काठमाडौँ– भारतको कश्मीर क्षेत्रमा विश्वकै अग्लो रेलवे आर्क पुलको निर्माण सम्पन्न भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार चेनाब नदीमा बनेको उक्त पुलको उद्घाटन गरे। चेनाब रेलवे पुल जम्मू–कश्मीरको रियासी जिल्लामा निर्माण गरिएको हो। जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह र राज्यपाल मनोज सिन्हासहित उपस्थित उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीले पुलमा उभिएर तिरंगा (भारतीय झण्डा) पनि फहराएका थिए।
उधमपुर–श्रीनगर–बारामुल्ला रेल लिंक (यूएसबीआरएल) परियोजनाको एक महत्त्वपूर्ण भाग मानिएको चेनाब पुल, नदीको सतहबाट ३५९ मिटर उचाइमा निर्माण गरिएको छ। एक हजार ३१५ मिटर लम्बाइको यो पुल महत्वाकांक्षी यूएसबीआरएल परियोजनाको सबैभन्दा कठिन र समय खपत गर्ने भाग पनि हो।
कठिन भू-बनोट र भूकम्पीय संवेदनशीलताको कारण यो पुल निर्माण गर्दा धेरै भौगोलिक र प्राविधिक समस्याहरूको सामना गर्नुपरेको थियो। पुल बनाउने निर्णयदेखि यसको उद्घाटनसम्म २२ वर्ष लागेको यस पुलले इतिहासमा पहिलो पटक आधिकारिक रूपमा कश्मीर उपत्यकालाई बाँकी भारतसँग रेलमार्गद्वारा जोड्नेछ।

समाचार एजेन्सी एएनआईका अनुसार २७२ किलोमिटर लामो यूएसबीआरएल परियोजना ४३ हजार ७८० करोड भारतीय रुपैयाँ (भारु) को लागतमा निर्माण गरिएको हो। यसमा ११९ किलोमिटर ओगट्ने ३६ वटा सुरुङहरू छन् भने ९४३ वटा पुलहरू समावेश छन्।
चेनाब आर्क पुल निर्माणको लागत मात्रै एक हजार ४८६ करोड भारु रहेको छ। पेरिसको आइफेल टावरभन्दा ३५ मिटर अग्लो र कुतुब मिनारभन्दा लगभग पाँच गुणा उचाइ भएको यो पुल २८ हजार ६६० मेगाटन स्टील प्रयोग गरेर निर्माण गरिएको हो। एक मेगा टनमा १० लाख टन हुन्छ। शून्यभन्दा कम तापक्रम र अत्यधिक गर्मी दुवै सहन सक्षम यो पुल शक्तिशाली भूकम्पको प्रतिरोध गर्नसक्ने गरी डिजाइन गरिएको छ। साथै, पुलले उन्नत सुरक्षा सुविधाहरू समावेश गर्दछ, जसमा कुनै पिल्लर क्षतिग्रस्त भए पनि रेलहरू सञ्चालन गर्न जारी राख्न सक्ने क्षमता समावेश छ।

अमेरिकी समाचार संस्था सीएनएनले मोदीका लागि चेनाब पुल र फराकिलो रेल लिंक परियोजना जस्ता पूर्वाधारमा लगानीलाई सामाजिक एकीकरण र राजनीतिक प्रभावको लागि एक शक्तिशाली उपकरणको रूपमा हेर्न सकिने जनाएको छ। २०१४ मा पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएदेखि उनले विभिन्न शहरहरूलाई प्रमुख शहरहरूसँग जोड्ने सञ्जालहरू निर्माण गर्दै यस क्षेत्रको सडक र रेल सम्पर्कलाई द्रुत रूपमा विस्तार गरेका छन्।
२०१९ मा नयाँ दिल्लीले भारतप्रशासित कश्मीरलाई आफ्नै कानून बनाउने स्वायत्तता दिने संवैधानिक प्रावधान खारेज गरेको थियो। पहिले भारतीय राज्य जम्मू–कश्मीरको रूपमा चिनिने यस क्षेत्रको दक्षिणी र पूर्वी भागहरू दुई छुट्टाछुट्टै केन्द्र शासित प्रदेश बनेका थिए। जसले गर्दा तिनीहरूलाई केन्द्र सरकारको प्रत्यक्ष नियन्त्रणमा ल्याइयो। यो कदमले स्थिरतालाई बढावा दिने, भ्रष्टाचार घटाउने र अर्थतन्त्रलाई बढावा दिने मोदीले बताउँदै आएका छन्।
चेनाब पुललाई मोदीको भारतीय जनता पार्टी सरकारको लागि ठूलो जितको रूपमा स्वागत गरिएको छ।

उनको प्रशासनले भारतको पुरानो यातायात सञ्जालको स्तरोन्नति गर्न अर्बौं लगानी गरेको छ। २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने उनको दृष्टिकोणको एक हिस्सा हो। यी महत्वाकांक्षी परियोजनाहरूमध्ये यूएसबीआरएलसहित पहाडी हिमालय क्षेत्रमा धेरै सुरुङ र राजमार्गहरूको निर्माण पनि समावेश छ। केही वातावरणविद्हरूले यसको आलोचना गरेका छन्। पहाडी भेगमा यस्ता भारी संरचनाले जलवायु संकटको प्रभाव पहिले नै महसुस गरिरहेको कमजोर भू–बनोटलाई क्षति पुर्याउन सक्ने चेतावनी तथा विरोध प्रकट गर्दै आएका छन्।
उत्तराखण्ड राज्यमा कनेक्टिभिटी सुधार गर्न करोडौं डलरको पूर्वाधार योजना, मोदीको चार धाम राजमार्ग परियोजना नोभेम्बर २०२३ मा आलोचनाको घेरामा नै परेको थियो। त्यतिबेला निर्माणाधीन पहाडी सुरुङ भत्कियो र दर्जनौं कामदारहरू हप्तौँसम्म टनेलभित्रै फसेका थिए।
त्यस वर्षको अगस्टमा, उत्तरपूर्वी राज्य मिजोरममा निर्माणाधीन पुल भत्किँदा एक दर्जनभन्दा बढी कामदारको मृत्यु भएको थियो। जुनमा, पूर्वी राज्य बिहारमा गंगा नदीमा निर्माण भइरहेको चार लेनको कंक्रीट पुल एक वर्षभन्दा बढी समयमा दोस्रो पटक भत्किँदा यसको निर्माणको गुणस्तरमाथि नै प्रश्न उठेको थियो।