन उनलाई धेरै समय लागेन। “आर्थिक अवस्था कमजोर हुँदा मैले पढाइसमेत त्याग्नुपरेको थियो। पैसाको अभावमा कसैको काम नरोकियोस् भन्ने सोचेर उदार मनले सबैको सेवा गरेँ,” उनले भने, “लेखापढी व्यवसायी मात्रै होइन, आफ्नै कतिपय सहकर्मीले समेत मालपोतलाई कमाउने अडाडा बनाएको देख्थेँ। तर मलाई त्यसो गर्ने विचार कहिल्यै आएन। गरिबलाई सेवा गर्दा बेग्लै आनन्द लाग्थ्यो।” 

लेखापढीको काम गरिरहेकै बेला २०५२ सालमा उनले स्थानीय जमुना शाक्यसँग विवाह गरे। श्रीमतीसँगै चार छोराछोरीको खर्च धान्ने जिम्मेवारी बुद्धिरत्नको काँधमा आइपर्‍यो। तर पनि उनले कमजोर वर्गलाई सहयोग गर्न छोडेनन्। 

पेसा त्यागेर सार्वजनिक सम्पत्ति संरक्षणमा 
बुद्धिरत्नले २०७२ सालमा एकाएक लेखापढीको काम पनि त्यागे। उनको यो निर्णयबारे परिवारले सुुइँकोसम्म पाएन। उनले रोजगारी त्याग्नुको मुख्य कारण थियो— भूमाफियाहरूले मालपोतसँगको मिलोमतोमा विभिन्न जालझेल गरी सार्वजनिक सम्पत्ति हत्याउने क्रम बढ्नु। 

जीविकामुखी लेखापढी व्यवसायबाट स्वार्थी समूहले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता गराउन उनले असम्भव देखे। त्यसपछि कामबाट फुर्सद लिएर भूमाफियाले कब्जा गरेको बाटो, ढुंगेधारा, पोखरी, पाटी, मन्दिरलगायत सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने न्यायिक अभियानमा होमिए। उनले जीवनकै पर्वाह नगरी चुनौतीपूर्ण बाटो पछ्याउँदा परिवार निकै चिन्तामा परेको थियो। तर उनले सार्वजनिक सम्पत्ति जोगाउने दौडधूप जारी नै राखे।   

हडपिएका सार्वजनिक सम्पत्तिबारे महानगरपालिका, मालपोत, नापी, भूमिसुधार कार्यालय, गुठीदेखि अदालतसम्म धाएर प्रमाण जुटाउने र त्यसपछि निवेदन लेखेर अदालतमा मुद्दा दर्ता गर्ने गर्न थाले। त्यतिञ्जेलमा उनले कानून व्यवसायीको इजाजतपत्र लिइसकेका थिए। 

प्रमाण जुटाउन र मुद्दा लड्न असीमित पैसा चाहिन्छ। उनी यसै पनि आर्थिक चुनौतीसँग जुधिरहेका थिए। मुद्दा लड्नकै लागि २०७३ सालमा उनलाई ठूलीआमाले आफ्नो नाममा रहेको नख्खुस्थित ५ आना दुई पैसा जग्गा बेचेर २९ लाख रुपैयाँ दिइन्। सोही नगदको आड लिएर उनी सार्वजनिक सम्पत्तिको संरक्षणमा जुटे। काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’मा परेको श्रीमतीको नाममा रहेको बुंगमतीकै ३ आना ३ पैसा जग्गाबाट पाएको ६ लाख रुपैयाँ मुआब्जा पनि उनले यही कामका लागि खर्चंदै गए।   

बितेको झन्डै एक दशकमा उनले विभिन्न व्यक्तिविशेषले कब्जा गरेका सार्वजनिक बाटो, चोक, पोखरी, मठमन्दिर, पाटीपौवा, कुलो लगायतका सार्वजनिक सम्पत्ति फिर्ता ल्याउन १०० भन्दा बढी उजुरी तथा मुद्दा विभिन्न निकायमा दर्ता गरेका छन्। 

थालनीका वर्षहरूमा उनले यस्ता सार्वजनिक मुद्दामा एकपछि अर्को सफलता हासिल गरेका थिए। तर पछिल्लो समयमा सार्वजनिक सम्पत्ति अतिक्रमण गर्नेहरू एकजुट हुँदा उनलाई मुद्दा जित्न मुस्किल परिरहेको छ। तर पनि उनले हार मानेका छैनन्। बरु स्थानीय तहदेखि अदालतसम्म एकपछि अर्को मुद्दा दर्ता गरिरहेका छन्। 

उनले सार्वजनिक सम्पत्ति बचाउने अभियानको थालनी आफ्नै गाउँबाट गरेका थिए।  

बुंगमतीस्थित परापूर्वकालदेखिको सार्वजनिक बाटो (कर्कोटक नागराजको बाटो भनेर चिनिने) स्थानीय बुद्धिरत्न तुलाधारले कब्जा गरेका थिए। छिमेकीहरूले बाटो खोल्न पटक–पटक अनुनयविनय गर्दा पनि तुलाधार तयार भएनन्। त्यसविरुद्ध बुद्धिरत्नले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरे। अदालतले सार्वजनिक बाटो बन्द गर्न नहुने फैसला गर्‍यो। तर तुलाधारले अहिलेसम्म बाटो खोलिदिएका छैनन्। अदालतको फैसला पालना नगरेकोमा उनीमाथि सजाय पनि भएको छैन। 

स्थानीय आशाकाजी बज्राचार्य समेतले बुंगमतीस्थित कुमारीचोकको आधाभन्दा बढी सार्वजनिक जग्गा कब्जा गरेको बुद्धिरत्नले थाहा पाए। त्यसविरुद्ध उनले तत्कालै महानगरपालिकामा उजुरी दिए। महानगरले छानबिनपछि कब्जा जग्गामा बनेको निजी शौचालय भत्काइदियो। पूर्वप्रधानपञ्च पूर्णबहादुर खत्रीका छोरा राजेन्द्र खत्रीले सार्वजनिक बाटो छेकेर बनाएको पर्खाल तथा शौचालय पनि महानगरले भत्कायो। त्यसको कारण थियो– खत्रीविरुद्ध महानगरमा दर्ता मुद्दा बुद्धिरत्नले जित्नु। 

बुंगमतीकै स्थानीय पुनीराज तुलाधारले रातो मत्स्येन्द्रनाथको मुख्य मन्दिर जाने सार्वजनिक बाटो मिचेर आफ्नो घरको पूर्वतर्फ पर्खाल लगाएका थिए। दक्षिणतर्फ पनि आफ्नो सीमानाभन्दा बाहिर टप निकालेर शौचालय बनाएका थिए। बुद्धिरत्नले त्यसविरुद्ध महानगरको न्यायिक समितिमा मुद्दा दर्ता गरे। 

बुंगमतीमै रातो मत्स्येन्द्रनाथ बहालस्थित ह्याग्रीव भैरवनाथको दक्षितर्फ वदाननी चोकको सार्वजनिक जग्गा व्यक्तिविशेष (चिरीबाबु श्रेष्ठ र सम्पूर्ण श्रेष्ठसमेत) को नाममा दर्ता भई अशंबण्डासमेत भइसकेकोमा बुद्धिरत्नको उजुरीबाट पुरानै अवस्थामा फर्काउन गुठी संस्थान ललितपुर शाखा र जिल्ला मालपोत कार्यालय ललितपुर बाध्य भयो। गुठी संस्थानमा उजुरी परेपछि चोक दर्ता गर्ने विपक्षी चिरीबाबुको समूहले बुद्धिरत्नको ज्यान लिने उद्देश्यसहित आक्रमण नै गर्‍यो। त्यो घटनाबाट जसोतसो जोगिएका शाक्य सार्वजनिक सम्पत्ति जोगाउने आफ्नो अभियानबाट पछि हटेनन्।   

बुंगमतीकै वदाननी चोक जाने बाटोमै स्थानीय रेशम शाक्यले करिब ४० वर्षअघि घर बनाएको सूचना बुद्धिरत्नले पाए। त्यसविरुद्ध उनले महानगरमा उजुरी दिए। मुद्दामा मिलापत्र भएसँगै सार्वजनिक बाटोमा निर्मित घर भत्काइयो र बाटो हिँड्ने सबैलाई सहज भयो। अर्का स्थानीय बुद्धिमान तुलाधरले मत्स्येन्द्रनाथको रथ तान्ने सार्वजनिक बाटोमा पर्खाल लगाई निजी बगैँचा बनाएका थिए। त्यसविरुद्ध बुद्धिरत्नले महानगरमा उजुरी दिएपछि बगँैचा भत्काउन तुलाधार बाध्य भए। 

स्थानीय न्हुछे माली र रत्नकाजी तुलाधारले बुंगमतीको टध गल्लीसँगै रहेको सार्वजनिक बाटो ५० वर्षदेखि पर्खाल लगाएर कब्जा गरेका थिए। बुद्धिरत्नले त्यसविरुद्ध पनि महानगरमा उजुरी गरेपछि मिलापत्रबाट बाटो खुलाइयो। उनले बुंगमतीमा कब्जा गरिएका यस्ता दर्जनभन्दा बढी स्थानका सार्वजनिक बाटो नियामक निकायमा उजुरी दिएर खुलाएका छन्। 

सार्वजनिक सम्पत्ति बचाउने उनको लडाइँ बुंगमतीमा मात्रै सीमित छैन। ललितपुर महानगरको भवनको पश्चिमतर्फ ढुंगेधारासँगै रहेको २ मिटरको सार्वजनिक बाटो स्थानीयले करिब ३० वर्षदेखि कब्जा गरेका थिए। त्यसबारे थाहा पाउनासाथ बुद्धिरत्न उजुरी लिएर महानगरपालिका पुगे। तर महानगरले उनको उजुरी दर्ता गरेन। त्यसबारे थाहा पाएका स्थानीयले उनलाई साथ दिए। बुद्धिरत्नसँगै स्थानीयको दबाबमा बाटो खोलियो जसले पैदलयात्रीलाई हिँड्न सजलो भयो।  

ललितपुर महानगर–२३, धापाखेलस्थित ऐरावत टोलमा करिब डेढ रोपनी जग्गामा रहेको सार्वजनिक बाटो आफ्नो जग्गामा परेको भन्दै स्थानीय आशाकाजी महर्जनले भत्काइदिएका थिए। तर त्यसविरुद्ध न्यायको ढोका ढकढक्याउन बुद्धिरत्न तत्कालै जिल्ला अदालत ललितपुर पुगे। उनले अदालतमा मुद्दा दर्ता गरेपछि मिलापत्र भयो। अहिले महर्जनको जग्गाको अर्को भागमा सार्वजनिक प्रयोजनका लागि बाटो खोलिएको छ।  

ललितपुर महानगरनगरपालिका–१४, महालक्ष्मीस्थानस्थित चक्रपथबाहिर चौतारीबस्ती किसिंगालमा रहेको ४ आना १ पैसा सार्वजनिक जग्गा मिची स्थानीय सुशीला आचार्यले पर्खाल लगाउनुका साथै गाडीको ग्यारेज बनाएकी थिइन्। त्यसविरुद्ध बुद्धिरत्नले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरे। त्यसमा पनि मिलापत्र भयो र त्यहाँ निर्मित संरचना भत्काइयो। त्यसअघि स्थानीयले दिएका उजुरीलाई महानगरले बेवास्ता गर्दै आएको थियो। 

ललितपुर महानगरकै वडा नम्बर ६ स्थित प्रयाग पोखरीको पूर्वतर्फ न्हुछेबहादुर महर्जनले सार्वजनिक बाटो मिचेका थिए। त्यसविरुद्ध बुद्धिरत्नले महानगरमा मुद्दा हाले, जसको फैसला ४ वर्षपछि भयो,  पूर्णपाठ आउन बाँकी छ।  

महानगर स्वयंले सार्वजनिक बाटो बन्द गरेर पर्खाल लगाएको देखेपछि बुद्धिरत्न तत्कालै विरोधमा उत्रिए। उनले महानगरविरुद्ध जिल्ला अदालतमा मुद्दा पनि दिए। अदालतले उनकै पक्षमा फैसला गरिसक्यो। तापनि महानगरले बाटो नखोली अदालतको अपहेलना गरिरहेको उनी बताउँछन्।  

महालक्ष्मी नगरपालिका–५ की स्थानीय न्हुछेमाया महर्जनले सार्वजनिक बाटो मिचेर घरटहरा बनाई पसल सञ्चालन गरिरहेको सूचना पाएपछि त्यसविरुद्ध पनि बुद्धिरत्नले जिल्ला अदालतमा मुद्दा दर्ता गरे। अदालतको फैसला बुद्धिरत्नको पक्षमा आएको छ। तर फैसला कार्यान्वयनमा महर्जनले आलटाल गरिरहेको उनी बताउँछन्। हालसम्म उनले दर्ता गरेका कतिपय मुद्दामा अदालतले अन्तरिम आदेशमार्फत सार्वजनिक जग्गामा भवन निर्माण गर्नै रोक लगाएको छ। 

ललितपुर महानगर–२५ स्थित नख्खु उकालोको गनाउने ढुंगेधाराको शिरमा मिलिजुली महिला समूहले भवन बनाउँदै थियो। त्यसविरुद्ध उनी जिल्ला अदालत पुगे। अदालतले तत्कालै त्यसमा रोक लगाए पनि पछि उक्त जग्गामा भवन निर्माण गर्न पाउने फैसला गरिदियो। उनले उच्च अदालत गएर त्यसलाई चुनौती दिए। तर उच्चले जिल्लाकै फैसला सदर गरिदियो। फैसलाको पूर्णपाठ आउनासाथ आफू त्यसविरुद्ध सर्वोच्च जाने तयारीमा रहेको बुद्धिरत्न बताउँछन्। 

ललितपुर महानगर–४, धोबीघाटका लछुमन महर्जनले आफ्नो घर अगाडिको सार्वजनिक बाटो कब्जा गरी निजी प्रयोगमा ल्याएका थिए। त्यसविरुद्ध उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरे। अदालतले मुद्दा नटुंगिएसम्मका लागि महर्जनको घरजग्गा रोक्का गरिदिएको छ। 

ललितपुर महानगर–२० स्थित मिखाबहाल टोलको उत्तरपट्टि रहेको ढालिप्वा भनेर चिनिने सार्वजनिक बाटो स्थानीय कृष्णबहादुर महर्जन, श्यामबहादुर महर्जन र शर्मिला साहीले छेकिराखेकोमा बुद्धिरत्नले उनीहरूका विरुद्ध महानगरमा उजुरी दिए। महानगरले बाटो खुलाउने निर्णय गर्‍यो। विपक्षीहरूले गरेको पुनरावेदनमा जिल्ला अदालतले महानगरको निर्णय उल्टाएको थियो। तर बुद्धिरत्न रोकिएनन्। जिल्लाको फैसलाविरुद्ध उनी उच्च अदालत पुगेका छन्। मुद्दा विचाराधीन छ। 

ललितपुर महानगर–१३ को एकान्तकुनास्थित सुनार टोलमा रहेको गणेशमन्दिर महानगरले भत्कायो। बुद्धिरत्नले महानगरको त्यस कार्यप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा हाले जुन अहिले विचाराधीन अवस्थामा छ।  

बुद्धिरत्नलाई आफूले दर्ता गरेका हरेक मुद्दाको तिथिमिति र तारेख मात्रै होइन, विपक्षीहरूका नामसमेत कण्ठस्थ छ। उनले मुद्दा लड्दा पहिले कस्तो थियो, जितेपछि के भयो भन्नेबारे फोटो खिचेर प्रमाणसमेत राखेका छन्। कतिपय मुद्दामा बहसका लागि वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ लगायतको सहयोग लिने गरेका छन्। तर उनले जस्तै सार्वजनिक हितका लागि निःशुल्क मुद्दा लड्न थोरै वरिष्ठ अधिवक्ता तयार हुने गरेको उनको अनुभव छ। 

उनले जोहो गरेको खर्च मुद्दा लड्दालड्दै सकिएको छ। सार्वजनिक सम्पत्ति जोगाउन श्रीमतीका लागि जोरजाम गरेका गरहनासमेत उनले बिक्री गरिसकेका छन्। आर्थिक अवस्था दिनप्रतिदिन थप चुनौतीपूर्ण बन्दैछ। तर पनि उनी थाकेका छैनन्। “अब मसँग पैतृक सम्पत्ति बाँकी छ। त्यो पनि बिक्री गरेर मुद्दा लड्न मन छ,” उनले भने, “तर चार छोराछोरी भर्खर हुर्कंदै छन्। श्रीमती उनीहरूको लालनपालन र पढाइ खर्चका लागि त्यति जग्गा त जोगाउनुपर्छ भन्छिन्।” 

धाकधम्की : आउँछ, जान्छ
सार्वजनिक जग्गा जोगाउन लागिपर्दा उनलाई मुद्दाबाट लाभान्वित भएका कतिपय स्थानीयले आफूखुशाी खाजा खर्च दिने गरेका छन्। त्यही खर्च बचाएर आफू र आफ्नो परिवार पाल्ने प्रयासमा बुद्धिरत्न छन्। “अब त मुद्दा लड्न छोडे हुने। शत्रु बढिरहेका छन्,” बुद्धिरत्नले आफ्नो संघर्षको कथा सुनाउँदै गर्दा आडमै रहेकी उनकी श्रीमती जुमनाले सुनाइन्। “राम्रो काम गर्दा शत्रु बढ्छन् भने ठिकै छ, म त बाचुञ्जेल आफ्नो काम छोड्दिनँ,” उनले श्रीमतीलाई जवाफ दिए।” 

हुन पनि सार्वजनिक हितमा लड्दालड्दै बुद्धिरत्नका यति धेरै शत्रु बनेका छन् कि आफ्नै घरमा आउजाउ गर्दा समेत उनी सचेत हुनुपरेको छ। उनका परिवारका सदस्यलाई समेत बेलाबेला मार्ने धम्की आउने गर्छ। “काम त राम्रै गरेजस्तो लाग्छ। तर डरले छोराछोरीहरूसमेत मसँग हिँड्न डराउँछन्,” बुद्धिरत्नले भने, “पहिले अनेक जोखिम मोलेर त काम गरियो। अब चाहिँ किन डराउने र भन्छु म।” 

बुद्धिरत्न सुरक्षा चुनौती महसुस गर्नुको मुख्य कारण हो– उनले लडेका मुद्दाका विपक्षीहरू सत्ता र शक्तिको पहुँचवाला हुनु। “जताततै भूमाफियाको सञ्जाल बढ्दैछ। ज्यान जोगाउन मुस्किल छ। पटक–पटक मलाई मार्ने प्रयास भइसक्यो, “उनले भने, “तर सार्वजनिक सम्पत्ति जोगाउने सरकारको मात्रै होइन मेरो पनि जिम्मेवारी हो।” 

नेता, कार्यकर्ता र कर्मचारीको मिलीभगतमा स्थानीय तहदेखि मालपोत हुँदै विभागीय मन्त्रालयसम्म सेटिङमार्फत सार्वजनिक सम्पत्ति निजी बनाउनेहरूलाई दण्ड होस् भन्ने उनी चाहन्छन्। 

पछिल्लो समय उनले पहिलेभन्दा झन् ठूला सार्वजनिक हितका मुद्दाहरूमा हात हालेका छन्। कतिपय केसमा उनले प्रमाण जुटाएर निवेदन दर्ताको तयारी गरिहेका छन् भने कतिपयको प्रमाण जुटाइरहेका छन्, जसमा व्यापारिक समूहदेखि राजनीतिक दलका नेताहरूसम्म जोडिएका छन्। त्यसले गर्दा उनलाई धाकधम्की दिनेहरू बढेका छन्। 

एक दशकदेखि निरन्तर सार्वजनिक सम्पत्ति जोगाउन लागिपरेका उनलाई नजिकबाट चिन्नेहरूले मनैदेखि श्रद्धा गर्छन्। लगनखेलका परमेश्वर खड्कीले भने, “उहाँ (बुद्धिरत्न) आफ्नो ज्यानको पर्वाह नगरी सार्वजनिक सम्पत्ति जोगाउन अहोरात्र लागिपर्नु भएको छ। उहाँलाई अनेक धम्की आउँछ। तर त्यस्ता कुरामा कहिल्यै चिन्ता गर्नुहुन्न।”  

लगनखेलकै चौतारीबस्ती निवासी पुरुषोत्तम भण्डारीले पनि बुद्धिरत्नलाई देशको लागि राम्रो काम गर्ने निस्वार्थ व्यक्तिका रूपमा चित्रण गरे। उनले भने, “एउटा मान्छेले मात्रै पनि कति गर्न सक्छ भन्ने उदाहरण उहाँ (बुद्धिरत्न) हो। उहाँ त सार्वजनिक सम्पत्ति जोगाउनैका लागि जन्मिएको जस्तो लाग्छ।”


सम्बन्धित सामग्री